अोभरियन सिस्ट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अोभरियन सिस्ट
Benign Ovarian Cyst.jpg
फोलिकुलर सिस्ट
विशिष्टता स्त्री रोग
लक्षणहरू पेट फुल्ने, तल्लो पेट दुख्ने वा ढाडको तल्लो भाग दुख्ने [१]
जटिलता सिस्ट (पानी फोका) फुट्ने, डिम्बाशय बटारिने[१]
प्रकार फोलिकुलर सिस्ट, कर्पस लेक्टम सिस्ट, इन्डोमेट्रियोसिसका कारणले हुने सिस्ट, डर्मोइड सिस्ट, सिस्टाडेनोमा, अोभरियन क्यान्सर[१]
पहिचान अल्ट्रासाउन्ड[१]
सुरक्षा हर्मोनल गर्भ निरोधक चक्की[१]
उपचार परम्परागत ब्यवस्थापन, पीडा कम गर्ने औषधिहरू, सल्यकृया[१]
निको हुने प्रकृया प्राय राम्रो[१]
बारम्बारता उमेरका कारण महिनावारी रोकिनुभन्दा पहिलाका करीब ८% महिला[१]

अोभरियन सिस्ट भन्नाले महिलाहरूको डिम्बाशयमा तरल पदार्थ भरिएको पानी फोका देखापर्ने समस्या हो।[१] यो समस्या भएका प्रायजसो महिलाहरूमा कुनै पनि लक्षणहरू नदेखिन पनि सक्छ। कहिलेकाहीँ यो रोग लागेपछि पेट फुल्ने, तल्लो पेट दुख्ने वा ढाडको तल्लो भाग दुख्ने समस्या देखापर्न सक्छ।[१] धेरै जसो ओभरियन सिस्ट हानि नपुर्याउने खालका हुन्छन्। यदि पानी फोका फुट्यो वा यसले गर्दा डिम्बाशय बटारियो भने गम्भीर पीडा दिनसक्छ। यसले बान्ता हुने वा बेहोस हुने जस्ता समस्या निम्ताउन पनि सक्छ।[१]

धेरै जसो ओभरियन सिस्ट डिम्ब निर्माण प्रकृयासँग सम्बन्धित हुन्छन्। यसरी देखा परेका सिस्ट दुई प्रकारका हुन्छन्: फोलिकुलर सिस्ट वा कर्पस लेक्टम सिस्ट। त्यस्तै इन्डोमेट्रियोसिसका कारणले हुने सिस्ट, डर्मोइड सिस्ट तथा सिस्टाडेनोमा सिस्टका अन्य प्रकारहरू हुन्।[१] पोलिसिस्टिक ओभरियन सिन्ड्रोम भएको बेलामा दुबै डिम्बाशयमा मसिना तर धेरै पानी फोकाहरू देखा पर्ने गर्दछ।[१] पेल्भिक इन्फ्लामेटरी डिजिज (तल्लो पेट सुन्निने समस्या) भएर पनि ओभरियन सिस्ट हुने दरेको पाइन्छ। ओभरियन सिस्ट एकदमै कम महिलाहरूमा डिम्बाशयको क्यान्सरको रूपमा पनि देखा परेको पाइन्छ। यो रोगको पहिचानको लागि तल्लो पेटको अल्ट्रासाउन्ड गर्न सकिन्छ। बिस्तृत विवरण प्राप्त गर्नका लागि अन्य परीक्षणहरू पनि गर्ने गरिन्छ।[१]

सिस्टको उपचारका लागि प्रायजसो यसलाई लामो समयसम्म अवलोकन गरिन्छ। यदि सिस्टका कारण धेरै पीडा भएको छ भने पारासिटामोल (एसिटामिनोफेन) वा आइबुप्रोफेन जस्ता पीडा कम गर्ने औषधिहरू प्रयोग गर्न सकिन्छ। लगातार रूपमा सिस्टको समस्या देखा पर्ने महिलाहरूले हर्मोनल गर्भ निरोधक चक्की (पिल्स) प्रयोग गरेर यो रोगबाट छुटकारा पाउन सक्छन्।[१] यद्यपी हालसम्म पिल्स प्रयोग गरेर ओभरियन सिस्ट पूर्ण रूपमा निको भएको कुनै तथ्य फेला परेको छैन।[२] यदि धेरै महिनासम्म पनि पानी फोकाहरू फुटेर गएनन्, आकार पनि बढ्दै गयो, असामान्य देखिए वा पीडादायक भए भने सल्यकृया गरेर हटाउने गरिन्छ।[१]

प्राय सबै वयस्क महिलाहरूको डिम्बाशयमा प्रत्येक महिना साना पानी फोका निर्माण हुने गर्दछन्। उमेरका कारण महिनावारी रोकिनुभन्दा पहिलाका करीब ८% महिलाहरूमा ठूला पानी फोकाहरू देखा पर्ने गर्दछ।[१] त्यस्तै उमेर पुगेर महिनावारी रोकिएका करीब १६% महिलाहरूमा ओभरियन सिस्ट देखिएको पाइन्छ। यो उमेरमा देखिने प्राय ओभरियन सिस्ट डिम्बाशयको क्यान्सरको लक्षण पनि पनि हुन सक्छ।[१][३]

