श्राद्ध

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

हिन्दु संस्कार अनुसार दिवङ्गत पितृहरूको स्मरणमा श्रद्धा र सम्मान अर्पण गरिने कार्यलाई श्राद्ध भनिन्छ। कात्यायन स्मृतिमा श्राद्धलाई पितृयज्ञ भनिएको छ। भविष्य पुराणका अनुसार श्रद्धाले विधिपूर्वक पितृले पाउन् भनेर ब्राहृमणलाई दान दिनुलाई श्राद्ध भनिएको छ। हेमाद्रीको भनाइमा होम, पिण्डदान, ब्राहृमण भोजन गराउनु श्राद्ध हो।

शाब्दिक अर्थ[सम्पादन गर्ने]

श्राद्ध शब्दलाई विभिन्न तरिकाबाट अथ्र्याए पनि मूलतः यसले इङ्गित गर्न खोजेको अर्थ एउटै हो- पितृहरूलाई श्रद्धापूर्वक सम्झनु र उनीहरूप्रति कृतज्ञता प्रकट गर्नु।जीवित हुँदा मातापिताप्रति सेवा गर्नु मानव कर्तव्य मानिएको छ। यसैगरी उनीहरूको मृत्यु हुँदा शरीरलाई दाहसंस्कार आदि क्रिया गर्नु एवं अज्ञातस्थलमा पुगेका पितृहरूको सम्झना गर्दै श्राद्धादि कार्य गर्नु पनि उसको कर्तव्य मानिएको छ। वेदादि शास्त्रहरूले बताएका विधि विधानअनुसार आफ्ना पितृहरूप्रति गर्नुपर्ने कार्यलाई नैं श्राद्ध भनिन्छ।

श्रद्धया क्रियते यत् तत् श्राद्धम्....

अर्थात् श्रद्धापूर्वक गरिने कार्यलाई नै श्राद्ध भनिएको छ। पितृकार्य अन्य कार्यको तुलनामा श्रद्धापूर्वक गर्नुपर्ने भएकोले पनि पितृहरूको उपासना गर्ने कार्यलाई श्राद्ध भनिएको हो। यसकारण दुग्दाधि पदार्थहरू श्रद्धापूर्वक चढाउँदै गरिने कार्य नैं श्राद्ध हो। यसैगरी पितृहरूको स्मरण गर्दै ब्राहृमणहरूलाई दान गर्नु वा भोजन गराउनु पनि श्राद्ध नैं हो। आध्यात्मिक व्यक्तिहरू संसारको पहिलो ग्रन्थ ऋग्वेद नै मान्दछन्। ऋग्वेदका अनुसार पूर्वजहरूलाई श्रद्धापूर्वक सम्झन अर्थात् श्राद्ध गर्न जुनसुकै धर्म सम्प्रदायलाई रोकावट छैन। विष्णुपुराण, नृसिंहपुराण, गरुडपुराण आदिले पनि ऋग्वेदको अनुसरण गरेको पाइन्छ। श्राद्धको निमित्त इच्छा, भक्ति, श्रद्धा, ताजा संस्मरण अनिवार्य मानिएको छ। पिता माताबाट नै आफ्नो शरीर पैदा भएको र लालनपालन, शिक्षादीक्षासमेत प्राप्त हुने हुँदा उनीहरूको निमित्त श्रद्धा सुमन चढाउने निर्देशन हिन्दुधर्मले दिएको छ।अथर्ववेदमा पृथ्वी, अन्तरिक्ष र दिव -स्वर्ग) यी तिनै लोकमा पितृको निवास हुन्छ भनेर बताइएको छ। श्राद्धको फलबाट दिवलोकमा पितृहरू दीर्घकालसम्म रहन्छन् र सुख पाउँछन् भन्ने कुरा वेदमा प्रष्ट्याइएको छ।

श्राद्धका प्रकार[सम्पादन गर्ने]

शास्त्रमा विवाह व्रतबन्ध, आशौच आदि विभिन्न अवसरमा पनि श्राद्ध गर्नु पर्ने उल्लेख छ। शास्त्रमा श्राद्धका अन्य धेरै भेद बताइए पनि एकोद्दिष्ट श्राद्ध, एकपार्वण श्राद्ध, पार्वण श्राद्ध/सोह्र श्राद्ध, आभ्युदयिक श्राद्धतीर्थ श्राद्ध सामान्यतया व्यवहारमा परिरहने श्राद्ध हुन्। एउटा मात्र पितृको उद्देश्य लिएर गरिने श्राद्धलाई एकोद्दिष्ट भनिन्छ। धेरै पितृको सम्झनामा गरिनेलाई पार्वण वा महालय श्राद्ध भनिन्छ। विवाह व्रतबन्ध आदि माङ्गलिक कार्य गर्नुअघि गरिने श्राद्धलाई आभ्युदयिक श्राद्ध/वृद्धि श्राद्ध भनिन्छ। यसैगरी कुनै पनि पवित्र तीर्थस्थलमा गएर गरिने श्राद्ध तीर्थश्राद्ध हो। यस बाहेक आफ़्नो इच्छा पूरा गर्न गरिनेलाई काम्य श्राद्ध, शरीर स्वस्थ्य राख्न गरिनेलाई पुष्टि श्राद्ध, देशान्तरमा जाँदा सफल हुन घ्यूले गरिनेलाई यात्रा श्राद्ध भनिन्छ। जुनसुकै कठिनाई वा आपत-विपत पर्दा पनि वा अन्य धर्मकर्म गर्न नसकिए पनि श्राद्ध गर्न छोड्नु नहुने कुराको उल्लेख श्रुति-स्मृति-पुराणमा पाइन्छ।

