अक्रूर
| अक्रूर | |
|---|---|
| धर्मग्रन्थहरू | पुराण, महाभारत |
| वंशावली | |
| अभिभावकहरू | श्वफल्क (पिता), गन्दिनी वा नन्दिनी (माता) |
| भाइबहिनीहरू | उपसन्ज, मङ्गु, मृदुर, अरिमेजय, गिरिक्क्षिप, उपिक्ष, शत्रुह, अरिमर्दन, धर्मभृत्, यतिधर्म, गृध्र, भोज, अन्धक, सुबाहु र प्रतिबाहु (दाजुभाइहरू), सुन्दरी (बहिनी) [१] |
| जीवनसाथी | उग्रसेनी |
| सन्तानहरू | सुदेव र उपदेव (छोराहरू) |
| वंश | यदुवंश |
अक्रूर (संस्कृत: अक्रूर, शाअ 'क्रुर नभएको') हिन्दु धर्मका एक यादव राजकुमार हुन् जसलाई भगवान कृष्णका काकाको रूपमा चिनिन्छ।[२] श्वफल्क र काशीका राजाकी छोरी गन्दिनीका छोरा अक्रूरलाई कंसले आफ्ना भतिजाहरू कृष्ण र बलरामलाई मथुरामा आयोजना गरिएको 'धनुर्याग' (अस्त्रहरूको उत्सव) मा ल्याउन निर्देशन दिएका थिए जहाँ उनीहरूको हत्या गर्ने योजना बनाइएको थियो।[३][४] यसै यात्राका क्रममा उनले कृष्णको विश्वरूप दर्शन गर्ने सौभाग्य पाएका थिए। सत्राजितको मृत्युपछि अक्रूर प्रसिद्ध स्यमन्तक मणिका मालिक बनेका थिए। प्रभासमा भएको यादवहरूको आपसी कलह (मौसल पर्व) मा उनको मृत्यु भएको थियो।[५]
पौराणिक कथा
[सम्पादन गर्नुहोस्]हरिवंशका अनुसार, अक्रूरले उग्रसेनकी छोरी उग्रसेनीसँग विवाह गर्छन् जसबाट सुदेव र उपदेव नामक दुई छोराहरू जन्मिन्छन्। एफई पार्जिटरका अनुसार भने अक्रूरले आहुककी छोरी सुतनुसँग विवाह गरेका थिए र उनीबाट देवक र उपदेवक गरी दुई छोराहरू थिए। उनले द्वारकामा शासन गरेको भनिन्छ र पार्जिटरको विश्वास अनुसमर उनको परिवारको आधिपत्य वृष्णि सम्म फैलिएको थियो।
कृष्ण र बलरामका सारथी
[सम्पादन गर्नुहोस्]
अक्रूरका दाजुभाइ पर्ने कंसले मथुरालाई राजधानी बनाएर यदुवंशको राजाका रूपमा शासन गर्दथे। विष्णु पुराणका अनुसार, आफ्नै भाञ्जा कृष्णद्वारा मारिने भविष्यवाणी भएपछि, कंसले अक्रूरलाई आफ्नो रथमा कृष्ण र बलरामलाई मथुरा बोलाउन आदेश दिन्छन्। चन्द्र महिनाको चौधौँ दिनमा आयोजना हुने 'धनुर्याग' उत्सवमा निमन्त्रणा दिने बहानामा उनीहरूलाई बोलाएर हत्या गर्ने षड्यन्त्र बुनिएको थियो। कंसले अक्रूरलाई आफ्ना भाञ्जाहरूको मृत्युपछि गोठालाहरूको सबै सम्पत्ति कब्जा गर्ने र उनीसँगै मिलेर शासन गर्ने योजना सुनाएका थिए।[६] विष्णुका भक्त भएकाले अक्रूर कृष्णलाई भेट्ने कुराले निकै उत्साहित थिए। गोकुल पुगेपछि उनले गाईवस्तुहरूको बीचमा कृष्ण र उनका दाजुलाई देख्छन् र कंससँगको आफ्नो सम्बन्धका कारण उनीहरूले आफूलाई घृणा गर्ने हुन् कि भन्ने चिन्ता गर्छन्।[७] यद्यपि, दाजुभाइले आफ्ना काकालाई आतिथ्य सत्कार गर्छन् र अक्रूरले उनीहरूलाई कंसको अत्याचार अन्तर्गत वसुदेव, देवकी र उग्रसेनमाथि भएको दुर्व्यवहार र आफू पठाइनुको कारण बताउँछन्। दाजुभाइ भोलिपल्टै अक्रूरसँग मथुरा जान सहमत हुन्छन्। गोपिनीहरूले कृष्णलाई ब्रजबाट लैजान लागेकोमा अक्रूरलाई 'क्रुर' भन्दै विलाप गर्छन्। यात्राका क्रममा अक्रूरले यमुनाको जलमा स्नान गर्छन् जहाँ उनले बलरामलाई शेषनाग र कृष्णलाई विष्णुको दिव्य रूपमा देखेपछि उनीहरूको स्तुति गर्छन्। मथुरा पुगेपछि उनले कृष्ण र बलरामलाई त्यहाँबाट अगाडि शाही सडकमा हिँडेर जानुपर्ने जानकारी दिन्छन् र उनी एक्लै आफ्नो रथमा अघि बढ्छन्।[८][९]

स्यमन्तक मणिको अधिकार
