उमा भुजेल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

उमा भुजेल गोरखा जेल तोड्ने महिलाहरूको कमाण्डर र पुनःबिहे गर्ने महिला सभासद्मध्ये एक हुनुहुन्छ। अन्तरिम व्यवस्थापिकामा समेत विधायक रहीसक्नुभएकी भुजेल माओवादी राज्य समिति सदस्य हुनुहुन्छ। सानैदेखि राजनीतिमा सहभागी भए पनि ०४८ देखि विद्यार्थी राजनीतिमा आबद्ध भएर राजनीतिमा होमिनुभएको थियो। उहाँ धेरै लामो समयसम्म कलाकार बन्नुभयो। गाउनुभयो। नाच्नुभयो। उहाँ ०५३मा माओवादी जिल्ला समिति सदस्य त्यसपछि उहाँ सचिव र इन्चार्ज समेत बन्नुभयो। उहाँ ०६०मा माओवादी केन्द्रीय सदस्यसमेत हुनुभयो। उहाँले कपिलवस्तु, अर्घाखाँची, गुल्मी, तनहु जिल्लामा जनयुद्धका क्रममा काम गर्नुभयो।

जनयुद्धको क्रममा उहाँले लामो समय सैन्य जीवन बिताउनुभयो। ०५२मा स्वयंसेवक दलदेखि उहाँ प्लाटुन कमाण्डर बृगेड कमिसार बन्नुभयो। उहाँले दुई दर्जनभन्दा बढी मोर्चामा लड्नुभयो। देउराली, कालिका र स्याङ्जा, तीनगिरेलगायतका थुप्रै मोर्चामा कमाण्डर भएरै लड्नुभयो। एक वर्ष जेल जीवन बिताउनुभयो। ०५७ चैत १७ गते उहाँको नेतृत्वमा महिलाहरूले जेल तोडेका थिए। आइएसम्मको औपचारिक अध्ययन गर्नुभएकी भुजेल गरीब किसान परिवारमा जन्मनुभएको थियो। जनयुद्धमै उहाँका श्रीमान् मारिएपछि वसन्तकुमार श्रेष्ठसँग पुनःबिहे गर्नुभएको छ। श्रेष्ठ पनि राज्य समिति सदस्य हुनुहुन्छ।

जनयुद्ध र जनआन्दोलनका जनादेशलाई संविधानको अन्तर्वस्तुमा मुखरित हुनेगरी राख्नु आफ्नो मुख्य एजेण्डा हुने बताउनुहुन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]