अप्सरा
| सम्बन्धी श्रृंखलाको भाग |
| बौद्ध धर्म |
|---|
|
|
अप्सरा (संस्कृत: अप्सरस्, पाली: अच्छरा)[१] हिन्दु र बौद्ध संस्कृतिमा पाइने एक प्रकारका स्वर्गीय प्राणी हुन्।[२] सुरुवाती समयमा यिनीहरूलाई बादल र जलसँग सम्बन्धित आत्मिक शक्तिको रूपमा चिनिन्थ्यो, तर पछि यिनीहरूले "परी" वा "सुन्दरी"को भूमिका खेल्छन्। धेरै भारतीय र दक्षिणपूर्वी एसियाली संस्कृतिहरूका मूर्तिकला, नृत्य, साहित्य र चित्रकलामा अप्सराहरूको प्रमुख स्थान रहेको छ।[३]
अप्सराहरूलाई अत्यन्त सुन्दरी, युवती र मनमोहक रूपमा वर्णन गरिएको छ। उनीहरू आफ्नो इच्छा अनुसार रूप परिवर्तन गर्न सक्ने क्षमता राख्छन् र जो कसैलाई पनि आफ्नो सौन्दर्यले मोहित पार्न सक्छन्। अप्सराहरू लौकिक र दैविक गरि दुई प्रकारका हुन्छन्। उनीहरू नृत्य कलामा निपुण हुन्छन् र प्रायः इन्द्रको दरबारका सङ्गीतकारहरू, गन्धर्वहरूका पत्नी मानिन्छन्। अप्सराहरू देवताहरूको महलमा बस्छन् र गन्धर्वहरूको सङ्गीतमा नृत्य गरेर उनीहरूको मनोरञ्जन प्रदान गर्दछन्। इन्द्रको दरबारका २६ अप्सराहरूले प्रदर्शनकारी कलाका विभिन्न पक्षहरूको प्रतिनिधित्व गर्छन्, जसलाई प्राचीन युनानका 'म्युजेज'सँग तुलना गरिन्छ। उनीहरू ऋषिमुनिहरूको तपस्या भङ्ग गर्न र उनीहरूलाई दिव्य शक्ति प्राप्त गर्नबाट रोक्नका लागि मोहित पार्ने कार्यमा पनि प्रख्यात छन्। प्रसिद्ध अप्सराहरूमा उर्वशी, मेनका, रम्भा, तिलोत्तमा र घृताची पर्दछन्।[४][५]
साहित्य
[सम्पादन गर्नुहोस्]
अप्सराहरूको सबैभन्दा प्राचीन वर्णनले उनीहरूलाई "जलपरी" जस्ता प्राणीहरूको रूपमा चित्रण गरेको छ।[६]
ऋग्वेदमा एक अप्सराको उल्लेख छ जो गन्धर्वकी पत्नी हुन्; यद्यपि, ऋग्वेदले एकभन्दा बढी अप्सराहरूको अस्तित्वलाई पनि स्वीकार गरेको देखिन्छ। ऋग्वेदमा नामै तोकेर उल्लेख गरिएको एक मात्र अप्सरा उर्वशी हुन्। एउटा पूर्ण सूक्तले उर्वशी र उनका मर्त्य प्रेमी पुरुरवा बीचको संवादलाई प्रस्तुत गर्दछ। पछिल्ला हिन्दु धर्मग्रन्थहरूले धेरै अप्सराहरूको अस्तित्वलाई स्वीकार गरेका छन्, जसले इन्द्रको सेविका वा उनको स्वर्गीय दरबारमा नर्तकीको रूपमा कार्य गर्दछन् र गन्धर्वहरू ("स्वर्गीय सङ्गीतकार") सँगै कलाकारको रूपमा रहन्छन्।
कौषीतकि उपनिषद्मा अप्सराहरूलाई अत्तर (लेप), माला, वस्त्र र सुगन्धित चूर्णहरूसँग सम्बन्धित देवताहरूको एक वर्गको रूपमा उल्लेख गरिएको छ।[७]
अप्सराहरूको उत्पत्तिको वर्णन रामायण र पुराणहरूमा गरिएको छ। अप्सराहरूलाई समुद्र मन्थन, जलक्रिडा, र नाग जस्ता समूहहरूसँग जोडेर उनीहरूको सम्बन्ध पानी (जल) सँग रहेको थप स्पष्ट पारिएको छ।[८]
