सेन्ट पिटर्सवर्ग

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

रुस को प्रमुख शहर |

मे १६, १७०३ मा तत्कालिन रुसी शासक (जार) पिटरले अहिले पिटर-पल फोट्रेस भनेर चिनिने स्तम्भको पहिलो ढुंगा बिछ्याएर सेन्ट पिटर्सवर्गको निर्माण शुभारम्भ गरेका यो शहर तत्कालिन जारको संरक्षक सेन्ट पिटरको नाउँबाट राखिएको थियो।फ्रान्सेली, जर्मन र इटालेली वास्तुकारहरूले दक्ष रूसी समकालीनहरूसित मिलेर निर्माण गरेको यस शहर लाई विश्वकै उत्कृष्ट शहर मानिन्छ|

सत्रौं शताब्दीको अन्तसम्म रूसको समुद्रतिर जाने बाटो नभएकोले यसको विकासमा बाधा पुगेको थियो। रूसको जवान जार, पिटर द ग्रेट अर्थात्‌ महान्‌ पिटरको सपना समुद्रको बाटो खोलेर रूसको “युरोप हेर्ने झ्याल” स्थापना गर्ने थियो। दक्षिणमा ब्ल्याक सी जाने बाटोलाई ओटोमान साम्राज्यले रोकेको थियो। त्यसकारण पिटरले बाल्टिक समुद्रको सिमानामा स्वीडेन अधीनस्थ उत्तरी इलाकातर्फ ध्यान दिन थाले।आफ्नो सपना साकार पार्न अगस्त १७०० मा पिटरले स्वीडेन विरुद्ध युद्ध घोषणा गरे। तिनका सैन्य प्रयासहरूको सुरुमा प्रतिरोध गरिए तापनि तिनले हार खाएनन्‌। नोभेम्बर १७०२ सम्ममा पिटरले लेक लाडोगाबाट स्वीडेनीहरूलाई फर्कन बाध्य बनाइसकेका थिए। यो युरोपको सबैभन्दा ठूलो ताल, नेभा नदीबाट ६० किलोमिटर पर बाल्टिक समुद्रमा जोडिएको छ। स्वीडेनीहरू उक्त तालबाट बग्ने नेभा नदी नजिकैको सानो टापुको गढीमा कडा पहरा दिएर बसिरहेका थिए। पिटरले यसलाई स्वीडेनी नियन्त्रणबाट आफ्नो कब्जामा लिएर शलुशेलवर्ग नामाकरण गरे। पछि, बाल्टिकमा नेभा नदी बग्ने ठाउँ नजिकैको निनशान्ट्स भनिने गढीमा स्वीडेनीहरूले आफ्नो अडान लिए। मे १७०३ मा स्वीडेनी फौजको पूरै पराजय भयो। यो विजयले गर्दा सम्पूर्ण नदीमुख-भूमि रूसीहरूको नियन्त्रणमा भयो। तुरुन्तै पिटरले नेभाको मुखमा सुरक्षा दिन नजिकैको जायाशी टापुमा गढी बनाउन थाले र यो शहर को निर्माण विधिवत रुप मा शुरु भयो|

सेन्ट पिटर्सवर्ग अरू थुप्रै राजधानी शहरहरूजस्तो नभई सुरुदेखि नै एउटा प्रभावकारी राजधानी बनाउन योजना मिलाइएको थियो। यो सुदूर उत्तर अर्थात्‌ हालको आंकोरेज, अलास्काको जस्तै अक्षांसमा अवस्थित भए तापनि पिटर निर्माणकार्यमा अघि बढे। लेक लाडोगा र नोभगोरोड इलाकाबाट काठ ल्याइयो। पिटरले निर्माणको लागि ढुंगा ल्याउन सकेको एउट कारण त, कोटा तोकिदिएर थियो। सेन्ट पिटर्सवर्गमा सामान ल्याउने प्रत्येक रूसीले ढुंगाहरूको एउटा परिमाण पनि ल्याउनुपर्थ्यो। साथै, पिटरले सर्वप्रथम मस्कोमा र पछि तिनको सम्पूर्ण साम्राज्यमा ढुंगे घर बनाउन निषेध गरे। फलस्वरूप, बेरोजगार डकर्मीहरू सेन्ट पिटर्सवर्गमा काम गर्न आए।यस शहरको निर्माणकार्य द ग्रेट सोभियत इन्साइक्लोपीडिया-ले बताएअनुसार “त्यतिबेलाको समयको लागि असामान्य गतिमा” अघि बढ्यो। ढल निकास, जगको खम्बा, सडक, भवन, चर्च, अस्पताल र सरकारी कार्यालयहरू चाँडै देखा पर्न थाले। यो शहर स्थापना भएको वर्ष, जहाज बनाउने ठाउँमा निर्माणकार्य सुरु भयो र यो पछि गएर रूसी सेनाको मुख्यालय भयो र नौसैनिक विभाग भनेर चिनियो।


