सामग्रीमा जानुहोस्

एकपाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एकपाद
एकपाद-त्रिमूर्ति
आबद्धशिवको स्वरूप वा उनको उग्र रूप भैरव

एकपाद हिन्दु देवता शिवको एक खुट्टा भएको स्वरूप हो। यो स्वरूप मुख्यतया दक्षिण भारतओडिसामा पाइन्छ तर कहिलेकाहीँ यी देवताको स्वरूपलाई राजस्थाननेपालमा पनि देख्न सकिन्छ।

एकपादलाई मुख्यतया तीनवटा मूर्तिशास्त्रीय स्वरूपमा चित्रण गरिन्छ। एकपाद-मूर्ति ("एक खुट्टा भएको मूर्ति") स्वरूपमा उनलाई एक खुट्टा र चारवटा हात भएको देखाइन्छ। एकपाद-त्रिमूर्ति ("एक खुट्टा भएको त्रिमूर्ति") स्वरूपमा उनको शरीरबाट अन्य दुई देवताहरू विष्णुब्रह्माको माथिल्लो भाग (कम्मरभन्दा माथि) निस्किएको देखाइन्छ जसले शिवसँग मिलेर हिन्दु त्रिमूर्ति बनाउँछन्; यद्यपि, कहिलेकाहीँ शिवको केन्द्रीय एउटा खुट्टाबाहेक विष्णु र ब्रह्माका दुईवटा साना खुट्टाहरू पनि छेउबाट निस्किएको देखिन्छ। केही शास्त्रहरूले पछिल्लो संरचनालाई पनि एकपाद-त्रिमूर्ति नै भन्छन् भने कसैले यसलाई त्रिपद-त्रिमूर्ति ("तीन खुट्टा भएको त्रिमूर्ति") भनी उल्लेख गर्छन्। ओडिसामा, जहाँ एकपादलाई शिवको भयानक रूप—काल भैरवको एक पक्ष मानिन्छ त्यहाँ एकपाद-मूर्तिको चित्रण अझ उग्र हुन्छ जसमा रक्त बलिको प्रतीकहरू समावेश हुन्छन्। यस पक्षलाई एकपाद भैरव ("एक खुट्टा भएको भैरव" वा "एक खुट्टा भएको उग्र देवता") भनिन्छ।

शिवको एकपाद स्वरूप वैदिक देवता अज एकपाद वा अजैकापद बाट उत्पत्ति भएको हो, जुन नाम अहिले पनि एकपाद भैरवले उत्तराधिकारमा पाएका छन्। एकपादले (ब्रह्माण्डको लौकिक स्तम्भको प्रतिनिधित्व गर्दछ र शिवलाई सर्वोच्च परमेश्वरको रूपमा चित्रण गर्दछ जसबाट विष्णु र ब्रह्माको उत्पत्ति हुन्छ। एकपादको साथमा प्रायः तपस्वी सेवकहरू हुन्छन् जसको उपस्थिति उनको कठोर तपस्यासँगको सम्बन्धलाई जोड दिन्छ।

मूर्तिशास्त्रीय विवरण

[सम्पादन गर्नुहोस्]
ओडिसा राज्य सङ्ग्रहालयमा रहेको ढुङ्गामा कुँदिएको अजैकापद मूर्ति

आगम ग्रन्थ अंशुमदभेदागम मा उल्लेख भएअनुसार एकपाद-त्रिमूर्ति शिवका एकनेत्र र एकरुद्र पक्षहरूजस्तै हुन् र यो 'विद्येश्वर' स्वरूपहरू मध्ये एक हो। उनले 'जटा-मुकुट' (जटा फिँजाएर बनाइएको मुकुट) र सेतो रेशमी लुगा लगाएका हुन्छन्। उनका तीनवटा आँखा र शान्त स्वरूप छ। उनले आफ्ना चारवटा हातमध्ये दुईवटामा त्रिशूल र सानो मुङ्ग्रो लिएका हुन्छन् भने अन्य दुई हातले वरदमुद्रा (वरदान दिने मुद्रा) र अभयमुद्रा (आश्वासन दिने मुद्रा) प्रदर्शन गर्छन्।[]

त्रिपद त्रिमूर्ति

अर्को आगम ग्रन्थ, उत्तर-कारणागमले पनि एकपाद-त्रिमूर्तिलाई विद्येश्वरहरू मध्ये एकको रूपमा वर्णन गरेको छ। उनी कमलको आसन (पद्म पीठ) मा आफ्नो एउटा खुट्टामा सीधा (समभङ्ग मुद्रा) उभिन्छन्। उनका तीनवटा आँखा र चारवटा हात छन् र उनको रङ्ग स्फटिक जस्तै सफा छ। उनका पछाडिका हातहरूमा त्रिशूल वा मृग (हरिण) र मुङ्ग्रो हुन्छन् भने अगाडिका दुई हातले वरद र अभय मुद्रा प्रदर्शन गर्छन्। उनले साधारण 'कुण्डल' वा मोतीको कानको बाली र जटा-मुकुट लगाउँछन्। उनको शरीरको दायाँ र बायाँबाट क्रमशः ब्रह्माविष्णु निस्किएका देखिन्छन्। उनीहरूलाई कम्मरभन्दा माथिको भाग मात्र देखाइएको हुन्छ र उनीहरूको एउटा खुट्टा खुम्च्याएर जमिनभन्दा माथि राखिएको हुन्छ। ब्रह्मा र विष्णु दुवैका चार-चारवटा हात हुन्छन् र उनीहरूले आफ्ना अगाडिका हातहरू जोडेका हुन्छन्। चार टाउका भएका ब्रह्माले आफ्ना पछाडिका हातहरूमा स्रुक (यज्ञमा घिउ चढाउन प्रयोग गरिने ठूलो काठको चम्चा) र कमण्डलु लिएका हुन्छन् भने किरिटमुकुट (शंक्वाकार मुकुट) लगाएका विष्णुले शङ्खचक्र समातेका हुन्छन्। एकपादलाई एक विशाल प्रभामण्डलले घेरिएको हुन्छ, जसले उनका तीनवटै शरीरलाई समेट्छ। तेस्रो आगम ग्रन्थ, उत्तर-कनिकागम मा उल्लेख भएअनुसार ब्रह्मा र विष्णुका आकृतिहरू तुलनात्मक रूपमा साना हुन्छन् जुन महिला देवीहरूका लागि तोकिएको आकार जस्तै हुन्छ।[] यसले देवताको एउटा खुट्टालाई शिवको निराकार प्रतीक लिङ्ग सँग पनि जोड्दछ। लिङ्ग पुराण ले शिवलाई "एक खुट्टा, चार हात, तीन आँखा र त्रिशूल भएका भनि वर्णन गरी आफ्नो बायाँ तर्फबाट विष्णु र दायाँ तर्फबाट चार टाउका भएका ब्रह्माको सृष्टि गरी स्थित भएका प्रभु" को रूपमा वर्णन गर्दछ। दक्षिण भारतीय मन्दिरहरूमा, यो मूर्तिको साथमा पूजा गरिरहेका योगी वा तपस्वीहरू र त्रिमूर्तिका वाहनहरू हुन सक्छन् जसमा ब्रह्माको हंस, विष्णुको गरुड र शिवको नन्दी साँढे समावेश छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Rao pp. 398, 402–3
  2. Rao pp. 398–9
  3. Rao pp. 400–1