एयावाडी क्षेत्र
एयावाडी क्षेत्र म्यानमारको एयावाडी नदीमा फैलिएको एउटा प्रशासनिक क्षेत्र हो। यस क्षेत्रको राजधानी सहर पटहेन हो। यो क्षेत्रलाई उत्तर–पश्चिममा राखाइन राज्य, उत्तरमा बागो क्षेत्र, पूर्वमा याङ्गोन, र दक्षिण तथा पश्चिममा बङ्गालको खाडीले घेरिएको छ।[१]

एयावाडी क्षेत्रको १५°४०′ देखि १८°३०′ उत्तर अक्षांश र ९४°१५′ देखि ९६°१५′ पूर्व देशान्तरसम्म फैलिएको छ। क्षेत्रफल करिब ३५,१४० वर्ग किलोमिटर छ। २०१४ को जनगणना अनुसार यहाँको जनसंख्या ६,१८४,८२९ थियो, र यो क्षेत्र म्यानमारको दोस्रो सबैभन्दा बढी जनसंख्या भएको क्षेत्र हो।
इतिहास
[सम्पादन गर्नुहोस्]प्रारम्भिक इतिहास
[सम्पादन गर्नुहोस्]एयावाडी क्षेत्र प्राचीन समयमा मोन साम्राज्यको हिस्सा थियो। ११औँ शताब्दीबाट यो क्षेत्र प्रायः बर्मेली शासनमा रह्यो। एयावाडी क्षेत्र चीनको सिचुआन क्षेत्रबाट बंगालसम्म पुग्ने प्राचीन व्यापार मार्गको हिस्सा थियो।[२]
ब्रिटिश शासन
[सम्पादन गर्नुहोस्]१८५२ मा दोस्रो अङ्गरेज–बर्मेली युद्धपछि ब्रिटिशहरूले एयावाडी क्षेत्र कब्जा गरे। यस क्षेत्रमा ब्रिटिशहरूले कृषिको विकासलाई प्राथमिकता दिए र धानखेतीको लागि व्यवस्थित बनाए। भूमिकर प्रणाली र पट्टा प्रणालीमार्फत किसानलाई जमिनको अधिकार दिइयो। यसले कृषक वर्गलाई स्थायित्व र आर्थिक अवसर प्रदान गर्यो।[३]
ब्रिटिश शासनको बेलामा भारतचाट आएका चेत्तियार ऋणदाताहरूले कृषकहरूलाई सुलभ ऋण दिए, जसले कृषि विस्तारमा योगदान पुर्यायो। तर १९३० को दशकमा ऋणले गर्दा धेरै किसानले आफ्नो जमिन गुमाए र चेत्तियारहरूमा जमिनको नियन्त्रणमा जान पुग्यो। यसले गर्दा भूमिहीनता र सामाजिक असमानता बढ्यो।
प्रशासन
[सम्पादन गर्नुहोस्]एयावाडी क्षेत्र आठ जिल्लामा विभाजित छ: पटहेन, क्योनप्याव, हिन्थाडा, लाबुट्टा, माउबिन, म्यानाउङ, म्याउङम्या, प्यापोन। २०१९ मा नयाँ जिल्लाहरू क्योनप्याव र म्यानाउङ गठन भएका हुन्। लाबुट्टा जिल्ला नारगिस ताइफूनको तीन महिना पछि २००८ मा स्थापना भएको थियो।
यो क्षेत्रमा २६ नगरपालिकाहरू, २९ शहर, २१९ वडाहरू, १,९१२ गाउँ समूह र ११,६५१ गाउँहरू छन्। प्रशासनिक संरचना कार्यपालिका, विधायिका र न्यायपालिकामा विभाजित छ।
जनसांख्यिकी
[सम्पादन गर्नुहोस्]२०१४ को अनुसार एयावाडी क्षेत्रको जनसंख्या करिब ६.१८ मिलियन थियो। बर्मेली भाषा यहाँको मुख्य भाषा हो। जातीय संरचनामा बर्मेली ७६.७% बहुसंख्यक छन् भने करेन २१.५% र अन्य १.८% छन्। पश्चिमी तटीय क्षेत्रमा थोरै रखाइन समुदाय बसोबास गर्छ।[४]
धार्मिक दृष्टिले बौद्ध धर्म मुख्य धर्म हो र जनसंख्याको ९२.१% बौद्ध धर्मावलम्बी छन्। इसाई धर्म ६.३%, इस्लाम १.४%, हिन्दू धर्म ०.१% र अन्य धर्म ०.१% रहेको छ।
भूगोल र वातावरण
[सम्पादन गर्नुहोस्]एयावाडी क्षेत्रको पश्चिममा राखाइन योमा पर्वत श्रृंखला छ। यो क्षेत्र समतल र उपजाउ भूमि भएको कारण धानखेतीका लागि उपयुक्त मानिन्छ। यहाँ धेरै ताल, नदी र साना जलाशयहरू पनि छन्। प्रमुख नदीहरू एयावाडी, नगावुन, पटहेन र टो हुन्।
जलवायु उष्णकटिबन्धीय मानसून मा पर्छ। विशेष गरी मनसुन ऋतुमा वर्षा धेरै हुन्छ। गर्मी महिनामा तापक्रम उच्च रहन्छ।
संस्कृति
[सम्पादन गर्नुहोस्]एयावाडी क्षेत्रको संस्कृति बौद्ध धर्म र स्थानीय परम्परामा आधारित छ। यहाँका प्रमुख पर्व, मेला र धार्मिक अनुष्ठानले जनजीवनलाई संरचित र समुदायलाई एकताबद्ध बनाएको छ। ऐतिहासिक मन्दिर र स्थलहरू संस्कृति र परम्पराको प्रतिनिधित्व गर्छन्।
क्षेत्रीय खानपान, सङ्गीत र नृत्यमा सांस्कृतिक विविधता प्रकट हुन्छ। समुद्र तट र तालहरूको वरिपरि बसोबास गर्ने समुदायले परम्परागत जीवनशैलीलाई अझ बलियो बनाएको छ।
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]एयावाडी क्षेत्र कृषि प्रधान क्षेत्र हो। यहाँ धान मुख्य खेती हो र यसले म्यानमारको “धानको भण्डार”को उपाधि पाएको छ। यसका अतिरिक्त मकै, तिल, बदाम, सूर्यमुखी, दलहन र जूट खेती गरिन्छ। माछा पालन, झिंगे माछा उत्पादन र माछा प्रसंस्करण पनि अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हो।[५]
