आसिफा भुट्टो जरदारी
आसिफा भुट्टो जरदारी | |
|---|---|
آصفہ بھٹو زرداری | |
सन् २०१९ मा असिफा | |
| पाकिस्तानको प्रथम महिला | |
| पद ग्रहरण १२ मार्च २०२४ | |
| राष्ट्रपति | आसिफ अली जरदारी |
| पूर्वाधिकारी | सामिना अल्वी |
| पाकिस्तानको राष्ट्रिय सभाको सदस्य | |
| पद बहाली १५ अप्रिल २०२४ | |
| पूर्वाधिकारी | आसिफ अली जरदारी |
| निर्वाचन क्षेत्र | रास-२०७ नबाबशाह-१ |
| व्यक्तिगत विवरण | |
| जन्म | ३ फेब्रुअरी १९९३ लन्डन, इङ्ल्यान्ड |
| राजनीतिक दल | पाकिस्तान पिपुल्स पार्टी (सन् २०२०-हाल) |
| अभिभावक(हरू) | आसिफ अली जरदारी बेनजीर भुट्टो |
| आफन्तहरू | |
| मातृ शिक्षाप्रतिष्ठान | अक्सफोर्ड ब्रुक्स विश्वविद्यालय लन्डन कलेज विश्वविद्यालय |
असिफा भुट्टो जरदारी (उर्दु آصفہ بھٹو زرداری) (जन्म ३ फेब्रुअरी १९९३) एक पाकिस्तानी राजनीतिज्ञ हुन् जो पाकिस्तानको राष्ट्रिय सभाकी सदस्य हुन्। उनी पाकिस्तानका वर्तमान राष्ट्रपति आसिफ अली जरदारी र पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोकी कान्छी छोरी हुन्।
प्रारम्भिक जीवन र शिक्षा
[सम्पादन गर्नुहोस्]असिफाको जन्म ३ फेब्रुअरी १९९३ मा लन्डनमा आसिफ अली जरदारी र उनकी श्रीमती बेनजीर भुट्टोको सन्तानको रूपमा भएको थियो।[१][२] सन् १९९४ मा उनकी आमा, तत्कालीन प्रधानमन्त्री भुट्टोले एक प्रमुख खोप अभियान सुरु गरेपछि, देशको पहिलो राष्ट्रिय खोप दिवसमा पोलियो विरुद्ध खोप लगाइने उनी पाकिस्तानको पहिलो बच्चा थिइन्।[१] अभियानको समर्थनको रूपमा प्रधानमन्त्रीले व्यक्तिगत रूपमा असिफालाई थोपा खुवाएकी थिइन्।[३]
उनले जुलाई २०१६ मा अक्सफोर्ड ब्रुक्स विश्वविद्यालयबाट राजनीति र समाजशास्त्रमा स्नातक र लन्डन कलेज विश्वविद्यालयबाट विश्वव्यापी स्वास्थ्य र विकासमा स्नातकोत्तर हासिल गरेकी थिइन्।[१][४]
राजनीतिक जीवन
[सम्पादन गर्नुहोस्]अक्टोबर २००९ मा, तात्कालीन पाकिस्तानका राष्ट्रपति तथा उनका बुबा आसिफ अली जरदारले असिफालाई राष्ट्रिय पोलियो उन्मूलन अभियानको लागि पाकिस्तानको राजदूत नियुक्त गरेका थिए। पाकिस्तानमा पोलियो उन्मूलन राजदूतको रूपमा उनको भूमिकाले उनलाई आफ्ना दाजुभाइ दिदीबहिनीहरूको तुलनामा आम जनतामा परिचित अनुहार बनाएको थियो।[५][६] राजदूतको रूपमा आफ्नो कार्यकालमा, असिफाले रोग उन्मूलनका लागि अभियानहरू सञ्चालन गरेकी थिइन् र अधिकारीहरूसँग संलग्न हुँदै पोलियोबाट प्रभावित परिवारहरूलाई भेटेकी थिइन्।[७][८] सन् २०१३ मा, पोलियो विरुद्धको लडाईमा उनको प्रयासको लागि रोटरी इन्टरनेसनलले उनलाई स्मारक पदकले सम्मानित गरेको थियो।[९]
२१ वर्षको उमेरमा, उनी अक्सफोर्ड युनियनलाई सम्बोधन गर्ने सबैभन्दा कान्छी पाकिस्तानी बनेकी थिइन्।[१०]
