शङ्कर लामिछाने
शङ्कर लामिछाने(जन्म वि. सं १९८४ चैत ५ - मृत्यु वि. सं २०३२ माघ १०) चर्चित नेपाली निबन्धकार हुन्।हरिप्रसाद लामिछाने र राजकुमारीका जेठा छोराका रूपमा शङ्कर लामिछानेको जन्म १९८४ साल चैत ५ गते काठमाडौको जैसीदेवलमा भएको थियो। उनी सानई छदा उनको पिता तथा माताको संबन्ध चिसिएकोले आफ्नो दुधे भाइसँगै आमाका पछि लागेर मावलीघर वनारस पुगे। त्यहाँ पुग्ने वित्तिकै यिनको भाइको निधन भयो। वनारसमा लामिछानेकी आमाले स्कुलमा पढाएर छोरो पालिन्। अनि एक दशकको हाराहारीमा उनकी आमाको पनि निधन भयो। त्यसपछि किशोरावस्थाको आरम्भमा नै उनी फेरि काठमाडौ आए।लामिछानेले आइएस्सीसम्मको अध्ययन गरे। अनि उनी जागीरमा लागे। राणाकालीन युगको समाप्तिको पूर्वसन्ध्यामा उनले गुठी अड्डामा खरदारको पदमा जागीर खाए। त्यसपछि उनी नेपाल(भारत सांस्कृतिक केन्द्रको पुस्तकालयको अध्यक्ष भए। त्यहाँ उनको जागीर भएको केही समयपछि भारतीय राजदूतावासमा राजदूत र साँस्कृतिक सहचारी फेरिए। अनि त्यस ठाउँमा नयाँ मान्छेसँग उनको विचारको मेल भएन र स्वाभिमानका कारणले उनले त्यहाँबाट हात धोए। लामिछाने जागीरकै सिलसिलामा घरेलु कला तथा बिक्री भण्डारमा महाप्रबन्धकमा भर्ना भए। त्यहाँ पनि उनी धेरै समय टिक्न सकेनन्। अनि फेरि उनले सिनेमा हलमा पनि काम गरे। उनले नेपालकै पहिलो सिनेमा हल जनसेवा सिनेमा हलमा व्यवस्थापकका रूपमा काम गरे। त्यतिमात्र होइन उनले होटल शङ्करदेखि शङ्कर ट्राभल्स एन्ड टुर्ससम्म पनि जागीर खाए। ती ठाउँहरूमा पनि उनी सफल भएनन्।
लामिछाने खुबै मिलनसार थिए। उनी महाकवि देवकोटाका पनि अति नजीक थिए। त्यस बेला यी दुबैजना आर्थिक हाहाकारमा भास्सिएका थिए। किनभने उनीहरूको कमाई खानेभाँडो ठूलो थिएन। त्यसैले एक पटक लामिछानेकै पारामा लागेर देवकोटा पनि लामिछाने झैं विदेशी पर्यटकलाई घुमाउने पेशामा आबद्ध भए। त्यस बेला गाइडको काम गरेका लामिछानेले देवकोटालाई यो पनि एउटा जिविकाको काम हो भनेर त्यतै मोडेका थिए। देवकोटा पनि अबोध बालक जस्तै थिए। त्यसैले जस्ले जे भन्यो उनी त्यही मानिदिन्थे। अनि फेरी तुरुन्तै अर्को कुनै मान्छेले भड्काए पछि देवकोटा उसैका कुरा पत्याइ दिन्थे। तर लामिछानेले चाहिं देवकोटालाई आर्थिक रूपमा पनि उकास्ने प्रयत्न गरेका थिए।
चेतनप्रवाह शैलीलाई नेपाली निबन्धमा भित्र्याउने श्रेय उनैलाई दिइन्छ। लामिछानेका प्रयोगशील निबन्धमा बौद्धिकताको प्रखर चेत पाइन्छ। उनले आफ्नो समयमा व्यवसायीका रूपमा समेत काम गरे।उनले लेखनीमा शब्द, शैली र प्रस्तुतिमा नयाँ प्रयोग गरिरहे। उनले आफू पन्ध्र वर्ष पुग्दानपुग्दै आफ्नो लेख साहित्यस्रोतमा छापाए। त्यसपछि उनी क्रमशः चर्चापरिचर्चामा आइरहे। किनभने उनले घनत्व भएका कृतिको मात्र निर्माण गरे। उनको निबन्धसङ्ग्रह 'एब्स्ट्रयाक्ट चिन्तन र प्याज'ले २०२४ सालको मदन पुरस्कार प्राप्त गरेको थियो। उनका फूटकर रूपमा थुप्रै कविताहरू छापिएका थिए भने कथासङ्ग्रहका रूपमा 'गौंथलीको गुँड' (२०२५) प्रकाशित भएको थियो। साथै उनको व्यक्तिकेन्द्रित निबन्धसङ्ग्रह 'बिम्ब प्रतिबिम्ब' (२०२८) प्रकाशित भएको थियो। 'गोधुली संसार' (२०२७) र 'शङ्कर लामिछाने' (२०३२) नामक उनका थप निबन्धका कृति प्रकाशित भएका थिए।
