ईदको नमाज
| ईदको नमाज | |
|---|---|
बङ्गलादेशको शोलाकिया ईदगाहमा आयोजित ईदको नमाज | |
| आधिकारिक नाम | صلاة العيد |
| वैकल्पिक नाम | विदाको प्रार्थना |
| अनुयायी | मुसलमान |
| प्रकार | इस्लामी |
| महत्त्व | ईद अवसरमा वार्षिक रूपमा अल्लाहलाई अर्पण गरिने इस्लामी प्रार्थना |
| प्रारम्भ | दुहा |
| समापन | शिरोविन्दु - मध्याह्न |
| मिति | इस्लामी चन्द्र पात्रो अनुसार चक्रहरू |
| आवृत्ति | वार्षिक |
| सम्बन्धित | नमाज, शुक्रबारको नमाज, ईद उल फित्र, ईद उल अजहा |
ईदको नमाज जसलाई (सलातुल ईद (अरबी: صلاة العيد) वा सलातुल ईदाइन (अरबी: صلاة العيدين) पनि भनिन्छ, मुसलमानहरूले प्रायः आफ्ना दुई धार्मिक चाडपर्वका दिन पाठ गर्ने एक विशेष नमाज वा प्रार्थना हो। सामान्यतया यसलाई तोकिएको कुनै खुला स्थान (मुसल्लाह वा ईदगाह) वा घाँसे मैदानमा आयोजना गरिन्छ।[१]
सामान्यतया इस्लामिक चन्द्रमासिक पात्रो अनुसार दुईवटा मुख्य ईदहरू मनाइन्छन् जुन यस प्रकार छन्;
- ईद उल-फित्र;[२] 'सानो ईद' भनेर चिनिने ईद उल फित्र रमजानको अवधिको अन्त्य र नयाँ महिना शावलको स्वागतको अवसरमा मनाइने तीन दिन लामो इस्लामी उत्सव हो। विपन्न परिवारकाहरूले पनि यस पर्वलाई हर्षोल्लासका साथ मनाउन सकून् भन्ने उद्देश्यले आर्थिक रूपमा सक्षम मुसलमानहरूले गरिबहरूका लागि अनिवार्य दान वा जकात, विशेष गरी जकात अल-फित्रको (सामान्यतया प्रार्थना अर्पण गर्नु अघि) आयोजना गर्दछन्।
- ईद उल अजहा; जसलाई "ठूलो ईद", "बलिदानको ईद" वा बकरी ईद पनि भनिन्छ, जु अल-हिज्जाको १०औँ दिन मनाइन्छ।[३] (इस्लामिक चन्द्रमासिक पात्रोको अन्तिम महिना जसमा इस्लामको आधारभूत स्तम्भ हज, मक्का जाने यात्रा पूर्ति गरिन्छ) यो ईद इस्लाम धर्मको सबैभन्दा पवित्र दिन मानिने अराफाह दिवस पछि आउँछ र अल्लाहद्वारा परीक्षित हुँदा इब्राहीमको आज्ञापालन र विश्वासको स्मरणको रूपमा मनाइन्छ। आर्थिक रूपले सम्पन्न मुसलमानहरूले जनावरको (कुर्बानी) बलिदान गर्छन् जसको मासु साथी, परिवार र गरीबहरूबीच समान तीन भागमा दानका रूपमा वितरण गरिन्छ।[४] कुर्बानी दिन असमर्थ हुनेहरूले यसको धार्मिक परम्पराको पालना गर्न यसको सट्टा जकात दान गर्न सक्छन्।[५][६] यी कर्तव्यहरू सबै वयस्क मुसलमानहरूमा लागु हुन्छ। यस पर्वलाई ४ दिनसम्म मनाइन्छ।[७]
हाल अधिकांशले प्रयोग गर्ने इस्वी सम्वत् पात्रोको विपरीत चन्द्रमाको चरणको आधारमा गणना गरिने चन्द्रमासिक सम्वत् वा चन्द्रमास आधारित पात्रो अनुसार निर्णय हुने गरेकाले ईदको विदा प्रत्येक वर्ष बदलिरहन्छ र यसको कुनै निश्चित मिति हुँदैन। चन्द्रमासिक पात्रो इस्वी पात्रोभन्दा लगभग ११ दिन छोटो हुने भएकाले समान मिति प्रत्येक वर्ष लगभग ११ दिन पछि सर्दछ। यो अन्य पर्वहरू जस्तै; चिनियाँ नववर्ष र रोश हशनाका लागि पनि लागु हुन्छ जुन चन्द्रमासिक पात्रोमा आधारित छन्।[८] मिति सामान्यतया विश्वभरका स्थानहरूमा फरक पर्न सक्छ तर धेरै समुदायहरूले स्थायीत्वका लागि मक्कामा अर्धचन्द्रको दर्शन प्रतिवेदन अनुसार अनुसरण गर्ने निर्णय गर्छन्।[९]
स्थानीय नामहरू
[सम्पादन गर्नुहोस्]| क्षेत्र / देश | भाषा | स्थानीय नाम |
|---|---|---|
| अरब देश | अरबी | अरबी: صلاة العيد |
| इरान, अफगानिस्तान | फारसी | फारसी: نماز عيد |
| पाकिस्तान, भारत | उर्दु, हिन्दी, पञ्जाबी | उर्दु: نماز عيد, हिन्दी: ईद की नमाज़ |
| टर्की, अजरबैजान | तुर्केली, अजरबैजानी | Bayram namazı |
| बाल्कन प्रायद्वीप | सर्बी-क्रोएसियाली, बोस्नियाली | Bajram-namaz |
| बङ्गलादेश, पश्चिम बङ्गाल | बङ्गाली | बङ्गाली: ঈদের নামাজ |
