सामग्रीमा जानुहोस्

उच्चैःश्रवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उच्चैःश्रवा
सात टाउको भएको उच्चैःश्रवाको चित्रण गरिएको एक चित्र
वासस्थानस्वर्ग
धर्मग्रन्थहरूमहाभारत
रामायण

हिन्दु धर्ममा उच्चैःश्रवा (अनु.'लामो कान भएको वा ठूलो स्वरले हिनहिनाउने')[] सातवटा टाउको भएको एक उड्ने घोडा हो, जसको उत्पत्ति समुद्र मन्थनको क्रममा भएको थियो। यसलाई घोडाहरूको राजा र सर्वश्रेष्ठ नमूना मानिन्छ।[] उच्चैःश्रवालाई प्रायः इन्द्रको वाहन को रूपमा वर्णन गरिन्छ, तर कतै यसलाई असुरहरूका राजा बलिको घोडाको रूपमा पनि उल्लेख गरिएको छ। उच्चैःश्रवा हिउँ जस्तै सेतो रङ्गको हुने बताइन्छ।

महाभारत मा उल्लेख भएअनुसार उच्चैःश्रवाको उत्पत्ति समुद्र मन्थनबाट भएको थियो र स्वर्गका राजा इन्द्रले यसलाई समातेर आफ्नो वाहन बनाएका थिए। यो अश्व (घोडा) समुद्रबाट अन्य रत्नहरूसँगै बाहिर निस्किएको हुन्छ जसमा भाग्यकी देवी लक्ष्मी (जसले विष्णुलाई आफ्नो वरको रूपमा रोजिन्) र अमृत (जीवनको अमृत) पनि थिए।[] क्षीर सागरबाट उच्चैःश्रवा उत्पन्न भएको यो कथा विष्णु पुराण, रामायण, मत्स्य पुराण, वायु पुराण आदिमा पनि पाइन्छ। विभिन्न स्रोतहरूले समुद्र मन्थनबाट निस्किएका रत्नहरूको फरक-फरक सूची दिएतापनि, धेरैजसो स्रोतहरू उच्चैःश्रवा तीमध्ये एक थियो भन्ने कुरामा सहमत छन्।[][]

महाभारत मा ऋषि कश्यपका पत्नीहरू र दिदीबहिनीहरू—विनताकद्रु—बीच उच्चैःश्रवाको पुच्छरको रङ्गलाई लिएर भएको बाजीको पनि उल्लेख छ। गरुडअरुणकी आमा विनताले यो सेतो भएको दाबी गरिन् भने कद्रुले यो कालो भएको बताइन्। हार्ने व्यक्ति जित्नेको दास बन्नुपर्ने शर्त थियो। कद्रुले आफ्ना नाग छोराहरूलाई घोडाको पुच्छर ढाक्न र यसलाई कालो देखाउन लगाइन्, जसले गर्दा कद्रुले बाजी जित्छिन्।[][]

समुद्र मन्थनका अन्य रत्नहरूसँगै सात टाउको भएको पखेटासहितको उच्चैःश्रवा।

भगवान् कृष्णले अर्जुनलाई दिएको उपदेश भगवद गीता (१०.२७, जुन महाभारतको अंश हो) मा पनि उच्चैःश्रवाको उल्लेख गरिएको छ।[]

विष्णु पुराण

[सम्पादन गर्नुहोस्]

विष्णु पुराण का अनुसार जब पृथुलाई पृथ्वीको पहिलो राजाको रूपमा अभिषेक गरिन्छ तब अन्यलाई पनि शासनको जिम्मेवारी दिइएको हुन्छ। त्यसबेला उच्चैःश्रवालाई घोडाहरूको राजा बनाइन्छ।[]

गैर-धार्मिक कृतिहरू

[सम्पादन गर्नुहोस्]

बाह्रौँ शताब्दीको कृति हरिहरचतुरङ्ग का अनुसार, एकपटक सृष्टिकर्ता देवता ब्रह्माले एउटा यज्ञ अनुष्ठान गर्छन् जसबाट उच्चैःश्रवा नामक पखेटा भएको सेतो घोडा उत्पन्न हुन्छ। उच्चैःश्रवा पुनः ब्रह्माण्डको क्षीर सागरबाट प्रकट हुन्छ र यसलाई असुरहरूका राजा बलिले लिएर यसको प्रयोगबाट धेरै असम्भव कार्यहरू सम्पन्न गर्छन्।[]

कालिदासद्वारा रचित कुमारसम्भवम् मा वर्णन गरिएअनुसार घोडाहरूमा सर्वश्रेष्ठ र इन्द्रको महिमाको प्रतीक उच्चैःश्रवालाई असुर तारकासुरले स्वर्गबाट चोरी गरेका हुन्छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 Doniger, Wendy (२००४), Hindu Myths: A Sourcebook Translated from the Sanskrit (अङ्ग्रेजीमा), Penguin UK, आइएसबिएन 9780141903750
  2. 1 2 Mani, Vettam (१९७५), Puranic Encyclopaedia: A Comprehensive Dictionary With Special Reference to the Epic and Puranic Literature, Delhi: Motilal Banarsidass, पृ: ८००, आइएसबिएन 0-8426-0822-2
  3. 1 2 Beér, Robert (२००४), The encyclopedia of Tibetan symbols and motifs, Serindia Publications, Inc., पृ: 65, 109।
  4. Horace Hayman Wilson (१८४०), "The Vishnu Purana: Book I: Chapter IX", Sacred Texts Archive, मूलबाट ९ सेप्टेम्बर २००६-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुलाई २०१०
  5. Radhakrishnan, S. (जनवरी १९७७), "10.27", The Bhagavadgita, Blackie & Son (India) Ltd., पृ: २६४।
  6. Horace Hayman Wilson (१८४०), "Vishnu Purana: Book 1: Chapter XXII", Sacred Texts archive, मूलबाट ८ डिसेम्बर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुलाई २०१०
  7. Dikshitar, V. R. Ramachandra (१९९९), War in Ancient India, Cosmo Publications, पृ: १७५, आइएसबिएन 81-7020-894-7
  8. Devahar, C R, सम्पादक (१९९७), "2.47", Kumāra-Sambhava of Kālidāsa, Motilal Banarasidas Publishers, पृ: २५।