सामग्रीमा जानुहोस्

आखडाई गीत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आखडाइ गीत (बङ्गाली: আখড়াই গান) अठारौँ शताब्दीको अन्त्यतिर र उन्नाइसौँ शताब्दीको सुरुवात तिर भारतको पश्चिम बङ्गालमा प्रचलित एक विशेष लोक–सङ्गीत र नृत्य–परम्परा हो। यस शैलीका प्रवर्तकहरूमा कुलिचन्द्र सेन र रामनिधि गुप्ता (निधुबाबु) प्रमुख मानिन्छन् भने राजा नवकृष्ण देव यस रीतिका प्रमुख संरक्षक थिए।[] अठारौँ शताब्दीमा बङ्गालमा विभिन्न सङ्गीतका धाराहरू फस्टाउँदै गएका मध्ये आखडाई गीत पनि एक जीवन्त र लोकप्रिय रूप थियो। सेन राजाहरूको पालामा नृत्य–गीत सहितको शास्त्रीय गान–परम्पराबाट नै आखडाई नामको शाखा उत्पन्न भएको भन्ने कुरामा विश्वास गरिन्छ। अर्को मत अनुसार, गीतगोविन्दमा उल्लिखित प्रबन्धम् शैली क्रमशः नाट–गीत बाट विकसित हुँदै आखडाई गीतको रूप लिएको हो। गायक, वादक र नर्तकहरूको संयुक्त समूहलाई आखडा भनिन्थ्यो भनेर अबुल फजलको आइन–ए–अकबरीबाट पनि थाहा पाउन सकिन्छ।


ती समूहहरूले शास्त्रीय तालमा आधारित प्रेम–गीतहरू प्रस्तुत गर्दथे। यही आखडाई सङ्गीत नै पछि स्वभाव कविहरूको जीविकाको माध्यम बनेर कविर लडाइँ वा कविगानको उत्पत्तिको कारण बन्न पुगेको थियो। ईश्वरचन्द्र गुप्ताले संवाद प्रभाकर पत्रिकाको करिब सन् १८५३ को श्रावण–भाद्र अङ्कमा लेखेका छन्- करिब डेढ सय वर्ष पहिले शान्तिपुरका सभ्य व्यक्तिहरूले आखडाइ गीतको सृष्टि गरेका थिए। त्यसैले आखडाई गीतको परम्परा करिब तीन सय वर्षभन्दा पुरानो मानिन्छ।

अठारौँ शताब्दीमा आखडाई गीतका दुई प्रमुख शाखा थिए;

  • खेअर – अत्यन्त अश्लील र कामुक प्रेम–गीत
  • प्रभाति – सौम्य तर उदासीपूर्ण भावनाका गीत

आखडाई गीतको उत्पत्ति गौरबङ्ग क्षेत्रमा भएर पछि शान्तिपुर–कृष्णनगर हुँदै पहाडी र त्यसपछि कलकत्ता (त्यतिबेलाको कोलकाता) पुगेको हो भन्ने सामान्य बुझाइ रहेको छ। कलकत्ता पुगेपछि यसलाई बढी शालीन र भद्र बनाइयो र त्यसमा भवानी (पार्वती सम्बन्धी) भक्ति विषयक भाग थपियो। त्यतिबेला आखडाई गीतमा पनि प्रतियोगिता हुने गर्थ्यो, तर कविगानझैँ उत्तर–प्रत्युत्तरको शैली थिएन्। पछि यसबाट नै हाफ–आखडाई नामक अर्को सङ्गीत–शैली विकसित भएको थियो। आखडाई गायनमा ढोल, कासी जस्ता देशी वाद्ययन्त्र बजाइन्थे। पहाडी क्षेत्रमा ढोल–कासी सँगै हाण्डी–कलसी लगायत झण्डै २२ प्रकारका वाद्ययन्त्र प्रयोग गरिन्थे, त्यसैले त्यहाँका समूहहरूलाई बाइसेरा भनिन्थ्यो।

रामनिधि गुप्ता (निधुबाबु) र उनका नातेदार कुलिचन्द्र सेनले आखडाई गीतमा सुधार गरेका थिए। पछि निधुबाबुले छपराबाट फर्केर कलकत्तामा आखडाई प्रशिक्षण केन्द्र खोले, जहाँ भद्र आखडाई गीत सिकाइन्थ्यो। निधुबाबुको प्रभावमा टप्पा गायन शैली, साथै तानपुरा, बाँसुरी, सितार, बीन, जलतरङ्ग, बायोलिन, ढोल आदि वाद्ययन्त्रहरूको संयोजनमा राग–रागिनीहरूमा आधारित आर्केस्ट्रा सम्मिलित भई आखडाई गीत क्रमशः उच्चस्तरीय बैठक–सङ्गीत (बैठकी गीत) मा परिणत भएको थियो। आखडाई गायनका सबैभन्दा प्रख्यात कलाकार रामनिधि गुप्ता (निधुबाबु) नै मानिन्छन्।

विषयवस्तुका दृष्टिले आखडाइ गीत तीन भागमा विभाजित थिए;

  • भवानी खण्ड – पार्वती एवं भक्ति–विषयक गीतहरू
  • खेअर खण्ड – लौकिक प्रेम र मिलन–आकांक्षाका गीतहरू
  • प्रभाति खण्ड – बिहानको उदासी र वियोग–भावयुक्त गीतहरू

हरेक गीतमा सामान्यतः महरा, कितेन र अन्तरा नामक भागहरू रहन्थे। आखडाईका गीतहरू प्रायः पयार त्रिपदी छन्दमा रचिन्थे। उन्नाइसौँ शताब्दीको मध्यसम्म आखडाई गीत निकै लोकप्रिय रह्यो, तर त्यसपछि अन्य सङ्गीत–धाराहरूको प्रभावले यो परम्परा विस्तारै लोप हुँदै गएको देखिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "In the book Compiled and edited by Shishirkumar Das, Sangsad Bangla Sahitya Sangeet, Sahitya Sangsad, Kolkata,, August 2019, page 19 ISBN 978-81-7955-007-9

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]