राष्ट्रिय धान दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(असार १५ बाट पठाईएको)
Jump to navigation Jump to search
हुम्लामा रोपाई
धान रोप्न खेत तयार गरिदै

किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको छ । वर्ष २०६६ को नारा कृषि भूमिको संरक्षण गरौं, धानको उत्पादन बढाऔं [१] राष्ट्रिय धान दिवस यस दिन कृषि क्षेत्रसँग सम्वन्धित सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी मनाउदछन् । यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ । मानो रोपेर मुरी फलाउने दिनका रूपमा रूपमा यस दिन अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ । कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाई गरी यो दिवस मनाउने गर्दछन् । खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको हो । यस दिन राजधानीको खुमलटारमा विशेष कार्यक्रमको आयोजना गरिन्छ भने पोखरामा समेत विदेशी पर्यटनहरूको उपस्थितिमा विशेष रोपाई गरिन्छ । यसवर्ष मनसुन शुरु भइसकेकाले मुलुकका अधिकांस स्थानमा रोपाई शुरु गर्ने तयारी छ । सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुदै आएको छ । सरकारले आजका दिनलाई दिवसका रूपमा मनाउदै आएपनि आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि बिज्ञहरूको भनाई छ ।

राष्ट्रिय धान दिवसको सुरुवात[सम्पादन गर्नुहोस्]

नेपालले वि. सं २०६१ साल देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो ।[२]

असार १५[सम्पादन गर्नुहोस्]

असार पन्ध्रमा दही र चिउरा खाने प्रचलन छ
असार पन्ध्रमा दही र चिउरा खाने प्रचलन छ

असार १५ नेपाली समाजमा खेतमा रोपाईं गरी दही चिउरा खाएर मनाउने परम्परा छ । उक्त दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वास अनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खान पछि पर्दैनन् । दोहोरी रोपाईं गीतको रन्कोमा रोपाईं गर्नु असारको अर्को आकर्षण हो । असारको पहिलो सातादेखि मनसुन सुरू भएपछि असार १५ सम्म खेत गर्‍हामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाईंमा व्यस्त हुन्छन् । असार १५ सम्म लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो छ भने कोरी वाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बीउ काट्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेका हुन्छन् ।

राष्ट्रको कुल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाईंले ठूलो राख्छ । कृषि प्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसै अनुसार प्रभाव पार्ने भएकाले रोपाईंको ठूलो महत्त्व छ । सामान्यतया नेपालमा जुन १० अर्थात् जेठको अन्तिम सातादेखि मनसुन सुरू हुन्छ । देशमा कुल धान खेतीको करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्र मनसुन मै भर पर्नुपर्ने स्थिति छ । त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्ना अन्य काम छाडेर भएपनि असारे भेल छोपी धानबाली लगाउन व्यस्त हुन्छन् । असार महिनाभित्रै रोपाईं गर्न नपाइएमा धान पाक्ने सम्भावना कम हुनाले पनि रोपाईंमा व्यस्त हुनुपरेको हो । साता पन्ध्र दिन काम गरेर वर्षभर खाने बाली लगाउन कामको मिचो भएकाले वास्तवमा सबै कृषकका लागि असारको पन्ध्र महत्त्वको हुन्छ ।

लासलाई एकछिन घुमले छोपेर भएपनि असारे भेल छोप्नु पर्दछ भन्ने बुढापाकाको भनाइले पनि यसको महत्त्व दर्शाउँछ । त्यस्तै 'असारमा डुल्ने पजनीमा भुल्ने' अर्थात् असारमा काम गर्ने बेलामा त्यसै डुल्ने र सरकारको काम इमान्दारीपूर्वक नगरी पदोन्नति अर्थात् पजनीमा नपर्ने व्यक्तिले गरिखाँदैन भन्ने बुढापाकाको अर्को उखानले पनि असारको महत्त्वलाई पुष्टी गर्छ । रोपाईं कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ । रोपाईंको पहिलो दिन देवतालाई बीउ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाईंको श्रीगणेश गरिन्छ । रोपाईंमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाईं गरिने भएकाले यसले सामाजिक एकता र सद्भाव बढाउन पनि ठूलो टेवा पुर्‍याउँदै आएको छ । कतैकतै ठूला खेती भएकाले रोपाईं गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरूलाई मसला र रूमाल बाँड्ने पनि प्रचलन छ । एक आँकडाअनुसार धान खेतीको करिब ६० प्रतिशत क्षेत्र अझै आकाशे पानीमै निर्भर हुनुपर्ने बाध्यता छ । पानी धेरै नपर्ने स्थानमा एकप्रकारको घैया धान लगाउन सकिन्छ, तर वर्षे धान भन्दा यसको उत्पादन भने कम हुन्छ ।

