ओशो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओशो
सन् १९८२ मा आचार्य रजनीश
व्यक्तिगत विवरण
वास्तविक नामचन्द्र मोहन जैन
जन्म११ डेसेम्बर १९३१
कुचवाडा, भोपाल राज्य, ब्रिटिस भारत (हाल मध्य प्रदेश, भारत)
मृत्यु१९ जनवरी १९९० (५८ वर्ष)
पुना, महाराष्ट्र, भारत

चन्द्र मोहन जैन (११ डिसेम्बर १९३१ - १९ जनवरी १९९०), आचार्य रजनीश नामबाट परिचित, सन् १९६० देखि १९८० को दशकसम्म भगवान श्री रजनीश र १९८९ देखि ओशोको नामले विश्व परिचित, एक भारतीय रहस्यवादी गुरु, आध्यात्मिक व्यक्तित्व तथा ओशो आन्दोलनका सुरुवातकर्ता थिए ।

सन् १९६० को दशकमा उनले सार्वजनिक वक्ताको रूपमा पूरा भारतको यात्रा गरेका थिए। उनले राजनीतिज्ञहरू र राजनीतिक विचार, महात्मा गान्धी र संस्थागत धर्म बारेमा गरेको खरो आलोचनाले उनलाई विवादित बनाए जो आफ्नो विवादास्पद नयाँ धार्मिक (आध्यात्मिक) आन्दोलनको लागि चर्चित बनेका थिए। उनी भारत तथा संयुक्त राज्य अमेरिका पनि बसेका थिए। ओशोले प्रचलित धर्महरूको व्याख्या गर्दै प्रेम, ध्यान र खुसीहरूलाई जीवनका प्रमुख मूल्य मानेका थिए।

बाल्यकाल तथा युवा अवस्था[सम्पादन गर्नुहोस्]

ओशो रजनीशको जन्म सन् १९३१ डिसेम्बर ११ शुक्रबारका दिन भारतको मध्य प्रदेश राज्यको जबलपुर सहरमा कपडा व्यापारीको छोराका रूपमा भएको थियो । उनका बाबुको नाम बाबुलाल जैन थियो भने आमाको नाम सरस्वती जैन थियो । उनका बुबा आमाका एघार जना सन्तान मध्ये ओशो जेठो सन्तान थिए । ओशो सात वर्षको उमेरसम्म आफ्नो मावली घरमा हजुरबुवा तथा हजुरआमाको साथमा रहेका थिए । मावली बसाइले आशोको जीवनमा ठूलो प्रभाव छोड्यो । उनकी हजुरआमाले उनलाई स्वतन्त्र, छाडा छोडिदिइन् पढाइ तथा अन्यकुराहरूको बोझ कहिल्यै दिइनन् । जब उनी सात वर्षका थिए उनका हजुरबुवाको मृत्यु भयो । यस पश्चतात उनी गदारवारा आफ्नो माता पितासँग बस्नको लागि गए । ओशोलाई आफ्नो हजुरबुवाको देहावसान र उनी पन्ध्र वर्षको हुँदा उनकी बाल प्रेमीका शशीको टाइफाइडका कारणले मृत्यु भयो । उनलाई यी दुई घटनाले मर्माहत र प्रताडित बनाएका थिए । जसका कारणले उनको मानसपटलमा मृत्युको बारेमा बाल्यकाल र युवा अवस्था भरि गहिरो सोच रहयो । १०० फिट उचाईको पुलबाट बर्खे भेलले मात्तिएको नर्मदा नदिमा हामफाल्नु र पौडी खेल्नु उनको लागि सामान्य जस्तै थियो । स्कुल पढ्न भर्ना हुँदाको पहिलो दिनमै हेपाहा शिक्षकको विरुद्धमा उनले आवाज उठाएका थिएँ । पछि, उच्चशिक्षा पढदै गर्दा कलेजको अवैज्ञानिक शिक्षा पद्दतिको विरुद्धमा उनले सधै बिद्रोहको हात उठाए ।

स्कुल पढ्दा रजनीस विद्रोही प्रकारका विद्यार्थी भएता पनि निकै तेज र प्रखर वक्ता थिए । वादविवादमा निपूर्ण वक्ता थिए । ओशो नास्तिक बने अनि सम्मोहन तर्फ पनि रूचि राख्न थाले भने समाजवादी संस्थाहरूसँग सम्बन्ध पनि राख्न थाले भारतीय राष्ट्रिय आर्मी तथा राष्ट्रिय स्वयमसेवक सङ्घ तर ति संस्थाहरूमा ओशोको सदस्यता निकै छोटो हुन पुग्यो किनकी उनी कुनै पनि बाहिरी दर्शन, आदर्शबाट प्रभावित हुन सकेनन् ।