सन्‌ १७१० मा जारहरू गर्मी महिनामा बस्नको लागि समर प्यालेस अर्थात्‌ ग्रीष्मकालीन दरबारको निर्माणकार्य सुरु भयो। सन्‌ १७१२ मा रूसको राजधानी र यसका थुप्रै सरकारी कार्यालयहरू मस्कोबाट सेन्ट पिटर्सवर्ग सारियो। यो शहरको पहिलो ढुंगे दरबारको निर्माणकार्य १७१४ मा पूरा भयो र यो हालसम्म संरक्षित छ। यो दरबार यस शहरको पहिलो राज्यपाल, एलेक्जान्डर मेन्शिकोभको लागि निर्माण गरिएको थियो। त्यही वर्ष उही गढीभित्र पिटर-पल कथिड्रल अर्थात्‌ विशाल गिर्जाघरको निर्माणकार्य सुरु भयो। यसको अग्लो गजुर, शहरकै चिनारी हो। नेभा नदीमा विन्टर प्यालेस अर्थात्‌ हिउँदकालीन दरबार पनि निर्माण गरियो तर १७२१ मा यसलाई भत्काएर ढुंगाको संरचना बनाइयो। पछि लगभग १,१०० वटा कोठा भएको हालको विन्टर प्यालेस बनाइयो। यो भव्य दरबार शहरको केन्द्र अनि सरकारी संग्रहालय अवस्थित शहरको प्रख्यात हर्मिटाज भएको छ।

सेन्ट पिटर्सवर्गको पहिलो दशकमा उल्लेखनीय वृद्धि भयो र १७१४ सम्म शहरभित्र मात्रै ३४,५०० जति घरहरू निर्माण भइसकेको रिपोर्ट गरियो! कुनै रोकटोकविना दरबार तथा विशाल भवनहरू निर्माण हुन थाले।सेन्ट पिटर्सवर्गका बाहिरी इलाकाहरूमा पनि निर्माणकार्य उल्लेखनीय थियो। पिटरको निवास, ग्रेट प्यालेसको निर्माणकार्य १७१४ मा पिटरहफमा सुरु भयो र यसलाई अहिले पेट्रोडभोरेट्स भनिन्छ। त्यतिन्जेल, सार्सकोइ सेला, हाल पुस्किन भनिने नजिकैको शहरमा पिटरकी श्रीमतीको लागि भव्य क्याथरिन प्यालेस अर्थात्‌ दरबार निर्माण गरियो। त्यही दशकको पछिल्लो भागमा दुइटा दक्षिणी इलाकाहरू, पाभ्लोस्क र गाचिनामा दुइटा भव्य दरबार निर्माण गरियो।यो नयाँ विकसित शहरको सौन्दर्यलाई यसका थुप्रै नदी र नहरहरूमाथि निर्माण गरिएका सयौं पुलहरूले अझ बढायो। तसर्थ, सेन्ट पिटर्सवर्गलाई अक्सर “उत्तरको भेनिस” भनेर बयान गरिएको छ।

सेन्ट पिटर्सवर्गमा आउने पर्यटकहरू हेर्ने कुरा थुप्रै भएकोले कहाँबाट सुरु गर्ने होला भनेर वाल्ल पर्छन्‌। हर्मिटाजमा पुग्दा त्यस्तो अलमल्ल हुन्छ। एउटा अनुमानअनुसार सयौं प्रदर्शन कक्षहरूमा राखिएका प्रत्येक वस्तुको लागि एक मिनेट मात्र बिताउने हो भने पनि यात्रा पूरा गर्न वर्षौं लाग्नेछ।अरू भने सेन्ट पिटर्सवर्गको सबैभन्दा ठूलो धन भनेको यसको बाले भन्छन्‌। उदाहरणका लागि प्रख्यात मारिनिस्की रंगमञ्चमा क्रिस्टलका फोहराहरू मुनि बसेर चारैतिर हेर्न सकिन्छ अनि भित्तामा झण्डै ४०० किलोग्राम सुनको लेप लगाइएको छ। यस्तो भूमिकामा संसारकै सबैभन्दा उत्कृष्ट बाले हेर्न सकिन्छ।

सेन्ट पिटर्सवर्ग रूसको—“युरोप हेर्ने झ्याल”