अपतन साहित्य परिषद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

अपतन साहित्य परिषद् (Apatan Sahitya Parisad)

- अपतन साहित्य परिषद् सिक्किमको पहिलो साहित्यिक संस्था हो। यसको स्थापना १५ अप्रेल, १९४७-मा गान्तोकमा भएको उदय क्षेत्रीले आफ्नो शोधपरक पुस्तक नेपाली साहित्यको विकासमा सिक्किमका सङ्घ-संस्थाहरूको योगदान-मा उल्लेख गरेका छन्।

- यस संस्थाका संस्थापकहरू अगमसिंह तामाङ, पदमसिंह सुब्बा, तुलसीबहादुर छेत्री र निमावाङ्दी तार्गेन लेप्चा कै नामको अघिल्लो अक्षर मिलाएर अपतनको गठन भएको हो। पछिबाट यस संस्थामा रश्मिप्रसाद आले, भूपाल लामिछाने, लक्ष्मण छेत्री, सन्तबीर लिम्बू, रामदत्तलाल ठाकुर, पण्डित शिवनाथ मिश्र, चन्द्रदास राई, वृजानन्द सिंह र हरिप्रसाद प्रधान आदि सामेल भएका थिए। यस संस्थाका सबै सदस्यले आफ्नो नामको पछि अपतन उपनाम जोडेर नेपाली साहित्यमा क्रान्ति नै ल्याएका थिए। अपतनको अर्थ कहिले ननासिने, पतन नहुने भएकाले यो सबैलाई प्रिय बन्यो।

- अपतन साहित्य परिषद्को गठनपछि सिक्किममा साहित्यिक गतिविधि अघि बढेको देखिन्छ। यसले साहित्यको विकासमा सक्रियताका रूपमा कार्य गऱ्यो। सिक्किमेलीलाई साहित्य लेखन तथा सिर्जनाका निम्ति एउटा प्रेरणाको रूपमा यो संस्था सक्रिय रहेको थियो। यस संस्थाले सर्वप्रथम १९४८-मा सिक्किममा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती धुमधामले मनाएको कुरा क्षेत्रीले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्। यसका साथै नेपालबाट महानन्द सापकोटा, बालचन्द्र शर्मा, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम जस्ता साहित्यिकहरू आउँदा स्वागत कार्यक्रमहरूको आयोजना गरेको थियो। त्यतिमात्र होइन यसले गान्तोकमा हरिश्चन्द्र तारामती र मुकुन्द इन्दिरा जस्ता प्रख्यात नाटकहरू मञ्चन गरेको देखिन्छ।

- यस संस्थाले प्रत्येक सप्ताह साहित्यिक गोष्ठीको आयोजना गर्ने गरेको थियो। उक्त गोष्ठीमा पाठ गरिएका राम्रा रचनाहरूलाई भूपाल लामिछानेको सुन्दर हस्ताङरमा लेखिन्थ्यो अनि अमूल्य रत्न नामक हस्तलिखित पत्रिकामा प्रकाशन गरिन्थ्यो। पछिबाट यस संस्थाले शिवनाथ मिश्र र तुलसीबहादुर छेत्रीको सम्पादनमा इन्द्रकील पुष्पाञ्जलि (१९५०) प्रकाशन गऱ्यो। त्यसपछि तुलसीबहादुर छेत्रीको बापू बन्दना- कविता संग्रह (१९५१) र कमल नाटक (१९५३) प्रकाशन गऱ्यो।

- सक्रियताका साथ साहित्य सेवामा जुटेको यस संस्थामा सरकारी कार्य गर्ने व्यक्तिहरू सदस्य रहेकाले उनीहरूको समय समयमा हुने सरूवा र अगम सिंह तामाङको (१९६५)-मा मृत्यु भएपछि संस्था बिस्तारै निष्क्रिय बन्दै गएको देखिन्छ। तर सिक्किममा नेपाली साहित्यको सार्वजनिक रूपमा श्रीगणेश गर्ने यस संस्थाको योगदानलाई इतिहासले कहिले पनि भूल्ने छैन।