उर्वशी सूक्त
| उर्वशी सूक्त | |
|---|---|
नाटकको एक दृश्यमा एलिजा बुढाथोकी र अन्य कलाकारहरू (सुनगाभा न्यूज) | |
| लेखक | शिव सङ्कल्प |
| निदेशक | शिव सङ्कल्प |
| प्रदर्शन मिति | २०८० वैशाख १–११ |
| प्रदर्शन स्थान | पोखरा थिएटर (गन्धर्व नाटकघर) |
| विषय | वैदिक तथा पौराणिक कथा, शास्त्रीय छन्द, सङ्गीत तथा नृत्य |
| विधा | नाटक |
उर्वशी सूक्त पोखरा थिएटरमा २०८० वैशाखमा मञ्चित नाटक हो।[१] [२] नाटकको लेखन र निर्देशन शिव सङ्कल्पले गरेका थिए।[३] यो नाटक ऋग्वेदको उर्वशी–पुरूरवा संवाद सूक्त, अनेक पुराणहरू, तथा कालिदासको विक्रमोर्वशीयम् नाटकको कथानकमा आधारित थियो।[१]
नाटकमा नारी शक्तिलाई केन्द्रमा राख्दै शास्त्रीय सङ्गीत, नृत्य, छन्द, तथा सांस्कृतिक भेषभूषाको सम्मिश्रणमार्फत पूर्वीय र परम्परागत नाट्य शैली प्रस्तुत गरिएको थियो।[४] [५]
नाटकमा एलिजा बुढाथोकी, दिलप्रसाद गुरुङ, राजेन्द्र अधिकारी, रमेश बाबु, दिप्सना, रञ्जु, अनिशा, प्रियङ्का, रोशन लगायतको अभिनय थियो भने सङ्गीतमा मिलन गिरी, देवीन्द्र ढकाल विवेक र खेम लामाको प्रत्यक्ष प्रस्तुति थियो।[१][६] नाटकको मङ्गलाचरण विख्यात छन्द गायिका सरु गुरागाईँको स्वरमा स्वराङ्कन गरिएको थियो।[२]
कथासार
[सम्पादन गर्नुहोस्]नर र नारायण ऋषिको कठोर तपस्याले स्वर्गमा इन्द्रासन डगमगाउँछ। डराएका इन्द्रले नर र नारायणमाथि कामबाण प्रहार गराउन लाग्दा उनीहरूले इन्द्रको अहङ्कारनाश गर्न उर्वशी उत्पन्न गर्छन् । तर पछि इन्द्रले क्षमा मागेपछि उर्वशी अन्ततः इन्द्रकै स्वामित्वमा रहन्छिन् । स्वर्गमा रमाइरहेकी उर्वशी पृथ्वीका राजा पुरूरवाको वीरता र सौन्दर्यले मोहित हुन्छिन् र उनीहरूमध्ये गहिरो प्रेम बस्छ। तर प्रेमको मोह, दैवी नियम र परिस्थितिले उनलाई बारम्बार चुनौती दिन्छ। यसबीच केशी नामक दैत्यले द्वन्द्व र बाधा सिर्जना गर्छ। पुरूरवाले सबै बाधा पार गरेर उर्वशीसँग विवाह गर्छन् । तर एक रहस्यमय शर्तका कारण अन्ततः उर्वशी स्वर्ग फर्किन्छिन्, र पुरूरवा आफ्नो अप्सरासँगको प्रेमको विछोडपछि विक्षिप्त र शोकाकुल हुन्छन्। नाटकको अन्त्य अत्यन्त कारुणिक संवादले हुन्छ, जहाँ पुरूरवको मर्मस्पर्शी पीडा र मानवीय मोहको अभिव्यक्ति झल्किन्छ। नाटकको कथामा धर्म, अर्थ, काम र मोक्षको समन्वयका साथै दिशा र कालको रहस्य पनि सूक्ष्म रूपमा बुनिएको छ।[१]
मङ्गलाचरण
-शिव सङ्कल्प
पृथ्वीमा, जलमा तथा अनलमा, वायू र आकाशमा,
भानूमा, शशिमा, समस्त ग्रहमा, ब्रह्माण्डमा, जीवमा।
जस्को शक्ति बसेर गर्छ भवमा दिक्काल सञ्चालन
त्यस्ता श्रीपरमात्मका चरणमा गर्छू झुकी वन्दन।
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ १.३ उलक, सुनील (सोमबार, वैशाख ४, २०८०), "पोखरामा नाटक ‘उर्वशी सूक्त’", नेपालखोज, अन्तिम पहुँच ७ सेप्टेम्बर २०२५।
- ↑ २.० २.१ २.२ जोशी, वेदप्रकाश (९ वैशाख २०८०), "नाटक उर्वशी सूक्त: ऋग्वेदकालको परिभ्रमण", हिमालखबर, अन्तिम पहुँच ७ सेप्टेम्बर २०२५।
- ↑ "Urvashi Sukta – Production", Theatricalia, अन्तिम पहुँच १६ सेप्टेम्बर २०२५।
- ↑ "नारीलाई शक्तिका रुपमा स्थापित गर्ने नाटक 'उर्वशी सूक्त' मञ्चन", Pokhara Theatre, १५ अप्रिल २०२३, अन्तिम पहुँच १६ सेप्टेम्बर २०२५।
- ↑ "‘उर्वशी सूक्त’ पोखरामा मञ्चन", ThahaKhabar (नेपालीमा), अन्तिम पहुँच १६ सेप्टेम्बर २०२५।
- ↑ "पोखरामा ‘उर्वशी सूक्त’ नाटक", रैकवार खबर (नेपालीमा), २०८० वैशाख ११, अन्तिम पहुँच २०२५-०९-१६।