आलु (निबन्ध)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आलु भैरव अर्यालद्धारा लिखित लोकप्रिय हास्य व्यङ्ग्यात्मक निबन्ध हो । यस निबन्धमा अर्यालले आलुको माध्यमद्वारा मानव स्वभावका कमजोरीप्रति आलोचना गर्दै पाठकलाई राम्रैसँग हसाएका छन । यस निबन्धमा अर्यालले सबैसँग मिल्ने आलुलाई मानिसले मिठो मानी खाने तर आलु शब्दको उच्चारण उसको नामसँग मात्र गर्दा पनि बेइज्जतको आभास गर्छ भन्ने कुरालाई पाइनदार भाषाको प्रयोग गरी स्पष्टिकरण दिएका छन् । मान्छेमा रहेको दहीच्युरे स्वभाव नै आलु स्वभाव हो भन्ने लेखकको ठम्याइ छ । आलुको नामाकरण कसरी भयो भन्ने प्रसङ्ग उठाएर निबन्ध थालनी गरिएको छ । निबन्धमा आलुको उत्पत्तीबारे विभिन्न प्रसङ्ग जोडिएको छ , जस्तै: पहिले खेतका आलीतिर उम्रेर फलेकोले आलु नाम राखिएको वा कोही आले थरको मान्छेले पहिलो पटक पत्ता लगाएर खाएको आदि इत्यादी । जुन बेला चाहियो त्यही बेला विभिन्न परिकारमा परिणत भएर उस्तै बन्न सक्ने आलुको खुबीलाई नेपाली बुद्धिजीवीको बहुमुखी व्यक्तित्वसँग तुलना गर्दै व्यङ्ग्य गर्न अर्याल पछि परेका छैनन् । आलुको परिचय दिने क्रममा अर्यालले आलुको नाम, थर, बाबु, आमा, छोरा, नाति, भानिज, जेठान, स्वास्नी सबै आलु हुन भन्दै व्यङ्ग्यको तितोपनलाई रसपुर्ण बनाएका छन् । आलुको असिमित उपयोगिता र सबैका घरमा आलुको समान सम्मान अनि प्रतिष्ठा भएको कुरा निबन्धकारले भाषा मिलाएर प्रस्तुत गरेका छन् । आलुलाई परम भाग्यको प्रतिक मानिन्छ र जो तालुमा आलु फलाउन सक्छ उसले आफ्नो जीवन मात्र नभएर आफ्ना सात पुस्तालाई सङ्कट मुक्त गराउँछ भन्दै आलुको विशिष्टताबारे व्यङ्ग्य गरेका छन् । त्यति मात्र नभएर आलुलाई तालुमा फल्दा ऐश्वर्यशाली भन्ने र खाँदा गुल्टिएको भन्ने मानविय स्वभावमाथी पनि व्यङ्ग्य गरिएको छ । आलु खान लागेको बेला कुनै मानिसलाई 'आलु खान लाग्नुभाको?' भन्दा उसले आफ्नो पुर्पुरोमा नै झट्टी हान्न खोज्छ भन्दै आफुले आलु खाएको कुरा कहिल्यै पनि नस्वीकार्ने मानवले आलु खाएर पेडाको धाक लगाउने कुरालाई व्यङ्ग्यात्मक शैलीबाट प्रस्तुत गरिएको छ । अन्तत:अर्यालले मानविय स्वभावमाथी व्यङ्ग्य गर्दै मानिसको कर्म आलु खानु तर धर्म चहिँ आलु खाएर पेडाको धाक लगाउनु रहेछ भन्ने निष्कर्ष निकालेका छन् ।

'आलुको बारेमा लेखिएको यो निबन्धलाई कसैले आलु निबन्ध भन्छ भने भनि रहोस्, मेरो दृष्टिमा यो पुरापुर पेडा निबन्ध हो ।' भन्ने अन्तिम वाक्य  निबन्धको दमदार अन्त्य हो ।