माधवप्रसाद घिमिरे (साहित्यकार)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राष्ट्रकवि

माधव प्रसाद घिमिरे
जन्म१९७६ असोज ७
लमजुङ, नेपाल
मृत्यु२०७७ भदाै २
काठमाडौँ, नेपाल
पेशा
  • कवि
  • गीतकार
  • नाटककार
विधा
विषय
  • प्रकृति
  • प्रेमलीला
  • राष्ट्रियता
उल्लेखनीय कार्यहरू'मालती मङ्गले, शाकुन्तला, हिमालवारी हिमालपारी, गौरी'
उल्लेखनीय पुरस्कारहरूगोरखा दक्षिणबाहु
त्रिभुवन प्रज्ञा पुरस्कार साझा पुरस्कार
सक्रिय अवधिवि.सं १९९०–२०७६
जीवनसाथी
गौरी घिमिरे (जन्म उपनाम पोखरेल) (सन् १९३३–३४ देखि सन् १९४७–४८), महाकाली घिमिरे (सन् १९४८–२०२०; उनको मृत्यु)
बच्चाहरू

माधवप्रसाद घिमिरे (जन्म: वि.सं. १९७६ असोज ७ गते हालै मृत्यु: २०७७ भाद्र २ गते) स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्। उनी बाल्यावस्थादेखि निरन्तर रूपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौँ विधा-उपविधाहरूमा निरन्तर कलम चलाउँदै आएका बहुमुखी प्रतिभा हुन्।[१] प्रकृतिका अनेकन विविध पक्षहरूलाई आफ्ना जीवन्त रचनाहरूमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङ्गबाट व्याख्या गर्ने उनका लेखाइहरु दीर्घसाधनाले भरिएका छन्। उनले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाए थिए। उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर-किन्नरी (वि.सं. २०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन्। उनलाई 'राष्टकवि' को उपाधिले सम्मान गरिएको छ। उनको मृत्यु वि.सं. २०७७ साल भाद्र २ गते मङ्गलवार काठमाडौँ, लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा भएको हो।[२]

सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]

माधवप्रसाद घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भयो। जन्मिएको तीन वर्षमा उनकी आमा बितिन्। ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे। ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा(लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौँको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे। त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे।[३] घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन्।

पेशागत जीवन र अन्य[सम्पादन गर्नुहोस्]

१४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकमा वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गरे। घिमिरे वि.सं. २००५ सालमा गोरखापत्रमै सह-सम्पादकको जागिरे पनि थिए। बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषद्बाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र वि.सं. २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गरे। त्यसपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य थिए। [३]

वि.सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न भएका थिए।

चर्चित राष्ट्रिय गीत 'गाउँछ गीत नेपाली' का रचनाकार घिमिरे का अन्य चर्चित गीतहरूमा 'फूलको थुङ्गा बगेर गयो' (तारादेवी) तथा 'आजै र राति के देखेँ सपना' (नारायण गोपाल)ले गाएका छन्। उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहे।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

वि.सं. २००४ सालमा उनको जीवनसंगिनी गौरीको निधन भयो।

कृति[सम्पादन गर्नुहोस्]

उनको काविक यात्राको पहिलो कृति नव मञ्जरी वि.सं. १९९४ सालमा प्रकाशित भएपछिको यात्रा निरन्तर छ। गौरी राष्ट्रकवि माधव घिमिरेद्वारा लेखिएको शोककाव्य हो। साझा प्रकाशनले वि.सं. २०१५ सालमा प्रकाशित गरेको यस काव्यमा १२ उपशीर्षकमा लेखिएका कविताहरू सङ्ग्रहित छन्।

माधव घिमिरेद्वारा लेखिएका कृतिहरू

सम्मान तथा पुरस्कार[सम्पादन गर्नुहोस्]

राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई वि. सं. २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो। उहाँलाई वि.स.२०७५ मा महा उज्ज्वल पदकबाट सम्मानित गरिएको छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]