उषा (राजकुमारी)
| उषा | |
|---|---|
अनिरुद्धको सपना देख्दै गरेकी उषा, राजा रवि वर्माको चित्र | |
| धर्मग्रन्थहरू | श्रीमद्भागवत् पुराण, विष्णु पुराण, शिव पुराण, महाभारत |
| वंशावली | |
| जन्म | शोणितपुर |
| अभिभावकहरू |
|
| जीवनसाथी | अनिरुद्ध |
| सन्तानहरू | वज्र |
| वंश | यदुवंश (विवाह पश्चात) |
उषा हिन्दु पौराणिक कथाकी एक पात्र हुन्। उनी असुर राजा बाणासुरकी छोरी र कृष्णका नाति अनिरुद्धकी पत्नी हुन्।[१] उनको अनिरुद्धसँगको प्रेम र विवाहको कथा श्रीमद्भागवत् पुराणमा विस्तृत रूपमा वर्णन गरिएको छ।
पौराणिक कथा
[सम्पादन गर्नुहोस्]शोणितपुर (वर्तमान तेजपुर) बाट राज्य गर्ने बाणासुर बलि राजाका छोरा र प्रह्लादका नाति थिए। बाणासुर शिवका परम भक्त थिए र शिवको वरदानस्वरूप उनले १००० हातहरू प्राप्त गरेका थिए। आफ्नो शक्तिले उन्मत्त भएका उनले एक पटक शिवसँग आफू उनी समान भएको र आफूसँग लड्न हात्तीहरू समेत डराउने गरेको घमण्ड गर्छन्। बाणासुरको अहङ्कार देखेर शिवले क्रुद्ध हुँदै, "हे मूर्ख! जब तिम्रो घमण्ड म जस्तै शक्तिशाली योद्धासँगको युद्धमा तोडिनेछ।" भनि बताउँछन्
एक दिन, उषाले सपनामा एक युवकलाई देख्छिन् र उनीसँग प्रेममा पर्छिन्। [२] उषाकी साथी चित्रलेखा, जो एक प्रतिभाशाली कलाकार थिइन्, उनले विभिन्न यादव र वृष्णि वीरहरूको चित्र बनाएर उषालाई सपनाको युवक चिन्न मद्दत गर्छिन्। उषाले ती युवक कृष्णका नाति अनिरुद्ध भएको पहिचान गर्छिन्। चित्रलेखाले आफ्नो योगशक्ति प्रयोग गरी अनिरुद्धलाई पुतली जत्रो सानो आकारमा खुम्च्याउँछिन् र कृष्णको दरबारबाट उनलाई अपहरण गरी शोणितपुर ल्याउँछिन्।[३]

उषाले अनिरुद्धलाई आफ्नोलुकाएर राख्दै उनलाई विभिन्न बहुमूल्य वस्त्र, माला र सुगन्धित द्रव्यहरूले सेवा गर्छिन्। बाणासुरले आफ्नी छोरीको गतिविधि थाहा पाएर उनको कोठामा जाँदा उषा र अनिरुद्धलाई पासा खेलिरहेको भेट्छन्। अनिरुद्धले सैनिकहरूसँग लड्ने प्रयास गरे तापनि सानो आकारमा रहेका कारण बाणासुरले उनलाई वरुणको नागपाशले बाँधेर बन्दी बनाउँछन्। यो घटनाबाट उषा अत्यन्तै दुखी हुन्छिन्। अनिरुद्ध एक महिनासम्म बाणासुरको कैदमा रहन्छन्।[४]
यादवहरूको विशाल सेनाले बाणासुरको राज्य घेराउ गर्छन्। बाणासुरको रक्षाका लागि भगवान शिव स्वयं नन्दीमा सवार भई युद्धमैदानमा प्रकट हुन्छन्। कृष्ण र शिवबीच भीषण युद्ध हुन्छ। कृष्णले शिवको ब्रह्मास्त्र विरुद्ध ब्रह्मास्त्र, वायव्यास्त्र विरुद्ध पर्वतास्त्र र शिवको पाशुपतास्त्र विरुद्ध आफ्नो नारायणास्त्र प्रयोग गर्छन्। कार्तिकेय प्रद्युम्नका वाणहरूबाट पराजित भई मयूरमा सवार भएर भाग्छन्। कृष्णले आफ्नो शङ्ख फुकेर बाणासुरको रथ र सारथीलाई ध्वस्त पारिदिन्छन्।
शिवका सेनाहरू पराजित भएपछि, शिवको ज्वर (ज्वरासुर), जसका तीन टाउका र तीन खुट्टा थिए, उसले कृष्णमाथि आक्रमण गर्छ। कृष्णले आफ्नो वैष्णव ज्वर उत्पन्न गर्छन् र दुवैबीच युद्ध हुन्छ। अन्ततः शिवको ज्वरले कृष्णसँग माफी माग्छ। त्यसपछि कृष्णले बाणासुरका हातहरू काट्न सुरु गर्छन्। शिवले कृष्णको स्तुति गर्दै बाणासुरलाई नमार्न प्रार्थना गर्छन्। कृष्णले बलि राजा र प्रह्लादको वंशज भएकाले आफूले बाणासुरलाई नमार्ने वचन दिएको बताउँछन्। तर बाणासुरको अहङ्कार तोड्नका लागि कृष्णले उनका अतिरिक्त हातहरू काटेर चारवटा मात्र बाँकी राखिदिन्छन्।
बाणासुरले आफ्नो गल्ती महसुस गर्दै कृष्णको शरणमा पर्छन्। उनले अनिरुद्ध र उषाको भव्य विवाह गराई रथमा राखेर द्वारका पठाउँछन्।[५]
पुनर्जन्म
[सम्पादन गर्नुहोस्]बङ्गाली ग्रन्थ 'मनसामङ्गल काव्य'का अनुसार, उषा र अनिरुद्ध अर्को जन्ममा बेहुला र लखिन्दरका रूपमा जन्मिएका थिए र उनीहरूले पुनः विवाह गरेका थिए।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Fables and Folk-tales of Assam (अङ्ग्रेजीमा), Firma KLM, १९९८, आइएसबिएन 9788171020751।
- ↑ "The Story of Usha and Aniruddha", The New Indian Express, अन्तिम पहुँच २०२१-१०-१६।
- ↑ M. Padmanabhan; Meera Ravi Shankar (१ अगस्ट २००४), Tales of Krishna from Mahabharatha, Sura Books, पृ: 56–57, आइएसबिएन 978-81-7478-417-9।
- ↑ "Srimad Bhagavatam: Canto 10 - Chapter 62", bhagavata.org, अन्तिम पहुँच २०२२-०७-११।
- ↑ "Srimad Bhagavatam: Canto 10 - Chapter 63", bhagavata.org, अन्तिम पहुँच २०२२-०७-११।
- ↑ McDaniel, June (२००४-०८-०५), Offering Flowers, Feeding Skulls: Popular Goddess Worship in West Bengal (अङ्ग्रेजीमा), Oxford University Press, आइएसबिएन 978-0-19-029056-6।