अर्थशास्त्रमा शोध अनुसन्धान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मेथडोलजीस

शोध एक वैज्ञानिक विधि भएकोले यस विधिमा निम्नलिखित चरणबद्ध प्रक्रियाहरु पूरा गर्नु पर्छ

शोध समस्या पहिचान[सम्पादन गर्ने]

शोधको प्रारम्भिक प्रस्थान बिन्दु नै शोध समस्याको पहिचान गर्नु हो । शोध गर्ने विद्यार्थीहरुले आफ्ना साथी, निर्देशक वा अनुभवी व्यक्तिसंग यही सोध्छन्– कुन शीर्षकमा शोध गरुं ? बढी जिज्ञासा राख्नेहरुलाई निर्देशकहरुले कुन क्षेत्रमा गर्ने हो त्यो स्पष्ट गर्न भन्दछन् । यसपछि विद्यार्थी विषय खोज्न हिंड्छन् । उसलाई कति खेर के लाग्छ भने जुन विषयमा हात हाल्न चाहन्छ त्यस प्रत्येक विषयमा अरुले कार्य गरिसकेका छन् । अर्को विषयमा हात हाल्न खोज्दा कुनै सामग्री फेलापर्दैन । अंध्यारोमा कालो बिरालो खोजे झैं विद्यार्थी रनभुल्ल पर्छन् । यस्तो समस्या बेहोर्ने विद्यार्थीहरुलाई निर्देशकहरुले पनि राम्ररी बाटो देखाउन सक्दैनन् । लक्ष्य निश्चित भएकालाई बाटो देखाउन जति सजिलो हुन्छ, समस्यामा रनभुल्ल परेकालाई त्यति नै कठिन हुन्छ । उसले निर्देशकको प्रत्येक कुरा बुझ्नमा कठिनाई अनुभव गर्छ । हुन त, उसका अगाडि समस्याहरुको कुनै कमी हुंदैन तर उ त्यसको पहिचान गर्न छनौट गर्नमा आफुलाई पूर्णतः असमर्थ महसुस गर्छ । वास्तवमा यस्तो समयमा नै कुशल निर्देशकको आवश्यकता हुन्छ तर शोधार्थीले कुशल निर्देशक प्राप्त गर्ने समय त्यो हुंदैन । यस समस्याबाट पार पाउने एक मात्र उपाय भनेको साहित्यको गम्भीर अवलोकन र पुनरावलोकन गर्नु हो । आफ्नो रुचिकर क्षेत्रका शोध ग्रन्थहरुले केही मात्रामा सहयोग गर्न सक्छन् तर त्यति मात्र पर्याप्त हुंदैन ।[१]
एउटा उदाहरणद्वारा समस्या निर्धारणलाई स्पष्ट गर्न सकिन्छ– मानवीय आवश्यकता अनन्त हुन्छन् र त्यसलाई पूरा गर्ने साधन सीमित हुन्छन् । मानव जीवनको यही प्रमुख आर्थिक समस्या हो । यो नै दुर्लभताको समस्या पनि हो, अर्थात्,
अनन्त आवश्यकता– दुर्लभ साधन = समस्या उत्पत्ति
यस समस्यालाई दुइ प्रकारले समाधान गर्न सकिन्छ–
क) यदि आवश्यकता यथावत छन् र साधन परिवर्तनशील छन् भने साधन उपलब्ध हुनासाथ आवश्यकता पूरा हुन जान्छन् । अर्थात् समस्याको समाधान भयो ।
ख) यदि साधन स्थिर छन् भने कुन साधनले कुन आवश्यकता पूरा गर्ने भन्ने समस्या उत्पन्न हुन जान्छ । यसलाई छनौटको समस्या भनिन्छ ।[२]
अर्थशास्त्रको मूल विषय वस्तु नै छनौटको समस्या हो । अर्थशास्त्रको यस समस्यालाई अर्थशासत्रको उत्पत्तिको आार भनिन्छ ।[३] शोध समस्या उत्पत्तिको आधार पनि यही हो । समस्याको प्रारम्भ त्यस परिस्थितिबाट हुन जान्छ जसलाई हामीले अनुभव गरिरहेका हुन्छौं । यदि हामीले अनुभव गरिरहेका परिस्थितिमा केही बाधा छन् भने त्यो नै समस्या हो । यस्ता समस्या हामीले दैनिक जीवनमा बेहोर्छौं तर समस्याबाट तर्केर हिंड्छौं । अर्कातिर जिज्ञासु व्यक्तिले प्रत्येक क्षेत्रमा समस्या देख्छ र त्यसलाई समाधानको आवश्यकता अनुभव गर्छ । अर्थात् उसमा रचनात्मक असन्तोषको प्रवृत्ति हुन्छ । यस रचनात्मक असन्तोषले उसमा शोध गर्ने प्रवृत्ति उत्पन्न हुन जान्छ । यदि कुनै वैज्ञानिक आफ्ना शोध कार्यबाट, शिक्षक आफ्ना विद्यार्थीहरुको प्रगतिबाट, अर्थशास्त्री आर्थिक विकासको प्रवृत्तिबाट, चिकित्सक रोग निदानका तरीकाबाट, सामाजिक कार्यकर्ता सामाजिक विषमताहरुबाट असन्तुष्ट छ भने अवश्य पनि उसलाई समाधान गर्ने बारेमा चिन्तनशील हुनु पर्ने छ । यस चिन्तनलाई वैज्ञानिक रुप प्रदान गर्ने प्रयास नै उसका लागि शोधको ढोका उघारिनु हो । समस्याको पहिचान गर्ने कुनै एक उपाय छैन ।
सभ्यताको इतिहास साक्षी छ, कैयौं आविष्कार आकस्मिक भएका छन् । विज्ञानमा गुरुत्वाकर्षणको सिद्धान्त, अर्थशास्त्रमा गिफेन गुड्सको सिद्धान्त, तथ्याङ्कशास्त्रमा प्राक्कल्पना परीक्षणको सिद्धान्त, कार्बनिक रसायनमा यौगिकहरुको संरचना सिद्धान्त, इञ्जिनीयरिंगमा बाफका शक्तिको सिद्धान्त आदि आकस्मिक रुपमा पत्ता लागेका सिद्धान्त हुन् । तर सबै समस्याहरु यसै गरी समाधान हुंदैनन् । मलेरिया रोगको औषधि खोज्न रोनाल्ड रौसले वर्षौ मेहनत गरेका हुन् । म्याडम क्युरीले युरेनियमको आविष्कार गर्न आफ्नो जीवन बलिदान गरिन् । बाबुराम आचार्य नेपालको इतिहासका अदृश्य पाना खोज्ने क्रममा आंखा गुमाउन पुगे र पनि अरुको सहायताले अध्ययन जारी राखे । सी भी रमनले बिरुवामा रहेको चेतना पत्ता लगाउने क्रममा गिलासमा राखेको तरललाई विष हो भन्ने चेतावनीका बावजूद पनि खान हिचकिचाएनन् । इलियास हावेले सिउने कल र वाटरम्यानले फाउन्टन पेनको आविष्कार गरे । मानव जीवनलाई सजिलो र गुणस्तरीय बनाउनका लागि शयौं वर्षदेखि दार्शनिक, वैज्ञानिक, अर्थशास्त्री, शिक्षाशास्त्री, र समाजशास्त्रीहरुले आफ्नो समयका समस्याहरुको अध्ययन र विश्लेषण गरेका छन् ।[४] एडम स्मिथले राष्ट्रको धनसम्पत्तिमा वृद्धि गर्ने उपाय पत्ता लगाउन र केन्सले मन्दीको कारणले उत्पन्न बेरोजगारी समस्या समाधान गर्न गहन अध्ययन गरेर समाधान प्रस्तुत गरेका हुन् ।[५] माल्थसले जनसङ्ख्याका समस्याको समाधान गर्न आफ्नो जीवनकालमा अत्यन्त ठूलो आलोचना बेहोर्नु पर्यो ।[६] सिन्धु सभ्यताका मानिसहरुले टांक, तामाको रुलर, स्केल जस्ता कुराको आविष्कार गरेका थिए । वराहमिहिरले गहिरो कुवां खनाएर नक्षत्र अध्ययन गरे तर गेलीलियोले नक्षत्र हेर्न दूरबीनको आविष्कार गरे । चीनका मानसिले कागज, छपाई र गन पाउडर आविष्कार गरे । बांग्लादेशका मानिसले मलमलको कपडा, नेपाली वास्तुकारले पगेडा शैलीका मन्दिर र चैत्य आविष्कार गरे । जापानमा जनसङ्ख्याको चाप बढे पछि दुइतल्ले ओछ्यान् आविष्कार भयो । यसरी मानव समाजले समस्या बेहोर्दा समाधान पत्ता लगाउ“दै आएको छ । कुनै पनि व्यक्तिले आफ्नो सामान्य क्षमता प्रयोग गरेर समाधान गर्न सक्ने प्रश्न नै शोध समस्या हो । यो निम्नलिखित कारणले उत्पन्न हुनसक्छ–
१. यदि कुनै व्यक्तिले आफ्ना समस्याको तर्कयुक्त समाधान वर्तमान ज्ञानको संकलनबाट प्राप्त गर्न सक्दैन भने समस्या उत्पन्न हुनजान्छ । उदाहरणका लागि वर्तमान औषधिले निदान हुन नसक्दा रोगको नयां औषधि खोजी हुन्छ । एम एन श्रीनिवासले संस्कृतिकरणबाट समाज रुपान्तरको विधि पत्ता लगाए । केन्सले आर्थिक मन्दी र बेरोजगारीको समाधानका विधि पत्ता लगाए ।[७]
२. कहिलेकाहीं विरोधी परिणामबाट उत्पन्न असन्तोष समस्याको कारण बन्न सकछ । जस्तै यू आकारको औसत लागत रेखा बनाउदा ज्याकब वाइनर भन्ने अर्थशास्त्रीले प्रत्येक अल्पकालीन औसत लागत रेखाको न्यूनतम बिन्दु दीर्घकालीन लागत रेखामा स्पर्शी हुन्छ भन्ने मानेका थिए । तर पछिका अर्थशास्त्रीहरुले यसलाई गलत प्रमाणित गरे । तथा केवल एक मात्र अल्पकालीन औसत लागत रेखाको न्यूनतम बिन्दुले दीर्घकालीन औसत लागत रेखाको न्यूनतम बिन्दुलाई स्पर्श गर्छ भन्ने कुरा प्रमाणित गरे । समुद्री जहाजहरुले कुनै कुनै स्थानमा प्रकाशस्तम्भको प्रकाश नदेखिने समस्या पछि प्रकाशको तरंग सिद्धान्त प्रतिपादन भयो ।
३. कहिले काहीं कुनै नया तथ्य यस्तो हुन्छ जसको समाधान प्राप्त भइसकेको हुंदैन । यसलाई समस्याको रुपमा व्याख्या गर्न सकिन्छ । म्याक्स वर्दामरको फाइ फेनोमिना phi phenomena लाई मनोविज्ञानमा दृष्टिभ्रमको एक राम्रो उदाहरण मानिएको छ । बाफ पानीमा रुपान्तरण हुंदा त्यसमा तौल उत्पन्न किन हुन्छ ? यस बारेमा वैज्ञानिकहरु लामो समयसम्म अलमलमा थिए । पछि उनीहरु गड पार्टिकल वा हिग्स–बोसोन पार्टिकलले गर्दा तौल उत्पन्न हुन्छ भन्ने निष्कर्षमा पुगे ।
४.अर्थशास्त्रमा लामो समयसम्म पूजीपति र उद्यमीमा अन्तर स्पष्ट हुनसकेको थिएन । पछि मार्शलले संयुक्त पू“जी कम्पनीको उदाहरण दिएर लगानीकर्ता र जोखिम वहनकर्ताको अन्तर स्पष्ट गरे। वस्तुको मूल्य लागतले निर्धारण गर्छ कि उपयोगिताले ? भन्ने विवाद नै मूल्य निर्धारणको माग र पूर्तिको सिद्धान्त प्रतिपादन हुन गयो ।
सारांशमा मानवीय कल्याणका लागि हुने जिज्ञासा नै शोध समस्या हो । यसको उत्पत्ति कसरी हुन्छ भन्ने कुरा भने गौण हो । समस्याहरु प्रशस्त छन् । तिनीहरुको कमी छैन । कुन चाहिं समस्या शीर्षक छनौट गर्ने ? यसका लागि निम्नलिखित कुराहरुलाई ध्यानमा राख्नु पर्छ–
क) शोधकर्ताको रुचि
ख) शोधकर्ताको योग्यता र क्षमता
ग) समस्याको सैद्धान्तिक र व्यावहारिक उपयोगिता
घ) भाषा वा तथ्यको रुपमा परिभाषित गर्न सकिने

