सामग्रीमा जानुहोस्

अद्वैत वेदान्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आदि शङ्कराचार्य, अद्वैत वेदान्त परम्पराका सबैभन्दा प्रमुख प्रतिपादक हुन्। "म नाम, रूप र क्रियाभन्दा भिन्न छु।
मेरो स्वभाव सदैव मुक्त छ!
म आत्मा हुँ, सर्वोच्च निरुपाधिक ब्रह्म।
म शुद्ध चेतना हुँ, सधैँ अद्वैत।" आदि शङ्कराचार्य, उपदेशसाहस्री ११.७[]

अद्वैत वेदान्त हिन्दु धर्मको ब्राह्मणवादी पाठकीय व्याख्या र दर्शनको एउटा परम्परा हो। यो एक संन्यासी संस्थागत परम्परा पनि हो जुन नाममात्रको रूपमा दशनामी सम्प्रदायसँग सम्बन्धित छ भने यो स्मार्त परम्पराद्वारा प्रचारित छ। जीवात्मा (अनुभव गर्ने व्यक्तिगत स्व), अन्ततः शुद्ध चेतना हो जसलाई गल्तीवश शरीर, यसका इन्द्रियहरू[] र विचार-निर्मितिहरूसँग पहिचान गरिन्छ भन्नु यसको प्रमुख सिद्धान्त हो। [] यो आत्मन्/ब्रह्म वा सत्य (सर्वोच्च स्व वा परम सत्य) भन्दा भिन्न छैन।[][][] 'अद्वैत' शब्दको शाब्दिक अर्थ "दुई नभएको"[][] वा "दोस्रो नभएको एक"[] भन्ने हुन्छ जसलाई थप रूपमा ब्रह्म (त्यो 'एक') मात्र अन्ततः सत्य हो भने प्रपञ्च (त्यो 'दोस्रो', 'संसार' वा विचार-निर्मितिहरूको बहुलता) पूर्ण रूपमा सत्य होइन भनेर व्याख्या गरिन्छ।

[] यसलाई सामान्यतया "अद्वैतवाद"को रूपमा अनुवाद गरी [१०][११] र लोकप्रिय रूपमा आत्मा ब्रह्मभन्दा भिन्न छैन भन्ने अर्थमा व्याख्या गरिन्छ भने यसलाई प्रायः यसलाई एकात्मवादसँग तुलना गरिन्छ। अद्वैत वेदान्त एक हिन्दु साधना, आध्यात्मिक अनुशासन र अनुभवको मार्ग पनि हो। ब्रह्मको ज्ञान प्राप्त गरेर दृश्य संसारको भ्रमलाई पहिचान गरि शरीर-मन तथा 'कर्तापन' को धारणाबाट अलग भएपछि मोक्ष प्राप्ति हुन्छ भनेर यस सिद्धान्तले भनेको छ।[१२][१३] यस प्रक्रियामा आफ्नो साँचो पहिचान आत्मन्/ब्रह्म, स्वयं-प्रकाशित जागरूकता वा साक्षी-चेतना हो भन्ने ज्ञान प्राप्त गरिन्छ।[१४] यो ज्ञान तत्त्वमसि ("तिमी त्यही हौ") जस्ता उपनिषद्का महावाक्यहरू मार्फत प्राप्त हुन्छ, जसले जीवात्मा र अमर ब्रह्म बीचको अभेदता प्रकट गरी आफ्नो साँचो पहिचान सम्बन्धी अज्ञानता (अविद्या) लाई नष्ट गर्दछ।

अद्वैत वेदान्त परम्पराले अस्तित्वका दुई समान आधारभूत सिद्धान्तका रूपमा रहेका 'पुरुष' (शुद्ध चेतना) र 'प्रकृति' (प्रकृति, जसमा पदार्थका साथै सङ्ज्ञान र भावना पनि समावेश हुन्छन्) बीचको साङ्ख्य-द्वैतवादलाई परिमार्जन गर्दछ।[१५][१६] यसको सट्टा यसले केवल आत्मन्/ब्रह्म (चेतना, पुरुष) मात्र अन्ततः सत्य हो र यो अपरिवर्तनीय भएतापनि[१७] यो नै क्षणभङ्गुर दृश्य जगत्को (प्रकृति) कारण र उत्पत्ति हो भन्ने प्रस्ताव गर्दछ। यस दृष्टिकोणमा जीवात्मा भनेको अनेकौँ आभासी व्यक्तिगत शरीरहरूमा अद्वितीय आत्मन्को एउटा प्रतिबिम्ब वा सीमा मात्र हो।[१८] यसले भौतिक संसारलाई एक भ्रमपूर्ण उपस्थिति (माया) वा "ब्रह्मको एक असत्य अभिव्यक्ति (विवर्त)"को रूपमा मान्दछ।[१९] पछिल्लो धारणा १३औँ शताब्दीका विवरण सम्प्रदायका विद्वान् प्रकाशात्मन्द्वारा प्रस्तावित गरिएको थियो।[२०]

