लुट्न सके लुट कान्छा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"लुट्न सके लुट कान्छा"
पशुपति शर्माको गीत
भाषानेपाली भाषा
प्रकाशित२०७५
सार्वजनिक२०७५
रेकर्ड२०७५
किसिमलोकगीत
गीतकार(हरू)पशुपति शर्मा
सङ्गीतकारपशुपति शर्मा

लुट्न सके लुट कान्छा वि.स. २०७५ सालमा सार्वजनिक भएको अत्यन्तै लोकप्रिय तथा विवादास्पद नेपाली मौलिक प्रकारको एक लोकगीत हो। यो गीत नेपाली चर्चित लोक गायक पशुपति शर्माले लेखेका तथा गाएका थिए। नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यङ्ग्य गर्दै पशुपति शर्माले सार्वजनिक गरेको यस गीतलाई युट्यूबबाट हटाएइको थियो।[१]

चर्चित तथा लोकप्रिय यस गीतका गायक तथा सर्जक पशुपति शर्मा

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

पशुपति शर्माको ‘लुट्न सके लुट नेपालमै हो छुट’ बोलको यस व्यङ्ग्यात्मक गीतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समेत खैलाबैला मच्चाएको थियो।[२] प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका बारेमा सरकार शून्य सहनशीलता लिएर अघि बढिरहेको बताइरहेका बेला गायक पशुपति शर्माले नेपालमा भ्रष्टाचार बढिरहेको भावको व्यङ्गात्मक गीत सार्वजनिक गरेपछि प्रधानमन्त्री निवासमा उक्त गीतले तरङ्ग पैदा गरेको थियो। गीतमा प्रधानमन्त्री ओलीप्रति पनि शाब्दिक रूपमा कडा व्यङ्ग्य प्रहार गरिएको थियो[३]। काम केही नगर्ने, ठूला–ठूला भाषण मात्र गर्ने, स्वर्ग जस्तो देशमा ‘यमराजको शासन’ चलेको जस्ता शब्द गीतमा प्रयोग गरिएपछि सरकारले उक्त गीतमाथि प्रतिबन्ध लगाउने बारे छलफल अगाडि बढाएको थियो। गीतमा सरकारका काम कारवाहीका साथै राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत व्यङ्ग्य गरिएको छ। पशुपति शर्माको यस गीतमा घुस प्रथा साथै भ्रष्टाचारको आशङ्का गरिएको वाइडबडी काण्ड, ३३ किलो सुन काण्ड लगायतका विषयलाई समेत व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको छ। गीतमा राजधानी सहित देशभर विकासका आयोजना अलपत्र परेको, जता–ततै लुटतन्त्रले राज गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले चढ्ने हेलिकप्टरको प्रसङ्ग पनि जोडिएको छ।

शब्दहरू[सम्पादन गर्नुहोस्]

गीतलाई विवादास्पदमा ल्याएका गीतमा रहेका केही शब्दहरू[४] :


गणतन्त्र ल्याएँ भन्छन् फाल्यौँ भन्छन् राजा त्यही फालेका राजा जस्ता कयौँ निस्के आज

जनताको मुटुभित्र काँडा कति कति डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति ।

वाइडबडी जहाज किने रे लुट्नैसम्म लुटे सुनकाण्ड खै कहाँ पुग्यो, जेलमै छन् कि छुटे

ठूलै नेता भ्रष्टाचारी न नडराउछन् न लुक्छन्, कार्यकर्ता केही बोल्दैनन् कुकुरजस्तै भुक्छन् ।

हजुरबा’नि यसै मरे, बाउ’नि यसै मर्छन् । हाम्रो पनि त्यही हो गति विकास कहिले गर्छन् ।

गर्ने काम केही होइन ठूला-ठूला भाषण, स्वर्गजस्तो देशमा हजुर यमराजको शासन !


भिडियो[सम्पादन गर्नुहोस्]

वि.स. २०७५ फागुन ०२ गते बिहीबारबाट बजारमा आएको यस गीतले वर्तमान अवस्थामा देखिएका भ्रष्टाचार काण्डदेखि विकास निर्माणमा हुने बदमासीलाई चित्रण गरेको थियो। गीतको मुख्य अभिनयमा गायक स्वयम् पशुपति शर्मा लगायत प्रज्ज्वल भण्डारी र मञ्जु विक देखिका छन्। युट्युबमा अपलोड गरिएको २ दिनकै बीचमा भिडियो १३औँ ट्रेन्डिङमा रहेको थियो। तर विभिन्न कारण वस गायक पशुपति शर्माले नै यो गीतलाई युट्युबाट हटाएका थिए। तर छोटो अबधिमा नै यो गीतले युट्युबमा करीब तीन लाख भन्दा बढी दर्शक पाइसकेको थियो[५]

सामाजिक सञ्जाल[सम्पादन गर्नुहोस्]

यो गीतलाई लिएर देशव्यापी रूपमै सामाजिक सञ्जालहरूमा निकै ठूलो बहस भएको थियोे। सामाजिक सञ्जालमा कतिपयले उनको गीत विसंगति विरुद्ध व्यंग्यको रूपमा आएको भनेका थिए त कतिले राजनीतिक पूर्वाग्रह साँधेको आरोप लागएका थिए भने कतिले लुट, भ्रष्टाचारलाई व्यंग्य गरेको बताए छन् भने अनस कतिले लुट्नलाई आव्हान गरेको बताएका थिए।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "‘लुट्न सके लुट् कान्छा..‘ गीत युट्युबबाट हट्यो, के भन्छन् पशुपति ?", अन्नपूर्ण पोस्ट, २०१९-०२-१६, अन्तिम पहुँच २०१९-०२-१७ 
  2. रातोपाटी, "पशुपति शर्माको ‘लुट्न सके लुट’ गीतले बालुवाटारमा खैलाबैला", RatoPati (नेपालीमा), अन्तिम पहुँच २०१९-०८-०१ 
  3. "‘लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’", देश सञ्चार, अन्तिम पहुँच आइतबार, फागुन ०५, २०७५ 
  4. "पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ किन हटाए, गीतमा माफी माग्नैपर्ने त्यस्तो के छ ?", न्यूज २४ नेपाल, अन्तिम पहुँच आइतबार, फागुन ०५, २०७५  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-१७ मिति
  5. "पशुपति शर्माको ‘लुट्न सके लुट’ गीतले बालुवाटारमा खैलाबैला", रातोपाटी, अन्तिम पहुँच शनिबार फागुन ४, २०७५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]