कौमोदकी
कौमोदकी (शाब्दिक अर्थ: 'मनलाई मन्त्रमुग्ध पार्ने')[१] हिन्दु देवता विष्णुको गदा हो।[२] विष्णुलाई प्रायः उनका चार हातमध्ये एकमा कौमोदकी समातेको रूपमा चित्रण गरिन्छ; उनका अन्य आयुधहरूमा सुदर्शन चक्र, पाञ्चजन्य (शङ्ख) र पद्म (कमल) रहेका छन्। यो गदा विष्णुका केही अवतारहरूको प्रतिमा विज्ञानमा पनि पाइन्छ।
'कौमोदकी' नाम पहिलो पटक हिन्दु महाकाव्य महाभारत मा देखा पर्दछ, जहाँ यो विष्णुको अवतार कृष्णसँग सम्बन्धित छ। सन्पूर्व २०० देखि विष्णुका चित्रहरूमा गदाको चित्रण गरिएको पाइन्छ। सुरुका समयमा यो साधारण आकारको भए तापनि पछि यसको आकार र स्वरूपमा भिन्नता आएको देखिन्छ। विष्णुको गदाको चित्रणमा पछि गएर विभिन्न कलात्मक बुट्टाहरू र खण्डहरू थपिएका थिए।
यद्यपि यो हतियारलाई निर्जीव गदाको रूपमा चित्रण गरिन्छ, तर विष्णुका मूर्तिहरूमा कौमोदकी कहिलेकाहीँ गदादेवी वा गदानारी भनिने महिलाको रूपमा पनि देखा पर्दछ। यस्तो चित्रणमा विष्णुले आफ्नो एउटा हात उनको टाउकोमा राखेका हुन्छन्, जबकि उनी आफैँले गदा समातेकी हुन्छिन् वा उनको टाउको/मुकुटमा गदा कुँदिएको हुन्छ।
गदालाई सबैभन्दा पुरानो र बलियो हतियारमध्ये एक मानिन्छ र यो विष्णुको शक्तिको प्रतीक हो। विभिन्न शास्त्रहरूमा विष्णुको प्रतिमा विज्ञानमा कौमोदकीको प्रतीकात्मक अर्थबारे चर्चा गरिएको छ।
व्युत्पत्ति
[सम्पादन गर्नुहोस्]'कौमोदकी' शब्दको व्युत्पत्ति स्पष्ट छैन। एक प्रचलित व्युत्पत्ति अनुसार, कौमोदकीको नाम संस्कृत शब्द कुमुद (नीलो पानी-लिली वा नीलो कमलबाट आएको हो।[३][४] अर्को सिद्धान्तले यो गदाको नाम विष्णुको विशेषण कुमोदक बाट राखिएको वा त्यसको विपरित हुन सक्ने सुझाव दिन्छ। कौमोदकीको शाब्दिक समानार्थी शब्द कौमुदी लाई "पृथ्वीको आनन्द"को रूपमा व्याख्या गरिएको छ।[४] विष्णु पुराणमा आधारित रहेर अलेन ड्यानियलुले कौमोदकीलाई "मनलाई लठ्याउने वा मोहित पार्ने" भनी अनुवाद गरेका छन्।[५]
विकास र प्रतीकात्मकता
[सम्पादन गर्नुहोस्]
गदा हतियारका सबैभन्दा पुराना प्रकारहरूमध्ये एक हो।[३] विष्णुका उपासकहरूमाझ यस हतियारको लोकप्रियताका कारण यसलाई देवतासँग चित्रण गरिएको हुन सक्छ। शक्ति र सामर्थ्यको प्रतीक मानिने गदा—आमनेसामने गरिने युद्धका लागि एक सामान्य हतियार थियो र यसलाई सबै हतियारहरूमध्ये बलियो मानिन्थ्यो। विष्णुका आयुधहरू उनका अवतारहरू, प्राचीन हिन्दु महाकाव्यहरू क्रमश: रामायण का नायक राम र महाभारत का नायक कृष्ण (सन्पूर्व ५औँ देखि ४औँ शताब्दीमा विद्यमान) बाट उत्पत्ति भएका हुन्। दुवै महाकाव्यहरूमा विभिन्न पात्रहरू—देवता, मानिस र दानवहरूले गदा प्रयोग गरेको वर्णन गरिएको छ।[३][६]
