सामग्रीमा जानुहोस्

ईश्वर (हिन्दु दर्शन)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विष्णुशिव, 'ईश्वर' उपाधिका मुख्य वाहकहरू, आफ्ना अर्धाङ्गिनीहरू लक्ष्मीपार्वतीका साथ वाहनमा सवार हुँदाको चित्र जसको साथमा विनायक छन्

ईश्वर हिन्दु धर्मको एक अवधारणा हो जसका अर्थहरू हिन्दु धर्मका विभिन्न कालखण्ड र सम्प्रदायहरू अनुसार फरक-फरक पाइन्छन्।[] हिन्दु दर्शनका प्राचीन ग्रन्थहरूको सन्दर्भ अनुसार ईश्वर को अर्थ स्वामी, शासक, राजा, पति, रानी, आत्मा वा परम स्व (परमात्मा) हुन सक्छ।[] मध्यकालीन हिन्दु ग्रन्थहरूमा भने हिन्दु धर्मका सम्प्रदाय अनुसार ईश्वर भन्नाले भगवान, सर्वोच्च सत्ता, इष्टदेव वा विशेष आत्मा भन्ने बुझिन्छ। शैव धर्ममा, ईश्वर शिवको एक उपाधि हो।[][] वैष्णव धर्ममा, यो विष्णुको पर्यायवाची हो। परम्परागत भक्ति आन्दोलनहरूमा ईश्वर हिन्दु धर्मका धेरै देवीदेवताहरू मध्येबाट व्यक्तिको आफ्नो रोजाइको एक वा बढी देवता (इष्टदेवता) हुन सक्छन्। आर्य समाजब्रह्मवाद जस्ता आधुनिक सम्प्रदायहरूमा ईश्वरले एकेश्वरवादी भगवानको रूप लिन्छ।[] हिन्दु धर्मको योग दर्शनमा यसलाई कुनै पनि "इष्ट देवता" वा "आध्यात्मिक प्रेरणा" रूपमा लिइएको छ। अद्वैत वेदान्तमा ईश्वर ब्रह्मको सगुण रूप (सगुण ब्रह्म) हो।[]

व्युत्पत्ति

[सम्पादन गर्नुहोस्]

'ईश्वर' शब्दको मूल संस्कृत धातु ईश्बाट आएको हो जसको अर्थ "सक्षम हुनु" र "स्वामी, शासक वा प्रमुख" भन्ने हुन्छ।[] 'ईश्वर' शब्दको दोस्रो भाग वर हो जसको अर्थ सन्दर्भ अनुसार "उत्तम, उत्कृष्ट, सुन्दर", "छनोट, इच्छा, आशीर्वाद, वरदान, उपहार" र "वर वा प्रेमी" भन्ने हुन्छ।[] यसरी व्युत्पत्तिका आधारमा 'ईश्वर' को शाब्दिक अर्थ "उत्तम वा सुन्दरको स्वामी", "छनोट वा वरदानहरूको शासक" वा "प्रेमीहरूको प्रमुख" भन्ने लाग्दछ।

एउटा अवधारणाको रूपमा प्राचीन र मध्यकालीन संस्कृत ग्रन्थहरूमा 'ईश्वर' शब्दले शासक वा राजा, पति, भगवान्, सर्वोच्च सत्ता, परमात्मा, शिव, कामदेव, रुद्रहरू मध्ये एक र सङ्ख्या 'एघार' लाई जनाउँदछ।[][][]

'ईश्वर' शब्द ऋग्वेदमा नभेटिएपनि[] ऋग्वेदमा ईश्- धातुको प्रयोग भएको छ जहाँ यसको अर्थ "सक्षम वा समर्थ हुनु" भन्ने बुझिन्छ।[] यो शब्द सामवेदमा अनुपस्थित रहेको र अथर्ववेदमा यसलाई विरलै पाइन्छ तर यजुर्वेदका संहिताहरूमा यो शब्द देखा पर्दछ। प्राचीन भारतीय व्याकरणविद् पाणिनीका अनुसार त्यहाँ यसको सन्दर्भगत अर्थ न त भगवान् हो न त सर्वोच्च सत्ता नै।[]

