कयिन राज्य
कायिन राज्य, जसलाई पहिले करेन राज्य भनिन्थ्यो, म्यानमारको एक राज्य हो। यसको राजधानी पाआन हो। राज्यलाई पहाडी भूभागले ढाकेको छ। डावना पर्वत श्रृंखला उत्तर–पश्चिमदेखि दक्षिण–पूर्वसम्म फैलिएको छ।[१]

कायिन राज्यको पूर्वमा थाईल्याण्डका मे होङ सों, टक र कन्चानाबुरी प्रान्त, पश्चिम र दक्षिणमा मोन राज्य र बागो क्षेत्र, उत्तरमा मन्डले क्षेत्र, सान राज्य र कायाह राज्यले घेरिएको छ।
इतिहास
[सम्पादन गर्नुहोस्]कायिन राज्य मध्य-११औँ शताब्दीमा बगान साम्राज्यको हिस्सा थियो। १३–१६औँ शताब्दीमा अधिकांश क्षेत्र हन्थावड्डी राज्य अन्तर्गत थियो भने उत्तर भाग टाउंगु (अभा साम्राज्यको अधीनस्थ राज्य) अन्तर्गत थियो। १६–१९औँ शताब्दीमा यो टाउंगु वंश र कोम्बाउङ वंशको हिस्सा बन्यो।[२]
ब्रिटिशहरूले पहिलो अङ्रेज-बर्मेली युद्धपछि सल्विन नदीको दक्षिण भाग कब्जा गरे र दोस्रो युद्धपछि बाँकी क्षेत्र पनि आफ्नो नियन्त्रणमा लिएका थिए। ब्रिटिश उपनिवेश अन्त्यतिर, १९४७ मा करेन क्षेत्रका नेताहरूले आफ्नै राज्यको माग राखे, जसले वर्तमान मोन राज्य र तानिन्थाई क्षेत्रलाई पनि समेटेको थियो। उनीहरूले पांग्लोङ सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरे र स्वतन्त्रता अघि चुनाव बहिष्कार गरे।
१९४९ मा करेन नेशनल युनियनले विद्रोह सुरु गर्यो, जुन आजसम्म जारी छ। यस कारण राज्य धेरै समयदेखि संघर्षको मैदान बनेको छ। १९८९ मा म्यानमार सरकारले राज्यको अंग्रेजी नाम कायिन राज्य राख्यो। २०१२ मा पहिलो पटक राज्य सरकारले शान्ति सम्झौता गरेपछि पर्यटन र प्रशासनिक गतिविधि बढेको थियो।
भूगोल
[सम्पादन गर्नुहोस्]कायिन राज्य १५°४५′ देखि १९°२५′ उत्तर अक्षांश र ९६°१०′ देखि ९८°२८′ पूर्व देशान्तरमा अवस्थित छ।
राज्यको जलवायु तातो र आर्द्रता धेरै छ। यहाँको तापक्रम गर्मी महिनामा २२.२ डिग्री सेल्सियस भन्दा तल झर्दैन। राज्यको पश्चिम र दक्षिण भाग उष्णकटिबन्धीय मानसूनी जलवायुमा पर्छ।
वर्षा वार्षिक ३,००० देखि ४,८०० मिलिमिटरसम्म पर्छ। राज्यका मुख्य नदीहरूमा सल्विन (थानलविन), मोई (थाउङयिन), ज्याङ र अटारण पर्दछन्। पहाडी भूभागका कारण धेरै नदीहरू दक्षिण–उत्तर दिशामा बग्छन्।
प्रशासन
[सम्पादन गर्नुहोस्]कायिन राज्य सरकार तीन तहमा विभाजित छन्: कार्यपालिका, विधायिका र न्यायपालिका। राज्यमा एक सहर, नौ साना सहर, चार जिल्ला, सात नगरपालिका र ४,०९२ गाउँ छन्। प्रमुख जिल्लाहरूमा थानडाउङगी, फापुन, पाआन, म्यावा्दी, काउकरेइक र क्याइन साइक्गी पर्दछन्।
प्रमुख नगरपालिका र सहरहरूमा पाआन, ह्लायन्ब्वे, फापुन, थानडाउङ, म्यावादी, काउकरेइक, क्याइन साइक्गी, पायाथोंसु, क्याइकडोन जस्ता सहरहरू छन्। यहाँका गाउँ प्रायः साना छन् र प्रायः ४० घरपरिवारभन्दा कमका छन।
जनसांख्यिकी