नेपाली भाषासाहित्यमा रुचि राख्ने सबैले शङ्कर लामिछानेलाई चिनेका छन्। खास गरेर नेपाली निबन्धको फाँटमा महाकवि देवकोटापछि शङ्कर लामिछानेको नाउँ आउँछ। तापनि निबन्धमा लामिछानेका पाठक देवकोटाका भन्दा शायद थोरै चाहिं छैनन्। वास्तवमा कलात्मक लेखनका उनी एउटा मुर्धन्य साहित्यकारका रूपमा सुप्रसिद्ध भए। उनले निबन्ध विधालाई नयाँ शैली, नयाँ आयाम र नयाँ परिवेश दिए। त्यसैले नै नेपाली साहित्यमा उनी सर्वत्र मानिए। लामिछानेले आफूले पनि लेखे अरूलाई पनि लेख्न प्रेरणा दिइरहे। उनको लेखन सीप अलौकिक मानिन्थ्यो। उनी लेख्ता मनबाट लेख्थे, मस्तिष्कबाट लेख्थे र वचनबाट लेख्थे। त्यसैले उनको लेखन बौद्धिक गिदीहरूको आहार बन्थ्यो। त्यही कारणले उनी छिटोछिटो लोकप्रिय हुँदै गए। त्यसमाथि उनको सङ्गठनात्मक शैली लोभ लाग्दो थियो। महाकवि देवकोटाकै आग्रहमा उनी काव्य प्रतिष्ठानको सदस्यसचिव भए, त्यसपछि उनी इन्द्रेणीको पनि सम्पादक भए। साथै उनले हाम्रो साहित्य नामक बाल पाठ्यसामाग्रीको आठ वटा भागको सम्पादन गरेका थिए। उनी नेपाली साहित्यमा सङ्गठन, सम्पादन र सृजनामा बराबरी समर्पित थिए।
शङ्कर लामिछाने साहित्यिक कृति जति अब्बल दर्जा का छन ब्यतिगत जीवनमा उनी त्यतिनै अब्यवस्थित र विवादित रहे|दार्जिलिङ निवासि रत्ना र्राईसँग प्रेमविवाह गरेका उनले पछि काठमाडौंकी सुवर्ण श्रेष्ठसँग पनि अर्को विहे गरे। रत्ना तर्फ़ वाट उनको दीप र शिखा जन्मे भने सुवर्ण वाट प्रकाश र प्रभास |यसै वाट उनी बहुविवाहको झमेलामा परे| भन्ने हरू भन्छन , उनले थुप्रैसँग प्रीति गाँसे। त्यही क्रम तानिएर उनी पारिजातको सर्म्पर्कमा पनि पुगे। पारिजातसँगको उनको सर्म्पर्कलाई धेरैले प्रेमको संज्ञा दिए, तर उनले बाँचुन्जेल पारिजातलाई बहिनी भनिरहे। साहित्यजगत्मा चर्चा थियो, "पारिजातको 'शिरीषको फूल'को भूमिका लामिछाने र पारिजातबीचको प्रेमको सेतु थियो।" भनिन्थ्यो, "शङ्कर लामिछाने र पारिजात एकअर्कालाई प्रेम गर्थे। दैनिक दसबाह्र पल्टसम्म पनि लामिछानेको पारिजातसँग भेट हुन्थ्यो।"| तर यथार्थमा चिन्ने हरूले प्रेम नै थियो भने पनि 'अलओकिक' थियो भन्छन|
हाकाहाकि मैले चोरेको(कृति नक्कल गरेको) हो भनेर सार्वजनिक रूपमा उद्ग्घोष गर्न सक्ने लामिछाने साहित्यमा एक निष्ठ भएर लेखिरहे। लेख्तालेख्तै उनी नेपाली भाषासाहित्यका महारथीका रूपमा स्थापित पनि भए। उनको ४८ वर्षको अल्पायुमा नै ब्रेन ट्युमर रोगबाट निधन भयो|
विषयसूची |
[सम्पादन गर्ने] कृतिहरू
- एब्स्ट्रयाक्ट चिन्तन: प्याज (निबन्ध सङ्ग्रह)
- गौँथलीको गुँड (कथा सङ्ग्रह)
- गोधूलि संसार (निबन्ध सङ्ग्रह)
[सम्पादन गर्ने] व्यावसायिक जीवन
उनी जनसेवा सिनेमा भवनका व्यवस्थापक, घरेलु शिल्पकला बिक्री भण्डार लिमिटेडको व्यवस्थापन प्रमुख, शङ्कर ट्राभल एण्ड टुर्स तथा होटल शङ्करका प्रशासक भएका थिए।[१]
[सम्पादन गर्ने] श्रोतहरू
- ↑ "गौँथलीको गुँड"को तृतीय संस्करणमा छापिएको लेखक परिचय