पारम्परिक हिन्दु मूल्य-मान्यता र आध्यात्मिकताको एक आदर्श रक्षकको रूपमा शङ्कराचार्यको प्रमुखता शताब्दीयौँ पछि मात्र देखिन थालेको थियो। यसको सुरुवात १४औँ शताब्दीमा विजयनगर साम्राज्यको समयमा शृङ्गेरी मठ र त्यसका जगद्गुरु विद्यारण्य (माधव, १४ औँ शताब्दी) को उदयसँगै भएको थियो। आदि शङ्कराचार्यले स्वयम् योग लाई अङ्गीकार नगरेतापनि,[२१] त्यस समयसम्म अद्वैत परम्पराले मनलाई शान्त पार्न र ज्ञान प्राप्त गर्नका लागि योगिक समाधिलाई एक माध्यमका रूपमा स्वीकार गरिसकेको थियो। यसले स्पष्ट रूपमा योगिक परम्परा र योग वासिष्ठ तथा भागवत पुराण जस्ता ग्रन्थहरूका तत्वहरूलाई आत्मसात् गरेको थियो।[२२] यसको चरमोत्कर्ष स्वामी विवेकानन्दको समयमा भएको थियो जसले योगिक समाधिलाई अद्वैत ज्ञान र मुक्तिको माध्यमको रूपमा पूर्ण रूपमा अपनाए र यसको प्रचार गरेका थिए।[२३][२४] १९औँ शताब्दीमा विद्यारण्यको सर्वदर्शनसङ्ग्रहको प्रभावका कारण,[२५] पाश्चात्य विद्वानहरूद्वारा अद्वैत वेदान्तको महत्त्वलाई अत्यधिक जोड दिइएको थियो।[२६] सङ्ख्यात्मक रूपमा ईश्वरवादी भक्ति-उन्मुख धार्मिकताको प्रधानता भएतापनि अद्वैत वेदान्तलाई हिन्दु आध्यात्मिकताको प्रमुख उदाहरणका रूपमा हेरिन थालिएको थियो।[२७][२८][२६] आधुनिक समयमा, अद्वैतका विचारहरू विभिन्न नव-वेदान्त आन्दोलनहरूमा देखा पर्दछन्।[२९]

    सन्दर्भ सामग्रीहरू

    [सम्पादन गर्नुहोस्]
    1. Comans 2000, पृष्ठ 183.
    2. Tattvabodha 33, International Vedanta Mission
    3. Volker 2023, पृष्ठ 52, 57.
    4. Menon 2012.
    5. Deutsch 1973, पृष्ठ 3, note 2; p.54.
    6. Koller 2013, पृष्ठ. 100–101.
    7. Grimes 1996, पृष्ठ 15.
    8. 1 2 Katz 2007.
    9. Volker 2023, पृष्ठ 52.
    10. Deutsch 1988, पृष्ठ 3.
    11. Milne 1997.
    12. Sharma 1995, पृष्ठ. 8–14, 31–34, 44–45, 176–178.
    13. Fost 1998, पृष्ठ. 387–405.
    14. Lipner 2000, पृष्ठ 60.
    15. Deutsch & Dalvi 2004, पृष्ठ 8.
    16. King 1995, पृष्ठ 77.
    17. King 1995, पृष्ठ 78.
    18. Indich 2000, पृष्ठ 50.
    19. Nicholson 2010, पृष्ठ 27.
    20. Mayeda 2006, पृष्ठ. 25–27.
    21. Fiordalis 2021, पृष्ठ 24, note 12.
    22. Madaio 2017, पृष्ठ. 4–5.
    23. Rambachan 1994.
    24. Nicholson 2010.
    25. Nicholson 2010, पृष्ठ. 160.
    26. 1 2 Suthren Hirst 2005, पृष्ठ 3.
    27. Sharma 2006, पृष्ठ 38–43, 68–75.
    28. King 2013, पृष्ठ 128–132.
    29. King 2002, पृष्ठ. 119–133.