सेयर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शेयरबाट अनुप्रेषित)

कम्पनीको पूँजि वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरी लगानीकर्ताहरूलाई विक्रि गरिन्छ, यसरी कम्पनीको पूँजिको विभाजीत इकाइको दस्तावेजलाई शेयर (अङ्ग्रेजी: share) भनिन्छ ।[१] कम्पनीको लागि पूँजि जम्मा गर्नको लागि शेयर जारी गरिन्छ तथा यो दस्तावेज राख्ने व्यक्तिलाई सेयरधनी भनिन्छ । शेयर भनेको अर्को अर्थमा कम्पनीको पूँजिको अदृश्य इकाइ हो, जसमा कम्पनी तथा शेयरधनी विच करार हुने गर्दछ ।

शेयरमा लगानी गरे वापत शेयरधनीहरूले प्रत्येक वर्ष कम्पनीको वित्तीय कार्य सम्पादन वा मुनाफाको आधारमा लाभांस प्राप्त गर्ने गर्दछ । कुनै पनि कम्पनीले गरेको व्यवसायबाट नाफा वा घाटा हुन्छ । आफुले गरेको लगानीको अनुपातमा उक्त घाटा वा नाफा दुवैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अंश शेयर हो । 

शेयरको प्रकार[सम्पादन गर्नुहोस्]

अग्राधिकार शेयर[सम्पादन गर्नुहोस्]

संस्थाले निष्काशन गरेको शेयर मध्ये प्रतिफल तथा पूँजि फिर्तामा अग्र अधिकार हुने शेयरलाई अग्राधिकार शेयर वा संस्थापक शेयर भनिन्छ । अग्राधिकार शेयरमा शेयरपूँजि तथा ऋण दुवैको मिश्रीत विशेषता हुने गर्दछ ।

कुनै पनि कम्पनी दर्ता गर्दा कम्पनी दर्ता गर्नेहरूले कम्पनी रजिष्टार्डको कार्यालयमा कम्पनीको पुँजीको संरचना र कम्पनीको अधिकृत पूँजीको स्वीकृति लिनुपर्ने हुन्छ । अधिकृत पुँजी भनेको जम्मा कम्पनीको स्वीकृत बजेट हो । जस्तो कि १ अर्ब पुँजीको एउटा बैङ्क वा जलबिद्युत आयोजना सञ्चालन गर्ने कम्पनी भनियो भने त्यो अधिकृत पूँजी हो । तर त्यो १ अर्बमध्ये कम्पनीको सुरुवात गर्नेहरूले ३० करोड हाल्ने, ३० करोड बैङ्कबाट ऋण खोज्ने र ४० करोड सर्बसाधारण जनताबाट उठाउने भनेर स्वीकृति गराईयो भने त्यो रकम उठाउने अनुपात पुँजीको संरचना हो । यसरी पुँजीको संरचना स्वीकृति गरेपछि सबैभन्दा पहिला कम्पनीको सुरुवात गर्नेहरूले आफुले कबुल गरेको रकम बराबरको शेयर हाल्छ त्यसलाई संस्थापक सेयर वा अग्राधिकार शेयर भनिन्छ । कुनै कारणले कम्पनी चल्न सकेन र बिगठन गर्नु परे ऋण रकमपछि यो शेयरको भुक्तानी पहिला फिर्ता हुन्छ यसमा निश्चित स्थिर बोनस हुन्छ । संचालक समितिमा यो शेयरधनीको बहुमत रहनेगरी सञ्चालक समिति गठन हुन्छ । 

साधारण शेयर[सम्पादन गर्नुहोस्]

कम्पनीमा हुने अग्राधिकार सेयर भन्दा बाहेकको सेयरलाई साधारण शेयर भनिन्छ । यस प्रकारको शेयरले कम्पनीको स्वामित्वलाई जनाउँदछ, तथा यस शेयर धारण गर्ने व्यक्तिले कम्पनीको साधारण सभामा मत दिने अधिकार हुन्छ ।

संस्थापकहरूले संस्थापक शेयर हालिसकेपछि कम्पनी चलाउन लगानी जुट्ने वातावरण सृजना हुन्छ । त्यसपछि मात्र ऋण खोजिन्छ र साधारण शेयर जारी गरिन्छ । साधारण शेयर तपाई हामी सर्बसाधारण जनताबाट उठाईएको शेयर हो ।

नेपाल[सम्पादन गर्नुहोस्]

सामान्यतया १ कित्ता शेयरको मुल्य रु.१०० हुन्छ । सामान्यतया सर्बसाधारणलाई १० कित्तादेखि माथि शेयर हाल्ने अवसर दिईन्छ । कम्पनी विघटन गर्दा अन्तिममा नाफा र घाटा सबै लिने शेयर साधारण शेयर हो ।

शेयर जारी गर्नुअघि कम्पनीहरूले नेपाल धितोपत्र बोर्डमा दर्ता गर्नुपर्ने हुन्छ । त्यस्तै, कम्तीमा ३ करोड रुपैयाँभन्दा बढी रकमको शेयर सर्वसाधारणमा निष्कासन गर्दा इक्रा नेपालबाट पनि रेटिङ गराउनुपर्छ । यी दुई संस्थाको वेबसाइटबाट पनि कुन कम्पनीको शेयर आउँदै छ भन्नेबारे लगानीकर्ताले जानकारी लिन सक्छन् । 

बोनस शेयर[सम्पादन गर्नुहोस्]

कम्पनीको विद्यमान सेयरधनीहरूलाई विना कुनै मूल्य वितरण गरिने शेयर लाई बोनस शेयर (अङ्ग्रेजी: Bonus Share) भनिन्छ । यस्तो शेयर कम्पनीको मुनाफा वा बाड्न योग्य मुनाफाको रकमबाट बाड्ने गरिन्छ । 

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

थप हेर्नुहोस्[सम्पादन गर्नुहोस्]