सुगन्धकोकिला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

वैज्ञानिक नाम : Cinnamomum glaucescens (Nees ) Drury

वानस्पतिक परिवार : Lauraceae

यो वनस्पति नेपालको रैथाने विरुवा मानिएकोले अग्रेजीमा यसलाई Nepali sassafras भनिन्छ|

यो अन्दाजी १५ मी. सम्म अग्लो र ५ फिटसम्म मोटाई हुने सदावहार रुख हो। पात अण्डवृत्ताकार (eliptic), ठूलो नशा (mid-rid) स्पष्ट छुट्टिने, मोटो र ४ देखि ५ वटा दाँयाँ बाँयाँ फैलिएका नसाहरू भएका , करिब ७ देखि १० से. मी. चौडाई र १०–२० से.मी. लामा , एकपछि अर्को गर्दै आउने परिवर्तनशील र भेट्नु भएका हुन्छन्। फूल फुल्ने भाग (Inflorescence) मसिना खैरा रौंहरूले ढाकेको हुन्छ। फूल साना सेता रंगका अन्दाजी २–२.५ मि. मी सम्म मोटाई भएका साना साना भेट्नुमा फुल्दछन्। फल गोलाकार करिब ३ से. मी. लम्बाई र १० देखि १२ मी . मि चौडाई भएका र तल्लो भागमा कपजस्तो आकारले ढाकिएको हुनुको साथै पाकेपछि कालो रंगका हुन्छन्। यो वनस्पति मध्य हिमालयदेखि सिक्किम ,भुटान ,मणिपुर र खासी (आसामको पहाड )मा पाइन्छ। नेपालमा विशेष गरी राप्ती अंचलको ६०० देखि १३६० मींको उचार्यमा पाइन्छ।

उपयोगिता : सुगन्धकोकिलाका मुख्य उपयोगी भागहरूमा यसका फल , बोक्रा र काठ हुन्। फलको बोक्रा (Pericarp) बाट सुगन्धित तेल निकाली अत्तर बनाउनमा प्रयोग गरिन्छ भने तेल निकासी बाँकी छोक्रालाई सिन्केधुप बनाउन प्रयोग गरिन्छ। यसरी निकालिएको तेलबाट विभिन्न प्रकारको सुगन्धित साबुनहरूको साथै अन्य सुगन्धित चिजहरू जस्तै सिंगारका सामान र लुगाफाटाहरू सुगन्धित बनाउन प्रयोग गरिन्छ। आयुर्वेद चिकित्सा पद्धतिमा पनि यसको सुगन्धित तेलको साथै काठ र बोक्रामा कपुरको केही मात्रा पाइने हुनाले औषधिको रूपमा प्रयोग गरिन्छ। काठ र बोक्राबाट औषधि बनाउँदा पानीमा ढड्याई रस निकालिन्छ। यो वनस्पतिको काठ फर्निचर , निर्माण सामाग्री , हलो जुवा आदिको लागि धेरै मुल्यवान् मानिन्छ। यसको सुगन्धित तेलमा मुख्य रूपले मिथायल सिनामेट र सिनियोल भन्ने रसायन पाइन्छ र यसको बिउबाट निस्कने फ्याटी एसिडमा लोरिक एसिडहरू पाइन्छन्। यो वनस्पतिबाट सुगन्धित तेल उत्पादनको साथै विभिन्न प्रकारका औषधिहरू तथा सुगन्धित वस्तुहरू उत्पादन गरिने हुनाले राष्ट्यि तथा अन्तराष्ट्र्यि बजार सुरक्षित छ। तर पनि विभिन्न कारणहरूले गर्दा सम्पूर्ण उत्पादन भारतमा नै निर्यात हुँदै आएको पाइन्छ। श्री ५को सरकारले गत केही वर्षदेखि विनाप्रशोधन विदेश निर्यात गर्न प्रतिबन्ध लगाएको छ। यो वनस्पतिको फुल फागुन तिर र फल कार्तिक देखि पौष महिनामा पाक्छ। तसर्थ सोही समयमा बिउ संकलन गर्नुपर्दछ र भरसक पारिलो घाम लाग्ने , छायाँ नपर्ने र दक्षिण फर्किएको र मलिलो माटो भएको उपयुक्त हुन्छ। सुगन्धकोकिला रुख जातिको बिरुवा भएको हुनाले यसको खेती पनि अन्य रुख जातिको जस्तै तरिकाले गरिन्छ। बिरुवा लगाएको करिब ५ देखि ७ वर्ष भित्रमा उत्पादन दिन सुरु गर्दछ। एउटा रुखबाट उमेरअनुसार २०० देखि ३०० के. जीं सम्म फलको उत्पादन लिन सकिन्छ।

सुगन्धकोकिलाको फल कार्तिक देखि पौषभित्र पाक्दछ। तसर्थ फल संकलन गर्दा वा बिउ टिप्दा कालो रंगको भएपछि मात्र टिप्नुपर्दछ। यसरी टिपिएका फलहरूमा आफ्नो अङ्कुरण क्षमतामा कमी नहुने र तेलको मात्रामा पनि कमी रहदैन। फल टिपेपछि ३ देखि ५ दिनसम्म पारिलो घाममा राम्रोसँग सुकाउनु पर्दछ। राम्रो सुकिसकेपछि बोरामा वा कपडाको थैलोमा मुख बाँधी हावा लाग्ने ठाउँमा राख्नु पर्दछ।

कपुर, तेजपात ,दालचिनि इत्यादि यस वनस्पति का निकट का बिरुवा हरू हुन


  • [१]
  • (Nees) Hand. - Mazz., Oesterr. Bot. Z. ८५: २१४ (१९३६). Press, Shrestha and Sutton, Ann. Checklist Fl. Pl. Nepal: १६१ (२०००)