[सम्पादन गर्नुहोस्]हरिवंशका अनुसार, शतधन्वाले स्यमन्तक मणि संरक्षणका लागि दिएपछि अक्रूरले उक्त पौराणिक मणि प्राप्त गरेका थिए। शतधन्वाले मणिका अघिल्ला मालिक सत्राजितको हत्या गरेका थिए र अक्रूरले विगतमा उक्त मणि प्राप्त गर्ने इच्छा व्यक्त गरेका हुनाले उनलाई सुम्पिएका थिए। अक्रूरले शतधन्वासँग आफूले सो मणि कहिल्यै नत्याग्ने वाचा गरेका थिए। शतधन्वाले अक्रूरलाई कृष्णले आक्रमण गरेमा आफ्नो सुरक्षाको आश्वासन दिएका थिए। कृष्णद्वारा शतधन्वा मारिएपछि पनि अक्रूरले 'अक्रूर यज्ञ' नामक एक विशाल यज्ञ सुरु गर्छन् जहाँ उनले सो मणिबाट उत्पन्न भएको धन र आभूषणहरू ६० हजार वर्षसम्म पुग्ने गरी दान गरिदिन्छन्। कृष्णले यी घटनाहरूबारे थाहा पाउँछन् र अक्रूरलाई द्वारकामा स्यमन्तक मणि फिर्ता गर्न आग्रह गर्छन्। अक्रूरले कृष्णलाई स्यमन्तक मणिका साथै आफ्नी बहिनी सुशीलाको हात पनि विवाहका लागि प्रस्ताव गर्छन्। यसबाट प्रसन्न भई कृष्णले अक्रूरलाई नै सो मणि राख्न अनुमति दिन्छन्।[१०][११]
धृतराष्ट्रसँगको भेट
[सम्पादन गर्नुहोस्]भागवत पुराणका अनुसार, कृष्णले अक्रूरलाई कुरु राजा धृतराष्ट्रलाई भेट्न र उनलाई आफ्ना छोरा दुर्योधनले कत्तिको प्रभावमा पारेका छन् भन्ने बुझ्नका लागि हस्तिनापुर पठाएका थिए।[१२] हस्तिनापुर पुगेपछि अक्रूरले आफ्नी दिदी/बहिनी पर्ने कुन्तीलाई भेट्छन् जसले आँशु झार्दै कृष्णले अझै पनि आफूलाई सम्झन्छन् कि सम्झिदैनन् भनी सोध्छिन् र आफूले भगवान कृष्णमै शरण लिएको बताउँछिन्। त्यसपछि अक्रूरले कुरु राजालाई भेट्छन् र कौरवहरूप्रति उनको पक्षपातपूर्ण व्यवहारका साथै युधिष्ठिरलाई न्यायोचित राजाका रूपमा स्थापना गर्नुको साटो आफैँले सिंहासन ओगटेको विषयमा कुरा गर्छन्। धृतराष्ट्रले आफू छोराहरूप्रति पक्षपाती भएको कुरा स्वीकार गर्छन् यद्यपि उनले कृष्णलाई अझै पनि भगवान नै मान्दथे। राजाका विचारहरू सङ्कलन गरिसकेपछि अक्रूर आफ्नो भ्रमणको बारेमा कृष्णलाई जानकारी गराउन हस्तिनापुरबाट प्रस्थान गर्छन्।[१३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "An Account of Svyamantaka Jewel [Chapter 38]", १४ नोभेम्बर २०२०।
- ↑ www.wisdomlib.org (२०१९-०१-२८), "Story of Akrūra", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-२६।
- ↑ Iyengar, T. R. R. (२००४), Hindu Mythology (अङ्ग्रेजीमा), Intellectual Book Corner, पृ: 314, आइएसबिएन 978-81-7076-104-4।
- ↑ Walker, Benjamin (२०१९-०४-०९), Hindu World: An Encyclopedic Survey of Hinduism. In Two Volumes. Volume I A-L (अङ्ग्रेजीमा), Routledge, पृ: 562, आइएसबिएन 978-0-429-62465-0।
- ↑ Books, Kausiki (२०२१-०७-१२), Bhagavatha Maha Purana 1st Skanda : English translation only without Slokas (अङ्ग्रेजीमा), Kausiki Books, पृ: 154।
- ↑ www.wisdomlib.org (२०१४-०८-३०), "Kansa sent Akrura to invite Krishna [Chapter XV]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-२६।
- ↑ www.wisdomlib.org (२०१४-०८-३०), "Journey of Akrura to Gokula [Chapter XVII]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-२६।
- ↑ www.wisdomlib.org (२०१४-०८-३०), "Krishna depart for Mathura [Chapter XVIII]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-२६।
- ↑ www.wisdomlib.org (२०१४-०८-३०), "Slaughter of a washerman, the servant of Kansa [Chapter XIX]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-२६।
- ↑ www.wisdomlib.org (२०२०-११-१४), "An Account of Akrura [Chapter 39]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-२६।
- ↑ Coulter, Charles Russell; Turner, Patricia (२०२०-११-१२), Encyclopedia of Ancient Deities (अङ्ग्रेजीमा), McFarland, पृ: 447, आइएसबिएन 978-1-4766-8556-4।
- ↑ www.wisdomlib.org (२०२२-०९-०२), "Visit to the Houses of Trivakrā and Akrūra [Chapter 48]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-२६।
- ↑ www.wisdomlib.org (२०२२-०९-०२), "Akrūra's Mission to Hastinapura [Chapter 49]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-२६।