विश्वविद्यालयका वर्षहरू तथा सामाजीक बक्ता (१९५१-१९७०)[सम्पादन गर्नुहोस्]

सन १९५१, ओशोले १९ वर्षको उमेरमा जवलपुरको हितकर्नी कलेजबाट आफ्नो पढाइ आरम्भ गरे । तर शिक्षकहरूसँगको ठाकठुकसँगै उनलाई कलेज छोडन लगाइयो र पछि फेरि जवलपुरकै डि.एन जैन कलेजमा भर्ना भए । तर निकै आक्रामक स्वभाव तथा विद्रोही प्रवृत्तिका कारणले उनलाई परीक्षाको समयमा बाहेक कलेज जान अनिवार्यता थिएन । आफ्नो फुर्सदको समयलाई ओशोले स्थानीय पत्रिकामा सहायक सम्पादक बनेर उपयोग गरे । उनले जवलपुरमा आयोजना भएको सर्व धर्म भेलामा सहभागि बनेर आफ्नो सामाजिक वक्ताको छवि सुरुवात गरेका थिए । घर परिवारबाट विवाहको निम्ति अत्यधिक दबाब आए पनि उनले त्यसलाई बेवास्ता गरे । सन १९५३ मार्च २१ का दिन, २१ वर्षको उमेरमा जवलपुरमा ओशोले आफूलाई आध्यात्मिकरूपमा दिव्यज्ञान प्राप्त भएको घोषणा गरेका थिए ।

सन १९५५ मा डी.एन जैन कलेजबाट दर्शन शास्त्र मा बी.ए सकेपछि उनी सागर विश्वविद्यालयमा भर्ना भए । जहाँबाट सन १९५७ एम.ए को डिग्री विशिष्ट श्रेणीमा हासिल गरेका थिए । तत्कालै उनले रायपुर संस्कृत कलेजमा शिक्षकको जागीर पाएका थिए । तर ओशो आफ्ना विद्यार्थीहरूको नैतिकता, धर्म र आचरण लागि खतरनाक हुनसक्ने ठानी उपकुलपतिले उनलाई तुरुन्तै स्थानान्तरण गर्न लगाएका थिए । १९५८ बाट उनले जवलपुर विश्वविद्यालयमा लेक्चररकोरूपमा पढाउन सुरु गरेका थिए पछि १९६० मा प्राध्यापकमा बढुवा भए ।

१९६० को दशकमा उनी 'आचार्य रजनीश' को नामले वा 'ओशो भगवान श्री रजनीश' नामले चिनिन थाले । उनी एक आध्यात्मिक नेता थिए । जो भारत र विदेशहरूमा प्रवचन दिदै हिडे ।

ओशो भन्छन् -

"धार्मिक व्यक्तिहरूको पुरानो धारणा "धर्म जीवन विरोधी हो" । उनीहरू यस जीवनको निन्दा र आलोचना गर्दछन्, यो साधारण जीवनलाई - उनीहरू क्षुद्र, तुच्छ, मोह भन्दछन् । उनीहरू यसको तिरस्कार गर्दछन् । म यहाँ यि तमाम कुराहरू प्रति तिम्रो संवेदनालाई जगाउनको निम्ति छु ।"

पुर्वजन्मका संस्कार तथा यस जन्मको गहन साधनाले २१ बर्षको उमेरमा सन् १९५३ मार्च २१ को मा मध्यप्रदेशको जवलपुरमा विद्यार्थी छँदा नै उनमा सम्बोधी घटिसकेको थियो तर उनले त्यससमयमा आफ्नो सम्बोधीको वारेमा सार्वजनिक रुपमा केहि बोलेनन् र आफ्नो उच्च शिक्षाको अध्ययन जारी राखे । ओशोले सन् १९५७ मा २६ वर्षको उमेरमा गोल्ड मेडलिष्टको रुपमा साईकोलोजी बिषयमा एम.ए.को डिग्री लिएपछि शिक्षण पेशा अंगाले । उनले शिक्षणको साथसाथै भारतका विभिन्न स्थानहरुमा प्रवचन तथा ध्यान शिविरहरुको आयोजना गरी तनावमुक्त जिवन जीउने कला सिकाउन शुरु गरे । त्यस बखत उनी आचार्य रजनीश भनेर चिनिन्थे । आध्यात्मका प्यासीहरुको लागि कल्याण मित्रको रुपमा पथ प्रर्दशन गरिरहे पनि आफूलाई गुरुको रुपमा भने स्थापित गर्नै चाहेनन् आचार्यले । आध्यात्मीक जागरण आन्दोलन र प्राध्यापन पेशालाई संगसंगै चलाउन गाह्रो भैरहेको कारणले सन् १९६६ मा आचार्यले मानवमात्रको कल्याणको लागि प्राध्यापन पेशा नै त्यागीदिए र गोल्डमेडलिष्टको डिग्री आगोमा जलाईदिए । सन् १९६९ को अन्त्यतिर आचार्य सदाको लागि जवलपुरबाट बम्बे आए र वुडल्याण्ड नाम गरेको अपार्टमेण्टको कोठालाई आफ्नो निवास बनाए । सन् १९७० को अप्रीलमा आचार्यले एक्काईसौं सताब्दीको मनुष्यको लागि एक क्रान्तीकारी बिधी — डाईनमिक ध्यान रचना गरे जुन ध्यान बिधी अशरिर मन र आत्माको स्वास्थ्य उपलब्धीको लागि अचुक औषधीको रुपमा स्थापित भएको छ ।

