युद्धप्रसाद मिश्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युद्धप्रसाद मिश्र
युद्धप्रसाद मिश्र
जन्मयुद्धप्रसाद मिश्र
वि.सं. १९६४ पुस २७ गते
सोमलिङटार, भक्तपुर
मृत्युवि.सं. २०४७ फाल्गुण ६ गते (८४ वर्ष)
वीर अस्पताल काठमाडौँ
राष्ट्रियतानेपालनेपाली
नागरिकतानेपाली
पेशालेखन, राजनीति
चिनारीको कारणकवि, राजनीतिज्ञ
उल्लेखनीय कार्य
(१) अहिंसा प्रार्थना (लघुकाव्य १९८६ अप्रकाशित अवस्थामै श्री ३ भीमसमशेरद्वारा च्यातेर जलाइएको), (२) चरा (कवितासंग्रह १९९४), (३) अमरकथा (कथासंग्रह २०१५), ४) मुक्ति रामायण अरण्यकाण्ड (खण्डकाव्यः २०२७), (५) मुक्तसुदामा (खण्डकाव्य २०२९), (६) बाढी (कवितासङ्ग्रह २०२९), (७) युद्धप्रसाद मिश्रका कविताहरू (कवितासङ्ग्रह २०४८), (८) स्कुल जाऔ (बालकविता कृति २०५७), (९) स्कुल जान्छु टम टम् टम (बालकविता कृक्ति २०६३), (१०) विद्यार्थी विरालो (बालकविता कृतिः २०६३), (११) हाम्रो भैसी बुबु दिन्छ (बालकविता कृतिः २०६३), (१२) मनमनै क ख भन्छु (बालकविता कृति २०६४) (१३) आँखे मात्र तर्छन् (बालकविता कृक्तिः २०६४), (१४) युद्धप्रसाद मिश्रका काव्य रचनाहरू (कवितासंग्रह २०६४) (१५) युद्धप्रसाद मिश्रका प्रतिनिधि कविताहरू (कविता संग्रह- २०७९) ।
गृहनगरकाठमाडौँ
जीवनसाथीलोककुमारी देवकोटा
सन्ताननौ सन्तान (चार छोरा, पाँच छोरी)
पुरस्कार‘स्रष्टा पुरस्कार’ (वि.सं २०४५), ‘कृष्णमणि साहित्य पुरस्कार’ (वि.सं. २०४६)

युद्धप्रसाद मिश्र (अङ्ग्रेजी: Yuddha Prasad Mishra) (वि.सं. १९६४ - वि.सं. २०४७) नेपाली कविता क्षेत्रका स्वच्छन्दतावादी, प्रगतिवादी धाराका कवि हुन् । मिश्र वि.सं. १९६४ पौष शुक्ल अष्टमीका दिन भक्तपुरको सोमलिङटारमा जन्मिएका थिए ।[१]

जीवनी[सम्पादन गर्नुहोस्]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

जनताका यी महान् साहित्यकार युद्धप्रसाद मिश्रको जन्म आमा गीताकुमारी र बुबा रुद्रप्रसाद मिश्रको कोखबाट भक्तपुर जिल्लाको सोम्लीङ्गटारमा भएको थियो । युद्धप्रसाद डेढ वर्ष हुँदा उनका बुबा बितेका थिए । त्यसपछि उनी आमा गीताकुमारी र भावलीको काखमा हुर्केका थिए ।[२]

शिक्षा[सम्पादन गर्नुहोस्]

सानैमा बुबाको मृत्यु भएकोले उनले राम्रोसँग पढ्ने मौका पाएनन् । उनले प्रारम्भिक शिक्षा आफ्नी आमाबाट पाए । पछि आमा र मावली हजुरबाको प्रयासमा घरमै एकजना शिक्षकको व्यवस्था गरी प्राथमिक शिक्षाको बन्दोबस्त मिलाइएको थियो । प्रारम्भिक शिक्षा सकेपछि उनलाई त्यस बेलाको दरबार हाइस्कुलमा भर्ना गरियो । त्यहाँ उनले एक वर्षजति वेदको अध्ययन गरे । त्यसबेला सरकारी जागिर खानका लागि तीन पास भन्ने परीक्षा पास गर्नु पर्थ्यो । उनले दरबार हाइस्कुलबाट तीन पास गरे । तीन पास गरेपछि जागिर खाँदै उनले चार पास गरे । त्यसैलाई आधार मानेर चौध पासको मान्यता दिइएको थियो ।[२]

