इराकी शरणार्थी

इराकी शरणार्थी (अरबी: لاجئون عراقيون) युद्ध वा उत्पीडनका कारण आफ्नो देश छोड्न बाध्य बनेका इराकी नागरिकहरू हुन्। विगतका तीन दशकहरूमा इराक छोडेर अन्य देशमा शरण लिन पुगेका आप्रवासीलहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको देखिन्छ। यस आप्रवासनको प्रमुख कारणहरूमा; इराक युद्ध, कुर्द विद्रोह, इरान-इराक युद्ध (सन् १९८०-१९८८), इराकद्वारा कुवेतमा आक्रमण (सन् १९९०), खाडी युद्ध (सन् १९९१), इराकमाथि विभिन्न समयमा लगाइएको प्रतिबन्ध र संयुक्त राज्य अमेरिकाद्वारा गरिएको आक्रमणहरू समावेश छन्, जसका कारण लाखौं मानिसहरू इराक छोड्न बाध्य भएका थिए। अन्य आप्रवासीहरू भन्दा फरक, इराकीहरू शरण शिविरको सट्टा विभिन्न देशका सहरी क्षेत्रमा बसोबास गर्दै आइरहेका छन्।[१]
सन् २००७ अप्रिलमा प्रकाशित एक तथ्याङ्क अनुसार विश्वभर ४० लाख इराकी शरणार्थी रहेको, जसमा १९ लाख मानिसहरू आफ्नो बासस्थान छाडेर विस्थापित भई देशभित्र अन्य विभिन्न क्षेत्रहरूमा बसोबास गरेका, २० लाख मध्यपूर्वका विभिन्न छिमेकी देशहरूमा र लगभग २ लाख जति मानिसहरू मध्यपूर्व बाहिर विभिन्न देशहरूमा शरण लिएका थिए।[२][३][४][५][६] संयुक्त राष्ट्र शरणार्थी उच्च आयोगको कार्यालयले इराकी शरणार्थीहरूलाई मानवीय सहायता प्रदान गरेको थियो। इराकबाट विस्थापित भएका नागरिकहरूको सङ्ख्या मध्यपूर्वमा सबैभन्दा बढी रहेको जुन सन् १९४८ मा इजरायलको स्थापना पछि विस्थापित प्यालेस्टिनी नागरिकहरूको सङ्ख्याभन्दा पनि बढी हो।[५][७]
सन् २०२४ सम्म आइपुग्दा इराकमा राजनीतिक रूपमा स्थिर रहेको भएतापनि यसले हालसम्म महत्वपूर्ण मानवीय सहायता, विकास सम्बन्धी आवश्यकताहरू र सुरक्षा चुनौतीहरू भोगिरहेको छ। देशमा लगभग १४ लाख ४० हजार आन्तरिक रूपमा विस्थापित नागरिकहरू रहेको र अन्य ५० लाख मानिसहरू आफ्नो प्रारम्भिक बासस्थानमा फर्किएका थिए। सन् २०२४ मा, संयुक्त राष्ट्र शरणार्थी उच्च आयोगले आपतकालीन प्रतिक्रिया मार्फत दीर्घकालीन विकास दृष्टिकोणलाई सुदृढ बनाउन, दिगो समाधानहरूमा जोड दिँदै राष्ट्रिय प्रणालीहरूलाई सुदृढ पार्न र बाल संरक्षण जस्ता आवश्यक सेवा र लैङ्गिक हिंसाविरुद्ध सहायता प्रदान गर्नमा केन्द्रित छ।[८]
आप्रवासनका कारणहरू
[सम्पादन गर्नुहोस्]खाडी युद्ध
[सम्पादन गर्नुहोस्]सन् १९९० को अगस्ट २ मा इराकले कुवेतमाथि आक्रमण गरेको थियो। सन् १९९१ को खाडी युद्धको फलस्वरूप लगभग ३० लाख मानिसहरू विस्थापित हुन पुगेका थिए जसमध्ये अधिकांश इराकी नागरिकहरू थिए। उनीहरू मध्ये धेरै जसो नागरिकहरूले युद्ध सुरु हुनु अघि वा अपरेसन डेजर्ट स्टोर्म पश्चात् इराक वा कुवेत छाडेका थिए। प्यालेस्टिनीहरू बाहेक भाग्नेहरूमा कुर्द र शिया समुदायका मानिसहरू थिए जो सद्दाम हुसेन विरुद्ध असफल जनविद्रोहपछि इराकबाट भागेका थिए। यस युद्धबाट प्रभावित दोस्रो सबैभन्दा ठूलो जातीय समूह प्यालेस्टिनीहरू थिए जो खाडी युद्धको कारण विस्थापित हुँदै ३ लाखले जोर्डनमा शरण लिएका थिए। यसको अतिरिक्त अधिकांश शिया समुदायका इराकीहरू शरण लिन साउदी अरब पुगेका थिए जसको जनसङ्ख्या लगभग ३७ हजार थियो भने लगभग १ लाख इराकीहरू जोर्डन र सिरियामा शरण लिन पुगेका थिए।
इराकको कुल जनसङ्ख्याको ५५ प्रतिशत शिया भएतापनि उनीहरूलाई सुन्नी अरबद्वारा सरकारबाट बाहिर निकालिएको थियो। सन् १९९१ को मार्चमा शिया समुदायले इराकमा असफल घेराबन्दी आन्दोलन गरेका थिए। मार्चको मध्यतिर सद्दाम हुसेनले शिया बस्ती रहेको दक्षिणी क्षेत्रमा पुनः आफ्नो नियन्त्रण कायम गरी आफ्ना काकाका छोरा अली हसन मजिदको सहायतामा त्यहाँ नरसंहार र बम विस्फोट गरी थुप्रै मस्जिद र घरहरू नष्ट गरेका थिए। सन् १९९१ को मार्च र सेप्टेम्बरको बीचमा हिंसाका कारण दक्षिणमा करिब २ लाख मानिसको मृत्यु हुन पुग्छ र सन् २००३ मा ५ लाख ३० हजार इराकीहरूले इरानमा शरण लिन पुग्छन्।
