इन्जिनियरिङ अध्ययन संस्थान

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
इन्जिनियरिङ अध्ययन संस्थान
Tu 2.png
स्थापना२०२९ साल
कुलपतिनेपालका प्रधानमन्त्री
उप कुलपतिप्रा.डा. तिर्थराज खनियाँ
डीनप्रा. रामचन्द्र सापकोटा
ठेगाना
हरिभवन, ललितपुर
, ,
वेबसाइटईन्जिनियरिङ अध्ययन संस्थान

त्रिभुवन विश्वविद्यालय[१] अन्तर्गतका पाँच अध्ययन संस्थानहरु मध्ये इन्जिनियरिङ अध्ययन संस्थान [२]एक हो । यसको स्थापना नयाँ शिक्षा योजना सँगै वि.सं. २०२९ सालमा भएको हो । स्थापना कालमा यसले राष्ट्रिय आवश्यकता अनुरूपका मध्यम तथा उच्च तहका इन्जिनियरिङ जनशक्ति अर्थात् ओभरसियर र इन्जिनियरहरू उत्पादन गर्ने, विभिन्न तहका जनशक्तिलाई तालिम दिने र देशको इन्जिनियरिङ क्षेत्रको प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखी अनुसन्धान गर्ने तथा परामर्श सेवा उपलब्ध गराउने मूलभूत उद्देश्यहरू राखेको थियो । यी उद्देश्यहरू प्राप्तिका लागि हाल इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत चारवटा आंगिक क्याम्पसहरू सञ्चालित छन् । ती क्याम्पसहरु, केन्द्रीय क्याम्पस, पुल्चोक (ललितपुर), थापाथली क्याम्पस (काठमाडौं), पूर्वाञ्चल क्याम्पस (धरान) र पश्चिमाञ्चल क्याम्पस (पोखरा) हुन् । उच्च शिक्षामा नीजि तथा समुदायको भूमिकालाई पनि परिचालन गर्ने सरकारको लक्ष्य अनुरुप इन्जिनियरिङ शिक्षा प्रदान गर्नका लागि त्रि.वि.बाट सम्बन्धन प्राप्त गरेका अन्य १० वटा कलेजहरु पनि इ.अ.संस्थान अन्तर्गत सञ्चालनमा रहेका छन् । ईन्जिनियरिङ विधाका विभिन्न क्षेत्रहरुमा उच्च स्तरीय दक्ष जनशक्ति उत्पादन गर्नुका साथै सोध तथा अनुसन्धानका क्षेत्रहरुमा समेत नेतृत्वदायि भूमिका निर्बाह गर्नु पर्ने आजको चुनैतिपूर्ण आवश्यकतालाई यसले आफ्नो गहन जिम्मेवारीको रुपमा लिँदै आएको छ ।

इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत केन्द्रीय क्याम्पस, पुल्चोक, पश्चिमाञ्चल क्याम्पस, पूर्वाञ्चल क्याम्पस, थापाथली क्याम्पस तथा त्रि.वि.बाट सम्बन्धन प्राप्त कलेजहरूमा भर्ना भई अध्ययन गर्न चाहने आवेदकहरूले अनिवार्यरूपमा इन्जिनियरिङ अध्ययन संस्थानले सञ्चालन गरेको प्रवेश–परीक्षा दिई विद्यापरिषदले तोके अनुसार न्यूनतम् अंकभार तथा मापदण्ड पूरा गरी प्रबेश परीक्षामा सफल भएको हुनुपर्नेछ ।

ईतिहास[सम्पादन गर्ने]

वि.सं. १९८७ साल फाल्गुन १९ गते उद्घाटन भएर काठमाडौंको वसन्तपुर, (हाल नवआदर्श माध्यमिक विद्यालय रहेको ठाउँ) मा एउटा टेक्निकल स्कूल संचालनमा थियो । सो स्कूलमा प्रारम्भमा टेक्सटायल सम्बन्धि प्रशिक्षण प्रदान गर्न शुरु गरियो । वि.सं. १९९९ चैत्र १२ गते देखि एस.एल.सी. उत्तीर्ण विद्यार्थीहरूलाई भर्ना गरी २ वर्षे सिभिल इन्जिनियरिङ सब–ओभरसियरको प्रशिक्षण दिने काम प्रारम्भ भयो । उक्त स्कूललाई वि.सं. २००२ सालमा त्रि–चन्द्र क्याम्पस हातामा सारिएको थियो । वि.सं. २००७ सालमा उक्त टेक्निकल स्कूललाई इन्जिनियरिङ स्कूलमा परिणत गरियो । सो स्कूलमा वि.सं. २०११ सालदेखि सिभिल इन्जिनियरिङ कार्यक्रममा २ वर्षे ओभरसियर कार्यक्रम सुरु भयो । सो कार्यक्रम अन्तर्गत एक वर्ष मात्र प्रशिक्षण लिएको खण्डमा सब–ओभरसियर हुने प्रावधान थियो ।

