कुलबहादुर गुरुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कुल बहादुर गुरुङबाट अनुप्रेषित)
कुलबहादुर गुरुङ
जन्मवि.सं. १९९२ मंसीर ८ गते
इलाम नेपाल
वासस्थानइलाम नगरपालिका -२ चियाबारी
राष्ट्रियतानेपाली
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्विवद्यालय
पेशाराजनीति
कार्यकाल६५ वर्ष
चिनारीको कारणनेपाल गणतन्त्र घोषणा (संविधानसभाको पहिलो बैठकको अध्यक्षता)
धर्महिन्दू
जीवनसाथीश्रीमती रत्ना गुरुङ

कुलबहादुर गुरुङ (प्रचलित नाम केबी गुरुङ) नेपाली राजनीतिज्ञ तथा प्रजातन्त्र सेनानी हुन्। अहिले उनी नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य छन्। यस अघि उनी कांग्रेसको महामन्त्री थिए। गुरुङ २००७ सालदेखि राजनीतिमा संलग्न रहँदै आएका छन्। पहिलो संविधानसभा निर्वाचन २०६४ मा उनी इलाम क्षेत्र नं. ३बाट नेपाली कांग्रेसका तर्फबाट सभासद्‍मा प्रत्यक्ष निर्वाचित भएका थिए। संविधानसभामा अध्यक्षको विधिवत् निर्वाचन हुनु अघिसम्म ज्येष्ठत सदस्यको रूपमा संविधान सभाको अध्यक्षता गरेका थिए। उनकै अध्यक्षतामा बसेको संविधान सभाको पहिलो निर्वाचनले नेपालमा राजतन्त्रको विधिवत अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो।

दोश्रो संविधानसभामा गुरुङ समानुपातिक तर्फबाट सभासद् निर्वाचित भएका हुन्।

गुरुङ वि.सं. १९९२ मंसीर ८ गते बाबु पहलबहादुर गुरुङ र आमा पूर्णकुमारी गुरुङको पुत्रको रूपमा इलाममा जन्मेका थिए। उनी २००५ सालदेखि राणा शासन विरूद्धको संघर्षमा सहभागी भएका थिए।[१]

त्रिभुवन विश्वविद्यालयबाट बी.एड. सम्मको अध्ययन गरेका गुरुङले २०१८ सालदेखि आदर्श पब्लिक हाई स्कूलमा उप प्रधान अध्यापकका रूपमा लामो समय अध्यापन गरेका छन्। उनले सुवास नेम्वाङ, झलनाथ खनाल समेतलाई अध्यापन गरेका थिए। पञ्चायत विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा २०२९ सालमा पक्राऊ गर्ने आदेश भएपछि उनी भारत निर्वासित भएका थिए। यस क्रममा राष्ट्रिय मेलमिलापको नीति लिएर बी.पी. कोइराला भारतको निर्वासनबाट स्वदेश फर्कदा उनी पनि त्रिभुवन विमानस्थलमा पक्राउ परेका थिए।

गुरुङ राणा शासन विरोधी, पञ्चायत विरोधी र पूर्व राजा ज्ञानेन्द्रको निरंकुश शासन विरोधी सबै आन्दोलनहरूमा प्रजातन्त्रको पक्षमा सक्रिय रहेका थिए। शुरुदेखि नै नेपाली कांग्रेसमा आबद्ध गुरुङ झण्डै छ दशक लामो राजनीतिक जीवनमा पार्टीका विभिन्न तह, पद र जिम्मेदारी पूरा गर्दै हाल केन्द्रीय सदस्य हुन्। यसअघि उनी नेपाली कांग्रेसको इलाम जिल्ला सभापति, केन्द्रीय सदस्य हुँदै केन्द्रीय महामन्त्री बनिसकेका छन्। विभिन्न समयमा गरी कुल तीन वर्ष जेल जीवन बिताएका गुरुङले कैयौँ वर्ष निर्वासित जीवन बिताएका छन्।

गुरुङ २०५१ सालमा इलाम क्षेत्र नं. २बाट संसदमा निर्वाचित भएपछि २०५४मा उनी शिक्षामन्त्री बनेका थिए। उनी २०४८ र २०५६ मा पनि संसदीय निर्वाचनमा सहभागी थिए।

नेपाली कांग्रेसले २०७२को राष्ट्रपति निर्वाचनमा कुलबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ।[२] [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "राष्ट्रपतिका उम्मेदवार गुरुङ को हुन?", सेतोपाटी, अन्तिम पहुँच १२ अक्टोबर २०१५ 
  2. "राष्ट्रपतिमा भण्डारी, गुरूङ र महर्जनको उम्मेदवारी", सेतोपाटी, अन्तिम पहुँच ११ अक्टोबर २०१५ 
  3. "राष्ट्रपतिमा त्रिपक्षीय भिडन्त, विद्या, नारायण र कुलबहादुरको उम्मेदवारी", अनलाइन खबर, अन्तिम पहुँच ११ अक्टोबर २०१५