कार्य जीवन[सम्पादन गर्नुहोस्]

दरबार हाइस्कुलबाट तीन पास गरेपछि उनले १९८४ देखि कुमारी चोकमा नौसिन्दाको पदबाट जागिर खान थाले । नौ वर्ष जागिर खाएपछि उनले राजीनामा दिए । त्यसपछि उनले राणा प्रधानमन्त्री श्री ३ भीमशमसेरको दरबारमा कान्छी रानीको ढुकुटीमा बहिदारको जागिर खाए । तयहाँबाट पनि उनले १९९० मा राजीनामा दिएर आफ्नै जन्मथलोतिर लागे । त्यहाँ उनले जागिर खाए पनि पढ्न छाडेनन् । उनले केही विद्वानहरूको सहयोग र स्वअध्ययनबाटै संस्कृत भाषा र साहित्यको गहिरो अध्ययन गरे । उनलाई हिन्दी र अङ्ग्रेजी भाषाको पनि राम्रै ज्ञान थियो । वि.सं. २००० तिरबाट उनले फेरि वीरगञ्ज सर्कल अफिसमा सुवेदार पदको जागिर खान थालेका थिए । [२]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

उनको विवाह लोककुमारी देवकोटासँग वि.सं. १९८६ सालमा भएको थियो । उनीहरूका कोखबाट किरणप्रकाश, नानीमैया, अरुणप्रकाश, विद्युतप्रकाश, महेश्वरप्रकाश, सावित्री, महालक्ष्मी, श्रीकुमारी, कमलकुमारी गरी नौ सन्तानको जन्म भएको थियो । युद्धप्रसाद बीस वर्ष पुग्दा उनको आमाको मृत्यु भयो । यसैबीचमा उनले तीन छोरी पनि गुमाउनु परेको थियो ।[२]

राजनैतिक जीवन[सम्पादन गर्नुहोस्]

वि.सं. २००३ सालमा नेपालमा नेपाली राष्ट्रिय काङ्ग्रेस पार्टीको स्थापना भएको थियो । काङ्ग्रेसले राणाहरूको अत्याचारको विरोध गर्ने भएकाले मिश्र पनि त्यही पार्टीतिर आकर्षित भए । २००४ सालमा काङ्ग्रेसमा लागेर राणाविरोधी गतिविधिमा लागेको भनी सुब्बा पदबाट बर्खास्त गरी उनलाई गिरफ्तार गरियो र २ वर्ष ४ महिनासम्म जेलमा राखेर यातना दिइयो ।

२००७ सालको परिवर्तनपछि उनले पुनः वीरगञ्ज बजारअड्डामा खरदारको जागिर पाए । उनको इमानदारीलाई कदर गर्दै जागिर खाएको एक वर्ष नपुग्दै उनी सुव्बामा बढुवा गरिए ।

२०१०/११ सालतिर उनको आफ्नै पार्टी नेपाली काङ्ग्रेसले उनलाई भ्रष्टाचारको आरोप लगायो र धेरै वर्षसम्म उनलाई मुद्दामा दुःख दियो । केही समयपछि सरकारले भ्रष्टाचारको मुद्दा लागेको सबैलाई सफाइ दिएपछि उनी फेरि सुब्बा पदमा पुनः बहाली भए ।

२०१२ सालमा बनारस निर्वासन भएपछि उनी नेपाली काङ्ग्रेसको विचार त्यागी कम्युनिष्ट सद्धान्ततिर आकर्षित हुँदै गए । बनारसमा उनको पुष्पलाललगायत अन्य भूमिगत नेतासँग भेट भयो । २०१७ सालदेखि कम्युनिष्ट विचारतिर प्रभावित हुन थालेका थिए । तर त्यसबेला एउटा कम्युनिष्ट पार्टी थिएन । सबै कम्युनिष्ट एक भएर अगाडि बढ्नु पर्छ भन्ने उनको भनाइ थियो । त्यसैले उनी कुनै पनि कम्युनिष्ट पार्टी वा समूहको सदस्य बनेनन् ।

८२ वर्षको उमेरमा पनि उनले पञ्चायती तानाशाही व्यवस्थाको विरुद्ध २०४७ साल चैत्र ३ मा लेखक कलाकारहरूले चलाएको आन्दोलनमा नेतृत्वदायी भूमिका खेले र गिरफ्तार भए ।[२]

साहित्यिक यात्रा[सम्पादन गर्नुहोस्]