तर, दुईवर्षे ओभरसियर कार्यक्रमको प्रशिक्षण पहिलो बर्ष सकिए पछि दोस्रो वर्ष सुरु नहँुदै बन्द भयो । यसरी बन्द भएको कार्यक्रम वि.सं. २०१५ सालदेखि नियमित भर्ना गरी पूनः संचालनमा ल्याइयो । यो कार्यक्रममा वि.सं. २०११ सालमा कार्यक्रम बन्दभई एक वर्षको प्रशिक्षण मात्र पूरा गरी बसेका विद्यार्थीहरूलाई समेत दोस्रो वर्षदेखिको पाठ्यांशमा भर्ना लिएर वि.सं. २०१६ सालमा सिभिल ओभरसियरको पहिलो समूहको उत्पादन भयो । त्यसको एक वर्षपछि यस स्कूललाई जावलाखेल, ललितपुर (हाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान रहेको ठाउँ) मा सारियो । वि.सं. २०२३ सालमा इन्जिनियरिङ स्कूलको नामाकरण नेपाल इन्जिनियरिङ इन्स्टिच्युट भयो । यसै साल उक्त संस्था जावलाखेलबाट पुल्चोकस्थीत आनन्द निकेतनको हातामा सारियो र २ वर्षको ओभरसियरको अध्ययन अवधिलाई ३ वर्ष गरियो । वि.सं. २०२८ साल देखि सिभिल इन्जिनियरिङ कार्यक्रमका अतिरिक्त इलेक्ट्रिकल इन्जिनियरिङ कार्यक्रम सुरु गरियो भने ३ वर्षे कार्यक्रमको अवधिलाई पुनः २ वर्षे गरियो ।

यस क्याम्पस अन्तर्गत वि.सं. २०२८ देखि वि.सं. २०३२ सालसम्म, इलेक्ट्रिकल, ब्रिकलेइङ, कार्पेन्ट्री र प्लम्बिङ विषयमा क्रमशः ९ महिना, १२ महिना र १५ महिना अवधिका कालिगढ तालिमहरू पनि सञ्चालन गरिएका थिए ।

नयाँ शिक्षा योजना सुरु भएपछि नेपाल इन्जिनियरिङ इन्स्टिच्युट तथा थापाथलीमा बि.स. २०१९ सालमा स्थापित टेक्निकल ट्रेनिङ इन्स्टिच्युट लाई एकिकृत गरी वि.सं. २०२९ सालमा इन्जिनियरिङ अध्ययन संस्थानको गठन भयो ।

कुल रत्न तुलाधर इन्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयको प्रथम डिन बने।

इ.अ.सं. अन्तर्गतका आंगिक क्याम्पस[सम्पादन गर्ने]

यस अध्ययन संस्थान अन्तरगत नेपाल इन्जिनियरिङ इन्स्टिच्युट को स्थापना भएको पुल्चोकस्थीत आनन्द निकेतनको हातामा केन्द्रीय क्याम्पस, पुल्चोक रहेको छ । यस क्याम्पसमा वि.सं. २०३० सालदेखि आर्किटेक्चर, वि.सं. २०३२ सालमा रेडियो इलेक्ट्रोनिक्स र वि.सं. २०३३ सालमा रेफ्रिजेरेसन एन्ड एयरकन्डिसनिङ इन्जिनियरिङ कार्यक्रमको प्रमाण–पत्र तहको अध्ययन अध्यापन कार्य शुरु गरिएको हो । सिभिल इन्जिनियरिङ स्नातक तहको कार्यक्रम २०४१ देखि नियमित रुपमा सुरु भई हाल आर्किटेक्चर, मेकानिकल, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल कार्यक्रमहरूमा स्नातक तह (बी.ई./बी.आर्क.) समेत सञ्चालन भइसकेका छन् । यस क्याम्पसमा सिभिल कार्यक्रमको अतिरिक्त वि.सं. २०५१ सालदेखि इलेक्ट्रिकलइलेक्ट्रोनिक्स, वि.सं. २०५२ सालदेखि मेकानिकल र आर्किटेक्चर र वि.सं. २०५५ सालदेखि कम्प्युटर इन्जिनियरिङ कार्यक्रममा स्नातक तहको पठन–पाठन शुरु भएका छन् ।