विष्णुको उपासना गर्ने वैष्णव सम्प्रदायद्वारा प्रतिपादित दार्शनिक अर्थमा, कौमोदकीले "बुद्धि, ज्ञानको शक्ति र समयको शक्ति" लाई बुझाउँछ।[३] विष्णुका हातमा रहेका चार आयुधहरूको प्रतीकात्मकता व्याख्या गर्ने क्रममा गोपाल तापनी उपनिषद्ले आदिम ज्ञानको प्रतिनिधित्व गर्ने गदा—तल्लो देब्रे हातमा समातिएको हुन्छ, जसले "व्यक्तिगत अस्तित्व" लाई जनाउँने बताउँछ।[७] विष्णु पुराणले गदालाई ज्ञानको शक्ति भनेको छ। कौमोदकीले मनलाई "मन्त्रमुग्ध" पार्ने बताइन्छ।[५]
विष्णुधर्मोत्तर पुराणका अनुसार, कौमोदकीले धन र सौन्दर्यकी देवी तथा विष्णुकी पत्नी लक्ष्मीको प्रतिनिधित्व गर्दछ।[८] कृष्ण उपनिषद्ले गदालाई "समयको शक्ति" देवी कालीसँग तुलना गरेको छ। उक्त ग्रन्थले अपराजेय 'समय' जस्तै, गदा सबै विपक्षीहरूको विनाशक हो भनेको छ।[३][५]
अर्को व्याख्या अनुसार कौमोदकीले जीवन-शक्ति (प्राण) को प्रतीक हो जसबाट सबै "शारीरिक र मानसिक शक्तिहरू" उत्पन्न हुन्छन्।[५][७] विष्णुको गदाले अनुशासनलाई पनि जनाउँछ, जसलाई उनको पद्म (कमल) ले पूरक बनाउँछ, जसले प्रशंसालाई जनाउँछ। उनका हातमा रहेका पद्म र शङ्ख जीवन र प्रेमको प्रतिनिधित्व गर्ने 'जल' तत्वका प्रतीक हुन् भने, गदा र चक्र पीडा र विनाश बुझाउने 'अग्नि' तत्वका प्रतीक हुन् र यिनले समाज र प्रकृतिका नियमहरूको पालना गर्न निर्देशित गर्दछन्।[९] वराह पुराण भन्दछ कि अधर्मी शासकहरूलाई पाठ सिकाउनका लागि गदाको प्रयोग गरिन्छ।[१०] विष्णुले आफ्नो गदाद्वारा माया वा भ्रमलाई हटाउने पनि विश्वास गरिन्छ।[८]
साहित्यमा
[सम्पादन गर्नुहोस्]
महाभारतमा कौमोदकीलाई चट्याङजस्तो आवाज निकाल्ने र धेरै दैत्य (दानव) हरूको वध गर्न सक्षम हतियारको रूपमा वर्णन गरिएको छ। यो गदा समुद्रका देवता वरुणले विष्णु-कृष्णलाई प्रदान गरेका थिए।[३][४] पाण्डव राजकुमारहरूलाई आफ्नो राज्य निर्माणका लागि खाण्डव वन दिइएको थियो। अग्निदेव आफ्नो अपच निको पार्न सो वन "खान" चाहन्थे। उनले पाण्डव पुत्र अर्जुन र उनका मित्र कृष्णसँग सहयोग मागेका थिए, किनकि वनको रक्षक र देवताका राजा इन्द्रले बाधा पुर्याउने डर अग्निलाई थियो। अर्जुन र कृष्ण सहमत हुँदै वरुणले उनीहरूलाई दिव्य हतियारहरू प्रदान गरेका थिए। कृष्णलाई सुदर्शन चक्र र कौमोदकी गदा दिइएको थियो, जबकि अर्जुनले गाण्डीव धनुष र विभिन्न दिव्य वाणहरू प्राप्त गरेका थिए। उनीहरूले इन्द्रलाई पराजित गर्दै अग्निले वन जलाएका थिए जसले पाण्डवहरूको राजधानी इन्द्रप्रस्थ स्थापनाको बाटो प्रशस्त गरेको थियो।[११]
महाभारतमा विष्णुले गदा र चक्र बोकेको वर्णन गरिएको छ, जसले सम्भवतः विष्णुका दुई-हाते स्वरूपलाई सङ्केत गर्दछ। यस महाकाव्यमा चक्र-मुसल युद्धका बेला कृष्णको कौमोदकी लगायतका अन्य हतियारहरू युद्ध हेर्न स्वर्गबाट मानवीय रूपमा प्रकट भएको उल्लेख छ। हरिवंश (महाभारतको एक परिशिष्ट) मा जरासन्ध विरुद्धको युद्धमा कृष्ण र उनका दाजु बलरामलाई सहयोग गर्न विष्णुका चार हतियारहरू स्वर्गबाट झरेको वर्णन गरिएको छ। बलरामले हल र 'सुनन्द' नामक मुसल प्रयोग गर्छन् भने कृष्णले कौमोदकी र शार्ङ्ग धनुषका साथ युद्ध गर्छन्।[१२]