उदाहरणका लागि यदि शोध समस्या महिलाको आय स्तरले प्रजननतामा पारेको प्रभाव अध्ययन गर्नु हो भने शोध शीर्षक वा समस्या हुन सक्छ–
महिलाको आय स्तर र प्रजननता बीच सम्बन्ध ।
हुन त शोध शीर्षक नै शोध समस्याको संक्षिप्त कथन हो । तर आवश्यक परेमा यसलाई छुट्टै शीर्षकमा वर्णन गर्न सकिन्छ । त्यस समस्यासंग मनमा गम्भीर रुपले उत्पन्न भएका प्रश्नहरु नै शोध समस्या हुन्छन् । त्यसैले यी प्रश्नवाचक बन्दछन् । प्रश्न भित्रै रहे पनि सबै सुरुमा स्पष्ट रुपमा व्यक्त नभएका हुन सक्छन् । केही अभ्यास पछि शोध समस्यामा केन्द्रित राखेर प्रश्न बन्न सक्छन् ।
महिलाको आय स्तर प्रजननता बीच सम्बन्ध शीर्षक समस्याका निम्नलिखित प्रश्न हुन सक्छन्–
क) के आयमा वृद्धि वा कमी गर्दा प्रजननतामा प्रभाव पर्छ ?
ख) आयमा वृद्धिको प्रजननतामा धेरै वा थोरै कस्तो प्रभाव पर्छ ?
ग) आयमा समान वृद्धिको प्रभाव धनी र गरीबको प्रजननतामा बराबर पर्छ कि फरक फरक ? इत्यादि ।

