सामग्रीमा जानुहोस्

इदी अमिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इदी अमिन
सन् १९७५ मा इदी अमिन
तेस्रो युगान्डाका राष्ट्रपति
कार्यकाल
२५ जनवरी १९७१ – ११ अप्रिल १९७९
व्यक्तिगत विवरण
जन्म
अवोन'गो इदी अमिन दादा

(१९२८-०५-३०)३० मे १९२८[]
कम्पाला, युगान्डा
मृत्यु१६ अगस्ट २००३(2003-08-16) (उमेर ७५)
जेद्दा, साउदी अरब
सन्तान४३ (दाबि)[]
हस्ताक्षर
सैन्य सेवा
सेवाको वर्षहरूसन् १९४६–१९७९

इदी अमिन दादा ओउमी (३० मे १९२८ – १६ अगस्ट २००३) युगान्डाका एक सैनिक अधिकृत तथा राजनीतिज्ञ थिए। उनले सन् १९७१ देखि १९७९ मा सत्ताच्युत नभएसम्म युगान्डाका तेस्रो राष्ट्रपतिको रूपमा पदभार सम्हालेका थिए। उनी सैनिक दर्जाहरू हुँदै उक्लँदै सन् १९७० मा युगान्डाली सशस्त्र बलका सर्वोच्च सेनापति बनेका थिए। सन् १९७१ मा उनले राष्ट्रपति मिल्टन ओबोटेलाई अपदस्थ गरी त्यसपछि तानाशाहका रूपमा शासन चलाउन सुरु गरेका थिए। उनको शासनकालमा सामूहिक हत्या सहितका गम्भीर मानवअधिकार उल्लङ्घनहरू हुँदा त्यसको फलस्वरूप युगान्डाको अर्थतन्त्र धराशायी बन्न पुगेको थियो। तान्जानियामाथि असफल युद्ध सुरु गरेपछि सन् १९७९ मा उनी सत्ताबाट हटाइए र उनले आफ्नो बाँकी जीवन निर्वासनमा बिताएका थिए। 

अमिन काक्वा जातिका बाबु र लुगबारा जातिकी आमाबाट जन्मिएका थिए। सन् १९४६ मा उनले बेलायती औपनिवेशिक सेनाको एक हिस्सा रहेको किङ्स अफ्रिकन राइफल्समा भान्सेका रूपमा प्रवेश गरेका थिए। उनी क्रमशः लेफ्टिनेन्टको पदसम्म उक्लिए र सोमाली विद्रोहीहरूविरुद्धका बेलायती कारबाहीहरू तथा केन्यामा भएको माउ माउ विद्रोहमा सहभागी भएका थिए। सन् १९६२ मा युगान्डाले संयुक्त अधिराज्यबाट स्वतन्त्रता प्राप्त गरेपछि अमिन सेनामै रहेर सन् १९६४ मा उप–सेनापति बन्दै त्यसको दुई वर्षपछि सेनापति नियुक्त भएका थिए। युगान्डाका राष्ट्रपति मिल्टन ओबोटेले सेनाको कोष दुरुपयोग गरेको आरोपमा आफूलाई पक्राउ गर्ने योजना बनाइरहेको थाहा पाएपछि, उनले सन् १९७१ मा ओबोटेलाई सत्ताच्युत गरी आफूलाई राष्ट्रपति घोषणा गरेका थिए।

