अर्थशास्त्रको प्राविधिक शब्दावली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अर्थशास्त्र मानविकी र सामाजिक शास्त्रको एक महत्त्वपूर्ण विषय हो । यसलाई सामाजिक शास्त्रहरूको रानी उपनामले पनि चिनिन्छ । यस विषयको व्यावहारिक महत्त्ले गर्दा नै शान्ति, साहित्य र भौतिक विज्ञानहरु बाहेक अन्तर्राष्ट्रिय स्तरको नोबेल पुरस्कार केवल अर्थशास्त्र विषयमा वितरण गरिन्छ । यस विषयलाई कलाहरूमा प्राचीनतम तर विज्ञानहरूमा नवीनतम पनि भनिन्छ । यसको अर्थ के हो भने यो एक प्राचीनतम विषय भए तापनि यसको शब्दावली आधुनिक र प्राविधिक छ । यसमा प्रयोग गरिने शब्द र अवधारणाहरूको विशिष्ट अर्थ हुन्छ ।[१][२]

अर्थशास्त्रको प्राविधिक भाषा[सम्पादन गर्नुहोस्]

अर्थशास्त्रको मेथडोलजीसका बारेमा प्राथमिक कुरा हो अर्थशास्त्रको प्राविधिक भाषा । अर्थशास्त्र सापेक्षिक रूपमा एक नयां विषय हो । यसका शब्दावली अन्य कुनै पनि विज्ञानभन्दा नयां र विशिष्ट छन् ।

अर्थशास्त्रको अंग्रेजी समानान्तर[सम्पादन गर्नुहोस्]

अर्थशास्त्रको अंग्रेजी समानान्तर इकोनोमिक्स हो जुन ग्रीक ओइकोनोमियाबाट बनेको छ । यसको अर्थ हो घरेलु प्रबन्ध र व्यवस्थापन गर्नु । तर वि.सं १८३३ (सन् १७७६) मा यूरोपमा जब यस विषयको जन्म भएको थियो, यस विषयको स्वतन्त्र अस्तित्व र नामकरण समेत भएको थिएन । एडम स्मिथले अर्थशास्त्रलाई वेल्थ अफ नेशन्स भनेका हुन् । पछि विद्वान्हरूले यस विषयलाई पोलिटिकल इकोनोमी (राजनीतिक अर्थशास्त्र) नामकरण गर्ने प्रयास गरे । उन्नाइसौँ शताब्दीमा जर्मनमा संस्थानिक सम्प्रदायका (तथा वेबलन, मिचेल आदि) विचारकहरूले के अनुभव गर्न थाले भने यस शास्त्रमा सामाजिक मानिसहरूका आर्थिक सम्बन्ध र त्यसमा भइरहने परिवर्तनहरूको अध्ययन गरिन्छ । त्यसैले उनीहरूले यस विषयलाई सोशल इकोनोमिक्स (सामाजिक अर्थशास्त्र) भन्नु उचित ठाने । एक थरी अर्थशास्त्रीहरु (कूर्नो, जेभन्स, पेरिटो, वालरस इत्यादि) ले आर्थिक क्रियाकलापलाई व्यक्तिगत आर्थिक क्रियाकलापका अध्ययनको रूपमा व्याख्या गर्न थाले । यसरी विभिन्न नामले ंसम्बोधित गरिएको यस विषयलाई उन्नाइसौ शताब्दीमा अर्थशास्त्र भन्ने प्रचलन भयो । यसबाट के स्पष्ट हुन्छ भने अर्थशास्त्र शब्दले राजनीतिक, सामाजिक र व्यक्तिगत तीन प्रकारका आर्थिक क्रियाकलापलाई सङ्केत गर्छ ।[३][४]

अर्थशास्त्रमा प्रयुक्त मुख्य शब्द[सम्पादन गर्नुहोस्]