प्राक्कल्पना[सम्पादन गर्ने]

प्राक्कल्पना Hypothesis एक अस्थायी कथन हो, जसको पुष्टि हुन बा“की छ । त्यसैले यसलाई प्रमाणित नभएको सिद्धान्त भनिन्छ । कुनै विषयमा हामीले गरेको यो एक प्रकारको पूर्वानुमान हो जुन साहित्य पुनरावलोकनबाट प्राप्त तथ्य र सूचनाहरुमा आधारित हुन्छ । केर्लिंगरका अनुसार– दुइ वा दुइभन्दा बढी चलराशिहरु बीचको सम्बन्ध बताउने कथनलाई प्राक्कल्पना भनिन्छ । यी चलराशिहरुलाई आश्रित र स्वतन्त्र चल राशिमा विभक्त गरिन्छ । यद्यपि यी चलराशिहरु गणितीय रुपमा व्यक्त गर्न सक्ने हुन पनि सक्छन् र नहुन पनि सक्छन् । तर सबै प्राक्कल्पनाहरुमा निम्नलिखित सम्बन्ध पाइन्छ–

  • १. एकाई– आश्रित चल, जसको बारेमा सूचना ग्रहण गरिन्छ ।
  • २. चल– स्वतन्त्र चल, जसको बारेमा सूचना प्राप्त गरिएको छ ।
  • ३. सम्बन्ध– यी दुवैका बीचमा प्राप्त हुनसक्ने कार्यकारण सम्बन्ध ।

अर्थशास्त्र विषयका शोधमा प्राक्कल्पना दिने प्रचलन छ । समस्या समाधानको मार्ग प्रदर्शन गर्न, समस्यालाई सुनिश्चित गर्न, चलराशि छनौट गर्न, दुइ वा सोभन्दा बढी चलराशिबीच सम्बन्ध बताउन, साम्पल लिएर गरेका शोध, दुइ साम्पलको अन्तर जाच गर्न, प्राक्कल्पनालाई परीक्षण योग्य बनाउन, प्राक्कल्पना (हाइपोथीसिस) गरिएको हुन्छ । अस्थायी रुपले सत्य मानिएको कल्पना नै प्राक्कल्पना हो । यो एक प्रकारको पूर्वकल्पना वा प्रमाणित नभइसकेको सिद्धान्त हो ।
असल प्राक्कल्पनामा निम्नलिखित गुण हुनु पर्दछ–

  • – प्राक्कल्पना प्रमाणित हुन सक्नुपर्छ
  • – प्राक्कल्पना विशिष्ट हुनुपर्छ
  • – त्यसका स्वतन्त्र र आश्रित चलराशि स्पष्ट परिभाषित र मापनीय हुनुपर्छ
  • – तथ्याङ्क वा सूचना उपलब्ध हुनुपर्छ
  • – विश्लेषण र परीक्षणका उपकरणहरु उपलब्ध हुनुपर्छ ।

के सबै विज्ञानहरुमा प्राक्कल्पना अनिवार्य छ ? के न्यूटनको प्रसिद्ध गुरुत्वाकर्षण सिद्धान्त र आइन्स्टाइनको सापेक्षता सिद्धान्तका पछाडि पनि प्राक्कल्पना थियो ? यसको उत्तर हो थिएन ।
प्राकृतिक विज्ञानहरुमा प्राक्कल्पनाको प्रयोगले विशेष महत्त्व राख्दैन । गुणात्मक शोधका अधिकांश पक्षमा प्राक्कल्पना आवश्यक मानिंदैन । विशेष गरी घटना क्रिया विज्ञान, नृशास्त्रीय विज्ञान, ग्राउण्डेड सिद्धान्तमा प्राक्कल्पना गरिएको हुदैन । तथापि प्राक्कल्पना निर्माण नगरिकन शोध कार्य अगाडि बढ्न अलि कठिन हुन्छ भन्न सकिन्छ ।
उदाहरणका लागि कुनै रोगीको रोग निदान गर्नु अघि चिकित्सकले रोगका लक्षणहरुको आधारमा विभिन्न प्राक्कल्पना गर्न सक्छ । अनि यस आधारमा रोग पत्ता लगाएर औषधि सिफारिश गर्दछ । प्राकृतिक विज्ञानहरुमा कार्यकारण सिद्धान्त एक चलराशि मान्यतामा आधारित हुन्छ । त्यसैले प्राक्कल्पनाले विशेष स्थान नराख्न सक्छ ।
सामाजिक विज्ञानहरुमा कुनै एक घटनाका अनेक कारण हुन सक्छन् । त्यसैले प्राक्कल्पना पनि विविध प्रकारका हुन्छन् । जस्तै– – घोषणा गर्ने खालको प्राक्कल्पना – शून्य अन्तर प्राक्कल्पना – प्रश्न गरिने प्राक्कल्पना यदि समस्या बढी जटिल छ वा प्रयोगात्मक छ भने केवल एक प्राक्कल्पना गर्नु नै उपयुक्त हुन्छ तर सर्वेक्षण वा वर्णनात्मक समस्यामा भने अनेक प्राक्कल्पनाहरु निर्माण गरिएका हुन्छन् ।
संक्षेपमा, प्राक्कल्पनाको निर्माण समस्याको प्रकृतिमा भर पर्छ । माग, मूल्य, पूरक र प्रतिस्थापन वस्तुको मूल्य, र उपभोक्ताको आयको एउटा उदाहरणद्वारा प्राक्कल्पना निर्माणको विधि स्पष्ट गर्न सकिन्छ–
D=f(P,Y,Cs)
D भनेको वस्तुको माग,
P भनेको सोही वस्तुको मूल्य,
Cs भनेको पूरक र प्रतिस्थापन वस्तुको मूल्य
Y भनेको उपभोक्ताको मौद्रिक आय f भनेको माग र यी चलराशिका बीचको सम्बन्ध ।
यहा D आश्रित चलराशि हो भने P,Cs,Y लाई स्वतन्त्र चलराशि भनिन्छ ।
यी सबै चलराशिको अलग अलग प्रभाव हुन्छ । यी सबै कुरासंग मागको सम्बन्ध जटिल भएकोले अन्यलाई स्थिर मान्दै कुनै एक (मानौं मूल्य) को मात्र प्रभाव अध्ययन गर्न सकिन्छ ।
शून्य प्राक्कल्पना ः मूल्यमा वृद्धि हुदा मागमा केही प्रभाव पर्दैन ।
वैकल्पिक प्राक्कल्पना ः मूल्यमा वृद्धि हुदा मागमा प्रभाव पर्छ ।
समस्या, प्राक्कल्पना र समाधानमा सम्बन्ध
यदि कुनै समस्याको समाधानका लागि एकभन्दा बढी प्राक्कल्पना निर्माण गरिएका छन् भने त्यसमा जुन प्राक्कल्पनाले समस्याको समाधान प्रस्तुत गर्छ त्यसलाई स्वीकृत गरिन्छ र अन्यलाई अस्वीकृत गरिन्छ ।