'ईश्वर' शब्द धेरै प्राचीन धर्मसूत्रहरूमा पनि प्रयोग भएको छ। तर, त्यहाँ 'ईश्वर'को अर्थ भगवान् नभई वेद भन्ने हुन्छ।[१०] धर्मसूत्रहरूमा 'ईश्वर'को अर्को अर्थ राजा पनि हुन सक्छ जहाँ सन्दर्भले "सार्वजनिक महत्त्वका विषयमा धर्मसूत्रहरू ईश्वर (राजा) जत्तिकै महत्त्वपूर्ण छन्" भन्ने पुष्टि गर्दछ।[१०]

यो शब्द महेश्वर ("महान् ईश्वर") र परमेश्वर ("सर्वोच्च ईश्वर") जस्ता समस्त पदहरूमा विष्णुशिवका नामका रूपमा प्रयोग गरिन्छ। महायान बौद्ध धर्ममा यो "अवलोकितेश्वर" शब्दको अंशको रूपमा आउँछ जुन करुणाका लागि पुजिने एक बोधिसत्वको नाम हो। ईश्वरलाई स्त्रीलिङ्गी रूपमा सम्बोधन गर्दा विशेषगरी शाक्त धर्ममा, 'ईश्वरी' शब्दको प्रयोग गरिन्छ।[११]

अद्वैत वेदान्त सम्प्रदायमा ईश्वर एक अद्वैत ब्रह्माण्डीय परम् तत्व हो जसले सबैलाई जोड्दछ भने यो सबै कुरामा विद्यमान एकताको स्वरूप हो।[१२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 Monier Monier Williams, Sanskrit-English dictionary, Search for Izvara अभिलेखिकरण ४ अगस्ट २०१९ वेब्याक मेसिन, University of Cologne, Germany
  2. 1 2 "Monier-Williams Sanskrit-English Dictionary", IITS Koeln, पृ: १७१, मूलबाट ९ मार्च २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जनवरी २०२१
  3. 1 2 James Lochtefeld, "Ishvara", The Illustrated Encyclopedia of Hinduism, Vol. 1: A–M, Rosen Publishing. आइएसबिएन ०-८२३९-२२८७-१, page 306
  4. RK Pruthi (2004), Arya Samaj and Indian Civilization, आइएसबिएन ९७८-८१-७१४१-७८०-३, pages 5–6, 48–49
  5. Bahm, Archie J. (१९९२), The World's Living Religions (अङ्ग्रेजीमा), Jain Publishing Company, आइएसबिएन 978-0-87573-000-4
  6. Arthur Anthony Macdonell (2004), A Practical Sanskrit Dictionary, Motilal Banarsidass, आइएसबिएन ९७८-८१-२०८-२०००-५, page 47
  7. Arthur Anthony Macdonell (2004), A Practical Sanskrit Dictionary, Motilal Banarsidass, आइएसबिएन ९७८-८१-२०८-२०००-५, page 270
  8. Apte Sanskrit-English dictionary, Search for Izvara अभिलेखिकरण ६ नोभेम्बर २०२२ वेब्याक मेसिन, University of Cologne, Germany
  9. 1 2 3 Madhav Deshpande (1991), Sense and Syntax in Vedic (Editors: Joel Brereton and Stephenie Jamison), Volumes 4–5, Brill, आइएसबिएन ९७८-९०-०४-०९३५६-०, pages 23–27
  10. 1 2 Patrick Olivelle (2006), Between the Empires : Society in India 300 BCE to 400 CE: Society in India, Oxford University Press, आइएसबिएन ९७८-०-१९-५३०५३२-६, page 176
  11. Roshen Dalal (२०१०), Hinduism: An Alphabetical Guide, Penguin Books, पृ: ३७६, आइएसबिएन 978-0-14-341421-6
  12. Lance Nelson (1996), Living liberation in Shankara and classical Advaita, in Living Liberation in Hindu Thought (Editors: Andrew O. Fort, Patricia Y. Mumme), State University of New York Press, आइएसबिएन ९७८-०-७९१४-२७०६-४, pages 38–39, 59 (footnote 105)