सर्वप्रथम अर्थशास्त्रको नाममा प्रयुक्त मुख्य शब्द अर्थलाई लिउ । अमरकोशमा अर्थ शब्दका पर्यायहरु निम्नलिति छन्– द्रव्यं वित्तं स्वपातेयं रिक्थमृक्थं धनं वसु । हिरण्यं द्रविणं द्युम्नमर्थरैविभवाऽपि । यी मध्ये प्रत्येक शब्दको एउटा अभिधेय अर्थ धन हो यस बाहेकका तात्पर्यहरु कोष्ठमा उल्लेख गरिएको छ–

  • द्रव्य (बहुमूल्य पदार्थ),
  • वित्त (आम्दानी स्रोत),
  • स्वापतेय (व्यक्तिगत स्वामित्वको धन),
  • रिक्थ (उत्तराधिकारमा पाएको धन),
  • ऋक्थ (प्रभाव),
  • धन,
  • वसु (मूल्यवान्, असल),
  • हिरण्य (सुन र सुनले बनेको),
  • द्रविण (बल, सार),
  • द्युम्न (आभा, कीर्ति, उत्साह),
  • अर्थ,
  • रा (शान, शौकत),
  • विभव (सम्पन्नता) ।
  • यस प्रकार अर्थ शब्दका तीन मुख्य तात्पर्य हुन्छन्–
  • धन,
  • भावार्थ, र
  • शक्ति ।


संस्कृतमा स्वलाई पनि अर्थ भनिएको छ, जस्तै राजस्व । स्व शब्दको सन्दर्भमा अमरकोशको पंक्ति यस्तो छ– स्वो ज्ञातावात्मनि स्वं त्रिष्वात्मीये स्वोद्रस्त्रियां धने (अर्थात् स्व भनेको दाजुभाई, आफू, धन, र आत्मीय)। स्व शब्दको सन्दर्भमा पाणिनीय सूत्र यस प्रकार छ – स्वमज्ञातिधनाख्यायाम् ।
नेपाली वृहत् शब्दकोशको वि.सं.२०४१ संस्करणमा अर्थ शब्दका पर्यायहरू यस प्रकार उल्लेख गरिएको छ– अभिप्राय, आशय, अभिधा, लक्षणा, व्यञ्जना, निमित्त, काम, चार पुरुषार्थमध्ये एक, धन, सम्पत्ति, विनिमयको माध्यम, सुन र चादी ।
नेपाली वृहत् शब्द कोशको वि.सं.२०६७ को संस्करणमा यसरी उल्लेख छ,
१. माने, मतलब, तात्पर्य, अभिप्राय ।
२. शब्दबाट प्रकट हुने मानव हृदयको आशय, शब्दशक्ति ।
३. अभिधा, लक्षणा व्यञ्जनाबाट बोध हुने तात्पर्य ।
४. हेतु, निमित्त, प्रयोजन ।
५. काम, इष्ट ।
६. इन्द्रियको विषय ।
७. धर्म, अर्थ, काम, मोक्ष चा® पुरुषार्थमध्ये एक ।
८. धन, सम्पत्ति, ऐश्वर्य ।
९. विनिमयको माध्यम ।
१०. मूल्यका रूपमा दिइने मुद्रा वा सुन, चा“दी आदि ।
११. मूल्य निर्धारित द्रव्य ।

धन र भौतिक वस्तु[सम्पादन गर्नुहोस्]

एडम स्मिथ र उनका अनुयायीहरूले धन भनेको केवल भौतिक वस्तु हो भन्ने ठान्दथे । अभौतिक वस्तु पनि धन हुनसक्छ भन्ने धारणाको विकास मार्क्सको पूजी भन्ने पुस्तक प्रकाशन पछि मात्र अनुभवमा आएको हो । सबै पूजी धन हुनसक्छ तर सबै धन पूजी हुन सक्दैन भन्ने अवधारणाको विकास पनि धेरै पछि त्यसबेला भएको हो जब यूरोपियन अर्थशास्त्रीहरूले धन र पू“जीमा अन्तर गरेका थिए ।

