सामग्रीमा जानुहोस्

कङ्कालमूर्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कङ्कालमूर्ति, दरासुरम (१२औँ शताब्दी), हाल तन्जावुर मराठा दरबार सङ्ग्रहालय

कङ्कालमूर्ति वा कङ्काल-भैरव, हिन्दु देवता शिवको एउटा प्रतिमागत स्वरूप हो। उनलाई प्रायः शिवको डरलाग्दो स्वरूप भैरवसँग जोडिन्छ र भैरवकै एक पक्षको रूपमा पनि मानिन्छ। कङ्कालमूर्ति दक्षिण भारतीय शिव मन्दिरहरूमा लोकप्रिय छ तर उत्तर भारतमा भने यो लगभग अपरिचित जस्तै छ। पौराणिक कथाहरूमा उनले विष्णुका सेनापति र द्वारपाल विष्वक्सेन वा विष्णुको अवतार वामनलाई पराजित गरी वध गरेको वर्णन गरिएको छ। उनलाई हातमा 'कङ्काल-दण्ड' (हाडखोरको लौरो) लिएको चतुर्भुज पुरुषको रूपमा चित्रण गरिन्छ जसको पछि-पछि 'भूतगण' र प्रेम-विह्वल महिलाहरू लागेका हुन्छन्।

पौराणिक कथा

[सम्पादन गर्नुहोस्]
कङ्कालमूर्तिको एक चित्रण, सन् १८४२।

कङ्कालमूर्ति भैरवका तीन सबैभन्दा लोकप्रिय स्वरूपहरूमध्ये एक हो; अन्य दुई स्वरूपहरू ब्रह्मशिरश्छेदक-मूर्ति र भिक्षानत-मूर्ति हुन्।[] शिवले भयानक भैरवको रूपमा सृष्टिकर्ता देवता ब्रह्माको पाँचौँ टाउको काट्छन् (यो कार्यलाई प्रतिमागत रूपमा ब्रह्मशिरश्छेदक-मूर्तिका रूपमा चित्रण गरिन्छ)। ब्रह्माको टाउको काटेको पाप (ब्रह्महत्या) का कारण त्यो टाउको/खप्पर भैरवको देब्रे हत्केलामा खप्पर कचौराको रूपमा टाँसिन्छ। यस पापको प्रायश्चित गर्न भैरवले कापालिकको व्रत लिनुपर्ने हुन्छ: जसमा उनी काटिएको खप्परलाई भिक्षा पात्र बनाएर संसारभर नग्न भिक्षुको रूपमा भौँतारिनु पर्छ। यो सौम्य भिखारी स्वरूप नै भिक्षाटन-मूर्ति हो।[]

कुर्म पुराण मा वर्णन गरिएअनुसार, देवदारु वनका ऋषिहरूसँगको भेटपछि भैरव विभिन्न देव र दानवका देशहरू घुम्दै अन्ततः भगवान विष्णुको निवास स्थानमा पुग्छन्। विष्णुका द्वारपाल विष्वक्सेनले उनलाई भित्र पस्न दिएनन्। क्रोधित भैरवले विष्वक्सेनको वध गरी उनको शवलाई आफ्नो त्रिशूलमा उनेर काँधमा बोक्छज् जसले गर्दा उनको पाप झनै बढ्न जान्छ। यसरी भिक्षाटन-मूर्ति 'कङ्काल-मूर्ति' (कङ्काल बोक्ने) मा परिणत हुन्छ। भैरवले त्यसपछि कङ्काल-मूर्तिको रूपमा विष्णुको निवासमा प्रवेश गरी भोजनको भिक्षा माग्छन्। एउटा संस्करण अनुसार विष्णुले भोजनको रूपमा आफ्नै रगत अर्पण गर्छन्। अर्को संस्करण अनुसार, विष्णुले भैरवको निधारको एउटा धमनी काटिदिन्छन् जसकारण रगतका धारा उनको भिक्षा पात्रमा भोजनको रूपमा खस्छ। त्यसपछि विष्णुले भैरवलाई पवित्र सहर वाराणसी जान निर्देशन दिन्छन् जहाँ उनको पाप मोचन हुने बताइन्छ।[][] विष्णुका द्वारपालसँगको घम्साघम्सीको कथा केही भिन्नताका साथ वामन पुराणमत्स्य पुराण मा पनि पाइन्छ।[] कङ्काल-मूर्ति हातमा भिक्षा पात्र र काँधमा शव वा कङ्काल बोकेर भौँतारिरहे।[]

सबै पुराणहरूले सहमत जनाएअनुसार वाराणसी पुगेपछि ब्रह्माको खप्पर भैरवको हत्केलाबाट खस्छ र विष्वक्सेनको शव लोप हुन्छ। विष्वक्सेन पुनर्जीवित हुन्छन् र पवित्र भएका भैरव शिवले कङ्काल-मूर्तिको स्वरूप त्याग गरी आफ्नो निवासमा फर्किन्छन्।[][]

कङ्कालमूर्तिको बारेमा अर्को पौराणिक कथामा शिवले विष्णुको वामन अवतारको वध गर्दा यो रूप धारण गरेका हुन्छन्। दानव महाबलीलाई पाठ सिकाउन विष्णुले वामनको विशाल रूप धारण गरेका थिए जसले ब्रह्माण्डलाई ढाकेको थियो। बलि राजाको घमण्ड शान्त भएपछि, वामन स्वरूप संसार र देवताहरूका लागि समस्या बन्न पुग्छ। उनीहरूको अनुरोधमा, शिवले वामनको विनाश गर्छन् र उनको मेरुदण्डलाई हतियारको रूपमा प्रयोग गर्छन्। यसरी शिवले वामनको 'कङ्काल' (हाडखोर) धारण गरेकाले उनलाई कङ्कालमूर्ति भनिन थालिन्छ।[][] अर्को व्याख्या अनुसार कङ्कालमूर्ति ब्रह्माण्डको संहारकको रूपमा शिवको स्वरूप हो र यसलाई हड्डीहरूले विनाशको प्रतीक मानिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. von Stietencron p. 105
  2. von Stietencron pp. 105-6
  3. 1 2 Rao pp. 295–7
  4. 1 2 Kramrisch pp. 293–4
  5. Kramrisch pp. 297–8
  6. von Stietencron p. 106
  7. Vasundhara Filliozat; Pierre Sylvain Filliozat; Indira Gandhi National Centre for the Arts (१ जनवरी १९९५), The Temple of Muktēśvara at Cauḍadānapura: Little-known 12th–13th Century Temple in Dharwar District, Karṇāṭaka, Abhinav Publications, पृ: ५९, आइएसबिएन 978-81-7017-327-4, अन्तिम पहुँच १० जनवरी २०१३
  8. E. A. Rodrigues (१८४२), The complete Hindoo Pantheon, comprising the principal deities worshipped by the natives of British India throughout Hindoostan: being a collection of the gods and goddesses accompanied by a succinct history and descriptive of the idols, पृ: ९१।