ऐरावत

ऐरावत (संस्कृत: ऐरावत, शाअ 'इरावतीको सन्तान', पाली: एरावण, सिंहली: ऐरावण) हिन्दु धर्मका पौराणिक कथाहरूमा देखा पर्ने एक दिव्य हात्ती हो। पवित्र हिन्दु ग्रन्थहरूका अनुसार, ऐरावत तीनवटा टाउको, छ वटा दाह्रा र तीनवटा सुँडसहित जन्मिएको र यस हात्तीको रङ्ग सेतो हुन्छ। केही पुराणहरूका अनुसार ऐरावत १० वटा दिशाको प्रतिनिधित्व गर्ने गरी १० वटा दाह्रा, ५ वटा सुँड र १० वटा दाँतसहित जन्मिएका थिए। उनी "हात्तीहरूका राजा" हुन् र देवताका राजा इन्द्रको मुख्य वाहनको रूपमा सेवा गर्छन्।[१] उनलाई 'अभ्र-मातङ्ग', जसको अर्थ "बादलको हात्ती"; 'नाग-मल्ल' अर्थात् "लडाकु हात्ती"; र 'अर्कसोदर' अर्थात् "सूर्यको भाइ" पनि भनिन्छ।[२] ऐरावतकी पत्नीको नाम 'अभ्रमु' हो। ऐरावत इरावतीका तेस्रो छोरा पनि हुन्।
हिन्दु परम्परा
[सम्पादन गर्नुहोस्]
विभिन्न हिन्दु ग्रन्थहरूका अनुसार ऐरावतको उत्पत्ति वा जन्मका फरक-फरक कथाहरू छन्। रामायणका अनुसार ऐरावतको जन्म इरावती (ऋषि कश्यपकी वंशज) बाट भएको हो भने, विष्णु पुराणले ऐरावतको जन्म समुद्र मन्थनबाट भएको उल्लेख गरेको छ।[१][३] मातङ्गलीलाका अनुसार, जब ब्रह्माले गरुड निस्किएको अण्डाको दुईवटा बोक्रामाथि पवित्र स्तोत्रहरू गाए तब ऐरावतको जन्म हुन्छ। त्यसपछि अन्य सातवटा भाले र आठवटा पोथी हात्तीहरू जन्मिएका थिए। पृथुले ऐरावतलाई सबै हात्तीहरूको राजा बनाएका थिए। उनको एउटा नामको अर्थ "बादल बुन्ने वा बाँध्ने" भन्ने हुन्छ किनभने पौराणिक मान्यता अनुसार यी हात्तीहरू बादल उत्पन्न गर्न सक्षम हुन्छन्। हात्तीको पानी र वर्षासँगको सम्बन्ध इन्द्रको हिन्दु पौराणिक कथाहरूमा विशेष जोड दिइएको छ, जहाँ उनले वृत्रासुरलाई पराजित गर्दा ऐरावत हात्तीको सवारी गर्छन्।
जनविश्वास अनुसार यस दिव्य हात्तीले दिशाको रक्षा गर्दछ।[४] ऐरावत इन्द्रको दरबार, स्वर्गको प्रवेशद्वारमा पनि बस्छन्। यसका साथै, आठवटा दिशाका संरक्षक देवताहरू प्रत्येक एक-एकवटा हात्ती (दिग्गज) मा सवार हुन्छन्। यी प्रत्येक देवताको एउटा हात्ती हुन्छ जसले आफ्नो सम्बन्धित दिशाको रक्षा र संरक्षणमा भाग लिन्छ। तीमध्ये इन्द्रको ऐरावत प्रमुख मानिन्छ। भगवद्गीतामा पनि ऐरावतको सन्दर्भ पाइन्छ:
घोडामा मलाई अमृतबाट उत्पन्न भएको उच्चै:श्रवा सम्झनु, श्रेष्ठ हात्तीहरूमा ऐरावत र मानिसहरूमा राजा सम्झनु।[५]
ऐरावतलाई समुद्र मन्थनको कारकको रूपमा पनि चिनिन्छ। एकपटक ऋषि दुर्वासाले इन्द्रलाई एउटा माला उपहार दिन्छन् जुन इन्द्रले ऐरावतलाई लगाइदिन्छन्। हात्तीले उक्त माला भुइँमा फालिदिएपछि दुर्वासा क्रोधित बन्छन् र फलस्वरूप देवताहरूले "बुढ्यौली र मृत्युको अधीनमा" हुने श्राप पाउँछन्। यो श्राप उल्टाउनका लागि देवताहरूले क्षीर सागर मन्थन गरेर अमरताको अमृत प्राप्त गर्नुपरेको थियो।[६][१]
तन्जावुर नजिकै दारासुरममा एउटा मन्दिर छ जहाँ ऐरावतले शिवलिङ्गको पूजा गरेको विश्वास गरिन्छ; उक्त लिङ्गको नाम उनकै नामबाट ऐरावतेश्वर राखिएको छ। दुर्लभ मूर्तिकला र वास्तुकलाले भरिपूर्ण यो मन्दिर राजराज चोल द्वितीय (११४६–७३ ईस्वी) द्वारा निर्माण गरिएको थियो।[७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 3 Dalal, Roshen (२०१०), Hinduism: An Alphabetical Guide (अङ्ग्रेजीमा), Penguin Books India, पृ: 13–14, आइएसबिएन 978-0-14-341421-6।
- ↑ Dowson, John (१८७०), A Classical Dictionary of Hindu Mythology and Religion, Geography, History, and Literature, London: Trübner & Company, पृ: १८०।
- ↑ Williams, George M. (२००८-०३-२७), Handbook of Hindu Mythology (अङ्ग्रेजीमा), OUP USA, पृ: 52, आइएसबिएन 978-0-19-533261-2।
- ↑ Gopal, Madan (१९९०), K.S. Gautam, सम्पादक, India through the ages, Publication Division, Ministry of Information and Broadcasting, Government of India, पृ: ६४।
- ↑ भगवद्गीता (अध्याय १०, श्लोक २७) अभिलेखिकरण ३० सेप्टेम्बर २००७ वेब्याक मेसिन
- ↑ Lochtefeld, James G. (२००२), The Illustrated Encyclopedia of Hinduism: A-M (अङ्ग्रेजीमा), Rosen, पृ: 19, आइएसबिएन 978-0-8239-3179-8।
- ↑ Ali Javid; ʻAlī Jāvīd; Tabassum Javeed (२००८), World Heritage Monuments and Related Edifices in India, Algora Publishing, पृ: ५७।