तालिका. समस्या समाधानका लागि प्रस्तुत प्राक्कल्पना र समाधानमा सम्बन्ध

प्राक्कल्पना समाधान निर्णय
प्राक्कल्पना १ समस्या समाधान प्रस्तुत गर्न सकेन प्राक्कल्पना अस्वीकृत
प्राक्कल्पना २ समस्या समाधान प्रस्तुत गर्न सक्यो प्राक्कल्पना स्वीकृत
प्राक्कल्पना ३ समस्या समाधान प्रस्तुत गर्न सक्यो प्राक्कल्पना स्वीकृत

सामग्री संकलन र सम्बन्धित साहित्यको समीक्षा[सम्पादन गर्ने]

आफुले शोध गर्नु अघि सम्बन्धित विषयमा थोरै धेरै अध्ययन गर्नु आवश्यक हुन्छ । किनभने केही अध्ययन नगरी शोध समस्या नै स्पष्ट हु“दैन । जति अध्ययन गरिन्छ त्यति शोध समस्या स्पष्ट हुदै जान्छ । आफुले अध्ययन गरेका सामग्रीहरूको सार प्रस्तुत गर्दै आफुले त्यसमा थप्न चाहेको कुरालाई यस खण्डमा प्रस्तुत गर्नु पर्छ ।

सामग्री संकलन[सम्पादन गर्ने]

ज्ञान अनन्त हुन्छ तर यो कहिल्यै पनि शून्यबाट प्रारम्भ हुदैन । जोन बेस्टले भनेका छन्– व्यावहारिक रुपमा ज्ञानको भण्डार पुस्तक र पुस्तकालयहरुमा नै संरक्षित छ । अन्य सामग्रीभन्दा ज्ञान के कारणले फरक छ भने यसको विगतमा अभिलेख र सञ्चय गरिएको हुन्छ र यस कोषमा निरन्तर वृद्धि हुने गर्छ । ज्ञानको प्रत्येक क्षेत्रमा केही नकेही कार्य अग्रजहरुले गरेका हुन्छन् । सबै कुरा हाम्रो जानकारीमा नहुन पनि सक्छ । तर आफुले पाएको जानकारीलाई अवश्य उल्लेख गर्नु पर्छ । आफ्नो विषय वस्तु हेरी यो खण्ड विस्तृत वा संक्षिप्त हुन सक्छ । शोध प्रस्ताव प्रस्तुत गरिसकेपछि शोधार्थीको ध्यान तथ्य, सूचना, र आफ्नो क्षेत्रका बढीभन्दा बढी जानकारी संकलन र अध्ययन गर्ने तर्फ जान्छ । तर साहित्य अवलोकन शोध प्रस्ताव तयार गर्ने समयमा पनि उपयोगी हुन्छ । यस प्रकार साहित्य अवलोकन निम्नलिखित दुइ कारणले उपयोगी छ–
१. यदि शोधार्थीलाई आफ्ना विषयबारे स्पष्ट जानकारी छैन । अथवा शोध समस्याबारे स्पष्ट हुन सकिरहेको छैन भने साहित्यको अवलोकन र पुनरावलोकनले ध्यान केन्द्रित गर्न सहयोग गर्छ । सुरुमा अध्ययनको क्षेत्र विस्तृत हुन्छ । त्यसपछि क्रमशः अध्ययन क्षेत्र संकुचित गराउ“दै जान पनि यसले मद्दतले गर्छ ।
२. तर यदि शोधार्थीलाई शोध शीर्षक र समस्याबारे स्पष्टता छ भने साहित्य अवलोकन भावी मार्गदर्शनका लागि उपयोगी हुन्छ । अध्ययनको उद्देश्य प्रतिवेदन तयार गर्नका लागि त्यसको प्रयोगहुन्छ । कति साहित्य अवलोकन गर्ने यो शोधको क्षेत्र, उद्देश्य, शोधार्थीको पह“ुच र योग्यता जस्ता कुराहरुमा भर पर्छ । किनभने शोधार्थीले शोधका लागि अनेक पुस्तक, जर्नल, श्रव्य दृश्य सामग्री इत्यादि संकलन गर्नुपर्छ । तर सबै सामग्री भविष्यमा उपयोगी नहुन पनि सक्छ । त्यसैले शोधार्थीले मुख्य सामग्री र सहायक सामग्री गरी विभाजन गर्दै जानु पर्छ । यस छनौटका लागि शोध निर्देशक र विशेषज्ञको राय सहयोगी हुन सक्छ । सामग्री संकलन गर्दा ध्यानमा राख्नु पर्ने कुराहरु यस प्रकार छन्–

  • क) प्राप्त सामग्री कति महत्त्वपूर्ण छ ?
  • ख) शोध समस्या र उद्देश्यसंग त्यसको कति तालमेल छ ?
  • ग) शोध समस्यासंग प्रत्यक्ष अप्रत्यक्ष के कति सम्बन्ध छ ?
  • घ) मार्गदर्शनमा कति लाभदायक हुनसक्छ ?

यति कुरा ध्यानमा राखेर साहित्य अध्ययन र सामग्री संकलन गर्नु पर्छ ।

साहित्य समीक्षा[सम्पादन गर्ने]

