सामग्रीमा जानुहोस्

उग्रसेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उग्रसेन
मथुरा तथा यादवहरूका राजा[]
धर्मग्रन्थहरूमहाभारत
वंशावली
अभिभावकहरू
  • आहुक (पिता)
सन्तानहरूकंश
वंशयदुवंश
बलरामकृष्णलाई मथुरामा राजा उग्रसेनको दरबारमा स्वागत गरिँदै

उग्रसेन हिन्दु धर्मग्रन्थ महाभारतमा उल्लेखित एक पात्र हुन्। यदुवंश कुलको वृष्णि जनजातिहरूद्वारा स्थापना गरिएको राज्य मथुराका राजा हुन्। उनका छोरा कंश, कृष्णकी आमा देवकीका दाजु (काकाका छोरा) हुन्। राजा उग्रसेनलाई उनकै छोरा कंशले पदच्युत गरेका हुन्छन् र कंशकी बहिनी देवकी र उनका श्रीमान वसुदेवका साथै उग्रसेनलाई पनि आजीवन कारावासको सजाय दिइएको हुन्छ। कृष्णले आफ्ना दुष्ट मामा कंशलाई पराजित गरेपछि उग्रसेनलाई पुन: मथुराको शासकको रूपमा अभिषेक गर्छन्।[]

सामान्यतया कंसलाई उग्रसेनको छोरा मानिएपनि भागवत र अन्य केही पौराणिक स्रोतहरूले कंसको वास्तविक जन्मका बारेमा एउटा भिन्न कथा उल्लेख गरेका छन् जसअनुसार कंस उग्रसेनकी पत्नी र द्रमिल नामक गन्धर्वको सन्तान हुन्। आफ्नो छोरा कंसको विपरित, उग्रसेनलाई एक कर्तव्यनिष्ठ र सक्षम शासकका साथै भगवान विष्णुका महान् भक्तको रूपमा वर्णन गरिएको छ। विष्णु पुराणका अनुसार मथुरा नगरी "उग्रसेनद्वारा कुशल ढङ्गले शासित थियो र त्यहाँका मानिसहरू सुखी र समृद्ध थिए"।[]

पुराणहरूका अनुसार, मथुरामा कृष्ण र बलरामको पराक्रम र उनीहरूको हत्याका लागि छाडिएका जङ्गली हात्तीहरूलाई कृष्ण र बलरामले मारेको थाहा पाएपछि कंस अत्यन्तै त्रसित र शङ्कालु बन्छन्। त्यसपछि उनले आफ्नै पितालाई मृत्युदण्ड दिने आदेश दिई पिताका हातखुट्टा बाँधेर कालिन्दी नदीमा फाल्ने आदेश दिएका हुन्छन्। यो र योसँग सम्बन्धित घटनाहरू कृष्णद्वारा आफ्नो मामा कंसको वध गरिनुको प्रमुख कारणहरू बनेका हुन्छन्।[]

मथुरामा भव्य स्वागत र सत्कारका साथ कृष्णले उग्रसेनलाई सम्मानपूर्वक व्यवहार गर्छन्[] कृष्णका पुत्र र उग्रसेनका पनाति साम्बले गर्भवती महिलाको भेष धारण गरी ऋषिहरूलाई बच्चाको लिङ्ग पत्ता लगाउन सोधेर उनीहरूको अपमान गर्छन्। ऋषिहरूले उनलाई एउटा फलामको मुसल (छड) जन्माउने श्राप दिन्छन् जुन उनको सम्पूर्ण कुलको विनाशको कारण बन्छ। यादवहरूले यो खबर उग्रसेनलाई सुनाएपछि उग्रसेनले सो मुसललाई धुलो पारेर समुन्द्रमा फाल्न लगाउँछन्। उनले आफ्नो राज्यमा मदिरा सेवनमा पनि प्रतिबन्ध लगाउँछन्। यस घटनाको केही समयपछि उनको मृत्यु भई स्वर्गवास पनि हुन्छ। उनी भूरिश्रवा, शल्य, उत्तर र उनका भाइ शङ्ख, वसुदेव, भूरी र कंससँगै स्वर्गमा देवताहरूको साथमा सामेल हुन्छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Ugrasena, Ugrasenā, Ugra-sena: 18 definitions", २९ जुन २०१२।
  2. www.wisdomlib.org (२०१९-०१-२८), "Story of Ugrasena", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०२
  3. www.wisdomlib.org (२०१४-०८-३०), "Ugrasena's coronation [Chapter XXI]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०२
  4. www.wisdomlib.org (२०१९-०१-२८), "Story of Kaṃsa", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०२
  5. www.wisdomlib.org (२०२०-११-१४), "Ugrasena Receives Krishna [Chapter 56]", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०२
  6. Encyclopaedic Dictionary of Puranas 1, Sarup & Sons, २००१, पृ: १३१५, आइएसबिएन 9788176252263, अन्तिम पहुँच २०१५-०६-२३