उनले ३० नोभेम्बर २०२० मा मुल्तानको एक र्यालीमा आफ्नो राजनीतिक पाइला राखेकी थिइन्।[१०][११] सन् २०२२ मा, खानेवालमा पाकिस्तान पिपुल्स पार्टीको जुलुसको क्रममा, मिडियाको ड्रोनको ठक्करबाट उनी सामान्य घाइते भएकी थिइन्।[७]
जुन २०१३ मा, तत्कालीन राष्ट्रपति आसिफ अली जरदारीले उनका तीन छोराछोरी, बिलावल, बख्तावर र असिफाले ९ सेप्टेम्बर २०१३ मा राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि पाकिस्तान पिपुल्स पार्टीको नेतृत्व गर्ने खुलासा गरेका थिए। यद्यपि उनले आफ्ना तीनै छोराछोरीहरूको उल्लेख गरेको भएतापनि धेरै पार्टीका नेताहरूले असिफाले उनका ठूला दाजुभाइ दिदीबहिनीहरूको तुलनामा बढी प्रमुख भूमिका खेल्न सक्छिन् भनेर विश्वास व्यक्त गरेका थिए। पार्टी जरदारीले असिफालाई बिलावल र बख्तावर भन्दा बढी राजनीतिक रूपमा चतुर मानेको बताइएको थियो। असिफा पार्टीको मामिलामा सक्रिय रूपमा संलग्न थिइन् र प्रायः आफ्ना बुबासँगै देखिन थालेकी थिइन्।[८]
मे २०१७ मा, बिलावल भुट्टो जरदारीको अतिरिक्त, असिफा पनि सन् २०१८ को पाकिस्तानी आम निर्वाचनमा चुनावी दौडमा प्रवेश गर्ने जनाइएको थियो। समयसँगै विभिन्न सामाजिक र राजनीतिक बहस र मुद्दाहरूमा उनको सक्रिय संलग्नताको कारण उनको सहभागिता अपेक्षित थियो।[१२] सन् २०१८ को चुनाव अघि, पार्टीले एनए-२४८ (कराची पश्चिम-१) वा एनए-२२३ (मटियारी) निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन असिफाको नाम सुझाव दिएको थियो।
सन् २०२४ को पाकिस्तानी आम निर्वाचनको समयमा, असिफाले पाकिस्तान पिपुल्स पार्टीको अभियानमा महत्वपूर्ण भूमिका खेलेकी थिइन्, पार्टीका प्रधानमन्त्री पदका उम्मेदवार रहेका उनका दाइ बिलावलको समर्थनमा जुलुसहरूको नेतृत्व समेत गरेकी थिइन्।[११]
१० मार्च २०२४ मा, २०२४ को पाकिस्तानी राष्ट्रपति चुनाव पछि, आसिफ अली जरदारीले पाकिस्तानको १४ औँ राष्ट्रपतिको रूपमा शपथ लिएका थिए। उनले असिफालाई पाकिस्तानको प्रथम महिलाको रूपमा मान्यता दिने घोषणा गरेका थिए,[१३] जुन उनको अघिल्लो राष्ट्रपति पद (सन् २००८-२०१३) बाट महत्वपूर्ण विचलन थियो र सो अवधिमा उनकी पत्नी बेनजीर भुट्टोको हत्या पछि प्रथम महिलाको पद खाली रहेको थियो।[११][१३] यो निर्णयले पाकिस्तानको इतिहासमा पहिलो पटक राष्ट्रपतिकी श्रीमतीको सट्टा उनकी छोरीले प्रथम महिलाको उपाधि धारण गर्ने सङ्केत गरेको थियो।[१०]
संसद
[सम्पादन गर्नुहोस्]१७ मार्च २०२४ मा, उनले पाकिस्तान पिपुल्स पार्टीको उम्मेदवारको रूपमा निर्वाचन क्षेत्र रास-२०७ नवाबशाह-१ बाट राष्ट्रिय सभा सिटको लागि उपनिर्वाचनमा लड्न मनोनयन पत्र बुझाएर चुनावी राजनीतिमा प्रवेशको घोषणा गरेकी थिइन्। सन् २०२४ को चुनावमा जितेका उनका बुबा आसिफ अली जरदारी पाकिस्तानको राष्ट्रपतिमा निर्वाचित भएपछि यो सिट खाली भएको थियो।[१४][१५]