लक्षण तथा चिह्नहरू[सम्पादन गर्ने]

यो रोग लागेको बेलामा तल उल्लेखित केही वा सबै लक्षणहरू देखा पर्न सक्छन्। यद्यपी धेरै महिलाहरूमा कुनै पनि लक्षण नदेखिन पनि सक्छ।[४]

  • तल्लो पेट दुख्ने: तल्लो पेट वा पेल्भिसमा मन्द पीडा महशुस हुन्छ। विशेषगरी यौन सम्पर्क राख्ने बेलामा पीडा हुने गर्दछ।
  • पाठेघरबाट रगत बग्नु: महिनावारीको समयमा वा महिनावारी सुरु भएको केहीपछि वा महिनावारीको अन्त्यमा पीडा महशुस हुने, महिनावारी गडबड हुने वा पाठेघरबाट असामान्य रूपमा  रगत बग्नु वा रगत देखा पर्ने।
  • पेट भरिएको, गह्रुङ्गो, कस्सिएको, फुलेको वा हावा भरिएको महशुस हुने।
  • डिम्बाशयमा सिस्ट (पानी फोका) फुटेको बेलामा तल्लो पेटको एक पाखोमा अचानक तिक्ष्ण पीडा महशुस हुन्छ।
  • पिसाब लाग्ने अवधिमा परिवर्तन आउने वा पिसाब अड्किने (जस्तै मूत्रथैलीबाट पूरै खालि गर्न नसक्ने) वा मलाशय (रेक्टम) आसपासको भागमा दबाब पर्ने हुनाले दिसा गर्न गाह्रो हुने हुन्छ।
  • थकाइ लाग्ने, टाउको दुख्ने
  • वाकवाक लाग्ने वा बान्ता हुने
  • शरिरको तौल बढ्ने

अन्य ल़क्षणहरू के कारणले यो रोग लागेको हो भन्ने कुरामा निर्भर गर्दछन्।

पोलिसिस्टिक ओभरियन सिन्ड्रोमका कारणले ओभरियन सिस्ट भएको अवस्थामा अनुहार वा शरीरमा रौंहरू बढ्ने, मोटोपन तथा बाँझोपन जस्ता लक्षणहरू देखा पर्छन्। त्यस्तै इन्डोमेट्रियोसिसका कारणले ओभरियन सिस्ट भएमा महिनावारीको बेलामा अत्याधिक मात्रामा रगत बग्ने तथा यौन सम्पर्क राख्ने बेलामा पीडा हुने जस्ता लक्षणहरू देखा पर्छन्। पोलिसिस्टिक ओभरियन सिन्ड्रोम बाहेकका अन्य ओभरियन सिस्टले गर्भधारण क्षमतामा गर्ने असरको बारेमा स्पष्ट धारणा बन्न सकेको छैन।[५]

सिस्ट फुटेपछि[सम्पादन गर्ने]

साधारणतया ओभरियन सिस्ट फुटेपछि आफैं निको भएर जान्छ। त्यसैले उपचार भन्दा पनि यसको अवस्थामा निगरानी राख्ने र धेरै दुखेको छ भने पारासिटामोल वा आइबुप्रोफेन जस्ता दुखेको कम गर्ने औषधिहरू प्रयोग गर्न सकिन्छ। सिस्ट फुटेपछि देखा पर्ने मुख्य लक्षण तल्लो पेट दुख्ने हो। यस्तो दुखाइ केही दिनदेखि महिनौसम्म लम्बिन सक्छ, तर केही महिलाहरूमा ओभरियन सिस्ट फुट्दा कुनै लक्षण नदेखिन पनि सक्छ।[६] ठूलो आकारको सिस्ट फुट्दा पेट भित्र रक्तस्राव हुने र केही अवस्थामा बिरामी मुर्छा पर्न पनि सक्छन्।

डिम्बाशय बटारिने समस्या[सम्पादन गर्ने]

ओभरियन सिस्टले डिम्बासय बटारिने समस्याको जोखिमलाई बढाउँछ। ४ सेन्टिमिटर भन्दा ठूला सिस्टहरूका कारणले करीब १७ % महिलाहरूमा यस्तो समस्या उत्पन्न हुने गरेको पाइन्छ। बटारिने समस्याले डिम्बासयमा रगतको प्रवाह रोकिन गइ डिम्बाशय काम नलाग्ने हुन्छ।[७]

पहिचान[सम्पादन गर्ने]

ओभरियन सिस्टको पहिचान गर्न अल्ट्रासाउन्ड, सिटी स्क्यान वा एमआरआई गर्न सकिन्छ। त्यसपछि आवस्यकता अनुसार बिरामीमा देखिएको लक्षण तथा इन्डोक्राइनोलोजिक परीक्षणको नतिजासँग दाँजेर हेरिन्छ।