आर्थिक शब्दावलीको निर्माण[सम्पादन गर्नुहोस्]

अर्थशास्त्रमा उत्पादनका साधनहरू भूमि, श्रम, पूंजीउद्यमको रूपमा परिभाषित भइ प्रत्येकको प्रतिफलका लागि प्राविधिक शब्दहरूको प्रयोग हुन लगभग एक शय वर्ष लागेको छ । पूजीलाई उत्पादनको महत्त्वपूर्ण साधनको रूपमा प्रतिष्ठित गराउने श्रेय जेभन्सलाई जान्छ । संयुक्त पूंजी कम्पनीको विकास भए पछि उद्यम र सङ्गठनको कार्य विभाजन भएको हो । भौतिक विज्ञानको शब्दावली वि.सं.२०२६ पछि प्रयोग हुन थालेको हो । व्यष्टि आर्थिक विश्लेषणको आधार सीमान्तको अवधारणा हो । जसको विकासमा क्याम्ब्रिज, अस्ट्रियन र गणितीय सम्प्रदायका अर्थशास्त्रीहरूको योगदान छ ।[५]

आदर्शतमीकरण[सम्पादन गर्नुहोस्]

अर्थशास्त्रमा आदर्शतमीकरणका लागि गणितीय अवकलनका विधिहरूको प्रयोग हुन्छ । यसको आधार सीमान्तको अवधारणा हो । अर्थशास्त्रमा आज ज्यादै सामान्य मानिएको यस अवधारणाको विकास हुन करीब एक शय वर्ष लागेको छ । गणित, तथ्याङ्क र अर्थशास्त्रको मिश्रणले आर्थिक मोडेल निर्माण गर्ने एक नया“ विश्लेषण प्रारम्भ भएको छ जसलाई अर्थमिति वा आर्थिक मोडेल निर्माण गर्नु भनिन्छ ।

नेपाली भाषा र आर्थिक शब्दावली[सम्पादन गर्नुहोस्]

आर्थिक विषयमा प्रतिपादन भएका अवधारणाहरु स्पष्ट गर्न नेपाली भाषाका प्रचलित शब्दहरूलाई अर्थशास्त्रीहरूले एक प्राविधिक अर्थमा प्रयोग गर्दछन् । त्यसैले के भनिन्छ भने अर्थशास्त्र विषयको आफ्नो छुट्टै भाषा हुन्छ । तर त्यसमा ह्रस्व, दीर्घ, शब्दमा एकरुपता, प्रयोगमा एकरुपता, लिङ्ग, र वचनको सही प्रयोग, नाम र विश्लेषणमा अन्तर गर्नु पर्छ । विभक्तिहरूमा उचित तरिकाले डिको दिनु पर्छ । शब्दको क्रम, क्रिया र सहायक क्रिया उत्तिकै शुद्ध हुनु पर्छ जत्तिको नेपाली व्याकरण विषयमा आवश्यक हुन्छ । अर्थशास्त्र विषयको शिक्षक भाषामा दक्ष हुनैपर्छ ।
अर्थशास्त्र एक साहित्यिक विषय होइन प्राविधिक विषय हो । यस विषयमा प्रयुक्त शब्दहरूको विशेष अर्थ हुन्छ । स्वयं अर्थशास्त्र नै एक पारिभाषिक शब्द बनेको छ । इकोनोमिक्स अङ्ग्रेजीको इकोनोमाइजिंग भन्ने शब्दबाट आएको छ जसको अर्थ हो किफायत गर्नु । तर पनि नेपालीमा किफायत शास्त्र भनिंदैन । हामीले जसलाई अर्थमन्त्री भन्छौं त्यसको अंग्रेजी अनुवाद वेल्थ मिनिस्टर हुनु पर्ने हो किनभने अर्थ धनको पर्याय हो तर अंग्रेजी अनुवाद फाइनान्स मिनिस्टर हुन्छ ।

