ध्वजे डाँडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ध्वजे डाँडाको एक दृष्य

ध्वजे डाँडा नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलका मोरङ जिल्लाधनकुटा जिल्लाको सिमानामा अवस्थित पर्यटकीय स्थल हो। मोरङ जिल्लाको पाटिगाँउ गाविस वडा नं १ र धनकुटा जिल्लाको डाँडाबजार गाविसमा पर्ने यो क्षेत्रले करिब २० हेक्टर क्षेत्रफल ओगटेको छ। मोरङ जिल्लाको सदरमुकाम विराटनगर देखि करिब ५० किलोमिटर उत्तर र धनकुटा जिल्लाको भेडेटार बजारबाट करिब १३ किलोमिटर पूर्वमा रहेको यो स्थान समुन्द्रि सतह देखि करिब २,०४७ मिटर (७००० फिट) को उचाइमा रहेको छ। धनकुटा जिल्ला डाँडाबजारबाट १ किलोमिटर जतिको पैदल यात्रा तय गरी सकेपछि बल्ल पुगिने यस डाँडाबाट पूर्वाञ्चलका १६ वटै जिल्लाहरू देख्न सकिन्छ। नेपालको नक्सा निर्माणमा अक्षांश, देशान्तर टुङ्गो लागाउन विशेषज्ञहरूले बेला बेलामा प्रयोग गर्दै आइएबाट यसको महत्त्व पनि स्वत झल्कन्छ।

महाभारत पर्वत श्रृङ्खलाको यस भेगमा पर्ने दोस्रो अग्लो डाँडा यही हो। यस स्थानमा पुग्न मोरङको सदरमुकाम विराटनगरदेखि, धनकुटाको भेडेटार तिरबाट र मोरङको केराबारीबाट पनि बाटाहरू छन। यस डाँडाको फेदीसम्म नै अर्थात धनकुटाको डाँडाबजारसम्म सडक यातायातको सुविधा रहेकाले यस स्थानसम्म पुग्न खासै समस्या रहेको देखिंदैन। धार्मिक र ऐतिहाशिक दृष्टिले यो डाँडा त्यति महत्त्वपूर्ण नरहे पनि पर्यटकीय दृष्टिले यसको विशेष महत्त्व रहेको देखिन्छ। यस डाँडाको माथ्लो भागमा एउटा पोखरी छ, जसलाई दैवीय स्वरूप मानी स्थानीय मानिसहरू पूजाआजा गर्ने गर्दछन्। पर्यटनको विकासका दृष्टिले ध्वजेडाँडा निकै महत्त्वपूर्ण छ। यस भेगबाट एकातर्फ पूर्वाञ्चलका १६ वटै जिल्लाको दृश्य देखिन्छन् भने अर्कातर्फ यस स्थानबाट मकालु, कुम्भकर्णकञ्चनजङ्घा हिमालको दृश्यसमेत देख्न सकिन्छ। साथै सूर्‍योदयको दृश्यावलोकनका लागि समेत यो स्थान निकै महत्त्वपूर्ण छ। जैविक विविधताका दृष्टिले पनि ध्वजेडाँडा निकै महत्त्वपूर्ण छ। यस डाँडामा विभिन्न प्रकारका जैविक विविधता पाइने गर्दछन्। लेकाली वनस्पति र लेकाली जीवजन्तुका लागि यो स्थल निकै प्रख्यात छ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "ध्वजे डांडा", birattourism.org.np [dead link]