अल्ट्रासाउन्ड[सम्पादन गर्ने]

अल्ट्रासाउन्डमा देखिएको ओभरियन सिस्ट

बच्चा जन्माउने उमेरका महिलामा अल्ट्रासाउन्ड गरेर सामान्य सिस्ट पत्ता लागेको छ भने फलोअप उपचारमा जाँदा फेरि अल्ट्रासाउन्ड गरिरहनु आवस्यक छैन। सामान्यतया ५ सेन्टिमिटरभन्दा साना सिस्टहरू डिम्बासयमा देखिने ससाना थैलीहरूमात्र हुन्। महिनावारी नरोकिएका बयस्क महिलाहरूमा देखा परेका ५-७ सेन्टिमिटरसम्मका सामान्य सिस्टहरू प्रत्येक वर्ष परीक्षण गर्नु पर्छ। त्यस्तै ७ सेन्टिमिटरभन्दा ठूला सिस्टहरू देखापरेको खण्डमा बिस्तृत अध्ययनको लागि एमआरआई वा शल्यक्रिया गर्नु पर्ने हुन्छ। किनकी अल्ट्रासाउन्ड तरङ्गको भित्र छिर्ने क्षमता सिमित भएको हुनाले यसले ठूला आकार भएका सिस्टको नरम तन्तुमा गाँठा बनेको छ/छैन वा डिम्बाशयको भित्तामा कति बाक्लो पत्र (सेप्टम) बनेको छ हेर्न सम्भव छैन। कर्पस लेक्टम सिस्ट डिम्ब उत्पादनसँगै निर्माण हुने थैली हो। यस्तो थैलीको परिधिमा बाक्लो भित्ता भए पनि भित्रपट्टि पातलो किनारा हुन्छ। कर्पस लेक्टम सिस्ट तीन सेन्टिमिटरभन्दा सानो छ भने फलोअप परीक्षण गरिरहनु आवस्यक छैन। उमेरका कारण महिनावारी रोकिइसकेका महिलाहरूमा १-७ सेन्टिमिटरको सामान्य सिस्ट देखापरेको भए बार्षिक फलोअप परीक्षण मात्र गरे पुग्छ। यदि ७ सेन्टिमिटरभन्दा ठूला सिस्टहरू देखापरेको खण्डमा सन्तानोत्पादन गर्ने उमेरका महिलामा जस्तै एमआरआई वा शल्यक्रिया गरी परीक्षण गर्नु पर्ने हुन्छ।[८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० १.११ १.१२ १.१३ १.१४ १.१५ १.१६ १.१७ "Ovarian cysts", Office on Women's Health, नोभेम्बर १९, २०१४, २९ जुन २०१५-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २७ जुन २०१५ 
  2. Grimes, DA; Jones, LB; Lopez, LM; Schulz, KF (२९ अप्रिल २०१४), "Oral contraceptives for functional ovarian cysts.", The Cochrane Database of Systematic Reviews 4: CD006134, डिओआई:10.1002/14651858.CD006134.pub5, पिएमआइडी 24782304 
  3. Mimoun, C; Fritel, X; Fauconnier, A; Deffieux, X; Dumont, A; Huchon, C (डिसेम्बर २०१३), "[Epidemiology of presumed benign ovarian tumors].", Journal de gynecologie, obstetrique et biologie de la reproduction 42 (8): 722–9, डिओआई:10.1016/j.jgyn.2013.09.027, पिएमआइडी 24210235 
  4. Helm, William, "Ovarian Cysts", ७ सेप्टेम्बर २०१३-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ३० अगस्ट २०१३ 
  5. Legendre, G; Catala, L; Morinière, C; Lacoeuille, C; Boussion, F; Sentilhes, L; Descamps, P (मार्च २०१४), "Relationship between ovarian cysts and infertility: what surgery and when?", Fertility and Sterility 101 (3): 608–14, डिओआई:10.1016/j.fertnstert.2014.01.021, पिएमआइडी 24559614 
  6. Ovarian Cyst Rupture Archived 2013-09-28 at the वेब्याक मेसिन. at Medscape. Authors: Nathan Webb and David Chelmow. Updated: Nov 30, 2012
  7. "Ovarian Cysts Causes, Symptoms, Diagnosis, and Treatment", eMedicineHealth.com, २००७-०३-०७-को मूल रूप सङ्ग्रहित 
  8. Levine, D; Brown, DL; Andreotti, RF; Benacerraf, B; Benson, CB; Brewster, WR; Coleman, B; Depriest, P; Doubilet, PM; Goldstein, SR; Hamper, UM; Hecht, JL; Horrow, M; Hur, HC; Marnach, M; Patel, MD; Platt, LD; Puscheck, E; Smith-Bindman, R (सेप्टेम्बर २०१०), "Management of asymptomatic ovarian and other adnexal cysts imaged at US: Society of Radiologists in Ultrasound Consensus Conference Statement.", Radiology 256 (3): 943–54, डिओआई:10.1148/radiol.10100213, पिएमआइडी 20505067