शोध शीर्षक छनौट हुनासाथ आफ्नो जानकारीलाई शीघ्र अवलोकन गर्नु पर्छ । यस क्रममा केही सामग्री थप्न वा अनावश्यक केही सामग्री हटाउन सकिन्छ । सम्बन्धित सामग्रीको गम्भीर र तुलनात्मक अध्ययनले शोधार्थीलाई आफ्ना उद्देश्य संशोधन वा परिवर्तन गरिदिनसक्छ । किनभने उसका अवधारणाहरु स्पष्ट हु“दै जान्छन् । शोधार्थीले आफ्नो जानकारीलाई पुस्तक, पत्रिका, शब्दकोश, पारिभाषिक कोश, विश्वकोश, अनुसन्धान प्रतिवेदन, पुराना पाण्डुलिपि, इन्टरनेट, शोध प्रबन्ध आदिको अध्ययन गर्दै विषय विशेषज्ञ र शोध निर्देशकको सहयोगले निरन्तर अद्यावधिक गरिरहनु पर्छ ।
शोध अध्ययनका केही स्रोतहरु निम्नलिखित छन्–
प्रकाशित स्रोत–
प्रकाशित स्रोतहरुमा पुस्तक, ग्रन्थ, पुस्तिका, पर्चा, पैम्फलेट इत्यादि पर्दछन् । यी मध्ये केही पुस्तकालयमा केही संग्रहलायमा र कतिपय स्तरीय पुस्तक पसलहरुमा किन्न पाइन्छन् । तर कुनै पुस्तक वा पुस्तिकालाई आफ्नो अध्ययनमा समावेश गर्नु अघि प्रत्येक ग्रन्थको सूची अवलोकन गर्नु पर्छ । सर्वप्रथम आफ्ना शोध क्षेत्रसंग मिल्दो जुल्दो शीर्षक भएका पुस्तकहरु संकलन गर्नु पर्छ । तर केवल शीर्षकको भर गर्नु हुंदैन । त्यसैले पुस्तक भित्रको विषय वस्तु पनि सर्सर्ती हेर्नु पर्छ । त्यसमा सम्बन्धित अध्यायका शीर्षक, उपशीर्षक र उदाहरणहरुमध्ये कुन उपयोगी छ त्यो छुट्टयाउनु पर्छ । यदि विषय वस्तुबाट राम्ररी स्पष्ट हुन सकेन भने पुस्तकको अनुक्रमणिकामा आफ्ना शोधका अवधारणाहरु के कति प्रयोग भएका छन् ? त्यो अवलोकन गरेर कुन कुन पुस्तक शोधमा समावेश गर्ने र कुनलाई स्थगित राख्ने भनेर निक्र्यौल गर्नु पर्छ । यदि पुस्तकहरु पुस्तकालयबाट प्राप्त गर्ने हो भने पुस्तकालयका नियमहरुबारे परिचित हुनुपर्छ । कुन पुस्तक वितरणमा हुन्छ ,कुन सन्दर्भ पुस्तक हुन्छ ? कुन पुस्तकलाई कहां कसरी व्यवस्थित गरिएको छ ? त्यसको कोड नम्बरबाट पत्ता लगाउने तरीका जस्ता कुरा जान्नु पर्छ । जुन पुस्तकालयमा बसेर अध्ययन गर्ने सुविधा छ, त्यहा आफ्नो डेस्क बनाएर संकलन र अध्ययन गर्न सकिन्छ । अथवा पुस्तक दराजबाट निकालेर पुनः कसरी प्राप्त गर्ने भन्ने कुरा जानीराख्नु अध्ययनलाई सजिलो बनाउने तरीका हो । किनभने राम्ररी अध्ययन नगरी शोध लेखन सुचारु हुनै सक्दैन । इतिहास, राजनीतिशास्त्र, संस्कृति, समाजशास्त्र जस्ता विषयमा समय समयमा प्रकाशित गरिएका पर्चा पैम्पलेट, भित्ते लेखनका वाक्य जस्ता सामग्री पनि प्रयोग हुन सक्छ । शोध पत्रिका– शोध पत्रिकाहरु शोधार्थीका लागि ज्यादै उपयोगी हुन्छन् । यी शोध कार्यलाई नै केन्द्रित भएर लेखिएका हुन्छन् । प्रायः शोधार्थीले शोध क्रममा र शोध समापन पछि लेखेका हुन्छन् । त्यसैले सबभन्दा नयां शोध पत्रिकालाई अध्ययनमा समावेश गर्दा त्यसका प्राविधिक पक्षहरुबारे पनि जानकारी हुन्छ । इन्टरनेटमा पनि शोध पत्रिकाहरु वा शोध लेखहरु राखिएका हुन्छन् । तिनीहरुको पनि उपयोग गर्न सकिन्छ ।
अप्रकाशित स्रोत–
अप्रकाशित स्रोतहरुमा शोध प्रतिवेदन, अप्रकाशित लेख, पत्र, अभिलेख, पाण्डुलिपिहरु पर्दछन् । यस्ता सामग्री कहिले काहीं प्रकाशित सामग्रीभन्दा पनि बढी महत्त्वपूर्ण हुन जान्छन् ।

यस्ता सामग्रीले निम्नलिखित योगदान गर्छन्–

  • क) शोधलाई निश्चित स्वरुप दिन
  • ख) शीर्षकलाई अन्तिम रुप दिन
  • ग) शोध विधि निर्धारण गर्न
  • घ) थप शोध सामग्री संकलन गर्न


श्रव्य दृश्य सामग्री–
यस अन्तर्गत क्यासेट, अडियो र विडीयो सामग्री, चित्र जस्ता कुराहरु पर्दछन् । इन्टरनेटमा राखिएका यूट्युबलाई पनि प्रयोग गर्न सकिन्छ । चलचित्र डाक्युमेन्ट्री, रेडियो र टी भीका समाचार सामग्री, टी भी सीरियल हुन सक्छन् । आधुनिक समयमा मोबाइलमा अनेक कार्यक्रमहरु हुन्छन् । यिनको श्रव्य दृश्य सामग्री अध्ययनमा प्रयोग गर्न सकिन्छ तर त्यसलाई प्रमाणको रुपमा सुरक्षित राख्नु पर्छ ।

साहित्य समीक्षाको महत्त्व[सम्पादन गर्ने]

साहित्य संकलन र पुनरावलोकनको महतव यस प्रकार छ– यसले शोधकार्यको अनावश्यक पुनरावृत्ति हुनबाट बचाउछ रुचिको अध्ययन क्षेत्र छनौट गर्न सहयोग गर्छ शोध समस्यालाई गहन गराउ“छ शोधविधि छनौट गर्न सहयोग गर्छ अन्य व्यक्तिले गरेका शोध कार्यको विधि र विषयसंग तुलना गर्न सहयोग गर्छ कम समयमा काम सम्पन्न गर्न सहयोग गर्छ प्राक्कल्पना निर्धारण गर्न सघाउ“छ शोध अध्ययनका चलराशि पहिल्याउन सबिन्छ चलराशिहरुबीच सम्बन्ध अनुमान गर्न सकिन्छ अध्ययनका क्षेत्रको प्रकृति विश्लेषण गर्न सकिन्छ तथ्य विश्लेषण गर्न सकिन्छ निष्कर्षको प्रामाणिकता पुष्टि गर्न सकिन्छ आफ्ना क्षेत्रमा गहन अध्ययन गर्न सघाउछ

शोध विधिको प्रयोग[सम्पादन गर्ने]

शोध विधि Research Mehtodologyमा यस चरणको ठूलो महत्त्व छ किनभने जति वैज्ञानिक विधिले शोध कार्य गरिन्छ, प्राप्त निष्कर्ष पनि त्यति नै तथ्यपूर्ण, व्यावहारिक र वैज्ञानिक हुन्छन् । त्यसेले यसलाई शोध प्रारुप वा रिसर्च डिजाइन पनि भनिन्छ । शोध विधिका दुइ मुख्य पक्ष हुन्छन्
१. शोधार्थीले आफुले गर्न आंटेको शोधका लागि के कस्ता तथ्याङ्क प्रयोग गर्ने ।
२. संकलन गरिएका तथ्यको आधारमा विश्लेषण र व्याख्या .
१.तथ्याङ्क प्राप्त गर्ने केही मुख्य विधिहरु यस प्रकार छन्