संस्कृत नाटककार भास (सन्पूर्व दोस्रो शताब्दी - सन् दोस्रो शताब्दी) को दूत-वाक्यम् मा महाभारतको एउटा प्रसङ्ग वर्णन गरिएको छ, जहाँ कृष्णले हस्तिनापुरको दरबारमा आफ्नो विश्वरूप देखाउँछन् र आफ्ना हतियारहरूलाई बोलाउँछन्। त्यहाँ कौमोदकी लगायतका हतियारहरू मानव रूपमा प्रकट हुन्छन्। कालिदासको रघुवंशम्मा पनि विष्णुको गदा लगायतका पुड्का कदका आयुधपुरुषहरूको उल्लेख गरिएको छ।[१३]
गरुड पुराणको 'विष्णु पञ्जरम्' स्तोत्रमा कौमोदकीको यसरी उल्लेख गरिएको छ:[१४]
हे पद्मनाभ देव! आफ्नो कौमोदकी गदा उठाउनुहोस्, तपाईंलाई नमस्कार छ।
— गरुड पुराण, अध्याय १३
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Knapp, Stephen (२०१२), Hindu Gods & Goddesses (अङ्ग्रेजीमा), Jaico Publishing House, पृ: 65, आइएसबिएन 978-81-8495-366-4।
- ↑ www.wisdomlib.org (२०१५-०८-०१), "Kaumodaki, Kaumodakī: 12 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा)।
- 1 2 3 4 5 6 Nanditha Krishna (२००९), The Book of Vishnu, Penguin Books India, पृ: 17–9, 25–6, आइएसबिएन 978-0-14-306762-7।
- 1 2 3 Jan Gonda (१ जनवरी १९९३), Aspects of Early Visnuism, Motilal Banarsidass, पृ: ९९, आइएसबिएन 978-81-208-1087-7।
- 1 2 3 4 Alain Daniélou (१९९१), The Myths and Gods of India: The Classic Work on Hindu Polytheism from the Princeton Bollingen Series, Inner Traditions / Bear & Co, पृ: 156–7, आइएसबिएन 978-1-59477-733-2।
- ↑ Desai p. 6
- 1 2 Suresh Chandra (१९९८), Encyclopaedia of Hindu Gods and Goddesses, Sarup & Sons, पृ: 363–4, आइएसबिएन 978-81-7625-039-9।
- 1 2 Pratapaditya Pal (१९८८), Indian Sculpture: 700–1800, University of California Press, पृ: 53, 78, आइएसबिएन 978-0-520-06477-5।
- ↑ Devdutt Pattanaik (२०११), Seven secrets of Vishnu, Westland, पृ: 70, 210–1, आइएसबिएन 978-93-80658-68-1।
- ↑ V. R. Ramachandra Dikshitar (१९९९), War in Ancient India, Cosmo, पृ: 146–7, आइएसबिएन 978-81-7020-894-5।
- ↑ Mani, Vettam (१९७५), Puranic Encyclopaedia, Motilal Banarsidass Publishers, पृ: ४०९, आइएसबिएन 978-0-8426-0822-0।
- ↑ Freda Matchett (११ जनवरी २०१३), Krsna: Lord or Avatara?, Routledge, पृ: 58–9, आइएसबिएन 978-1-136-11842-5।
- ↑ Varadpande, Manohar Laxman (२००५), History of Indian theatre, Abhinav Publications, पृ: 48–9, आइएसबिएन 81-7017-430-9।
- ↑ www.wisdomlib.org (२०१५-०४-१२), "The prayer of Vishnu Panjaram [Chapter XIII]", www.wisdomlib.org (अङ्ग्रेजीमा)।