कार्य[सम्पादन गर्नुहोस्]

ओशो अन्तर्राष्ट्रिय ध्यान केन्द्र

सन् १९७० को सेप्टेम्बर २६ तारिखको दिन आचार्य रजनीशले सत्र वर्ष अगाडीनै आफुले बुद्धत्व पाईसकेको घोषणा गर्दै, भारतको हिमाञ्चल राज्यको मनालीमा संचालित ध्यान शिविरमा दश जना साधकहरुलाई दीक्षा दिई एक नविन ध्यान आन्दोलनको सुत्रपात गरे । रजनीशले आफ्नो अभियानलाई नव–सन्यास भनेर नाम दिए । सन् १९७१ को समयतिर रजनीशलाई शिष्यहरुले श्रद्धापुर्वक भगवान भनि सम्बोधन गर्न थाले, भगवान अर्थात स्वयंलाई चिनेको सम्बोधी प्राप्त व्यक्ति। रजनीशले भने, “भगवत्ता मेरो मात्र होईन संसारका सबै प्राणीहरुको जन्मसिद्ध अधिकार हो ।"

ओशोले हजारौँ घन्टा प्रवचनहरू दिएका छन् । जसबाट सयौँ पुस्तकहरू लेखिएका छन् । उनका प्रवचन पुस्तक, अडियो क्यासेट तथा भिडियो क्यासेटका रूपमा उपलब्ध छन । उनका प्रवचनहरू इन्टरनेटमा प्रसस्त पाइन्छन् । आफ्नो क्रान्तिकारी विचारबाट उनले लाखौ अनुयायी तथा शिष्य बनाए । अत्यधिक कुशल वक्ता ओशोका प्रवचनहरूका करिब ६०० पुस्तकहरू छन । "सम्भोग से समाधि की ओर" उनको सबैभन्दा चर्चित तथा विवादास्पद पुस्तक हो । उनको नामबाट आश्रमहरू पनि चलिरहेका छन । ओशोले हरेक पाखण्डहरू माथि प्रहार गरेका छन । । सन्यासको अवधारणालाई उनले भारत तथा विश्वको अनुपम देन भएको बताउँदै सन्यासको नाममा भगवानको कपडा धारण गर्ने पाखण्डीहरूको धरै आलोचना गरेका छन । ओशोले सम्यक सन्यासीको पुनर्जीवित गरे । ओशोले पुनः बुद्धको ध्यान, कृष्णको बाँसुरी, मीराको घुँघरु तथा कबीरको मस्ती सन्यासीहरू लाई दिए । सन्यासी पहिले कहिल्यै यति धेरै समृद्ध थिएनन् जति आज ओशोको संस्पर्श छन् । त्यसैले उनी नव-सन्यासी हुन् । उनको नजरमा सन्यासी त्यो हो जो आफ्नो घरसंसार, पत्नी तथा बच्चाको साथ रहेर पारिवारिक, सामाजिक जिम्मेवाररहेको निर्वाह गर्दै ध्यान तथा सत्संगी जीवन जिउँदछ ।

बम्बैको धुलो र धुवायुक्त प्रदुशित वातावरणले भगवान रजनीशको कोमल स्वास्थ्यमा असर पार्न थालेपछि उनका परम भक्तहरुले बम्बे भन्दा स्वच्छ वातावरण र हरियाली भएको पुना शहरमा एक घर किने र सन् १९७४ मार्च २१ को दिन सोहि स्थानमा भगवान रजनीशले पहिलो आश्रम स्थापना गरे । गुरुको प्रेम उर्जाले लवालव भरिएका शिष्यहरुको अग्रसरतामा विश्वभरी आश्रम तथा ध्यान केन्द्रहरु खुल्न थाले ।