हाल उक्त बिधाहरुमा स्नातकोत्तर तथा बिद्याबारिधि कार्यक्रमहरु पनि सञ्चालन हुदै आएको छ । इ.अ.सं., केन्द्रीय क्याम्पस, पुल्चोकमा स्नातकोत्तर (M.Sc.) तहका कार्यक्रमहरू सञ्चालन गर्दै लैजाने उद्देश्यअनुरूप वि.सं. २०५३ सालदेखि आर्किटेक्चर विभाग अन्तर्गत Urban Planning र सिभिल विभागअन्तर्गत Structural Engineering, वि.सं. २०५४ सालदेखि Environmental Engineering तथा वि.सं.२०५६ सालदेखि Water Resources Engineering,वि.सं. २०५८ सालदेखि Renewal Energy Engineering, Information & Communication Engineering र Power System Engineering, वि.सं. २०५९ सालदेखि Geo-Technical Engineering र वि.सं. २०६५ सालदेखि Sustainable Water Sanitation, Health & Development विषयमा स्नातकोत्तर (M.Sc.) तहको अध्यापन कार्य शुरु गरिएको हो । २०६६ साल देखी Master of Science in Technology and Innovation Management कार्यक्रम,२०६७ साल देखि Transportation Engineering कार्यक्रम तथा वि.स. २०६८ साल देखि Disaster Risk Management तथा बि.सं.२०६९ देखि Energy System Planning र Computer System & Knowledge Engineering कार्यक्रमहरु सुरु गरिएका छन् । वि.सं. २०५४ सालदेखि शुरु गरिएको विद्यावारिधि (Ph.D) कार्यक्रमको दोश्रो समुहको भर्ना वि.स. २०५९ मा गरियो र यस कार्यक्रमलाई वि.स. २०६७ साल देखि निरन्तरता दिईएको छ ।

यस शिक्षण संस्थाको भौतिक र प्राविधिक विकासमा विभिन्न चरणमा विभिन्न मित्र राष्ट्रहरू भारत, संयुक्त अधिराज्य, नर्वे, लगायत विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरू जस्तैः विश्व बैङ्क, अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO), तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम आदिको सहयोग प्राप्त भएको छ । विश्व बैंकको ऋण–सहयोग, स्विस महासंघ र क्यानाडाली सरकारको अनुदान सहयोगमा स्नातक तथा स्नातकोत्तर कार्यक्रमहरु शुरु गर्न सहयोग पुगेको हो ।

केन्द्रीय क्याम्पस, पुल्चोकमा स्नातक (बी.ई/बी.आर्क.) र सोभन्दा माथिल्ला तहका कार्यक्रमहरू मात्र सञ्चालन गर्ने उद्देश्यले केन्द्रीय क्याम्पस, पुल्चोकमा रहेका डिप्लोमा तहका कार्यक्रमहरू चरणबद्धरूपमा इन्जिनियरिङ अध्ययन संस्थानका अन्य आंगिक क्याम्पसहरूमा स्थानान्तरण गर्दै लैजाने क्रममा वि.सं. २०५२ सालदेखि रेफ्रिजेरेसन एन्ड एयर कन्डिसनिङ कार्यक्रम पूर्वाञ्चल क्याम्पस धरानमा, वि.सं. २०५३ सालदेखि इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स कार्यक्रम पश्चिमाञ्चल क्याम्पस पोखरामा, वि.सं. २०५४ सालदेखि आर्किटेक्चर कार्यक्रम थापाथली क्याम्पस, काठमाडौंमा र वि.सं. २०५५ सालदेखि सिभिल कार्यक्रमलाई पनि थापाथली क्याम्पस, काठमाडौंमा स्थानान्तरण गरिएको थियो ।