| स्विडेन | स्विडेनी | Eidbön |
| इन्डोनेसिया | इन्डोनेसियाली, जाभानी | Salat Id |
| मलेसिया | मलय | Solat Sunat Hari Raya |
| इराकी कुर्दिस्तान | कुर्दी, सोरानी | نوێژی جێژن |
| तमिलनाडु | तमिल | பெருநாள் தொழுகை |
नमाज
[सम्पादन गर्नुहोस्]कुनै ठूलो समुदायको सहभागितामा (जसलाई जमात भनिन्छ) ईको नमाज पढ्नुपर्छ। ईदको नमाज प्रायः खुल्ला मैदान वा ईदगाहमा पढिने भएतापनि यस्तो ठाउँको अभावमा वा विषम परिस्थितिमा मस्जिदमा पनि ईदको नमाज पढ्न सकिन्छ। आफ्नो आँखाले हेर्दा सूर्य क्षितिजबाट करिब दुई हातको उचाइसम्म पुगेपछि ईदको नमाज पढ्न सुरु गरिन्छ। जुहर नमाज भन्दा पहिले नै ईदको नमाज पढिसक्नु पर्दछ। सुन्नत अनुसार ईद उल फित्रको नमाज केही ढिला गरि पढिन्छ भने ईद उल अजहाको नमाज चाँडो पाठ गरिसक्नु पर्दछ। ईदको बिहान पायक परेको खण्डमा फित्र (दान) दिनु सजिलो हुन्छ। अर्को तर्फ, ईद उल अजहामा ईदको नमाज पुरा गरिसकेपछि अल्लाहको निम्ति पशुवध गरिने हुँदा ईदको नमाज सकेसम्म छिटो सक्नु पर्ने हुन्छ। यस विषयमा हदिसमा स्पष्ट नियमहरू दिइएको छ।
ईदको नमाजमा अतिरिक्त छ वा बाह्र वटा (इस्लामी प्रार्थनका शब्द वा अभिव्यक्ति, सरलरूपमा भन्नुपर्दा मन्त्र) तकबीर हुन्छ। छ तकबीरको मामलामा पहिलो राकातको (कर्म) सुरुमा तीन अतिरिक्त तकबीर र दोस्रो राकातमा तीन अतिरिक्त तकबीर उच्चारण गर्नुपर्दछ। पहिलो राकातमा सना पाठ पछि कानसम्म हात उठाएर लगातार तीन पटक तकबीर भन्नुपर्छ। दोस्रो राकातमा सूरा पाठ पछि रुकुमा (नमाजमा निहुरिएर उपासना गर्ने क्रिया) जानु अघि तीन अतिरिक्त तकबीर भन्नुपर्दछ। बाह्र तकबीरको मामलामा पहिलो राकातको सुरुमा सात अतिरिक्त तकबीर र दोस्रो राकातको सुरुमा पाँच अतिरिक्त तकबीर गर्नुपर्छ। पहिलो राकातमा सना पाठपछि कानसम्म हात उठाएर लगातार सात पटक तकबीर भन्नुपर्छ। दोस्रो राकातमा सूरा पाठ सुरु हुनु अघि पाँच अतिरिक्त तकबीर भन्नुपर्छ।[१०]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Chitwood, Ken (३ जुन २०१९), "What is Eid al-Fitr and how do Muslims celebrate it? 6 questions answered", The Conversation (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१०-०३।
- ↑ "Search Results - Search Results - Seven five takbir (page 1) - Sunnah.com - Sayings and Teachings of Prophet Muhammad (صلى الله عليه و سلم)", sunnah.com, अन्तिम पहुँच २०२१-०५-१३।
- ↑ "What Is the Day of 'Arafah and Why Is it Important?", Zakat Foundation of America, अन्तिम पहुँच २०२१-१०-०३।
- ↑ "Eid al-Adha", History (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१०-०४।
- ↑ "Who is Qurbani Compulsory on?", International Learning Movement (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१०-०४।
- ↑ "Eid-ul-Fitr and Eid-ul-Adha – What is the Difference?", Muslim Aid (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१०-०४।
- ↑ "Obligations of Eid-ul-Adha", Daily Sun (अङ्ग्रेजीमा), जुलाई २०२१, अन्तिम पहुँच २०२१-१०-०४।
- ↑ "Lunar New Year: Why the solar calendar actually rules our lives", Big Think (अङ्ग्रेजीमा), २० फेब्रुअरी २०१८, अन्तिम पहुँच २०२१-१०-०५।
- ↑ "Celebrating Eid / Eid ul-Fitr in 2021", Muslim Aid (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१०-०५।
- ↑ মুসান্নাফ ইবনে আবী শাইবা হাদীস নং ৫৭৪৮,মুসান্নাফ আব্দুর রাজ্জাক হাদীস নং ৫৬৮৭