एकोद्दिष्ट श्राद्ध[सम्पादन गर्ने]

पितृको मृत्यु भएको तिथिमा गरिने श्राद्धलाई एकोद्दिष्ट श्राद्ध। यस श्राद्धमा जसको तिथि हो उसलाई मात्र आधार वनाएर श्राद्ध गरिन्छ, उसलाई मात्र पिण्ड दिइन्छ । यस विपरित पार्वण श्राद्ध आफ्ना पितातर्फका तीनपुस्ता र मावलीतर्फका तीनपुस्तालाई पिण्ड दिइन्छ। विभिन्न जाति सम्प्रदायमा तीन पुस्ताभित्रका जेष्ठ मध्यम, कनिष्ठ पितामह, काका, मामालगायतलाई पिण्ड दिइने गरेको पाइन्छ।

श्राद्ध का अङ्ग[सम्पादन गर्ने]

श्राद्धको प्रमुख अङ्ग तर्पण, सिधादान, पिण्डदान र ब्राहृमण भोजन हुन् तर यति मात्र हुन् भन्ने होइन। अन्य अङ्ग पनि त्यति नै महत्वपूर्ण छन्। पिण्डदानको अगाडि पितृसूक्त पाठ गर्ने नियम छ। हिन्दू धर्म संस्कृति समयको दृष्टिले अति प्राचीन, स्वभावको दृष्टिकोणले अति उदार र विस्तारको दृष्टिकोणले अति फैलिएको स्पष्ट छ। यसमा भूखण्डका बहुविधासँग मात्र नभई स्वर्गका देवता, पातालका नागजाति, पितृलोकका पितृहरूसँग भावनात्मक सम्बन्ध जोडिएको छ। त्यसैले श्राद्धमा पितृको निमित्त तर्पण दिंदा आफन्त बन्धुबान्धव मात्र नभई आब्रहृमस्तम्भपर्यन्त अर्थात् ब्रहृमादेखि किरा पतङ्गसम्मको तृप्तिको कामना गरिएको हुन्छ।

सामान्य अर्थमा पिण्ड भनेको डल्लो हो तर श्राद्धमा यसले विशेष महत्व राख्छ। गाईको दूधमा पकाएको खीर वा गाईको दूधमा मुछिएको जौको पिठोको डल्लोलाई पिण्ड भनिन्छ। त्यही गोलाकार वस्तुमा तुलसीपत्र र कालो तिल मिसाई श्राद्धविधान अनुसार कर्ताले चोरी औंलामा कुशको पवित्र लगाई पितृको नाम, गोत्र, प्रवर स्वरूप उल्लेख गरी पिण्ड वेदीमा अर्पण गरिन्छ। श्राद्धको होमलाई "अग्नौकरण" भनिन्छ।

श्राद्धको निमित्त शुद्ध वस्त्र र शुद्धभोजन अनिवार्य छ। श्राद्ध गर्ने अघिल्लो दिन श्राद्धकर्ताले केश मुण्डन गरी एक छाक मात्र खानुपर्दछ। यो कर्मलाई एकभक्त भनिन्छ। केशमुण्डन गर्न समय, फुर्सद, अवस्था नमिलेमा कुशपानीले टाउको नुहाई पवित्र हुने चलन छ। शास्त्रमा श्राद्ध गर्ने व्यक्ति सदाचारी हुनुपर्ने बताइएको छ। यसैगरी श्राद्ध गराउने अर्थात् श्राद्धमा प्रयोग हुने ब्राहृमण पनि सदाचारी हुनुपर्दछ। श्राद्ध गर्नेको शरीर, श्राद्ध गर्ने धन, श्राद्ध गर्नेकी पत्नी, श्राद्धगर्ने भूमि, श्राद्ध गर्नेको मन, श्राद्धमा प्रयोग हुने मन्त्र, र श्राद्धमा भोजन गर्ने वा पढ्ने ब्राहृमण यति सात कुरा शुद्ध हुनै पर्दछ भन्ने शास्त्रको भनाइ छ। जुनसुकै श्राद्ध गर्दा पनि पौराणिक मन्त्रलाई भन्दा वैदिक मन्त्रको प्रयोगलाई प्राथमिकता दिइन्छ। देवताहरूभन्दा पितृ रिझाउन कठिन हुने हुनाले श्राद्ध गर्दा मन्त्रहरू शुद्ध रूपमा पढ्नुपर्ने कुरामा जोड दिइएको छ।

श्राद्ध गुठी[सम्पादन गर्ने]

कतिले श्राद्ध चलाउन गुठी नै राखिदिने गरेका छन्। तत्कालीन राजा रणबहादुर शाहको श्राद्ध सप्तमी गुठीले गर्दछ। तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुरले पनि आफ़्नो श्राद्धको निमित्त गुठी छुट्याएका थिए र त्यसै गुठीले अध्यपि उनको श्राद्ध गर्ने गर्दछ। मल्ल राजाहरूको पनि श्राद्ध चलिरहेकै छ भन्ने सुनिन्छ। पशुपतिको मन्दिरमा चाँदीको ढोका स्थापना गर्ने कुलानन्द झाको श्राद्ध पनि भएकै छ। सामान्य जनको लागि पनि तीर्थ हरूमा श्राद्ध गुठी राख्ने प्रचलन छ तर त्यसको अनुगमन एक पुस्ता पछि नहुने भएकोले त्यसको निरन्तरता हुन्छ कि हुदैन भन्न कठिन छ|

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]