सामग्रीमा जानुहोस्

ऊनको स्वीटर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ऊनको स्वीटर
चलचित्र पर्चापत्र
निर्देशकनबिन चौहान
लेखकनबिन चौहान
मुख्य कलाकारबिपिन कार्की
मिरुना मगर
छायाङ्कनचिन्तन राजभण्डारी
सम्पादनकृष्ण भण्डारी
सङ्गीतकोबिद बजारा
वितरक
कम्पनी
आर्टमाण्डु नेपाल
प्रदर्शन मिति
  • ९ मे २०२५ (2025-05-09)
देशनेपाल
भाषानेपाली
बक्स अफिस११.३४ करोड (नेपाली रुपैयाँ)[]

ऊनको स्वीटर वि.सं. २०८२ मा नबिन चौहानद्वारा लिखित र निर्देशित सामाजिक नाटक चलचित्र हो। केन्द्र मोसन पिक्चर्ससँगको सहकार्यमा आर्टमान्डु नेपाल प्रालिद्वारा निर्मित यस चलचित्रमा विपिन कार्कीमिरुना मगरले मुख्य भूमिकामा अभिनय गरेका छन्। पाँचथरको पूर्वी पहाडको बहु-सांस्कृतिक परिवेशमा आधारित, यसले प्रेमको न्यानोपन र मानवीय सम्बन्धको विषयवस्तुको खोजी गर्दछ।[][]

२०८२ वैशाख २६ मा सिनेमाघरहरूमा देखाइएको यो चलचित्र दर्शकहरूको सकारात्मक प्रतिक्रियाका साथ सफल भएको थियो। नेपालको पूर्वी पहाडी क्षेत्रको समाज र जीवनशैलीको चित्रणका साथै मुख्य कलाकारहरूको अभिनय र नवीन चौहानको प्रथम निर्देशनका लागि यो चलचित्र समीक्षकहरूले प्रशंसा पाएको थियो। यो चलचित्र घरेलु बक्स अफिसमा व्यावसायिक रूपमा पनि सफल भएको थियो।[][]

चलचित्रको सुरुवात दृश्यहरू वि.सं. २०६५ सालको अवस्था र सोही सेरोफेरोमा केन्द्रीय भएतापनि चलचित्रको कथावस्तु धरणीधरले पहाडी दुर्गम भेगमा आफ्नो घर बनाउने क्रममा सहकर्मी खड्ग भाइलाई सुनाएको कहानीका साथ सुरु हुन्छ। मुख्यतया पूर्वी नेपालको दुर्गम पहाडी भेगको कथा बोकेको यस चलचित्रले जातीगत र समाजिक भिन्नताका साथै परम्परागत सीमाहरूबीच मौलाएको प्रेमको कठिनाइहरूलाई अन्वेषण गर्दछ। कथाको केन्द्रबिन्दु धरणीधर र फूलको सम्बन्ध हो। धरणीधर लिम्बुहरूको बाहुल्यता रहेको समाजमा बस्ने एक घर काफ्ले थरका ब्राह्मणको प्रतिनिधित्व गर्ने पात्र हुन् जो निर्दोष र शान्त स्वभावका साथै उनी परम्परागत काफ्ले ब्राह्मण परिवारको एक कर्तव्यपरायण सदस्य हुन्। अर्को धरणीधरको मित बुबाको छिमेकी फूल, गुरुङ समुदायकी जीवन्त र उत्साही युवती हुन्। मितबुबाको घरमा जाँदै गर्दा मौलाएको उनीहरू बीचको कोमल र उदीयमान प्रेम, वर्ग विभाजन, जातीगत भिन्नता र कडाइका साथ सामाजिक नियमहरूले परिवारिक वंशलाई नियन्त्रण गर्ने दबाब जस्ता सामाजिक यथार्थहरूका कारण जटिल बन्न पुग्छ।