[सम्पादन गर्नुहोस्]२०१४ को जनगणना अनुसार कायिन राज्यको जनसंख्या १,५७४,०७९ थियो। १९८३ देखि २०१४ सम्म जनसंख्या करिब ४९% ले बढेको देखिन्छ। जनसंख्या हिसाबले यो राज्य देशमा ११औँ स्थानमा पर्छ।[३]
जातीय रूपमा करेन जाति राज्यको बहुसंख्यक जनसंख्या हो र ६२.८% ओगटेको छ। अन्य प्रमुख जातिहरूमा बर्मेली (१३.६%), मोन (११.२%), पाओ (४.८%) र सान (२.९%) छन्। थुप्रै साना जातीय समूहहरू पनि यहाँ बसोबास गर्छन्।[४]
धार्मिक दृष्टिले यो राज्यमा बौद्ध धर्म प्रमुख हो र जनसंख्याको ८४.५% बौद्ध धर्मावलम्बी छन्। इसाई धर्मावलम्बी ९.५%, मुस्लिम ४.६%, हिन्दू ०.६% र आदिवासी धर्म ०.१% छन्। २०१६ मा राज्यमा १४,०८० बौद्ध भिक्षु र १,००० थिलासिन दर्ता भएका थिए।
संस्कृति
[सम्पादन गर्नुहोस्]कायिन राज्यको संस्कृति प्रायः बौद्ध धर्म र परम्परागत आदिवासी संस्कृतिमा आधारित छ। राज्यका पर्व, परम्परा र भेषभूषाले यहाँको सांस्कृतिक विविधता देखाउँछ। पर्व, मेला र धार्मिक अनुष्ठानले जनजीवनमा एकता र सामाजिक सम्बन्ध मजबुत पार्छ।
स्थानीय समुदायहरूले सङ्गीत, नृत्य र हस्तकला लगायतका गतिविधिहरूमा भाग लिन्छन्। पहाडी भूभाग र गाउँ–गाउँमा फैलिएको जनसंख्याले परम्परागत जीवनशैली जोगाइराख्न मद्दत गरेको छ।
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]कायिन राज्यको अर्थतन्त्र मुख्यतया कृषि, उद्योग, पर्यटन र सीमा व्यापारमा आधारित रहेको छ। राज्यमा २०१७ सम्म ४६०,००० एकड धानको खेत र २६०,००० एकड रबर वृक्ष रोपिएका छन्। थानडाउङ क्षेत्रमा ९,००० एकड कफी खेती गरिएको छ।
राज्यमा उद्योग क्षेत्रको विकासको लागि प्रयास भइरहेको छ, तर बिजुली आपूर्तिमा समस्या रहेको छ। २०१६ मा सरकारले पा-आन औद्योगिक क्षेत्र मा लगानी आकर्षित गर्ने रणनीति बनाएको थियो। तर स्थानीय वातावरणीय समूहहरूले कोइला उद्योगका सम्भावित प्रभावमा चिन्ता व्यक्त गरेका छन्।[५]
कायिन राज्यमा पर्यटन क्षमाता रहेको छ। २०१२ को शान्ति सम्झौतापछि पर्यटकको संख्या बढेको थियो। २०१६ मा यहाँ १५०,००० पर्यटक पुगेका थिए। म्यावादी सीमा व्यापार थाईल्याण्डसँगको प्रमुख व्यापार मार्ग हो, र मासिक व्यापार करिब ९० मिलियन अमेरिकी डलरको रहेको छ।[६]
यातायात
[सम्पादन गर्नुहोस्]राज्यमा फापुन र पाआन विमानस्थल छन्, तर अहिले नागरिक उडान बन्द छ। २०१५ मा एसियाली विकास बैङ्कले ईन्डु–काउकरेइक सडक सुधारका लागि लगानी स्वीकृत गर्यो। राज्यमा सडक, पुल र सार्वजनिक यातायात प्रणालीको अवस्था अझै सुधारको आवश्यकता छ।[७]
शिक्षा
[सम्पादन गर्नुहोस्]कायिन राज्यमा उच्च शिक्षा अवसरहरू सीमित छन्। मुख्य विश्वविद्यालयहरूमा पाआन विश्वविद्यालय, कम्प्युटर विश्वविद्यालय, प्राविधिक विश्वविद्यालय, करेन मेडिकल कलेज समावेश छन्। [८]