सत्तामा रहेका वर्षहरूमा अमिनले इजरायलको उल्लेखनीय समर्थन पाएका थिए र लिबियाका मुअम्मर गद्दाफी, जाइरका मोबुटु सेसे सेको, सोभियत सङ्घ र पूर्वी जर्मनीको समर्थन प्राप्त गर्ने शासकमा रूपान्तरण भएका थिए। सन् १९७२ मा अमिनले एसियालीहरूलाई देशनिकाला गर्दै गर्दा त्यसमा अधिकांश भारतीय–युगान्डालीहरू समावेश थिए भने सोही कारणले भारतले उनको शासनसँग कूटनीतिक सम्बन्ध तोडेको थियो। सन् १९७५ मा अमिनले अफ्रिकी राष्ट्रहरूबीच एकता प्रवर्द्धन गर्न स्थापना गरिएको अन्तरसरकारी संस्था अफ्रिकी एकता सङ्गठनको अध्यक्षता सम्हालेका थिए। युगान्डा सन् १९७७ देखि १९७९ सम्म संयुक्त राष्ट्रसङ्घको मानव अधिकार आयोगको सदस्य थियो। सन् १९७७ मा संयुक्त अधिराज्यले युगान्डासँग कूटनीतिक सम्बन्ध तोड्दा अमिनले आफूले बेलायतीहरूलाई पराजित गरेको घोषणा गर्दै “ब्रिटिस साम्राज्यका विजेता” को अर्थमा आफ्नो उपाधिमा सिबिई" थपेका थिए।[]

सन् १९७० को दशकको उत्तरार्धतिर अमिनको शासन अघि बढ्दै जाँदा युगान्डामा अशान्ति झन् बढ्दै गएको थियो। एकातर्फ राजनीतिक विरोधीहरू र केही जातीय समूहहरूमाथि गरिएको दमन र अर्कोतर्फ सन् १९७६ को विमान अपहरणलाई अमिनले समर्थन गरेपछि त्यसबाट इजरायलको ‘अपरेसन एन्टेब्बे’ सुरु हुनुले देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा अत्यन्त कमजोर बनेको थियो। यसपछि सन् १९७८ मा अमिनले तान्जानियाको कागेरा क्षेत्रलाई गाभ्ने प्रयास गरेका थिए। त्यसको प्रत्युत्तरमा तान्जानियाका राष्ट्रपति जुलियस न्येरेरेले आफ्ना सेनालाई युगान्डामाथि आक्रमण गर्न आदेश दिएका थिए। तान्जानियाली सेना र विद्रोही बलहरूले सन् १९७९ मा कम्पाला सफलतापूर्वक नियन्त्रणमा लिएपछि अमिनलाई सत्ताबाट हटाइगको थियो। अमिनले त्यसपछि लिबिया, इराक र अन्ततः साउदी अरब हुँदै आफ्नो निर्वासित जीवन बिताएका थिए भने उनको २००३ मा निर्वासित अवस्थामै मृत्यु भएको थियो।

अमिनको शासन राजनीतिक दमन, कानुनी प्रक्रिया बाहिर गरिएका हत्या सहित व्यापक मानवअधिकार उल्लङ्घन, साथै नातावाद, भ्रष्टाचार र गम्भीर आर्थिक कुप्रबन्धनले चिनिन्थ्यो। अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू र मानव अधिकार समूहहरूको अनुमानअनुसार उनको शासनकालमा १,००,००० देखि ५,००,००० सम्म मानिसहरू मारिएका थिए। युगान्डालीहरूमाथि गरिएको उनको क्रूरता र अत्याचारका कारण उनलाई “युगान्डाको कसाई” भन्ने उपनाम दिइएको थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

 

  1. Leopold, Mark (२०२१), Idi Amin: The Story of Africa's Icon of Evil, New Haven (Conn.): Yale University Press, आइएसबिएन 978-0-300-15439-9 
  2. Nakajubi, Gloria (१५ जुलाई २०१५), "Ugandan dictator Idi Amin's widow Sarah Kyolaba dies in the UK aged 59", The Independent, मूलबाट २५ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ सेप्टेम्बर २०१५ 
  3. Keatley, Patrick (१८ अगस्ट २००३), "Idi Amin", The Guardian, मूलबाट २७ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ मार्च २०२० 
  4. "Dictator Idi Amin dies", १६ अगस्ट २००३, मूलबाट ९ मार्च २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १० मे २०२० – news.bbc.co.ukद्वारा।