अर्थशास्त्र विषयमा नेपाली शब्दहरूको जग[सम्पादन गर्नुहोस्]

अर्थशास्त्र विषयका नेपाली शब्दहरूको जग लगभग ५० वर्ष अघि बसिसकेको छ । अर्थशास्त्रका शिक्षक र विद्यार्थीहरूले धन, वस्तु, उपयोगिता, भूमि, श्रम, पूजी, उद्यम, लागत, आम्दानी, आय, लगान, ज्याला, ब्याज, नाफा, बजार मूल्य, स्थिर मूल्य इत्यादि शब्दहरूको अलग अलग अर्थ बुझ्दछन् । यी मध्ये केही शब्द प्राविधिक आधारमा प्रयोग गरिएका छन् भने केही शब्द सामान्य बोलीचालीबाट ल्याइएका छन् । यूरोपमा अर्थशास्त्रको नामकरण हुन मात्र पनि ११४ वर्ष लागेको थियो भन्ने कुरा बिर्सनु हुदैन । एडम स्मिथले सन् १७७६ मा एन इन्क्वाइरी इन्टु द वेल्थ अफ नेशन्स भनेको यो विषय सन् १८९० मा मात्र प्रिन्सिपल्स अफ इकानोमिक्स हुन सक्यो । जेभन्स र जे एस मिलले सुरु गरेको सीमान्त उपयोगिता डेरिवेटिभको रूपमा परिभाषित हुन लगभग १०० वर्ष लाग्यो ।

विशिष्ट प्रयोग[सम्पादन गर्नुहोस्]

अर्थशास्त्रमा दुर्लभता scarcity भनेको थोरै होइन पूर्तिको तुलनामा माग बढी हुनु हो भन्ने कुरा स्पष्ट हुन १६० वर्ष लागेको हो । नेपालीमामा उपयोगिता utility भनेको फाइदाजनक हो तर अर्थशास्त्रमा यसको अर्थ सन्तुष्टि दिने गुण हो । चुरोटखाने उपभोक्ता पनि अर्थशास्त्रमा विवेकशील हुन्छ यदि उसले अधिकतम सन्तुष्टि (उपयोगिता) प्राप्त गर्छ भने । तटस्थ भनेको मतलब नराख्नु हो तर अर्थशास्त्रमा तटस्थता रेखा भनेको बराबर महत्त्व दिनु हो । पूंजी शब्दको अर्थ केवल त्यो धन हो जुन उत्पादक हुन्छ । अहिले आएर पुंजी (ह्रस्व) लेख्ने चलन सुरु भएर कसैले (पुजी) ह्रस्व र कसैले (पूजी) दीर्घ लेख्ने गर्न थालेका छन् । औसतलाई कसैले औषत लेख्ने गरेको पनि पाइएको छ । सीमालाई कसैले सिमा, सीमान्तलाई सिमान्त लेख्ने गरेका छन् । यी सबैमा प्राविधिक पक्षलाई बढी महत्त्व दिनु पर्छ ।

केही उदाहरण[सम्पादन गर्नुहोस्]