  • स्रोतका आधारमा तथ्याङ्क यस प्रकार छन्
  • क) संगणना विधि,
  • ख) प्रतिदर्श विधि,
  • मौलिकताका आधारमा तथ्याङ्क यस प्रकार छन्
  • ग) प्राथमिक तथ्याङ्क,
  • घ) द्वितीयक तथ्याङ्क,
  • प्रकृतिका आधारमा तथ्याङ्क यस प्रकार छन्
  • ङ) गुणात्मक तथ्याङ्क,
  • च) परिमाणात्मक तथ्याङ्क


शोध विधिमा यस चरणको ठूलो महत्त्व छ किनभने जति वैज्ञानिक विधिले शोध कार्य गरिन्छ, प्राप्त निष्कर्ष पनि त्यति नै तथ्यपूर्ण, व्यावहारिक र वैज्ञानिक हुन्छन् । त्यसेले यसलाई शोध प्रारुप वा रिसर्च डिजाइन पनि भनिन्छ ।
२. संकलन गरिएका तथ्यको आधारमा विश्लेषण र व्याख्याका विधिहरु तय गर्नु पर्छ । यस अन्तर्गत निम्नलिखित विधिहरुको प्रयोग गर्न सकिन्छ

  • क) मध्यक, मध्यिका, बहुलक इत्यादि औसत,
  • ख) औसतबाट विचरणशीलता, मध्यक विचलन, प्रमाप विचलन,
  • ग) सहसम्बन्ध, प्रतिपगमन ।


३. प्राप्त निष्कर्षहरुको परीक्षण गरिन्छ जसलाई प्राक्कल्पना परीक्षण गर्नु भनिन्छ ।

शोध तथ्याङ्का प्रकार[सम्पादन गर्ने]

शोध अनुसन्धान क्रममा समस्याको निर्धारण र शोध प्रस्ताव बुझाएपछिको सबभन्दा प्राथमिक कार्य नै तथ्याङ्क संकलन हो । तथ्याङ्क संकलनलाई दुइ प्रकारले वर्गीकरण गर्न सकिन्छ–
१. सूचनाको आधारमा, र
२. शोध क्षेत्रको आधारमा

१. सूचनाको आधारमा सूचनाको आधारमा शोध तथ्याङ्कलाई दुई भागमा विभाजन गर्न सकिन्छ–
(क) प्राथमिक तथ्याङ्क–
प्राथमिक तथ्याङ्क भनेका ती तथ्याङ्क हुन् जसलाई शोधार्थीले प्रथम पटक शोधको उद्देश्य अनुरुप संकलन र विश्लेषण गरेको छ । त्यसैले यी तथ्याङ्क मौलिक र शोध अनुरुप भएकोले यसमा त्रुटि र विभ्रमहरु ज्यादै कम हुन्छन् । गुणात्मक शोधमा प्रायः प्राथमिक तथयाङ्कको उपयोग गरिन्छ ।
(ख) द्वितीयक तथ्याङ्क
जुन तथ्याङ्क एक पटक प्रयोग भइ सकेका हुन्छन् तिनीहरुलाई नै दोस्रो पटक प्रयोग गरिन्छ भने ती द्वितीयक तथ्याङ्क हुन्छन् । यस्ता तथ्याङ्क तुलना गर्न, परीक्षण गर्न वा पुरानो शोधको त्रुटि सच्याउन वा नयां सिद्धान्त विकसित गर्न प्रयोग गर्न सकिन्छ । द्वितीयक तथ्याङक प्रयोग गर्दा शोधार्थी ज्यादै सतर्क हुनपर्छ र मौलिक स्रोतबाट ती तथ्याङ्कको परीक्षण गर्नु पर्छ । अन्यथा निष्कर्ष भ्रमात्मक हुन सक्छ । परिमाणात्मक शोधमा प्रायः द्वितीयक तथ्याङ्कको प्रयोग हुने गर्छ । शोधको प्रकृति र उद्देश्य हेरी यस्ता तथ्याङ्क प्रकाशित वा अप्रकाशित स्रोतबाट जम्मा गर्न सकिन्छ ।
२. शोध क्षेत्रको आधारमा
प्राथमिक तथ्याङ्क वा द्वितीयक तथ्याङ्क यी दुवै समष्टि वा प्रतिदर्शबाट प्राप्त गर्न सकिन्छ । यस आधारमा तथ्याङ्कका निम्नलिखित स्रोतहरु हुन्छन्–
(क) समष्टि -
शोध अध्ययनको एकाई भएको सम्पूर्ण क्षेत्रलाई पपुलेशन population, युनिवर्स universe, वा प्रतिदर्श क्षेत्र sample space भनिन्छ । उदाहरणका लागि कुनै विद्यालयका विद्यार्थीहरुको संख्यालाई सम्पूर्ण समष्टि भनिन्छ । यसमध्ये हामीले अध्ययन गर्न चाहेको विद्यार्थी संख्यालाई परिभाषित समष्टि भनिन्छ । यदि हामीले अध्ययन गर्न चाहेको कक्षा १० विज्ञानका विद्यार्थी हुन् भने यस उदाहरणमा विद्यालय वृहत् समष्टि हो । कक्षा १० समष्टि हो भने शोधको क्षेत्र कक्षा १० विज्ञान विषयका विद्यार्थी परिभाषित समष्टि हो ।
शोध अध्ययनका लागि समष्टिलाई तीन आधारमा वर्गीकरण गर्न सकिन्छ–
1 सीमित र असीमित समष्टि
यदि कुनै परिभाषित समष्टिका सम्बन्धित चलहरुको संख्या निश्चित छ भने त्यसलाई सीमित समष्टि भनिन्छ । यस्तो संख्या धेरै हुन सक्छ जस्तै कुनै देशको जनसङ्ख्या अथवा थोरै हुनसक्छ– जस्तै पाचवटा प्राकृतिक संख्या १,२,३,४,५ इत्यादि ।
जुन समष्टिको संख्या अनिश्चित छ भने त्यसलाई असीमित समष्टि भनिन्छ । उदाहरणका लागि नयां जन्मिएका शिशुहरुको संख्या, बिरुवामा पातको संख्या, सिक्काहरुको चितपट Head-Tail संख्या इत्यादि ।
यद्यपि व्यावहारिक जीवनमा हामीले सीमित समष्टिबारे विचार गर्छौं तथापि सीमिति र असीमित समष्टिको अन्तर के कारणले महत्त्वपूर्ण छैन भने प्रतिदर्श चयनौट गरेर अध्ययन गर्दा दुवैको अन्तर समाप्त हुन जान्छ ।
2 समरुप र विषमरुप समष्टि
समरुप समष्टिमा रहेका सबै एकाईहरुको विशेषता र स्वरुप एकै प्रकारको हुन्छ । उदाहरणका लागि कुनै समष्टिमा रहेका दश वटा एकाई यस प्रकार छन्– ३, ३,३, ३,३, ३,३, ३,३, ३ । यो समरुप समष्टि हो । किनभने सबै एकाइ ३ छन् । रगतको प्रत्येक थोपामा एउटै विशेषता हुन्छ, पुलाउमा चामलको प्रत्येक सीता एउटै हुन्छ । यस्तो अवस्थामा प्रतिदर्शको समष्टिसंग तुलनात्मक परीक्षण गर्नु अनावश्यक हुन्छ ।
जुन समष्टिको प्रत्येक एकाई असमान छ त्यसलाई विषमरुप समष्टि भनिन्छ । यो अन्तर स्वरुप, आकार, विशेषता अनेक प्रकारको हुन सक्छ । जस्तै कुनै समष्टिमा केवल पांच अङ्क छन् १ २ ३ ४ ५ । यसमा प्रत्येक एकाईको विशेषता अर्कोभन्दा फरक छ । कक्षा १० मा पढ्ने विद्यार्थीको आइ क्युका तथ्याङ्क विषमरुप समष्टि हुन्छ किनभने प्रत्येक बालकको आइ क्यु अर्कासंग फरक हुन्छ ।
अर्थशास्त्र, मनोविज्ञान, शिक्षा, समाजशास्त्रका समष्टिहरु यसै प्रकारका हुन्छन् । वास्तविक र काल्पनिक समष्टि जुन समष्टिका चलराशि वा संख्याहरु वास्तविक हुन्छन् अर्थात् ती सबै तथ्याङ्क वास्तविक आधारमा प्राप्त गरिएका हुन्छन् ती सबै समष्टिलाई वास्तविक समष्टि भनिन्छ । यस्तो समष्टि सीमित, असीमित अथवा समरुप वा विषमरुप हुनसक्छ। यस अघि व्याख्या गरिएका समष्टिहरु सबै वास्तविक समष्टिका उदाहरणहरु हुन् । तर कहिले काहीं समष्टिको कल्पना मात्र गरिन्छ भने यस्ता समष्टिलाई काल्पनिक समष्टि भनिन्छ । सामान्य वितरण, स्टुडेन्टको टी वितरण, द्विपद वितरण इत्यादि वितरण काल्पनिक वितरण हुन्छन् ।
(ख) प्रतिदर्श
साम्पल शब्द ग्रीक exemplum बाट बनेको छ । समष्टिबाट प्राप्त गरिएका केही प्रतिनिधि एकाईहरुलाई प्रतिदर्श, साम्पल, बान्की, वा उदाहरण भनिन्छ । संस्कृत शब्द प्रतिदर्शको अर्थ हुन्छ प्रत्यक्ष गर्नु । जसले समष्टिलाई प्रत्यक्ष गर्छ, त्यो नै प्रतिदर्श हो । त्यसैले प्रतिदर्शलाई सानो समष्टि small universe पनि भन्न सकिन्छ । हुनत, यसलाई नमूना पनि भनिन्छ तर मोडेल (नमूना) र साम्पल (नमूना) दुइ भिन्न अवधारणा भएकाले प्रतिदर्श नै उचित प्राविधिक शब्द हुन्छ । प्रतिदर्श छनौट गर्ने तथ्याङ्कीय विधिलाई प्रतिचयन वा प्रतिदर्शन भनिन्छ । प्रतिदर्शका विशेषता, जस्तै मध्यकलाई यसै आधारमा प्रतिदर्शज भन्न सकिन्छ ।

