ढाँचा:प्रमुख लेख/नोभेम्बर, २०१६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भीमसेन थापा

भीमसेन थापा (सन् १७७५ अगस्ट – सन् १८३९ अगस्ट ५) नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार (प्रधानमन्त्री सरह) तथा राष्ट्रिय विभूति हुन् । राजा रणबहादुर शाहका अङ्गरक्षक तथा व्यक्तिगत सचिव भएपछि भीमसेन थापाको उदय भएको हो । सन् १८०० मा रणबहादुर अधित्याग गरेर निर्वासित जीवन बिताउन भारतको वाराणसी जाँदा भीमसेन थापा पनि सँगै गएका थिए । यसै कृतज्ञताका कारण, रणबहादुर शाहले भीमसेन थापालाई नयाँ विस्तारित सरकारमा काजी (मन्त्री सरहको पद) को पदमा नियुक्त गरे । सन् १८०६ मा रणबहादुर शाहको हत्या उनकै सौतेनी भाईद्वारा भए पश्चात भीमसेन थापाले ९३ जनाको हत्या गरेर स्वयं आफू मुख्तियार (प्रधानमन्त्री सरहको पद) बने ।

भीमसेन थापाको प्रधानमन्त्रीकालमा गोरखा साम्राज्यको निक्कै विस्तार भएको थियो । यसको प्रमाण यसबाट लगाउन सकिन्छ कि त्यस समयमा यस साम्राज्यको सिमाना पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदी सम्म पुगेको थियो । तर, सन् १८१४-१८१६ सम्म नेपाल विनाशकारी अङ्ग्रेज-नेपाल युद्धमा फस्यो, जसको फलस्वरूप नेपालले सुगौली सन्धि गरेर आफ्नो एक तिहाई जमीन इस्ट इन्डिया कम्पनीलाई बुझाउनु परेको थियो । यस युद्धमा पराजयकै कारण नेपालमा ब्रिटिश रेसिडेन्सीको स्थायित्व कायम भएको थियो । (पूरा  पढ्नुहोस्...)