चन्द्रविनायक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उपत्यकाका चार विनायक मध्ये चन्द्र विनायक मन्दिर एक हो । यसलाई चावहिल गणेश मन्दिर पनि भनिन्छ । यस मन्दिरमा कार्तिकमा मनाइने ‘मि च्याकेगु’ जात्रा काठमाडौंको महत्त्वपुर्ण जात्रा मानिन्छ । यस क्षेत्रकै ठूलो पर्वका रूपमा रहेको नेवार समुदायमा प्रचलित यो जात्रा नेपाल संवत ८००/८०४ देखि भुपालेन्द्र मल्लकै पालाबाट मनाउन थालिएको इतिहास तथा संस्कृतिविद्हरूको ठम्याई छ ।

पूजा गरिने दिन[सम्पादन गर्नुहोस्]

कात्तिक महिनाको पूर्णिमादेखि कात्तिक कृष्ण पक्षको तृतियासम्म काठमाडौंको चाबहिल गणेश मन्दिरमा हरेक वर्ष ४ दिन मनाइने चन्द्रविनायक तथा भैरवनाथको जात्राको पहिलो दिन कात्तिक पूर्णिमाको साँझ मन्दिर परिसरमा ठूलो धुनि बाल्ने गरिन्छ । जसलाई ताप्दा स्वास्थ्यलाभ र पुण्यलाभ मिल्ने धार्मिक मान्यता रहँदै आएको छ । यसै दिन चाबहिल, कुटुवहालमा शाक्यहरूले कुल देवताको पूजागरी त्यहाँ रहेको जम्बक राजा (स्याल देवता)को प्रस्तर मूर्तिलाई भातले मोडी पूजाआजा गरेर मूर्तिका अगाडि धुनि जगाई रातभर जाग्राम बस्ने चलन रहँदै आएको छ । त्यस्तै जात्राको दोस्रो दिन गणेश र भैरवको रथहरू सजाउने र साँझ जात्रा सम्बन्धी विशेष पूजा गर्ने गरिन्छ । सिन्दूर जात्राको रूपमा पनि चर्चित यस जात्राको तेस्रो दिनलाई मूख्य दिनका रूपमा मनाउँदै आएको छ । उक्त दिन विहान चन्द्रविनायक र भैरवनाथको खटहरू सरसफाई गर्ने, साँझ साँस्कृतिक द्धारेले पूजा गर्ने, गुठियारहरूले गजुर, गणेश र भैरवनाथको प्रतिमा ल्याई रथारोहण गराउने गरिन्छ । त्यस्तै सोही दिन बेलुकी द्वारेद्वारा गणेश र भैरवको रथमा सिन्दूर चढाएपछि स्थानीय बाजागाजा सहित गणेश र भैरवको उठाउने र नचाउने गरिन्छ । यस दिन रातभर रथहरूलाई मन्दिर वरपरका घर तथा चोकहरूमा राखेर पूजाआजा गर्ने गरिएको स्थानियवासीहरू बताउँछन् । जात्राको अन्तिम दिन रथहरूलाई विभिन्न चोक र स्थानहरूको परिक्रमा गराई राति द्धारेले गणेश र भैरवको मूर्तिमा पुनः सिन्दूर चढाई विधिवत रूपमा जात्राको समापन गर्ने गरिन्छ । यसैदिन जात्रा समापन गर्न दिनभर सिन्दूर जात्रा गर्ने प्रचलन रहि आएको जात्रा समन्वय समितिले बताएको छ ।

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]