हालसालै पर्यटन क्षेत्र पनि विकसित हुँदै गएको छ। पटहेन सहरमा ऐतिहासिक स्थल र मन्दिरहरू छन्। पर्यटनको सम्भावना उच्च भए पनि होटल, सडक र यातायात पूर्वाधार अझै कमजोर छ।
ग्रामीण क्षेत्रका किसानहरू प्रायः साना छन् र धेरैको खेत ५ एकडभन्दा कममा सीमित छ। वर्षा ऋतुमा धानखेती हुन्छ। औसत उत्पादन ३.३ टन प्रति हेक्टर छ, जुन अन्य एशियाली देशको तुलनामा कम हो।
यातायात
[सम्पादन गर्नुहोस्]एयावाडी क्षेत्रको मुख्य विमानस्थल पटहेन विमानस्थल हो। [६]
राजमार्गमा धेरै पुलहरू बनेका छन्, जस्तै बो म्यात तुन, डेड़ालु, डाका, देडे, खत्तिया, माउबिन, म्याउङम्या र वाकेमा पुल। यी पुलहरूले नदी र जलमार्ग पार गर्न सहयोग पुर्याएका छन्।
शिक्षा
[सम्पादन गर्नुहोस्]एयावाडी क्षेत्रमा शिक्षा स्तर अत्यन्त सीमित छ। सरकारी तथ्यांक अनुसार प्राथमिक विद्यालयका विद्यार्थीहरू मध्य मात्र १०% उच्च विद्यालयसम्म पुग्छन्। मुख्य विश्वविद्यालय पटहेन विश्वविद्यालय हो। पछिल्ला वर्षहरूमा स्थानीय विश्वविद्यालय र प्राविधिक कलेजहरू पनि सुरु भएका छन्।[७]
स्वास्थ्य सेवा
[सम्पादन गर्नुहोस्]एयावाडी क्षेत्रको स्वास्थ्य सेवा कमजोर छ। प्रथामिक सेवा निःशुल्क भए पनि औषधि र उपचारका लागि शुल्क तिर्नुपर्छ। सरकारी अस्पतालमा आधारभूत सुविधा र उपकरणको कमी छ। याङ्गोन र मण्डलेय बाहेक अन्य क्षेत्रमा स्वास्थ्य पूर्वाधार धेरै कमजोर छ।[८]
प्राकृतिक प्रकोप
[सम्पादन गर्नुहोस्]नारगिस ताइफूनः मे २००८ मा नारगिस ताईफूनले एयावाडी क्षेत्रमा विनाश मच्चायो। मुख्य रूपमा लाबुट्टा नगरपालिकामा करिब ८०,००० जनाको मृत्यु भयो। यसले भयंकर बाढी र हावाको प्रकोप ल्याएको थियो।[९]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Census Report, The 2014 Myanmar Population and Housing Census 2, Naypyitaw: Ministry of Immigration and Population, मे २०१५, पृ: 17, मूलबाट २०१९-०५-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०७-११।
- ↑ Vicol, Mark; Pritchard, Bill (२०१९), "Rethinking rural development in Myanmar's Ayeyarwady Delta through a historical food regimes frame", Singapore Journal of Tropical Geography, डिओआई:10.1111/sjtg.12315।
- ↑ Adas, Michael (१९७४), The Burma Delta: Economic Development and Social Change on an Asian Rice Frontier, 1852–1941, Madison, WI: University of Wisconsin Press, आइएसबिएन 978-0-299-06490-7।
- ↑ Jap, Jangai; Courtin, Constant (२०२२-११-२२), Deciphering Myanmar's Ethnic Landscape: A Brief Historical and Ethnic Description of Myanmar's Administrative Units, International IDEA, आइएसबिएन 978-91-7671-577-2, डिओआई:10.31752/idea.2022.57।
- ↑ Cho, Ame; Belton, Ben; Boughton, Duncan (अगस्ट २०१७), "Crop Production and Profitability in Ayeyarwady and Yangon", Feed the Future Innovation Lab for Food Security Policy (66), मूलबाट जनवरी ८, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ८, २०२२। अभिलेखिकरण जनवरी ८, २०२२ वेब्याक मेसिन
- ↑ "Development continues on Myanmar logistics corridors and multi-modal transport", Oxford Business Group, २०१९।
- ↑ "Education statistics by level and by State and Division", Myanmar Central Statistical Organization, मूलबाट २०११-०७-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०४-०९। अभिलेखिकरण २००८-०५-२४ वेब्याक मेसिन
- ↑ "PPI: Almost Half of All World Health Spending is in the United States", २००७-०१-१७, मूलबाट २०११-०४-२७-मा सङ्ग्रहित। अभिलेखिकरण २००८-०२-०५ वेब्याक मेसिन
- ↑ "2008- Cyclone Nargis", Hurricanes: Science and Society, The University of Rhode Island, २०२०, मूलबाट मार्च ७, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ५, २०२२।