निर्वाचन क्षेत्रमा उपनिर्वाचनमा लड्न कुल एघार उम्मेदवारहरूले मनोनयन पत्र बुझाएका थिए, जसमध्ये अधिकांश पाकिस्तान पिपुल्स पार्टीका कार्यकर्ता र पदाधिकारी थिए, जसलाई आसिफाको लागि उस्तै उम्मेदवारको रूपमा हेरिएको थियो।[१६] २९ मार्चमा, अन्य उम्मेदवारहरूको मनोनयन पत्र फिर्ता वा अस्वीकृत गरिएका कारण, उनी एनए-२०७ निर्वाचन क्षेत्रबाट राष्ट्रिय सभामा निर्विरोध निर्वाचित हुन सफल भएकी थिएन्।[१७] पाकिस्तान तहरिके इन्साफले दलको उम्मेदवार गुलाम मुस्तफा रिन्दको मनोनयन पत्र अन्यायपूर्ण रूपमा अस्वीकृत गरिएको र त्यसपछि प्रहरीले उनलाई मनमानी रूपमा पक्राउ गरेको दावी गरेको थियो।[१८] पाकिस्तान तहरिके इन्साफले गुलाम मुस्तफा रिन्दलाई उनको मनोनयन फिर्ता लिन बाध्य पारिएको आरोप पनि लगाएको थियो।[१९]
उनलाई १५ अप्रिल २०२४ मा राष्ट्रिय सभा सदस्यको रूपमा शपथ ग्रहण गराइएको थियो।[२०] १६ अप्रिलमा, उनलाई पाकिस्तानको प्रथम महिलाको दर्जा प्रदान गरिएको थियो।[२१]
त्यसपछि, गुलाम मुस्तफा रिन्दले सिन्ध उच्च अदालतमा असिफाको विजय खारेज गर्न निवेदन दर्ता गरेका थिए जसमा उनले चुनावमा उम्मेदवार भए पनि, उनको मनोनयन पत्र अनुचित रूपमा खारेज गरिएको र उनलाई सक्रान्द प्रहरीले गैरकानूनी रूपमा पक्राउ गरेको आरोप लगाएका थिए।[२२]
मे २०२४ मा, दुबईमा उनको सम्पत्तिको स्वामित्व रहेको भनी तथ्याङ्क बाहिरिएको थियो जसको बचाउमा उनले उनले उक्त सम्पत्ति कानुनी रूपमा प्राप्त गरिएको थियो र पहिले नै सम्बन्धित अधिकारीहरूलाई दिइएको बताएकी थिइन्।[२३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 3 Staff Report (२ फेब्रुअरी २०१७), "Aseefa Bhutto Zardari: Like mother, like daughter", Khaleej Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच ११ मार्च २०२४।
- ↑ "Wishes pour in on Twitter as Aseefa Bhutto turns 28", Pakistan Observer, ३ फेब्रुअरी २०२१, अन्तिम पहुँच ११ मार्च २०२४।
- ↑ "We mustn't rest until polio is eradicated, says Aseefa Bhutto", The Express Tribune (अङ्ग्रेजीमा), २४ मे २०१७, अन्तिम पहुँच १२ मार्च २०२४।
- ↑ "Aseefa Bhutto-Zardari graduates with MSc degree from UCL" (अङ्ग्रेजीमा), Geo News, ८ जुलाई २०१६, अन्तिम पहुँच ३ अगस्ट २०२४।
- ↑ "Benazir's daughter ambassador of anti-polio campaign", DAWN.COM (अङ्ग्रेजीमा), ११ अक्टोबर २००९, अन्तिम पहुँच १७ मार्च २०२४।
- ↑ "Zardari's daughter made Pak ambassador for anti-polio drive", Hindustan Times (अङ्ग्रेजीमा), ११ अक्टोबर २००९, अन्तिम पहुँच १७ मार्च २०२४।
- 1 2 "Who is Aseefa Bhutto, Pakistan's First Lady to be?", The Indian Express (अङ्ग्रेजीमा), ११ मार्च २०२४, अन्तिम पहुँच ११ मार्च २०२४।
