आस्तिक (ऋषि)
| आस्तिक | |
|---|---|
राजा जनमेजयद्वारा एक विशाल "सर्प-बलि" | |
| जानकारी | |
| परिवार | जरत्कारु (पिता) मनसा (माता) |
आस्तिक हिन्दु धर्मग्रन्थहरूमा उल्लिखित एक पौराणिक पात्र हुन् जसलाई एक प्रसिद्ध ऋषिको रूपमा उल्लेख गरिएको पाइन्छ। उनी ऋषि जरत्कारु र नागदेवी मनसाका पुत्र हुन्। उनले राजा जनमेजयले आयोजना गरेको सर्प विनाश यज्ञलाई रोकेर नाग वंशको रक्षा गर्दछन्।
जन्म
[सम्पादन गर्नुहोस्]देवीभागवत पुराणका अनुसार, जरत्कारु नामका एक ऋषि वनमा घुमिरहेका बेला आफ्ना पितृहरूलाई घाँसको पातको सहारामा भीरमा झुन्डिरहेको अवस्थामा भेट्छन्। जरत्कारुको कुनै सन्तान नभएको र उनी आफ्नो वंशका अन्तिम व्यक्ति भएकाले उनीहरूले यस्तो कष्ट भोग्नुपरेको कुरा पितृहरू बताउँछन्। आफ्ना पितृहरूलाई यो कष्टबाट बचाउन जरत्कारुले आफूसँग मिल्दोजुल्दो नाम भएकी स्त्रीसँग विवाह गर्ने निर्णय गरी नागराज वासुकीकहाँ जान्छन् र उनकी बहिनी मनसासँग विवाह गर्छन्।
एक साँझ, पुष्कर क्षेत्रमा जरत्कारु सन्ध्याकालीन प्रार्थना नगरी आफ्नी श्रीमतीको काखमा सुतिरहेका हुन्छन् आफ्नो श्रीमानलाई कर्तव्य पालनाका लागि निद्राबाट जगाउने वा सुत्न दिने भन्ने दुविधामा परेपछि मनसाले उनलाई जगाउने विकल्प रोज्छिन्। यस कार्यबाट क्रुद्ध भई जरत्कारुले आफ्नी श्रीमतीलाई छोड्ने निर्णय गर्छन्। मनसाले उनीसँग क्षमा मागेपछि जरत्कारुले उनलाई उनी गर्भवती भएको जानकारी दिन्छन् र जन्मिने बालक अत्यन्त तेजस्वी र भक्त हुने भविष्यवाणी गर्छन्। यसरी ती बालकको नाम आस्तिक राखिन्छ।[१] आस्तिकले भृगुपुत्र ऋषि च्यवनको मातहतमा आफ्नो शिक्षा पूरा गर्छन्। देवी भागवत पुराणका अनुसार, उनकी आमा शिवकी शिष्या भएकाले आस्तिक पनि भगवान शिवकै भक्त बन्छन्।
सर्प यज्ञ
[सम्पादन गर्नुहोस्]महाभारतका अनुसार, आस्तिकले नाग तक्षकको ज्यान बचाएका हुन्छन्। राजा जनमेजयले आफ्नो पिता परिक्षितको मृत्युको बदला लिन सर्प सत्र नामक विशाल नाग यज्ञको आयोजना गरेपछि यो घटना घटेको हुन्छ। परिक्षितको मृत्यु तक्षक नागको टोकाइबाट भएको हुन्छ। अन्ततः, आस्तिकले राजालाई मनाएर नाग जातिमाथि भइरहेको यो विनाशकारी यज्ञ अन्त्य गराउन सफल हुन्छन्। आस्तिकको जन्म हुनुअघि नै उनका पिताले उनलाई छोडेर गइसकेका हुन्छन्।[२] जनश्रुति अनुसार, यी नागहरूको ज्यान जोगिएको दिनलाई श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी मानिन्छ र यसैलाई नाग पञ्चमी पर्वको रूपमा मनाइन्छ।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ www.wisdomlib.org (२०१९-०१-२८), "Story of Āstīka", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-१९।
- ↑ Gopal, Madan (१९९०), K.S. Gautam, सम्पादक, India through the ages, Publication Division, Ministry of Information and Broadcasting, Government of India, पृ: ७२।
- ↑ Garg 1992, पृष्ठ 743.