आलु भक्षक
| आलु भक्षक | |
|---|---|
| कलाकार | भिन्सेन्त फन गोख |
| वर्ष | सन् १८८५ |
| माध्यम | क्यानभासमा तेल चित्र |
| आकार | 82 cm × 114 cm (32.3 in × 44.9 in) |
| स्थान | फन गोख सङ्ग्रहालय, आम्स्टर्डम |
आलु भक्षक (नेदरल्यान्डेली: De Aardappeleters) डच चित्रकार भिन्सेन्त फन गोखद्वारा अप्रिल १८८५ मा नेदरल्यान्ड्सको नुनेनमा तयार पारिएको एक तेलचित्र हो।[१] यो हाल आम्स्टर्डमस्थित फन गोख सङ्ग्रहालयमा रहेको छ। यसको मौलिक तेल स्केच ओटर्लोको क्रोलर-मुलर सङ्ग्रहालयमा छ। उनले यस चित्रको मुद्रणकला पनि बनाएका थिए, जुन न्युयोर्क सहरको म्युजियम अफ मोडर्न आर्ट लगायतका सङ्ग्रहहरूमा राखिएका छन्। यो चित्रकलालाई फन गोखको उत्कृष्ट कृतिहरूमध्ये एक मानिन्छ।[२]
फन गोखले आलु भक्षकलाई आफ्नो सबैभन्दा सफल कार्यको रूपमा हेरेका थिए। उनले यो चित्र बनाउनु अघि नुनेनका किसानहरूको धेरै अध्ययन र स्केचहरू गरेका थिए। उनले विशेषगरी ती मानिसहरूको हात र अनुहारको बनावटमा जोड दिएका थिए जसले कडा परिश्रम र माटोको कामलाई झल्काउँथ्यो। उनले आफ्ना भाइ तेओलाई लेखेको पत्रमा किसानहरूलाई "बत्तीको धमिलो प्रकाशमा आफूले उब्जाएको आलु खाइरहेको" देखाउन चाहेको भनी लेखेका थिए जसले गर्दा उनले दर्शकहरूलाई "जुन हातले किसानहरूले खाना खाइरहेका छन् तिनै हातले उनीहरूले जमिन खनेका हुन् भन्ने कुरालाई पनि प्रष्ट पारेका थिए।[३]
संरचना
[सम्पादन गर्नुहोस्]
सन् १८८५ मार्च र अप्रिलको सुरुतिर, फन गोखले यस चित्रकलाका लागि अध्ययन स्केचहरू तयार पारे र आफ्ना भाइ तेओ फन गोखसँग यस विषयलाई लिएर पत्राचार गरेको भएतापनि तेओ उनका तत्कालीन कामबाट र फन गोखले पेरिस पठाएका स्केचहरूबाट सन्तुष्ट थिएनन्।[५] उनले नुनेनमा आफ्ना आमाबुबासँग बस्ने क्रममा आलु भक्षकमा काम गर्न थालेका थिए, जुन धेरै किसान, मजदुर र दर्जीहरूको बसोबास भएको एक ग्रामीण क्षेत्र थियो।[६] उनले १३ अप्रिलदेखि मे महिनाको सुरुसम्म यस चित्रमा काम गरे, जब यो प्रायः सम्पन्न भइसकेको थियो र सोही वर्षको अन्त्यतिर उनले एउटा सानो ब्रसले केही सामान्य परिवर्तनहरू गरेका थिए।[७]
फन गखले आफ्नो भाइलाई लेखेको पत्रमा आलु भक्षकको बारेमा चर्चा गरेका छन्। उनले यो चित्र हेर्ने मानिसहरूले यस्तो महसुस गरुन् भन्ने चाहेको बताएका थिए:
…यी मानिसहरू सानो बत्तीको उज्यालोमा आलु खाँदै छन् जसले आफैले ती हातहरूले जमिन खनेका हुन् भने अहिले उनीहरूले आफ्नो हात भाँडामा हालिरहेका छन्। यसमा उनीहरूले शारीरिक श्रमको कुरा जोडिएकोछ र उनीहरूले यसरी इमानदारीपूर्वक आफ्नो खाना कमाएका छन्। म यसले हाम्रो जीवनशैलीभन्दा पूर्णतया फरक जीवनशैलीको भावना दिन चाहन्थेँ।
…जो कोही साधारण सुन्दर किसानहरू देख्न रुचाउँछन् उनीहरूले त्यस्तै हेरुन्। मेरो तर्फबाट, म विश्वस्त छु कि लामो समयमा उनीहरूलाई तिनीहरूको रुखोपनमा चित्रित गर्दा परम्परागत मिठास देखाउनुभन्दा राम्रो परिणाम आउँछ।
यसै छलफलको सन्दर्भमा फन गोखले किसानका चित्रहरूको बारेमा आफ्ना विचार थपेका थिए:
एक किसान केटी एक कुलीन महिलाभन्दा बढी सुन्दर छिन्– मेरो विचारमा– उसको धुलो र धब्बा लागेको निलो स्कर्ट र ज्याकेटमा, जसमा मौसम, हावा र घामले सबैभन्दा कोमल विविधताहरू ल्याइदिएका हुन्छन्। तर– यदि उसले– एक कुलीन महिलाको पोशाक लगाउँछिन् भने, त्यसपछि यसको प्रामाणिकता हराउँछ। एक किसान आफ्नो मोटो लागेको लुगा लगाएर खेतमा जति राम्रो देखिन्छ, त्यो भन्दा धेरै कम राम्रो जब ऊ आइतबार चर्च जानको लागि कुनै सज्जन व्यक्तिको कोट लगाउँछ। …यदि एउटा किसानको चित्रबाट बेकन, धुवाँ, आलुको बाफको गन्ध आउँछ– राम्रो छ– त्यो अस्वस्थकर होइन– यदि एउटा गोठबाट मलको गन्ध आउँछ– धेरै राम्रो, गोठ त्यसैको लागि हो– यदि खेतबाट पाकेको गहुँ, आलु वा मलको सुगन्ध आउँछ– त्यो साँच्चै स्वस्थकर हुन्छ … तर एउटा किसान चित्र सुगन्धित हुनु हुँदैन।[८]
दुई वर्षपछि पेरिसमा आफ्नी बहिनी विलेमिनालाई लेख्दै, फन गोखले अझै पनि आलु भक्षकलाई आफ्नो सबैभन्दा सफल चित्र ठान्दथे: "म आफ्नो कामको बारेमा के सोच्छु भने, नुनेनमा मैले बनाएको आलु खाने किसानहरूको चित्र नै अन्ततः मैले गरेको सबैभन्दा राम्रो काम हो।"[९] तर, यो चित्र बनाएको केही समयपछि नै उनका मित्र आन्तोन फन रापार्दले यसको आलोचना गरेका थिए। उदीयमान कलाकारको रूपमा फन गोखको आत्मविश्वासमा यो गम्भीर आघात थियो र उनले आफ्नो मित्रलाई जवाफ लेखे, "तिमीले ... मेरो कामलाई त्यसरी आलोचना गर्ने कुनै अधिकार थिएन" (जुलाई १८८५) र पछि, "म सधैँ त्यो गरिरहेको हुन्छु जुन म अहिलेसम्म गर्न सक्दिनँ ताकि त्यो कसरी गर्ने भनेर सिक्न सकूँ।" (अगस्ट १८८५)।[१०]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ van Tilborgh, Louis (२००९), "The Potato Eaters by Vincent van Gogh", The Vincent van Gogh Gallery, अन्तिम पहुँच ११ सेप्टेम्बर २००९।
- ↑ Crispino 2008, पृष्ठ 1885.
- ↑ "The Potato Eaters", Van Gogh Museum, अन्तिम पहुँच १० मे २०२६।
- ↑ "The Cottage, 1885", Permanent Collection, Van Gogh Museum, २००५–२०११, अन्तिम पहुँच १५ मे २०११।
- ↑ Naifeh & Smith 2011, pp. 439–40
- ↑ Magazine, Smithsonian; Katz, Brigit, "The Untold Story of van Gogh's Once-Maligned Masterpiece, 'The Potato Eaters'", Smithsonian Magazine (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०७-२९।
- ↑ "Vincent van Gogh - The Potato Eaters", Van Gogh Museum (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०७-२९।
- ↑ "Letter 497", Vincent Van Gogh. The Letters, Amsterdam: Van Gogh Museum।
- ↑ McQuillan 1989, p. 38
- ↑ McQuillan 1989, p. 20
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा आलु भक्षकसँग सम्बन्धित मिडिया छन्
- फन गोख, चित्रकला र रेखाचित्रहरू: एक विशेष ऋण प्रदर्शनी, मेट्रोपोलिटन म्युजियम अफ आर्ट लाइब्रेरीबाट पूर्ण रूपमा डिजिटलाइज गरिएको प्रदर्शनी क्याटलग, जसमा यस चित्रकलाको बारेमा सामग्रीहरू समावेश छन् (अनुक्रमणिका हेर्नुहोस्)
- आलु भक्षक (सन् १८८५), क्यानभासमा तेल रङ, फन गोख सङ्ग्रहालय, आम्स्टर्डम
- आलु भक्षक (सन् १८८५), क्यानभासमा तेल रङ, क्रोलर-मुलर सङ्ग्रहालय, ओटर्लो