सामग्रीमा जानुहोस्

इनारी ओकामी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इनारी ओकामी (जापानी: 稲荷大神) जसलाई ओ-इनारी पनि भनिन्छ, जापानी 'शिन्तो' धर्मका प्रमुख देवताहरू मध्ये एक हुन्। उनी मुख्यतया फ्याउरो, उर्वरता, चामल, चिया, साके (रक्सी), कृषि, उद्योग र सामान्य समृद्धिका देवता मानिन्छन्। 'इनारी' शब्दको शाब्दिक अर्थ "धान बोक्ने" हुन्छ भने प्राचीन जापानमा उनलाई तरबार बनाउने कालीगढ र व्यापारीहरूको संरक्षक पनि मानिन्थ्यो। इन्हारीलाई कहिले पुरुष त कहिले महिलाको रूपमा चित्रण गरिन्छ र कहिलेकाहीँ उनलाई तीन वा पाँच विभिन्न देवी-देउताहरूको समूहको रूपमा पनि हेरिन्छ। उनको उपासना सन् ७११ मा इन्हारी पर्वतमा मन्दिर स्थापना भएदेखि सुरु भएको मानिन्छ, यद्यपि केही विद्वानहरू यो परम्परा पाँचौं शताब्दीको अन्त्यतिरै सुरु भएको विश्वास गर्छन्।

१६ औं शताब्दीसम्म आइपुग्दा इन्हारी फलामका कामदारहरूको संरक्षक र योद्धाहरूको रक्षकका रूपमा स्थापित भए र एडो कालमा उनको पूजा देशभर फैलिएको थियो। जापानका कुल शिन्तो मन्दिरहरूमध्ये एक-तिहाइभन्दा बढी (करिब ४०,०००) इन्हारीलाई समर्पित छन्। वर्तमान समयमा पनि सिसेडो (Shiseido) जस्ता ठूला कस्मेटिक कम्पनीहरूले उनलाई आफ्नो संरक्षक देवता मान्दै आफ्ना मुख्य कार्यालयहरूको छतमा इन्हारीका मन्दिरहरू स्थापना गरेका छन्।

इन्हारीका वाहन वा सन्देशवाहकको रूपमा 'कित्सुने' (सेतो फ्याउरो) लाई लिइन्छ। प्राचीन समयमा फ्याउरोलाई नै धानको देवताको रूपमा पुजिने गरिएको विश्वास गरिन्छ। पौराणिक कथा अनुसार, जापानको सृष्टि हुँदा भीषण अनिकाल परेको समयमा इन्हारी एक देवीको रूपमा स्वर्गबाट सेतो फ्याउरोमा चढेर धर्तीमा ओर्लिएकी थिइन्। त्यसबेला उनले आफ्नो हातमा अन्नका गुच्छाहरू बोकेकी थिइन्। भनिन्छ, प्राचीन जापान जलमग्न र सिमसार क्षेत्र भएकाले उनले बोकेको अन्न सुरुमा धान नभएर सिमसारमा उम्रने कुनै अन्न थियो। धानका खेतहरूमा फ्याउरोहरू कुदेको देखेर किसानहरूले उनीहरूले बालीको निरीक्षण गरिरहेको ठाने र त्यहीँबाट इन्हारीको अवधारणा विकास भएको मानिन्छ। यसै कृतज्ञता स्वरूप किसानहरूले फ्याउरोलाई रातो भात र तारेको भटमासको पनिर (fried bean curd) चढाउने परम्परा सुरु गरे।

इनारीलाई महिला र पुरुष दुवै रूपमा चित्रण गरिएको छ। विद्वान करेन एन स्मायर्सका अनुसार, इनारीको सबैभन्दा लोकप्रिय रूप एक युवा महिला (खाद्य देवी) र चामलको दाना बोकेको वृद्ध पुरुषको हो। ऐतिहासिक रूपमा इनारी सुरुमा महिला थिइन्, तर जापानमा बौद्ध शासनको उदयसँगै धेरै शक्तिशाली देवीहरूलाई पुरुषमा परिवर्तन गरियो, जसमा इनारी पनि परिन्। १९ औं शताब्दीको उत्तरार्धमा मेइजी शासनकालमा बौद्ध र शिन्तो धर्मलाई अलग गरिएपछि इनारीको लिङ्गबारे अन्योल भयो, जसलाई पछि प्रत्येक व्यक्तिको आफ्नै विश्वासमा छोडियो। फ्याउरो (कित्सुने) सँगको निकट सम्बन्धका कारण धेरैले इनारीलाई नै फ्याउरो ठान्छन्, यद्यपि शिन्तो र बौद्ध धर्मगुरुहरू यस धारणालाई गलत मान्छन्। इनारी कहिलेकाहीँ सर्प वा ड्रागनको रूपमा र एउटा लोककथामा त दुष्ट मानिसलाई पाठ सिकाउन विशाल माकुराको रूपमा पनि प्रकट भएको वर्णन पाइन्छ।

इनारीलाई अन्य पौराणिक पात्रहरूसँग पनि जोडेर हेरिन्छ। केही विद्वानहरू उनलाई उका-नो-मितामा वा तोयौके जस्ता शिन्तो देवीहरू मान्छन् भने, कतिपयले उनलाई कुनै पनि अन्नको 'कामी' (देवता) को रूपमा लिन्छन्। इनारीको महिला स्वरूपलाई बौद्ध देवी दाकिनीतेन (जो भारतीय डाकिनीको जापानी रूप हो) वा सात भाग्यशाली देवतामध्येकी बेन्जाइतेनसँग पनि मिसाइएको पाइन्छ। दाकिनीतेनलाई प्रायः उडिरहेको सेतो फ्याउरोमा चढेको बोधिसत्वको रूपमा देखाइन्छ। ८ औं शताब्दीमा बौद्ध भिक्षु कुकाइले तोजी मन्दिरको संरक्षकको रूपमा इनारीलाई रोजेपछि बौद्ध धर्मसँग उनको सम्बन्ध अझ प्रगाढ भयो।

इनारीलाई प्रायः तीन (Inari sanza) वा पाँच (Inari goza) देवताहरूको समूहको रूपमा पूजा गरिन्छ। फुशिमी इनारी (सबैभन्दा पुरानो मन्दिर) को रेकर्ड अनुसार, यी देवताहरूमा इजानगी, इजानमी र उकानोमितामा जस्ता नामहरू समावेश छन्। मन्दिरैपिच्छे यी देवताहरूको नाम फरक पर्न सक्छ। इनारीका प्रमुख प्रतीकहरूमा फ्याउरो, जादुई रत्न, दिव्य लेखोट भएका स्क्रोलहरू, र इच्छा पूरा गर्ने मणि पर्दछन्। उनका अन्य सामग्रीहरूमा हँसिया, धानको मुठो वा बोरा, र तरबार समावेश छन्। उनीसँग एउटा शक्तिशाली कोर्रा पनि थियो, जसको प्रयोग उनले मानिसहरूको बाली जलाउन गर्न सक्थिन्।

इनारीलाई संख्या २ र ३, तथा १० को गुणाङ्कसँग सम्बन्धित संख्याहरूसँग पनि जोडिन्छ। चामलबाहेक, उनी बेश्यालय, मनोरञ्जनकर्मी, तरबार बनाउने कालीगढ र सामान्य खानाका संरक्षक पनि मानिन्छिन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]