  • सबैले सामान्यतया स्वीकार गर्दै गएका केही उदाहरणहरु यस प्रकार हुनसक्छन्[६]
  • सूक्ष्म अर्थशास्त्र भन्नुभन्दा व्यष्टि अर्थशास्त्र तथा वृहद् अर्थशास्त्र भन्नुभन्दा समष्टि अर्थशास्त्र भन्नु बढी प्राविधिक हुन्छ ।
  • क्लासिकललाई शास्त्रीय, संस्थापित वा क्लासिकल भन्न सकिन्छ । क्लासिकल भन्दा बढी प्राविधिक हुन्छ ।
  • अर्थशास्त्रमा भूमि भनेको केवल जग्गा जमीन वा माटो मात्र होइन, समस्त प्राकृतिक साधनहरु अर्थशास्त्रमा भूमि हुन्छन् ।
  • श्रमको अर्थ आर्थिक उद्देश्यले गरिने शारीरिक वा मानसिक दुवै कार्य हो ।
  • उपभोक्ताको बचत र केवल बचत भन्दा बचत शब्दका दुई भिन्न अर्थ छन् । उपभोक्ताको बचत वास्तवमा एक प्रकारको बेशी हो जुन काल्पनिक बचत जस्तो हो । उपभोक्ताको बचत भन्दा भ्रम सिर्जना हुन्छ । किनभने यसका लागि अङ्ग्रेजीमा सर्प्लस शब्द प्रयोग हुन्छ । त्यसैले नेपालीमा बेशी भन्नु उचित हुन्छ ।
  • आय र आम्दानी दुई भिन्न कुरा हुन् । दुवै अवधारणका लागि शब्दहरूको घोलमेल प्रयोगले पाठकलाई अलमल गराउन सक्छ । इन्कमलाई आय र रिभेन्युलाई आम्दानी भन्नु यचित हुन्छ ।
  • उत्पादनको साधन भन्नु भन्दा इनपुट बढी प्राविधि भइरहेको छ । तर यसको नेपाली शब्द कुन लिने स्पष्ट भइसकेको छैन । इनपुटलाई सोझै प्रयोग गर्ने वा आगत भन्ने शब्द प्रयोग गर्ने ?
  • उत्पादक एक अस्पष्ट शब्द भएकोले फर्म नै उचित शब्द हुन्छ ।
  • भ्यालु र प्राइसलाई मूल्य र अर्घ (दाम) भनेर भिन्नता गर्दा विषय वस्तुमा प्राविधिक गुण आउंछ ।


नेपाली भाषामा सर्वप्रथम लेखिएको पाठ्य पुस्तक सम्भवतः नरेशमान सिंहको अर्थशास्त्रको पुस्तक हो जुन रत्न पुस्तकबाट प्रकाशित भएको थियो । त्यसमा प्रयुक्त शब्दहरुमध्ये केही आज पनि यथावत नै प्रयोग भइरहेका छन् । केहीमा सुधार भएको छ । कही सुधारको क्रममा छन् । केही नयां शब्द प्रयोगमा आएका छन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. ज्ञवाली, बाबु राम, वि.सं.२०७२,.सञ्चार जगत, सामाजिक सञ्जाल, र नेपाली भाषा, जनसङ्घर्ष रजतमहोत्सव विशेष वि.सं.२०७२,पृ.२२३–२२६
  2. ज्ञवाली, बाबु राम, वि.सं.२०७०,नेपाली भाषा साहित्यिक भाषा मात्र होइन, सामाजिक प्राविधिक भाषा पनि हो, दुर्गा स्मारिका रजत जयन्ती अङ्क २०७०, टिकुलीगढ : दुर्गा मा. वि., दुर्गानगर, पृ ३–५।
  3. ज्ञवाली, बाबु राम, वि.सं.२०७१,कौटिलीय ग्रन्थ र आजको अर्थशास्त्र, तानेसन क्याम्पस स्मारिका, वि.सं.२०७१ तानसेन बहुमुखी क्याम्पस, पृ.४५–५२ ।
  4. ज्ञवाली, बाबु राम, वि.सं. २०६६, कौटिलीय अर्थशास्त्रको आर्थिक शब्दावली, पाठ्यक्रम विकास पत्रिका, वर्ष २४, पूर्णांक ३८, वि.सं. २०६६, पाठ्यक्रम विकास केन्द्र, त्रि.वि.वि. कीर्तिपुर, २०६६,पृ.२२–२९ ।
  5. ज्ञवाली, बाबु राम, अर्थशास्त्रीय शब्दहरूको यात्रा– केही मोडेल, दैनिक पत्र, साउन ३२, वि.सं.२०७०
  6. Gewali, Babu Ram, 2005,Comparison of Technical Terms of Oriental and Modern Economics, Social Studies Journal of Manigram, Vol. 2, 2005, p.12-17.