रजनीश कम्युन[सम्पादन गर्नुहोस्]

सात बर्षको पुना प्रवास पश्चात् सन् १९८१ मा भगवान रजनिश अमेरीका पुगे र तिन बर्षभित्रै अमेरीकाको ओरेगन राज्यमा १२६ बर्गमाईलको एउटा बन्जर क्षेत्रमा “रजनीश कम्युन” को निर्माण गरे जुन देखेर सारा बिश्व नै चकित भयो । “ एक बिश्व एक मानव समाज ” को यस अद्भूत प्रयोग रजनीशपूरम नामले प्रशिद्ध भयो र त्यहाँ संसारभरका बिभिन्न देशबाट आएका ५००० जना साधकहरु नियमित रुपमा बस्न थाले । अमेरीकी सरकारले पनि रजनीशपुरम्लाई एक नगरको रुपमा बिधीवत कानुनी दर्जा दियो । त्यस वखत ओशोका नवसन्यासी शिष्यनै रजनीशपुरम नगरको मेयर चुनिन्थे भने “गुणतन्त्रको प्रयोगले ( गुणतन्त्र : ब्यक्तिको बिज्ञता र गुणको आधारमा काम दिईने बिधी ) त्यसनगरका प्रशासनिक र बिकासका कामहरुले उच्च स्तर छुन थाले । यसले गर्दा रजनीशपुरम् अमेरीकामैं एउटा आदर्श नगरको रुपमा स्थापित भयो । भगवान रजनीश र उनका शिष्यहरुले उदहारण देखाईदिए कि नवसन्यासीले पुरातन कालका जोगीहरुले जस्तै मागेर खाने या समाजदेखि पलायन गर्ने होईन कि समाजमै बसेर यो संसारलाई अझै सुन्दर पार्न सक्दछन् ।

भगवान रजनीश र उनका शिष्यहरुले उदहारण देखाईदिए कि नवसन्यासीले पुरातन कालका जोगीहरुले जस्तै मागेर खाने या समाजदेखि पलायन गर्ने होईन कि समाजमै बसेर यो संसारलाई अझै सुन्दर पार्न सक्दछन् ।

रजनीशपुरम् कानुनतः रुपमा अमेरीकाको शहर थियो तर आध्यात्मिक रुपमा त्यो एउटा बिश्व बन्धुत्वको नमुना नगर थियो । रजनीशपुरमका निवासी न कुनै देश न कुनै सम्प्रदायका थिए, उनिहरु थिए एक सम्बुद्ध सद्गुरुको मानव कल्याणकारी भिजनका सहयात्रीहरु । भगवान रजनीश अमेरीकामा बसेको करिब ४ बर्ष पुग्दानपुग्दै विश्वभरी उनका करीव ५०० आध्यात्मीक केन्द्रहरु खुलीसकेका थिए जसमा जर्मनी, फ्रान्स, अष्ट्रेलिया, ब्रिटेन जस्ता देशहरुमा आफ्नै बिमान र बिमानस्थल भएका कम्युनहरु समावेश थिए । उनको कार्य ध्यान आन्दोलनको रुपमा संसारभर आगोसरी फैलिइरहेको थियो । दैनिक तिन सयको करीव संख्यामा पश्चिमी देशका साधकहरु ध्यान आन्दोलनको नवसन्यासमा दीक्षीत भईरहेका थिए । यो देखेर पश्चिमी धार्मीक अतिवादीहरुलाई लाग्यो कि भगवानले नवसन्यासको रुपमा पूर्विय धर्म फैलाउदै छन् । त्यसैले उनीहरुको षडयन्त्र स्वरुप १९८५ अक्टोवरमा रोनाल्ड रेगनको अमेरीकी सरकारले भगवानलाई भिसाको म्याद सकिएको सामान्य बहानामा गिरफ्तार गर्यो, १२ दिनसम्म जेलमा राख्यो अनि अमेरिकाबाट जर्वजस्ती निर्वासन गरिदियो र जर्वजस्ती भारत फर्कन बाध्य पार्यो ।

महापरिनिर्वाण[सम्पादन गर्नुहोस्]

ओशोको मृत्यु १९ जनवरी १९९० मा ५८ वर्षको उमेरमा पुणे, भारतको आश्रममा भएको थियो।

ओशोद्वारा प्रतिपादित ध्यानहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

https://www.osho.com/meditation/osho-active-meditations/osho-dynamic-meditation

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=ओशो&oldid=1203292" बाट अनुप्रेषित