देश विकासका लागि मध्यम तहको इन्जिनियरिङ क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्ने मूल उद्देश्यबाट मित्रराष्ट्र जर्मनी सरकारको सहयोगमा वि.सं. २०१९ सालमा टेक्निकल ट्रेनिङ इन्स्टिच्युट प्रोजेक्टको स्थापना भयो । काठमाडौंको थापाथलीमा स्थापित उक्त टेक्निकल ट्रेनिङ इन्स्टिच्युटमा २०२२–२०२४ सालमा दश कक्षा उत्तीर्ण गरेकालाई भर्ना लिई इलेक्ट्रिकल, मेकानिकल र अटोमोबाइल इन्जिनियरिङ कार्यक्रमहरूमा ३ वर्षे अवधिको प्रशिक्षण प्रदान गरियो । उपर्युक्त तीनै विषयमा २०२३ सालदेखि एस.एल.सी. उत्तीर्ण गरेकालाई भर्ना गरिएको थियो । आर्किटेक्चर ड्राफ्टिङ कार्यक्रमको तीनवर्षे कोर्ससमेत एक पटकका लागि सञ्चालन गरिएको थियो । २०२३ सालदेखि २०३० सालसम्म उपर्युक्त बमोजिम तीन वर्षे नियमित कार्यक्रम सञ्चालन भयो । यस अतिरिक्त वि.सं. २०२७, २०२९, २०३० र २०३१ सालमा दश कक्षा उत्तीर्ण गरेकालाई भर्ना लिई दुई वर्ष अवधिको प्रशिक्षण पनि गरियो । यो इन्स्टिच्युट वि.सं. २०२९ सालदेखि त्रि.वि. र्ईन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको थापाथली क्याम्पसको नामले सञ्चालन भइरहेको छ । इलेक्ट्रिकल इन्जिनियरिङ कार्यक्रमको पठन–पाठन केन्द्रीय क्याम्पस, पुल्चोकमा सुरु गरिएको हुनाले २०३३ सालपछि यस क्याम्पसमा उक्त कार्यक्रमको पठन–पाठन चालू गरिएन । २०३१ सालदेखि २०४२ सालसम्म उपर्युक्त नियमित तीन वर्षे कोर्सलाई २ वर्षे गरियो । तत्पश्चात् २०४३ सालदेखि अटुटरूपमा यस क्याम्पसमा मेकानिकल र अटोमोबाइल कार्यक्रममा डिप्लोमा तहका तीनवर्षे कार्यक्रमहरू सञ्चालन भइरहेका छन् र केन्द्रीय क्याम्पस, पुल्चोकमा सञ्चालन गरिदै आएको आर्किटेक्चर र सिभिल कार्यक्रम क्रमशः २०५४ र २०५५ देखि यस क्याम्पसमा स्थानान्तरण गरिएका थिए। २०५७ सालदेखि सिभिल इन्जिनियरिङ र आर्किटेक्चर कार्यक्रमहरूमा डिप्लोमा तहका पूर्णशुल्कीय कार्यक्रम सञ्चालन गरिएका थिए । साथै २०५९ सालदेखि कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषयमा पनि डिप्लोमा तहका नियमित तथा पूर्णशुल्कीय कार्यक्रम सञ्चालन गरिएको थियो । यस क्याम्पसमा वि.स. २०६२ सालदेखि बी.ई. (स्नातक तह) इन्ड्रस्ट्रियल इन्जिनियरिङको कार्यक्रम सञ्चालन गरिएको छ । वि.सं.२०६६ साल देखि बी.ई. सिभिल इन्जिनियरिंङ तथा वि.सं.२०६७ साल देखि कम्प्यूटर डिप्लोमा कार्यक्रमलाई स्तर बृद्धि गरी बी.ई. इलेक्ट्रोनिक्स तथा कम्यूनिकेशन कार्यक्रम संचालित छन् । वि.सं. २०६८ सालदेखि वि.ई. मेकानिकल इन्जिनियरिंङ कार्यक्रम पनि संचालनमा रहेको छ । डिप्लोमा कार्यक्रमहरुलाई स्तरोन्नति गर्ने सिलसिलामा २०६८ सालदेखि इलेक्ट्रोनिक्स डिप्लोमा बन्द गरिएको थियो भनें २०६९ सालदेखि आर्किटेक्चर र सिभिल इन्जिनियरिंग कार्यक्रमको डिप्लोमा तह पनि बन्द गरिएको छ । २०७१ साल देखि स्नातक तहमा आर्किटेक्चर बिषयको कार्यक्रम थप भएको छ ।