विश्लेषणका उपकरण[सम्पादन गर्ने]

तथ्याङ्कको प्रकृति, उपलब्धता, शुद्धता तथा शोधार्थीको योग्यता, सीप, र कम्प्युटर प्रविधिको प्रयोगका आधारमा तथ्याङ्क विश्लेषणका अनेक उपकरणहरु प्रयोग गर्न सकिन्छ । यी सबै उपकरणहरु म्’ख्यतः तथ्याङ्कका पुस्तकहरुबाट प्राप्त गर्न सकिन्छ । शोधको विषय वस्तु फरक प्रवृत्तिको भएमा शोधार्थी आफुले पनि नया“ उपकरणको विकास गर्न सक्छन् । तर प्रमापित उपकरण प्रयोग गरिएमा निष्कर्ष पनि प्रमापित बन्छ ।
केही मुख्य विश्लेषण विधि र उपकरणहरु यस प्रकार छन्–
१. शाब्दिक विश्लेषण
२. तालिकामा प्रस्तुतिकरण
३. रेखाचित्र वा लेखाचित्रमा प्रस्तुतिकरण
४. औसत प्रवृत्तिको मापन
५. विचरणशीलताको मापन
६. सहसम्बन्धको मापन
7. भावी प्रवृत्तिको अनुमान, इत्यादि ।

शोधको औचित्य[सम्पादन गर्ने]

शोधको कथनले नै यसको औचित्य पनि स्पष्ट हुन जान्छ । तर यदि त्यसमा स्पष्ट हुन सकेन भने यसलाई एक अलग शीर्षकमा व्याख्या गरेर स्पष्ट गर्न सकिन्छ । शोधका सैद्धान्तिक वा व्यावहारिक महत्त्व हुन सक्छन् । त्यस शोधले ज्ञानको वा व्यावहारिक समस्याको समाधानका लागि गर्ने सम्भावित योगदानलाई यसमा स्पष्ट गर्नु पर्छ ।

शोधका सीमाहरु[सम्पादन गर्ने]

शोध कथन, शोधको उद्देश्य, र शोधको विधिमा उल्लेख गरिएका कुरा मात्र शोध अध्ययनको क्षेत्र र विषय वस्तु हुन्छ । यस बाहेकका कुराहरु शोध अध्ययन गरिंदैन । यसैलाई शोधको सीमा भनिन्छ । उदाहरणका लागि अर्थशास्त्रको विषय वस्तु आर्थिक क्रियाकलाप भने पछि अनार्थिक क्रियाकलाप यसको सीमा हुन जान्छ । यदि शोधको सीमालाई स्पष्ट सीमाङ्कन गर्नु भए अलग शीर्षकमा वयाख्या गर्नु पर्छ ।

पाठ्य सन्दर्भ दिने तरिका[सम्पादन गर्ने]

शोध प्रस्ताव तयार पार्दा जे जति सामग्री प्रयोग गरिएको हुन्छ त्यसको क्रमशः उल्लेख गर्नु पर्छ । सन्दर्भसूची वर्णानुसार अकारादिक्रममा निर्धारित ढाचामा उल्लेख गर्नु पर्छ । यसका ए पी ए र एम एल ए लगायतका अनेक पद्धतिहरु छन् । तथापि ए पी ए बढी लोकप्रिय हुदै गएको छ । जुन पद्धति प्रयोग गरेपनि लेखाईमा सबै स्थानमा सोही पद्धति प्रयोग गर्नु पर्छ । त्यसमा भिन्नता ल्याउनु हुदैन ।
पाठ्य टिप्पणी textnote दिने तरीका– अचेल पाठ्य टिप्पणी बढी लोकप्रिय भएको छ । यसलाई विषयवस्तु संगै मिलाएर लेखिन्छ र स्रोतलाई कोष्ठमा राखिन्छ ।