- 1 2 Ghumman, Khawar (१४ जुन २०१३), "Is Aseefa going to be the new heir to the PPP throne?", DAWN.COM (अङ्ग्रेजीमा), अन्तिम पहुँच १२ मार्च २०२४।
- ↑ Kazmi, Sara (८ जुन २०१३), "Rotary International honors Aseefa Zardari's anti polio efforts | Pakistan Today", अन्तिम पहुँच १७ मार्च २०२४। अभिलेखिकरण १७ मार्च २०२४ वेब्याक मेसिन
- 1 2 3 Mago, Shivani (११ मार्च २०२४), "Pakistanis are rooting for Aseefa Bhutto Zardari. Her First Lady appointment is 'historic'", ThePrint, अन्तिम पहुँच १२ मार्च २०२४।
- 1 2 3 "Aseefa Bhutto becomes 'First Lady of Pakistan'", www.geo.tv (अङ्ग्रेजीमा), ११ मार्च २०२४, अन्तिम पहुँच ११ मार्च २०२४।
- ↑ "Bilawal, Aseefa, Zardari to contest next general elections", gulfnews.com (अङ्ग्रेजीमा), १५ मे २०१७, अन्तिम पहुँच १२ मार्च २०२४।
- 1 2 "President Zardari decides to name daughter Aseefa as first lady", The Express Tribune (अङ्ग्रेजीमा), ११ मार्च २०२४, अन्तिम पहुँच ११ मार्च २०२४।
- ↑ "Aseefa to contest by-polls from NA-207", The Express Tribune (अङ्ग्रेजीमा), १७ मार्च २०२४, अन्तिम पहुँच १७ मार्च २०२४।
- ↑ "Aseefa Bhutto Zardari submits nomination papers for by-poll in NA-207 constituency", www.thenews.com.pk (अङ्ग्रेजीमा), १७ मार्च २०२४, अन्तिम पहुँच १७ मार्च २०२४।
- ↑ "11 file papers for Nawabshah seat vacated by Zardari", DAWN.COM (अङ्ग्रेजीमा), १९ मार्च २०२४, अन्तिम पहुँच १६ अप्रिल २०२४।
- ↑ "Aseefa Bhutto Zardari wins NA-207 seat unopposed", Samaa TV, अन्तिम पहुँच २९ मार्च २०२४।
- ↑ Ali, Imtiaz (२९ मार्च २०२४), "Aseefa Bhutto-Zardari elected unopposed as MNA from Shaheed Benazirabad", DAWN.COM (अङ्ग्रेजीमा), अन्तिम पहुँच २९ मार्च २०२४।
- ↑ Ayub, Imran (१ अप्रिल २०२४), "PTI announces Senate election boycott in Sindh", DAWN.COM (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ अप्रिल २०२४।
- ↑ Desk, NNPS (१५ अप्रिल २०२४), "Aseefa Bhutto takes oath as MNA", अन्तिम पहुँच १५ अप्रिल २०२४।
- ↑ "Aseefa Bhutto gets status of Pakistan's First Lady", Samaa, १६ अप्रिल २०२४, अन्तिम पहुँच १६ अप्रिल २०२४।
- ↑ "Aseefa makes parliamentary debut amid noisy protest", DAWN.COM (अङ्ग्रेजीमा), १६ अप्रिल २०२४, अन्तिम पहुँच १६ अप्रिल २०२४।
- ↑ "'Nothing new or illegal': Pakistani politicians named in Dubai property data defend ownership, downplay report", DAWN.COM (अङ्ग्रेजीमा), १४ मे २०२४, अन्तिम पहुँच १४ मे २०२४।