  • पूर्वाञ्चल क्याम्पस, धरान, सुनसरी

औद्योगिक र भौतिक विकासका लागि अति नै आवश्यक पर्ने इन्जिनियरिङ क्षेत्रका निम्न तथा मध्यम तहको दक्ष प्राविधिक जनशक्तिको उत्पादन गरी मुलुकको सर्वाङ्गीण विकासमा सघाउ पु¥याउने उद्देश्यले वि.सं. २०३४ पौषमा पूर्वाञ्चल क्षेत्रको तीनकुने, धरानमा इन्जिनियरिङ क्षेत्रको प्राविधिक क्याम्पसको स्थापनार्थ एसियाली विकास बैंकसँग ऋण सहयोग सम्झौतामा हस्ताक्षर भयो । सँगसँगै उपर्युक्त क्याम्पस स्थापनाका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन संयुक्त अधिराज्य सरकारसँग वि.सं. २०३५ साल श्रावणमा अर्को सम्झौता सम्पन्न भयो । उक्त सम्झौताहरूको आधारमा इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत यस क्याम्पसको निर्माण लगायतका सम्पूर्ण कार्य २०४३ सालमा सम्पन्न भयो । वि.सं. २०४३ साल देखि यस क्याम्पसले इन्जिनियरिङ डिप्लोमा तहमा सिभिल मेकानिकल, इलेक्ट्रिकल लगायत कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो । २०५६ सालदेखि डिप्लोमा तहका सिभिल र इलेक्ट्रिकल इन्जिनियरिङ विषयहरूमा पूर्णशुल्कीय कार्यक्रमहरू सञ्चालन गरिएका हुन् । सुरुदेखि नै संचालनमा आएको मेकानिकल, २०५२ सालदेखि शुरु भएको रेफ्रिजेरेसन एन्ड एयरकन्डिसनिङ, २०५९ सालदेखि संचालित कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषयहरुका डिप्लोमा तहका नियमित तथा पूर्णशुल्कीय कार्यक्रमहरुलाई बन्द गरी वि.सं. २०६९ देखि मेकानिकल, इलेक्ट्रोनिक्स एण्ड कम्यूनिकेशन इन्जिनियरिङ तथा कम्प्युटर इन्जिनियरिङ कार्यक्रममा स्नातक तहको पठन पाठन शुरु गरिएको छ । २०५७ सालदेखि नै स्नातक (बी.ई.) एग्रिकल्चर इन्जिनियरिङ कार्यक्रममा कक्षा सञ्चालन भै रहेको यस क्याम्पसमा २०६१ सालदेखि सिभिल इन्जिनियरिङ कार्यक्रममा स्नातक (बी.ई.) को कक्षा पनि सञ्चालनमा रहेकोे छ । नेपाल सरकारबाट यो क्याम्पस वि.सं. २०४५।११।१२ देखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत राखिएको थियो । २०४७।२।१५ देखि पुनः त्रि.वि. र्ईन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पूर्वाञ्चल क्याम्पसका रूपमा सञ्चालन भइरहेको छ । क्याम्पस स्थापना देखि संचालन गरिएका इन्जिनियरिङसँग सम्बन्धित विभिन्न विषयका ट्रेड कोर्सहरू अहिले बन्द भएका छन् । २०७१ साल देखि स्नातक तहमा इलेक्ट्रीकल बिषयको कार्यक्रम थप भएको छ ।