महाभारतमा विभिन्न अप्सराहरूका साहसिक कार्यहरूको विवरण पाइन्छ; जस्तै तिलोत्तमा, जसले संसारलाई आतङ्क मच्चाउने सुन्द र उपसुन्द नाम गरेका असुर दाजुभाइबाट बचाएकी थिइन्; र उर्वशी, जसले नायक अर्जुनलाई मोहित पार्ने प्रयास गरेकी थिइन्।
चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]- कम्बोडियाको अङ्कोर स्थित १२औँ शताब्दीको बायोन मन्दिरबाट लिइएको अप्सरा नृत्य
- १०औं शताब्दीको चाम कलाको कृति, ट्रा किउ पेडेस्टलको आधारमा कुँदिएको अप्सरा।
- चीनको डुनहुवाङ नजिकै रहेको युलिन गुफाको अप्सरा
- फिनिक्स टाउको भएको कोङ्घौ बजाउँदै गरेकी अप्सरा – युलिन गुफा १५
- बोरोबुदुरमा अप्सरा सुरसुन्दरी
- अङ्कोर वाटमा रहेको अप्सराको मूर्ति
- कम्बोडियाको अप्सरा नृत्य
- कम्बोडियाली अप्सरा नर्तकी
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ American Oriental Society. (1849). "Memoir on The History of Buddhism, read before the Society May 24, 1844, by Edward E. Salisbury, Professor in Yale College", in JOURNAL OF THE AMERICAN ORIENTAL SOCIETY VOL. I. Boston, MA: The American Oriental Society. p. 116.
- ↑ Kumar, Ajit et al. (2020). Apsara Sadhana (Evocation Magic of Ancient Hindu Celestial Beauties): Ramba, Urvasi, Tilotama, Sasi Devi, Kanchanamala, Kulaharini, Ratnamala, Bhusani and Many More Information Regarding Attraction. N.p.: Amazon Digital Services LLC - KDP. 44 pp. आइएसबिएन ९७९-८६५-८-८२१७१-९
- ↑ "Apsara | Indian religion and mythology", Encyclopedia Britannica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०४-१५।
- ↑ Gopal, Madan (१९९०), K.S. Gautam, सम्पादक, India through the ages, Publication Division, Ministry of Information and Broadcasting, Government of India, पृ: ६८।
- ↑ क्रिसहोल्म, हुग, सम्पादक (१९११), "Apsaras", इन्साइक्लोपिडिया ब्रिटानिका 2 (११औँ संस्करण), क्याम्ब्रिज विश्वविद्यालय छापाखाना, पृ: २३१।
- ↑ Stefon, Matt (२००९-१०-२०), "apsara" (अङ्ग्रेजीमा), Encyclopedia Britannica, अन्तिम पहुँच २०२३-०६-०७।
- ↑ Cohen, Simona (२०२१), "The Indian Hair-Wringing Apsaras and her Discriminating Goose: Meanings and Migrations", Religions of South Asia (अङ्ग्रेजीमा) 15 (2): 156–157, आइएसएसएन 1751-2697, डिओआई:10.1558/rosa.20975।
- ↑ Cohen, Simona (२०२१), "The Indian Hair-Wringing Apsaras and her Discriminating Goose: Meanings and Migrations", Religions of South Asia (अङ्ग्रेजीमा) 15 (2): 157, आइएसएसएन 1751-2697, डिओआई:10.1558/rosa.20975।