धरणीधर आफ्नो पारिवारिक जिम्मेवारी र परम्परा पालना गर्छन् भने फूलको झक्कासिलो स्वभावसँग उनको लाजालु स्वभावले विरोधाभास उत्पन्न गर्छ। उनीहरूको सम्बन्ध स-साना सङ्केत र थुप्रै भावनाबाट निर्माण हुन्छ र प्रेमिका लागि बुनेको 'ऊनको स्वीटर' शीर्षकमा सन्दर्भित वस्तु उनीहरूको न्यानोपन र मौन भक्ति प्रतीक बन्न पुग्छ। चलचित्रले जोडीले आफ्नो व्यक्तिगत चाहना अन्तर्गत उनीहरूलाई अलग राख्ने सामाजिक प्रणालीका अपेक्षासँग कसरी मिलाउँछन् भनेर देखाउँछ जसले अन्ततः उनीहरूको यात्रामा गहिरो भावनात्मक मोड ल्याउँछ। अन्ततः फूल आफ्नो देश फर्किनुपूर्व धरणीधरका लागि स्वीटर बुनेर र एउटा कागजमा आफ्ना अन्तिम सन्देशहरू राखिदिएकी हुन्छन् जसलाई उनले धेरै वर्षपछि पाउँछन् र धरणीधर उक्त पत्र पढी रोइरहेको दृश्यसँगै चलचित्रको अन्त्य हुन्छ।[]


कोबिद बज्राले चलचित्रको ब्याकग्राउन्ड स्कोर प्रदान गरेका थिए भने सङ्गीत सुजन चापागाईं र झुमा लिम्बूले सङ्गीतबद्ध गरेका थिए। चलचित्रको शीर्ष गीत "फूल" पहिलोपटक २०८० फागुन २ का दिन सार्वजनिक गरिएको थियो। त्यसैगरी, "मखमली" गीत २०८१ पुस ११ मा र त्यसपछि "काफ्ले" २०८२ वैशाख २ र "चाइनेजो जिन्दगानीमा" २०८२ वैशाख २८ मा सार्वजनिक गरिएको थियो।

क्र.सं.शीर्षकशब्दगायकलम्बाइ
१."फूल"हर्क साउदसुजन चापागाईं५:०२
२."मखमली"हर्क साउदसुजन चापागाईं, सुनिता थेगिम५:०६
३."काफ्ले"युवराज काफ्लेझुमा लिम्बू, सुजन चापागाईं३:४१
४."चाइनेजो जिन्दगानीमा"हर्क साउदसुजन चापागाईं, सलिना बिक४:२३
कुल लम्बाइ:१८:१२

चलचित्र नेपाल बक्स अफिसमा सुपरहिट भएको थियो र कुल रू रू११.३४ करोड आम्दानी गरेको थियो, जसले नेपाली चलचित्र इतिहासमा रू१० करोडको सीमा पार गर्ने केवल १४औँ चलचित्रको रूपमा स्थान बनाएको थियो।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "२०२५ मा धेरै कमाउने ५ नेपाली फिल्मको 'लाइफटाइम कलेक्सन' (सूचीसहित)", अनलाइनखबर, अन्तिम पहुँच २०२५-०७-३० 
  2. "वैशाखमा आउने भयो आर्टमाण्डुको चलचित्र 'ऊनको स्वीटर'", सेतोपाटी, अन्तिम पहुँच २०२५-०८-३० 
  3. उप्रेती, शिशिर (२०२५-०५-११), "'ऊनको स्वीटर'मा उनिएको प्रेम र स्मृति", देशसञ्चार, अन्तिम पहुँच २०२५-०८-३० 
  4. "यस्तो छ चलचित्र ‘ऊनको स्वीटर’ को ‘काफ्ले’ गीत", रातोपाटी, अन्तिम पहुँच २०२५-०८-३० 
  5. "आर्टमाण्डुले सार्वजनिक गर्‍यो 'ऊनको स्वीटर' को अहिलेसम्मको कमाइ", सेतोपाटी, अन्तिम पहुँच २०२५-०८-३० 
  6. "'Oonko Sweater': A love knitted in silence", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२५-०७-०४ 
  7. "FDB honours 25 highest-grossing films", GorakhaPatra, अन्तिम पहुँच २०२५-०७-०४ 
  8. "२०२५ मा धेरै कमाउने ५ नेपाली फिल्मको 'लाइफटाइम कलेक्सन' (सूचीसहित)", Online Khabar (en-USमा), अन्तिम पहुँच २०२५-०७-३० 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]