नेपालमा ८५ प्रतिशत मनसुन जुनदेखि सेप्टेम्बरसम्ममा र १० प्रतिशत हिउँदमा हुने गरेको छ। नेपालमा समुद्री सतह भन्दा ७० मीटर उचाईमा रहेको झापाको केचनादेखि २ हजार ७८० मीटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धानखेती गरिंदै आएको छ । जुम्लामा लगाइने धानखेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा धानखेती भएको मानिन्छ । पहिला पहिला मार्सी, तौली, थापचिनिया, वासमती खट्टेखानी आदि जातका धानखेती गरिन्थ्यो भने हाल ताईचुङ्ग, विन्देश्वरी, खुमल, मन्सुली, राधा चार आदि विकासे जातका धान लगाइन थालेको छ । एक आँकडा अनुसार धान खेतीको ७९ प्रतिशत क्षेत्रफल विकासे जातका धानखेतीले ओगटेको बताइन्छ । धान रोपाईं गर्ने बेलामा बेर्ना नडुब्ने गरी खेतमा दुई/तीन से.मी. पानी जम्ने गरी तयार गरिए पनि बेर्ना बढ्दै गएपछि नपसाउन्जेलसम्म पाँचदेखि १० से.मी. पानी हुनु उपयुक्त हुन्छ ।

मनाउने तरिका[सम्पादन गर्नुहोस्]

धान दिवस विभिन्न प्रकारले मनाउने गरिन्छ । सरकारले सरकारी तवरबाट यो दिवसलाई मनाउ छ भने ग्रामिण भेकमा किसानहरूले आफ्नै तवरले मनाउ छन् । असार १५ का दिन एक फेर हिलो टेक्नु भन्ने मान्यता छ । यस दिन रोपाइलाई पर्वको रूपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ । हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् र गीतका भाकामार्फत् आपसमा माया पिरती समेत साट्ने गर्छन ।

असारे मासको दबदबे हिलो छि मलाई घिन लाग्यो,
पातली नानीलाई फरिया किन्दा छ बिस रिन लाग्यो…… ।
खडेरीले फाटेको यो मन असारमै जोडौँला,
लाठे बनी आउ कान्छा, सँगै पिरती गाँसौला…..।

रोपाइ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउराअचारको खाजा खाने गरिन्छ। नेपाली समाजमा पूर्वीय परिकार दही चिउरा असारमा र साउनमा खीर भन्ने गरिन्छ । असार १५ वर्षकै सबैभन्दा लामो दिन मानिने हुँदा हिलोमा गाइने असारे गीतले नेपाली समाजमा आजदेखि दिन छोटा र रात लामा हुने हुँदा हिउँदको शुरुवात भयो भन्ने गरिन्छ ।

छुपु र छुपु धान नै रोपौँ हातैको बर्माले,
झ्यालमा बस्ने ज्यान थियो मेरो दिएन कर्मले…..।
पुर्वकी दिदी, पश्चिमकी बहिनी भेट हुन्छ भनेर,
पटुकी कसी, घुम ओढी आएँ रोपार बनेर…….।[३]

समस्याहरु[सम्पादन गर्नुहोस्]

धानको उत्पादनमा निम्न कुराहरूले असर परेको छ:

  1. युवा जनशक्ति पलायन
  2. खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु
  3. आकासे खेतीमा निर्भर र सिँचाइको व्यवस्था नहुनु
  4. सिमित व्यक्तिका हातमा धेरै जमिन र जग्गाको खण्डीकरण
  5. उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदान नहुनु [४]

चौधौँ राष्ट्रिय धान दिवस(२०७४)[सम्पादन गर्नुहोस्]

‘दुई बाली धान खेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ मूल नाराका साथ यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७४ मनाइँदैछ ।[५]

किम्वदन्ती[सम्पादन गर्नुहोस्]

कपिलवस्तु जिल्लाको ऐतिहासिक ठाउँ तिलौराकोट राज्यमा राजा शुद्धोधनले सुनको हलोले खेत जोतेर धान रोप्ने प्रचलन चलाएको किम्वदन्ती छ ।[६]

चित्र दिर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]