युद्धप्रसाद मिश्रले चौध, पन्ध्र वर्षको उमेरमै कविता लेख्न थालेका थिए । वि.सं. १९८६ मा उनले “अहिंसा प्रार्थना” लघुकाव्य रचना गरेका थिए । त्यस कृतिलाई राणाविरोधी भनी श्री ३ भीमसमसेरले च्यातेर जलाइदिएका थिए ।

यसो गरेपछि कवि निरास भई लेख्नै छाड्छन् भन्ने राणाशासकले सोचेका थिए । तर त्यस घटनाले उनलाई झन् उत्साही बनायो । उनले वि.सं. १९८८ मा विद्यार्थी शिक्षा नामको कविता गोरखापत्रमा प्रकाशित गरे । यो उनको पहिलो प्रकाशित रचना थियो ।

उनले शुरूमा स्वच्छन्दतावादी कविता लेखे । त्यसपछि प्रकृतिप्रेमीका कविता हुँदै २०१७ सालदेखि जीवनको अन्त्यसम्म जनतालाई अन्याय अत्याचारको विरुद्ध लड्न जोस्याउने प्रगतिवादी रचना सिर्जना गरे ।[२]

मृत्यु[सम्पादन गर्नुहोस्]

यी महान् तथा स्वाभिमानी कविको २०४७ साल फाल्गुण ६ गते ८३ वर्षको उमेरमा वीर अस्पतालमा निधन भएको थियो ।[२]

कृतिहरू[सम्पादन गर्नुहोस्]

(१) अहिंसा प्रार्थना (लघुकाव्य १९८६ अप्रकाशित अवस्थामै श्री ३ भीमसमशेरद्वारा च्यातेर जलाइएको), (२) चरा (कवितासंग्रह १९९४), (३) अमरकथा (कथासंग्रह २०१५), (४) मुक्ति रामायण अरण्यकाण्ड (खण्डकाव्यः २०२७), (५) मुक्तसुदामा (खण्डकाव्य २०२९), (६) बाढी (कवितासङ्ग्रह २०२९), (७) युद्धप्रसाद मिश्रका कविताहरू (कवितासङ्ग्रह २०४८), (८) स्कुल जाऔ (बालकविता कृति २०५७), (९) स्कुल जान्छु टम टम् टम (बालकविता कृक्ति २०६३), (१०) विद्यार्थी विरालो (बालकविता कृतिः २०६३), (११) हाम्रो भैसी बुबु दिन्छ (बालकविता कृतिः २०६३), (१२) मनमनै क ख भन्छु (बालकविता कृति २०६४) (१३) आँखे मात्र तर्छन् (बालकविता कृक्तिः २०६४), (१४) युद्धप्रसाद मिश्रका काव्य रचनाहरू (कवितासंग्रह २०६४) (१५) युद्धप्रसाद मिश्रका प्रतिनिधि कविताहरू (कविता संग्रह- २०७९) ।

पुरस्कार तथा सम्मान[सम्पादन गर्नुहोस्]

प्रगतिशील लेखक कलाकार सङ्घले २०४१ सालमा अभिनन्दन गरेको थियो । मृत्युपश्चात् पनि उनको सम्मानमा युद्धप्रसाद मिश्र प्रतिष्ठान गठन गरी विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । प्रतिष्ठानद्वारा साहित्यका विभिन्न विधा तथा क्षेत्रमा काम गरेका स्रष्टा तथा संस्थाहरूलाई पुरस्कृत गर्ने गरिएको छ । मिश्रले विसं २०४५को ‘स्रष्टा पुरस्कार’, विसं २०४६को ‘कृष्णमणि साहित्य पुरस्कार’ प्राप्त गरेका थिए। प्रगतिशील लेखक संघबाट विसं २०४१मा अभिनन्दित भएका मिश्रको नाममा हाल ‘कवि युद्धप्रसाद मिश्र पुरस्कार’को स्थापना गरिएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. आधुनिक नेपाली कविता–काव्य (गीत र गजल), नरेन्द्रप्रसाद कोइराला तथा राजन भट्टराई
  2. २.० २.१ २.२ २.३ २.४ २.५ २.६ आचार्य, विजयराज (२०६७), "युद्धप्रसाद मिश्र : आगो ओकल्ने कवि ISBN=978-9937-523-90-5", in विनय कसजू, अग्रज स्रष्टाहरु, विवेक सिर्जनशील प्रकाशन प्रा.लि., काठमाडौँ, पृ: ७–१३।