अनुष्ठान दासत्व
अनुष्ठान दासत्व भन्नाले अनुष्ठान वा भेटीका नाममा महिला वा बालबालिकाहरूलाई मठ, मन्दिर, गुँठी वा अन्य कुनै धार्मिक संस्थाहरूमा जीवनभर सेवा गर्न स्वेच्छाले वा जबरजस्ती समर्पित गराइने धार्मिक वा सांस्कृतिक अभ्यास हो। सरल शब्दमा भन्नुपर्दा, यसको अर्थ धार्मिक अनुष्ठानको नाममा कसैलाई दास बनाउनु हो। यो सामाजिक समस्याले भारतीय उपमहाद्वीप र अफ्रिका महादेशका निम्छरा राष्ट्रहरूमा अहिलेसम्म पनि आफ्नो खुट्टो घुमाइरहेको छ। नेपालमा प्रचलित देउकी प्रथा, झुमा प्रथा आदि यसका ज्वलन्त उदाहरणहरू हुन्। त्यस्तै सती प्रथा पनि अनुष्ठान दासत्व अन्तर्गत नै पर्दछ जुन नेपालमा वि.सं १९७७ असार २५ गते देखि चन्द्र शमशेरले हटाएका थिए।[१]
घाना र टोगोमा भोल्टा क्षेत्र आसपास बसोबास गर्ने इवी समुदायका मानिसहरूले र बेनिनमा बसोबास गर्ने फोन समुदायका मानिसहरूले अभ्यास गर्ने अनुष्ठान दासत्वलाई ट्रोकोसी भनिन्छ।[२] त्यस्तै भारतको प्राचीन देवदासी प्रथा पनि अनुष्ठान दासत्वको उदाहरण हो। भारतका केही क्षेत्रहरू विशेषगरी दक्षिण भारतमा महिलाहरूलाई धर्म र आस्थाको नाममा वेश्यावृत्तिको दलदलमा धकेलिएको थियो यद्यपि धर्मसँग यसको कुनै सम्बन्ध नै छैन। सामाजिक-पारिवारिक दवाबका कारण यी महिलाहरू यस धार्मिक कुरीतिको हिस्सा बन्न बाध्य बनाइएका थिए। देवदासी प्रथा अन्तर्गत कुनै पनि महिलाले धार्मिक स्थलमा स्वयं आफूलाई समर्पित गरेर देवताको सेवा गर्ने गर्दथे। देवताहरूलाई खुशी पार्न मन्दिरमा नाच्ने गर्दथे। यस प्रथामा सामिल भएका महिलाहरूमाथी धर्मस्थलका पुजारीहरूले आफू र भगवानबीच सम्पर्क स्थापना हुन्छ भन्दै ती महिलाहरूसँग शारीरिक सम्बन्ध राख्न सुरू गरेका थिए। विस्तारै यसलाई पुजारीहरूको अधिकार मान्न थालियो र यो कृत्यले सामाजिक स्वीकायर्ता पनि प्राप्त गर्यो। केही वर्षपछि राजा–महाराजाहरूले आफ्नो महलमा देवदासीहरूलाई राख्ने चलन चलाए। पछि फेरि राजाहरूले यति धेरै संख्यामा रहेका देवदासीहरूको पालनपोषण गर्नु आफ्नो वशमा नभएको जिकिर गरेपछि भने देवदासीहरू सार्वजनिक सम्पत्ति बने।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "फर्केर हेर्दा सती-प्रथा", Makalu Khabar, असार २०७८, अन्तिम पहुँच भाद्र २०८२।
- ↑ FAQ About the Form of Slavery Called Trokosi, ECM Publications, 2002, p.1