  • पश्चिमाञ्चल क्याम्पस, पोखरा, कास्की

वि.सं. २०३८ सालमा प्राविधिक शिक्षाको विकासलाई मुलुकको विभिन्न भागमा पु¥याई राष्ट्रिय विकासका लागि आवश्यक दक्ष जनशक्ति बढी भन्दा बढी उत्पादन गर्दै जाने उद्देश्यले पश्चिमाञ्चल विकास क्षेत्रको पोखरा, लामाचौरमा इन्जिनियरिङ क्याम्पस स्थापना गर्न विश्व बैंकसँग ऋण सम्झौता गरियो । सो ऋण सम्झौता अन्तर्गत क्याम्पस सञ्चालन गर्ने परियोजनामा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमबाट अन्तर्राष्ट्रिय श्रम–सङ्गठनले प्राविधिक सहायता उपलब्ध गराएको थियो । वि.सं. २०४४ साल देखि यस क्याम्पसमा कालिगढ तालिम र बिभिन्न इन्जिनियरिङ बिधामा डिप्लोमा तहका कार्यक्रमहरू सञ्चालन गरिएका थिए । हाल कालिगढ प्रशिक्षणको नियमित कार्यक्रम बन्द भएको छ । वि.सं. २०५३ सालदेखि अटोमोबाइल र इलेक्ट्रोनिक्स विषयमा डिप्लोमा कार्यक्रमहरू सञ्चालन हुँदै आएको यस क्याम्पसमा २०५५ सालदेखि सिभिल इन्जिनियरिङ र २०५६ सालदेखि इलेक्ट्रिकल इन्जिनियरिङ डिप्लोमा तहका कार्यक्रमहरूमा पूर्णशुल्कीय कार्यक्रमहरू सञ्चालन गरिएका थिए । इन्जिनियरिङ डिप्लोमा तहमा वि.सं. २०४४ सालदेखि सिभिल, इलेक्ट्रिकल र मेकानिकल कार्यक्रमको पठन–पाठन सञ्चालन भइरहेकोमा स्तरोन्नति गर्ने सिलसिलामा डिप्लोमा तहको इलेक्ट्रिकल र ईलेक्ट्रोनिक्स कार्यक्रमलाई शैक्षिक वर्ष २०६२ सालदेखि बी.ई.(स्नातक तह) इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङको नियमित तथा पूर्णशुल्कीय कार्यक्रम तथा २०६७ साल देखि बी.ई. इलेक्ट्रिकल कार्यक्रमले प्रतिस्थापन गरेको छ । वि.सं. २०५६ सालदेखि सिभिल इन्जिनियरिङ कार्यक्रमको स्नातक तहमा नियमित तथा पूर्णशुल्कीय कार्यक्रम सञ्चालन गरिएको छ । २०५९ सालदेखि संचालित कम्प्युटर इन्जिनियरिङ कार्यक्रमको डिप्लोमा तहको नियमित तथा पूर्णशुल्कीय कार्यक्रम पनि बन्द गरिएको छ । वि.सं. २०६९ देखि यस क्याम्पसमा स्नातक तहमा सिभिल, इलेक्ट्रीकल, इलेक्टोनिक्स एण्ड कम्यनिकेशन, मेकानिकल , कम्यूटर तथा जियोमेटिक्स कार्यक्रमहरुमा पठन पाठन सञ्चालन भैरहेका छन् ।

त्रि.वि.बाट सम्बन्धन प्राप्त कलेजहरू[सम्पादन गर्ने]

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन–प्राप्त कलेजहरूमा भर्ना हुनका लागि समेत इन्जिनियरिङ अध्ययन संस्थानद्वारा सञ्चालित प्रवेश–परीक्षा उत्तीर्ण हुन अनिवार्य छ । साथै सम्बन्धन–प्राप्त कलेजहरूले कुल भर्ना संख्याको १० % स्थानमा भर्ना लक्ष्य नवढाई इ.अ.सं.को नियमित सरहको शुल्क लिई भर्ना गर्नुपर्ने प्रावधान रहेको छ ।

  • काठमाडौं इन्जिनियरिङ कलेज
  • कान्तिपुर इन्जिनियरिङ कलेज
  • एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड मेनेजमेन्ट
  • हिमालय कलेज अफ इन्जिनियरिङ
  • नेशनल कलेज अफ इन्जिनियरिङ
  • जनकपुर इन्जिनियरिङ कलेज
  • काठफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट
  • ख्वप कलेज अफ इन्जिनियरिङ
  • सगरमाथा इन्जिनियरिङ कलेज
  • ललितपुर इन्जिनियरिङ कलेज

यी पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]