अन्तर्राष्ट्रिय सहायता
[सम्पादन गर्नुहोस्]सन् २००७ अप्रिल १७ का दिन इराकी आप्रवासी सङ्कटसम्बन्धी विषयमा स्विट्जरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय स्तरको बैठक आयोजना गरिएको थियो। त्यहाँ ह्युमन राइट्स वाचको प्रतिनिधि टोली, संयुक्त राज्य अमेरिकाको अन्डर सेक्रेटरी अफ स्टेट पोला डोबरिन्स्की, संयुक्त राष्ट्रसङ्घको आप्रवासी मामिलाहरूको उच्चायुक्त र अन्य ६० भन्दा बढी गैरसरकारी संस्थाका प्रतिनिधिहरू उपस्थित थिए।[९] सन् २००७ जुलाई २९ मा विश्व स्वास्थ्य सङ्गठनले सिरियाको दमास्कसमा बैठक सुरु गरेको थियो। बैठकमा २० लाखभन्दा बढी इराकी आप्रवासीहरूको स्वास्थ्य सेवाको आवश्यकताबारे छलफल गरिएको थियो। बैठकमा विश्व स्वास्थ्य सङ्गठनसँगै रेडक्रस, रेडक्रिसेन्ट र संयुक्त राष्ट्रका विभिन्न संस्थाहरूले पनि भाग लिएका थिए।[१०]
इराकी शरणार्थीहरूलाई शरण दिने देशले उनीहरूका लागि स्वस्थ्य उपचार केन्द्र र स्वास्थ्य उपकरणमा खर्च गर्ने उद्देश्यका साथ सन् २००७ सेप्टेम्बर १८ का दिन विश्व खाद्य कार्यक्रम, संयुक्त राष्ट्र जनसङ्ख्या कोष, युनिसेफ, संयुक्त राष्ट्र शरणार्थी उच्च आयोग र विश्व स्वास्थ्य सङ्गठनले ८ करोड ४८ लाख अमेरिकी डलरको आर्थिक सहायताका लागि आह्वान गरेको थियो।[५] सन् २००७ मा जोर्डन, सिरिया, लेबनान, मिश्र, टर्की, संयुक्त राष्ट्रका विभिन्न आयोग र विभिन्न गैरसरकारी संस्थाहरूले इराकी शरणार्थीहरूलाई सहयोग गर्न ६ करोड अमेरिकी डलर आर्थिक सहायता प्राप्त गरेका थिए।[६] संयुक्त राष्ट्रिय स्वास्थ्य पहलको अंशको रूपमा २ करोड ७० लाख अमेरिकी डलर स्वास्थ्य सेवामा विनियोजन गरिएको थियो। सन् २००७ मा युरोपेली सङ्घले इराकी विस्थापितहरूलाई सहायता प्रदान गर्न ५ करोड अमेरिकी डलर र संयुक्त राज्य अमेरिकाले १ करोड ८० लाख अमेरिकी डलर दिन प्रतिबद्धता जनाएको थियो।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Lischer, Sarah Kenyon (Fall २००८), "Security and Displacement in Iraq: Responding to the Forced Migration Crisis", International Security 33 (2): 95–115, जेएसटिओआर 40207133, डिओआई:10.1162/isec.2008.33.2.95।
- ↑ Chatty, Dawn (डिसेम्बर २०१०), "Iraq Refugees: Seeking Safety", The World Today 68 (12): 22–23, जेएसटिओआर 41963034।
- ↑ "Iraq refugees chased from home, struggle to cope", CNN.com, मूलबाट अक्टोबर २८, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर २०, २०१४।
- ↑ "Statistics on displaced iraqis around the world", United Nations High Committee for Refugees, मूलबाट जुन २, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १०, २०१४।
- 1 2 3 Fagan, P.W (२००९), "Iraqi Refugees: Seeking Stability in Syria and Jordan", Institute for the Study of International Migration।
- 1 2 3 Mowafi, H; Spiegel, P (२००८), "The iraqi refugee crisis: Familiar problems and new challenges", Journal of the American Medical Association 299 (14): 1713–1715, डिओआई:10.1001/jama.299.14.1713, पिएमआइडी 18398084।
- ↑ Makbel, M (२००७), "Refugees in limbo: the plight of iraqis in bordering states", Middle East Report 244 (244): 10–17, जेएसटिओआर 25164797।
- ↑ "Iraq situation", Global Focus (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-०३-१७।
- ↑ Mite, Valentinas (२०१२-०२-०२), "UN Conference Focuses On Iraqi Displacement Crisis", Radio Free Europe/Radio Liberty (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०५-१०।
- ↑ "WHO opens conference in Syria on Iraqi refugee health needs", International Herald Tribune, २००७-०७-२९, मूलबाट २००८-१०-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-११-०६।