उडान अभिलेख यन्त्र
उडान अभिलेखक विमानमा उडानसम्बन्धी दुर्घटना र घटनाहरूको अनुसन्धान सहज बनाउनको लागि राखिने विद्युतीय अभिलेखन यन्त्र हो। यस यन्त्रलाई सामान्यतया "ब्ल्याक बक्स" भनेर जनसाधारणमा चिनिने गरिन्छ, यद्यपि यो नाम अहिले अप्रासंगिक भइसकेको छ। हाल यस्ता यन्त्रहरू उज्यालो सुन्तलामै (सङ्केतात्मक रातो) रङमा रंगाइने अनिवार्य गरिएको छ, जसबाट दुर्घटनापछि सजिलै फेला पार्न सकियोस्।
विमानमा प्रयोग गरिने उडान अभिलेखक यन्त्रहरू दुई प्रकारका हुन्छन्। पहिलो, उडान डेटा अभिलेखक (Flight Data Recorder - FDR) जसले विमान उडानका क्रममा प्रतिसेकेन्ड कैयौं पटक संकलित गरिएका दर्जनौं प्राविधिक सूचकहरू अभिलेख गरेर उडानको पछिल्लो इतिहास सुरक्षित राख्दछ। दोस्रो, ककपिट आवाज अभिलेखक (Cockpit Voice Recorder - CVR) जसले ककपिटमा भएका आवाजहरूको पछिल्लो इतिहास जस्तै: चालक दल (पाइलटहरू) बीचको संवाद, ककपिटका अन्य ध्वनिहरू र उपकरणहरूको आवाजहरू अभिलेख गरी सुरक्षित राख्दछ। यी दुई यन्त्रहरू कहिलेकाहीं एउटै यन्त्रमा संयोजन गरिएका पनि हुन्छन्। FDR र CVR दुवै मिलेर विमानको उडान इतिहासलाई वस्तुनिष्ठ रुपमा अभिलेख गर्छन्, जसले भविष्यमा कुनै पनि दुर्घटना वा घटनाको अनुसन्धानमा महत्वपूर्ण सहयोग पुर्याउन सक्छ।