सरकारी तथ्यांक अनुसार, प्राथमिक विद्यालयका विद्यार्थीहरू मध्य १०%मात्र ले उच्च विद्यालय सम्म पुग्छन्। उच्च शिक्षा संस्थाहरू सबै पाआन सहरमा केन्द्रित छन्।
स्वास्थ्य सेवा
[सम्पादन गर्नुहोस्]कायिन राज्यमा स्वास्थ्य सेवा अत्यन्त सीमित छ। आधरभुत सेवा निःशुल्क भए पनि औषधि र उपचारका लागि शुल्क तिर्नुपर्छ। सरकारी अस्पतालमा आधारभूत सुविधा र उपकरणको कमी छ।[९]
सामान्य जन स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दा राज्यमा स्वास्थ्य सेवा न्यूनस्तरको छ। विशेष गरी युद्ध प्रभावित क्षेत्रहरूले स्वास्थ्य सेवामा थप चुनौती सिर्जना गरेका छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Census Report, The 2014 Myanmar Population and Housing Census 2, Naypyitaw: Ministry of Immigration and Population, मे २०१५, पृ: 17, मूलबाट २०१९-०५-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०७-११।
- ↑ Thant Myint-U (२००६), The River of Lost Footsteps--Histories of Burma, Farrar, Straus and Giroux, पृ: 253, आइएसबिएन 978-0-374-16342-6।
- ↑ The 2014 Myanmar Population and Housing Census: Kayin State, Nay Pyi Taw: Ministry of Immigration and Population, २०१५, पृ: 11।
- ↑ Jap, Jangai; Courtin, Constant (२०२२-११-२२), Deciphering Myanmar's Ethnic Landscape: A Brief Historical and Ethnic Description of Myanmar's Administrative Units, International IDEA, आइएसबिएन 978-91-7671-577-2, डिओआई:10.31752/idea.2022.57।
- ↑ "Myawaddy Border Trade Continues Despite Clashes", Myanmar Business Today (अङ्ग्रेजीमा), मूलबाट २०१७-१०-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-१०-०८। अभिलेखिकरण २०१७-१०-०६ वेब्याक मेसिन
- ↑ Shar, KIC/Saw, "Kayin State enjoys tourism influx after ceasefire - Burma News International" (en-gbमा), मूलबाट २०१७-१०-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-१०-०७।
- ↑ "ADB Loan to Help Upgrade Road in Kayin State on GMS Corridor Route", Asian Development Bank (अङ्ग्रेजीमा), २०१५-११-१२, मूलबाट २०१७-१०-०७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-१०-०७।
- ↑ "Education statistics by level and by State and Division", Myanmar Central Statistical Organization, मूलबाट २००८-०५-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०४-०९। अभिलेखिकरण २००८-०५-२४ वेब्याक मेसिन
- ↑ "Hospitals and Dispensaries by State and Division", Myanmar Central Statistical Organization, मूलबाट २०११-०४-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०४-११। अभिलेखिकरण २०११-०४-३० वेब्याक मेसिन