कम्पोङ चाम

कम्पोङ चाम कम्बोडियाको मध्य मेकोङ डेल्टा क्षेत्रमा अवस्थित एक प्रान्त हो। "कम्पोङ चाम" को अर्थ "प्रतीक्षा गरिरहेको नाशपाती" हो। यस प्रान्तको प्रशासनिक केन्द्र कम्पोङ चाम शहर हो। यो शहर मेकोङ नदीको किनारमा रहेको व्यावसायिक र यातायात केन्द्र हो। कम्पोङ चाम कम्बोडियाको सबैभन्दा बढी जनसंख्या भएको प्रान्तहरू मध्ये एक हो र यसको कृषि, नदी व्यापार, धार्मिक सम्पदा र सांस्कृतिक विविधताको लागि राष्ट्रिय रूपमा महत्त्वपूर्ण मानिन्छ।।[१][२]
इतिहास
[सम्पादन गर्नुहोस्]कम्पोङ चाम क्षेत्र प्राचीनकालदेखि नै मेकङ नदी किनारको व्यापारिक मार्गको हिस्सा थियो। यहाँ प्राचीनकालदेखि चाम, खमेर र अन्य स्थानीय जातिहरूको बसोबास रहेको प्रमाण पाइन्छ।
यस क्षेत्रमा रहेको व्यापारीक मार्गले प्राचीन खमेर साम्राज्यका लागि कृषिजन्य तरकारी, माछा तथा नदी–व्यापारिक ढुवानीमा ठूलो भूमिका खेलेको थियो।
फ्रान्सेली संरक्षकालमा प्रशासनिक पुनर्संरचना गर्दै कम्पोङ चामलाई प्रान्तको रूपमा विकास गरिएको थियो।
२०१३ मा यो प्रान्तलाई राजनीतिक कारणले दुई भागमा विभाजन गरियो। मेकङ नदीको पश्चिमी क्षेत्र कम्पोङ चामकै रूपमा राखियो भने पूर्वी क्षेत्रमा ट्बोङ ख्मुम प्रान्त बनाइयो। विभाजनअघि कम्पोङ चामको सीमा भियतनाम सम्म फैलिएको थियो।
भूगोल
[सम्पादन गर्नुहोस्]प्रान्तको मुख्य भौगोलिक विशेषता यसको समथर भूभाग र विशाल मेकङ नदी हो। अधिकांश बस्ती, खेतीयोग्य जमीन तथा व्यापारिक केन्द्र मेकङ नदी किनारमा अवस्थित छन्। नदीले गर्दा खेत अत्यन्त उपजाउ छन्। तर बाढीका समयमा नदीले कतिपय गाउँ डुबानमा पर्ने गर्छन्। जे भएपनि, जलस्रोतले माछा पालन, नदी यातायात तथा सिँचाइ प्रणालीलाई निरन्तरता दिएको छ।
प्रान्तका धेरैजसो भाग समथर छ, मेकाङ नदी किनारका जङ्गल तथा नदी रहेकोले यो क्षेत्रमा जैविक विविधता रहेको छ। नदी किनारका घाँसे मैदानमा चराचुरुङ्गी, नदीजन्य माछा तथा साना स्तनधारी प्रजातिहरू बसोबास गर्छन्।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]२०२४ अनुसार कम्पोङ चाममा १० लाखभन्दा बढी जनसङ्ख्या छ। यो क्याम्बोडियाको सातौँ सबैभन्दा जनघनत्व भएको प्रान्त हो। यहाँ खमेर जातिको बहुलिएता छ भने उल्लेख्य चाम मुस्लिम समुदाय समेत बसोबास गर्छन्। चामहरूको उपस्थिति ऐतिहासिक रूपमा मेकङ तटीय व्यापारमार्ग सँग जोडिएको छ।
धार्मिक दृष्टिले जनसङ्ख्याको ९७ प्रतिशतभन्दा बढी थेरवाद बौद्ध धर्मका अनुयायी हुन्। चाम समुदायले परम्परागत रूपमा इस्लाम धर्म मान्छन् र प्रान्तमा करिब २ प्रतिशत जनसंख्या मुस्लिम छन्। केही स्थानीय बासिन्दाले इसाई धर्म समेत मान्ने गरेका छन् तर संख्या अत्यन्त न्यून छ।[३]
प्रशासनिक संरचना र राजनीति
[सम्पादन गर्नुहोस्]कम्पोङ चाम प्रान्त ९ जिल्ला र १ नगरपालिका मिलेर बनेको छ। यी जिल्लाहरूभित्र कम्युन (खुम) र तीभित्र गाउँ (फुम) रहेका छन्।
प्रान्तीय प्रशासन क्याम्बोडियाको विकेन्द्रित शासन प्रणाली अन्तर्गत काम गर्छ र प्रान्तीय गभर्नर केन्द्र सरकारद्वारा नियुक्त हुन्छन्।
कम्पोङ चाम विगतमा क्याम्बोडियाको सबैभन्दा धेरै संसदीय सिट ओगट्ने प्रान्त थियो। विभाजनपछि यसको सिट संख्या १८ बाट घटेर १० भएको थियो।[४]
