साउने सोमबार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साउन सोमबार साउन महिनाको सोमबार हिन्दुधर्मालम्बीहरू यस माहिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन् । हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्त्वको दिन हो । यस दिन धेरै महिलाहरू भगवान शिवको व्रत बस्दछन् । तर केवल हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य युरोपका देशहरूमा समेत सोमवारको खास महत्त्व छ । साउन महिनाको सोमबार भक्तपुरको सीपाडोलस्थित केदारनाथको शिर डोलेश्वरको मन्दिर, ललितपुरका शिव मन्दिर, भक्तपुरको दत्तात्रेय मन्दिर, काभ्रेका मन्दिरहरू र पशुपति मन्दिरमा विभिन्न ठाउबाट श्रदालु भक्तजनहरूको घुइचो लाग्ने गर्दछ । मुख्य रूपमा नेपालको जुनसुकै भूभागमा बस्ने मानिसहरूले पनि यस महिना विशेष रूपमा भगवान् शिवको पुर्जा अर्चनाका साथ ब्रत बस्ने परम्परा रही आएको छ । महिलाहरू हरियो पहिरनमा सजिनुका साथै, हरियो चुरा र हातमा मेहन्दी लगायर यस महिना आयको महसुस गराउदछन् भने भगवान् शिवको पूजा गरी ब्रत बस्ने गर्दछन् भने पुरुषहरू पनि पहेलो वस्त्रमा सजियर शिवको मन्दिर पूजा अर्चनाका लागि जाने गर्दछन् । सोमबार ब्रत बस्ने दिनभर भगवान् शिवको पूजा गर्ने अनि बेलुका चोखो खानेकुरा खाने जसमा विशेष गरी कर्कलो खायर ब्रत त्यस दिनको समाप्त गर्ने गर्दछन् । शिव जस्तै वर पाम भनी पनि ब्रत बस्ने गरेको पाइन्छ । विवाहित महिला आफ्नो घरपरिवार र श्रीमानको स्वास्थ्य लाभको कामना गदै ब्रत बस्ने गर्दछन् भने् अविवाहित महिला राम्रो श्रीमान तथा शिवजी जस्तो वरपाम भनी ब्रत बस्नुको साथै आफ्नो परिवारको सुख शान्तिको कामना गर्दै ब्रत बस्ने गर्दछन् । साउन महिना भर चोखो खाएर माछामासु नखाई कन शुद्ध भएर बस्ने गर्दछन् भने कतिजना त लसुन प्याज तथा बिटुलो मानिने कुनै पनि खानेकुरा नखाइकन पुरा १ महिना शुद्ध चोखो खाएर साउन महिना भर बस्ने गर्दछन् । यसरी १ महिना सम्म ब्रत बसेर साउन महिना मनाउने गर्दछन् । बोलबम पनि यही साउन महिनामा जाने गर्दछन् ।

सोमवारको व्रत गर्नेहरूले अभक्ष्य अर्थात् तामसी भोजन खानु हुँदैन । सात्विक खाना खानुपर्छ, त्यो पनि एक छाक । फलफूल सेवन गर्न निषेध छैन । सोमवारको व्रत गर्दा सेतो फूल र बेलपत्र, धतुराको फूल आदि शिवलिङ्गमा चढ़ाएर पूजा गर्नुपर्छ । कुनै कामना वा इच्छा छ भने त्यो इच्छा मनमा सम्झिएर शिवपार्वतीको एकैसाथ पूजा गर्दै नमन गर्नुपर्छ । यसरी पूजा गर्दै शिव पञ्चाक्षर मन्त्र (ॐ नमः शिवाय) को जप गर्नुपर्छ ।

सोमवारको अङ्क २ हो, यसले चन्द्रमाको (आइत–सूर्य, सोम–चन्द्र, मङ्गल–मङ्गल ग्रह आदि) प्रतिनिधित्व गर्दछ । चन्द्रमा मनको सङ्केतक हो अनि चन्द्रमा भगवान शिवको मस्तकमा पनि विराजमान छन् । ‘चन्द्रमा मनसो जातः’ अर्थात् ‘चन्द्रमा मनको मालिक हुन्’ । तसर्थ मनको नियन्त्रण अनि नियमनमा चन्द्रमाको भूमिका हुन्छ । यसको सोझो अर्थ यो हो कि साधकले मनलाई नियन्त्रित गर्दा मुक्ति पाउँछन् । त्रिगुणातीत भाव प्राप्त गर्दछन् अनि यही नै साधकको जन्ममरणबाट मुक्तिको आधार बन्छ ।

सूर्यले ताप तथा चन्द्रमाले शीतलता प्रदान गर्छन, यसकारण सूर्य कर्कट राशिमा आएपछि वर्षा हुन्छ र यसले शिवलाई खुसी पार्छ । त्यसैले यो महिना व्रत वसी शिवजीको व्रत र पूजा गरे आफू, श्रीमान, सन्तान, एवं परिवार सवैको कल्याण हुने धार्मिक विश्वास छ । महिनाको अन्य दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

साउनको सोमवार व्रत नबसे पनि कुनै पनि अनैतिक कार्यबाट टाढा रहनुपर्छ ।

गलत विचार र आचरणबाट टाढा रहनुपर्छ ।

ब्रह्मचर्यको पालना गर्नुपर्छ ।

साउनको सोमवार छिटै उठेर भगवान् शिवको ध्यान गर्नुपर्छ ।

ठूलालाई सम्मान गर्नुपर्छ भने कुनै पनि असहायको अवहेलना गर्नुहुँदैन ।

साउनमा मांस मदिराबाट टाढा रहनुपर्छ, यसले जीवहत्याको पाप लाग्नुका साथै तन, मन पनि अशुद्ध हुन्छ ।

साउन हरियालीको मौसम हो, हरियाली शिवजीलाई अत्यन्त मन पर्छ, त्यसैले साउनमा रुखबिरुवा काट्नु अशुभ मानिन्छ ।