हायु (जाति)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हायु जातजातीको मुख्य बसोवास रामेछाप जिल्लाको सुकाजोर गाविसमा पर्ने मुराजोर भन्ने ठाउँ हो तर ओख्रेनी गाविसमा पनि यिनीहरूको बाक्लो बस्ती देखिन्छ । कुन ठाउँबाट यिनीहरू यो ठाउँमा बसाईँ आएका हुन भन्ने कुनै टुङ्गो छैन । बुढापाकाहरूको भनाई अनुसार उनीहरू एउटा बाजा बोकेर समुहमा यात्रा गर्ने क्रममा यही स्थानमा आइपुग्दा आफुले बोकेको बाजा अकास्मात् बजेकोले देवताहरूको सङ्केत ठान्दै त्यही स्थानमा बसोवास गर्न थालेका हुन् । त्यसपछी कागुनेको विउ छरेर उनीहरू जीवीकोपार्जन गर्दै आए । हायुहरूको शारीरिक बनावट, मध्यम कद, कालो कपाल भएको मङ्गोल नस्ल जस्तै छ । झट्ट हेर्दा हायुहरू साह्रै सोझा देखिन्छन् । हायुहरूको थर अनौठो भएको कारण अवसर गुमाउनुपर्ने बाध्यताका कारण थर नै परिवर्तन गर्नुपर्ने स्थितिको सामना गरेका छन् । विर्तामा पाएको जग्गाका (अहिले भोगचलनमा नभएको) कारण हायुहरूको पुर्व आर्थिक अवस्था धेरै गतिलो थियो तर गरिबी र अभावमा बाँचेका हायुहरूलाई देश विकासको मुलधारमा ल्याउन नसकेको प्रष्टै देखिन्छ । पढेलेखेकाले जागिर खानुपर्छ भन्ने मान्यता बोकेका हायुहरू निजामती सेवामा समेत आबद्ध छन ।