राष्ट्रिय राजनीतिमा प्रभावशाली रहेका केही प्रमुख व्यक्तिहरू जस्तै पूर्वप्रधानमन्त्री हुन सेन, हालका प्रधानमन्त्री हुन मानेत, संसद्को सभामुख हेंग सम्रिन आदी यसै क्षेत्रका हुन्।
संस्कृति
[सम्पादन गर्नुहोस्]कम्पोङ चाम क्याम्बोडियाको सांस्कृतिक रूपमा समृद्ध क्षेत्र हो। यहाँका बस्तीहरूमा खमेर र चाम समुदायको सांस्कृतिक मिश्रण देखिन्छ। बौद्ध विहार, इस्लामिक मस्जिद तथा परम्परागत चाम बस्तीहरू प्रान्तको सांस्कृतिक चिनारीका महत्वपूर्ण अङ्ग हुन्।
कम्पोङ चाममा धेरै प्राचीन र सांस्कृतिक महत्वका स्थलहरू छन्। वाट नोकोर क्याम्बोडियाको ऐतिहासिक विहार हो। यहाँ प्राचीन खमेर स्थापनाका अभिलेख, शिलालेख तथा धार्मिक कलाकृतिहरू रहेका छन्। वाट डे दोह मन्दिर र अन्य बौद्ध गुम्बाहरू स्थानीय समुदायका धार्मिक केन्द्रका रूपमा रहेका छन्।
प्रान्तको फ्नोम स्रेइ (कुमारी पहाड) तथा फ्नोम प्रुह (युवक पहाड) परम्परागत कथासँग जोडिएका प्रसिद्ध पहाड हुन्। यी स्थानहरूले धार्मिक पूजापाठ, पर्यटकीय भ्रमण तथा स्थानीय तीर्थयात्रामा विशेष भूमिका खेल्छन्।
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]कम्पोङ चाम क्याम्बोडियाको कृषि प्रमुख प्रान्त हो। मेकाङ नदी किनारका उर्बर जमीनमा धान, मकै, कसावा, सागसब्जी तथा फलफूल उत्पादन व्यापक रूपमा हुन्छ। नदीबाट प्राप्त माछा, तथा निरन्तर सिचाईले कृषि उत्पादनलाई धेरै बलियो बनाएको छ।
व्यापार र यातायातमा नदी मार्ग अझै महत्वपूर्ण रहेको छ। स्थानीय बजारमा कृषिजन्य उत्पादन, माछा, हात्तकला, काठजन्य सामग्री तथा दैनिक उपभोगका वस्तुकाे व्यापार व्यापक हुन्छ। कतिपय क्षेत्रमा रबर तथा कसाभा प्रशोधन उद्योग समेत विकसित हुँदैछन्, जसले ग्रामीण रोजगारमा सकारात्मक प्रभाव पारिरहेको छ।
यातायात र पूर्वाधार
[सम्पादन गर्नुहोस्]यो प्रान्त मेकाङ नदी किनारमै फैलिएकोले जलमार्ग आधारित यातायात ऐतिहासिक रूपमा महत्वपूर्ण रहेको छ। हाल सडक यातायात बढी प्रयोगमा आए पनि नदी मार्ग अझै बन तथा कृषिजन्य सामग्री ढुवानीमा प्रयोग हुन्छ।
कम्पोङ चाम सहरलाई राष्ट्रिय सडकले राजधानी फ्नोम पेन्ह, प्रे भेंग, कन्दाल तथा उत्तरी प्रान्तहरूसँग जोडेको।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "General Population Census of the Kingdom of Cambodia 2019 – Final Results", National Institute of Statistics, Ministry of Planning, २६ जनवरी २०२१, मूलबाट २६ अक्टोबर २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ फेब्रुअरी २०२१। अभिलेखिकरण २६ अक्टोबर २०२२ वेब्याक मेसिन
- ↑ "General Population census of the Kingdom of Cambodia 2019", National Institute of Statistics Ministry of planning, अक्टोबर २०२०, मूलबाट २०२२-१०-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०२-०३। अभिलेखिकरण २०२२-१०-२६ वेब्याक मेसिन
- ↑ "Kampong Cham Administration", Royal Government of Cambodia, मूलबाट २००९-०२-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०१-२०।
- ↑ Mom, Kunthear; Kevin Ponniah (१० जनवरी २०१४), "Kampong Cham's great divide", The Phnom Penh Post, अन्तिम पहुँच २९ जनवरी २०१४।