  • पाठ्य टिप्पणी Text note- (Author, year: page)
  • सन्दर्भ दिने तरीका
  • Reference- Surname, First Name, Year, Topic, Place: Publisher उदाहरण
  • टिप्पणी दिने तरीका– (सी बी एस, २००५, १२५)
  • सन्दर्भ–सूची दिने तरीका– सी बी एस, २००५, पपुलेशन मोनोग्राफ अफ् नेपाल, भोल्युम १, काठमाडौं ः सेन्ट्रल ब्यूरो अफ्, स्टाटिस्टिक्स ।
  • (सुश्रुत संहिता, २००८, ३.१५)
  • सुश्रुत संहिता, २००८, अनुवादक अनन्तराम शर्मा, वाराणसी ः चौखम्बा सुरभारती प्रकाशन ।
  • (सेन, १९९३, ५५)
  • सेन, अमर्त्य, १९९३, अन् इथिक्स एन्ड इकोनोमिक्स, लन्दन ः अक्सफोर्ड युनिवर्सिटी प्रेस ।
  • (हागेन, २००४, ९३)
  • हागेन, टोनी, २००४,नेपालको चिनारी, ललितपुर ः हिमाल मेडिया ।
  • (Bokare, 2009)
  • Bokare, MG. 2009. Hindu Economics, Pune : MG Bokare Trust.
  • (Gewali, 2013)
  • Gewali, BR.2013.Oriental Economics- Revisited, Rupandehi ; Gyanjyoti Publication.
  • (Wickramasinghe, 2006 : 70)
  • Wickramasinghe, J W .2006. Economics of the Buddha, Adam Smith and Lionel Robbins- an Alternative to Orthodoxy People Friendly Buddhist Economics, Delhi: S Chand and company.

पाद टिप्पणी, अन्त्य टिप्पणी र सन्दर्भ दिने तरीका[सम्पादन गर्ने]

पाद टिप्पणी footnote वा अन्त्य टिप्पणीendnote दिने तरिका एउटै हुन्छ । केवल स्रोत उल्लेखको स्थानमा अन्तर मात्र हो । उद्धरणको अन्तमा १, २, इत्यादि अङ्कलाई सुपर स्क्रिप्टमा लेखेर त्यस अङ्कलाई सोही पृष्ठको तल पट्टि स्रोतको जानकारी उल्लेख गर्नुलाई पाद टिप्पणी र अध्यायको अन्तमा उल्लेख गर्नुलाई अन्त्य टिप्पणी भनिन्छ । यसलाई प्रस्तुत गर्ने विधि निम्नलिखित छ–

  • टिप्पणी
  • B R Gewali, Economics of Kautilya, Shukra and Brihaspati, (2012 :30)
  • सन्दर्भ
  • Gewali, B R. 2012.Economics of Kautilya, Shukra and Brihaspati, Rupandehi : Gyanjyoti Prakashan.

संस्कृत ग्रन्थहरुको टिप्पणी[सम्पादन गर्ने]

संस्कृत ग्रन्थहरुको उद्धरण र टिप्पणी दिने मौलिक (unique) तरिका छ । त्यो के भने त्यसमा पुस्तकको पृष्ठ संख्याको सट्टा अध्याय र श्लोक संख्या लेखिन्छ । जस्तै, शुक्रनीतिको तेस्रो अध्यायको ६५ औं श्लोकलाई ३.६५ लेखिन्छ । पृष्ठ संख्या लेखिंदैन ।[८][९]
उदाहरणका लागि मनुष्याणांवृत्तिरर्थः । मनुष्यवती वृत्तिरर्थः । तस्या लाभ रक्षणोपाय शास्त्रम् अर्थशास्त्रमिति । यो वाक्य कौटिलीय अर्थशास्त्र अधिकरण १५, अध्याय १ र प्रकरण १८० मा व्यक्त गरिएको छ । [१०]
यदि यस वाक्यलाई काटिल्यको अर्थशास्त्र पुस्तकबाट उद्धरण गर्नु छ, जुन वि.सं.२०२४मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको छ भने उद्धरणका विधिहरु यस प्रकार छन्
पाठय टिप्पणी
(कौटिल्यको अर्थशास्त्र, वि.सं. २०२४, १५.१.१८० ।)
सन्दर्भ सूची (ए पी ए)
कौटिल्यको अर्थशास्त्र, (वि.सं.२०२४), केशवराज अर्याल (अनु.), सोमनाथ शर्मा (सम्पा.), काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
पाद टिप्पणी वा अन्त्य टिप्पणी निम्नलिखित हुन्छ–
कौटिल्यको अर्थशास्त्र), (वि.सं.२०२४), केशवराज अर्याल (अनु.), सोमनाथ शर्मा (सम्पा.), (काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान), १५.१.१८० ।
पाद टिप्पणीहरुको एउटा लाभ के हो भने यसमा संस्कृतका श्लोक व्याख्या, व्याख्यामा हुने अन्तर इत्यादि थप जानकारी पनि उल्लेख गर्न सकिन्छ ।

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. ज्ञवाली, बाबु राम, वि.सं. २०७१, फाइनल रिपोर्ट एन्ड इट्स फर्मेट, लुम्बिनी ः लुम्बिनी बुद्धिस्ट विश्वविद्यालय लुम्बिनीमा मिति २०७१.१०.२४ प्रस्तुत कार्यपत्र ।
  2. राय, पारसनाथ, सन् १९९१, अनुसन्धान परिचय, आगरा ः लक्ष्मीनारायण अग्रवाल ।
  3. ज्ञवाली, बाबु राम, सन् १९९३, आधुनिक व्यष्टि आर्थिक सिद्धान्त, काठमाडौं ः कोसेली प्रकाशन ।
  4. बेस्ट, जे डब्लु एन्ड काहन, जे भी, सन् २०११, रिसर्च इन एजुकेशन, न्यु देलहीः पी एच एल लर्निंग प्राइभेट लिमिटेड ।
  5. युंग, पी भी, १९८२, साइन्टिफिक सोशल सर्वे एन्ड रिसर्च, न्यु देल्ही ः प्रेन्टिस हल अफ् इन्डिया, प्राइभेट लिमिटेड ।
  6. वैश्य, एम सी, आर्थिक विचारों का इतिहास, आगरा ः रतन प्रकाशन मन्दिर, सन् १९९३ ।
  7. राय, पारसनाथ, सन् १९९१, अनुसन्धान परिचय, आगरा ः लक्ष्मीनारायण अग्रवाल ।
  8. ज्ञवाली, बाबु राम, सन् २०११, मेथोडोलोजीकल इस्युज इन ओरिएन्टल इकोनोमिक्स, स्वतन्त्रता १(१) बुटवल ः डेमोक्रेट टीचर्स एसोसिएशन अफ् बुटवल मल्टिपल क्याम्पस ।
  9. विद्याभूषण, एस सी, सन् २००२, द हिस्ट्री अफ इन्डियन लजिक– एन्शेन्ट, मेडिएभल, एन्ड मोडर्न स्कूल्स, देल्ही ः मोतीलाल बनारसीदास ।
  10. ज्ञवाली, बाबु राम (२०१२). कौटिल्य र शुक्रको राजनीतिक अर्थशास्त्र. रुपन्देही नेपाल: ज्ञानज्योति प्रकाशन. ISBN 978-9937-2-7362-6.