कलि (असुर)
| कलि | |
|---|---|
पापको मानवीकरण | |
![]() कलिको चित्रण | |
| देवनागरी | कलि |
| आबद्ध | देव-गन्धर्व (महाभारतमा) असुर (पुराण हरूमा) |
कलि (अर्थ; क्रोध, पीडा, शोक, 'कष्ट भोग्नु, चोट पुर्याउनु, तर्साउनु वा भ्रमित पार्नु' हुन्छ) हिन्दु धर्मग्रन्थहरू अनुसार, कलियुगको अध्यक्षता गर्ने पापको मानवीकरण हो। हाल चलिरहेको कलियुगलाई हिन्दु धर्ममा नैतिक पतन र अव्यवस्थाद्वारा चित्रण गरिएको छ। कलिको उत्पत्ति र ब्रह्माण्डीय चक्रमा उनको भूमिका विभिन्न प्राचीन ग्रन्थहरूमा विस्तृत रूपमा वर्णन गरिएको छ जसमा महाभारत र भागवत पुराण समावेश छन्।
महाभारत का अनुसार, कलि एक भयावह देव-गन्धर्व हुन् जो प्रजापति ऋषि कश्यप र मुनिको १५औँ छोराको रूपमा जन्मिएका थिए। कलियुगको स्वामीको रूपमा, कलिले पापकर्महरूलाई बढावा दिएर आफ्नो प्रभाव विस्तार गर्दछन्। राजा परीक्षितले उनलाई जुवा, मद्यपान, वेश्यावृत्ति, हत्या हिंसा र सुन गरी पाँचवटा स्थानमा सीमित गरिदिएका हुन्छन्। उनको कथा नल जस्ता पात्रहरूसँग जोडिएको छ, जसलाई उनले आफ्नो नियन्त्रणमा लिएर पीडा दिएका हुन्छन् भने दुर्योधनलाई महाभारत मा कलिको अवतार मानिन्छ।
पछिल्ला पौराणिक ग्रन्थहरूले उनको उत्पत्तिको पुनर्व्याख्या गर्दै उनलाई थप डरलाग्दो र शक्तिशाली बनाएका छन् भने यसका साथै उनलाई अधर्म, क्रोध, हिंसा, मिथ्या, गाली र अलक्ष्मी जस्ता नकारात्मक शक्तिहरूसँग सम्बन्धित गराइएको छ। कल्कि पुराणले उनलाई हिन्दु संरक्षण देवता विष्णुका दशौँ र अन्तिम अवतार कल्किको मुख्य शत्रुको रूपमा प्रस्तुत गरेको छ। कलियुगको अन्त्यमा, कल्कि र कलि बीच एक निर्णायक युद्ध हुने भविष्यवाणी गरिएको छ जसले कलिको शासन समाप्त गरेर धर्मको पुनर्स्थापना गर्नुका साथै चार युगको चक्रलाई पुनः सञ्चालन गर्नेछ।
महाभारत
[सम्पादन गर्नुहोस्]महाभारत का अनुसार, कलिको जन्म कश्यप र उनकी पत्नी मुनिको पन्ध्रौँ पुत्रको रूपमा हुन्छ। एक प्रमुख ऋषि र प्रजापतिका रूपमा कश्यपका १६ छोराहरू हुन्छन्, जसमध्ये कलिलाई देव-गन्धर्वको (स्वर्गीय सङ्गीतकारहरूसँग सम्बन्धित दिव्य प्राणी) रूपमा वर्गीकृत गरिएको छ। उनका दाजुभाइहरूमा अन्य गन्धर्वहरू—भीमसेन, उग्रसेन, सुपर्ण, वरुण, धृतराष्ट्र, गोपति, सुवर्चस, सत्यवाक, अर्कपर्ण, प्रयुत, विश्रुत, चित्ररथ, शालिशिरस, पर्जन्य र नारद हुन्।[१]

गन्धर्व कलि राजकुमारी दमयन्तीको स्वयम्वर समारोहमा ढिलाइ गरि पुग्छन्। दमयन्तीले इन्द्र, अग्नि, वरुण र यम जस्ता देवताहरू (र अन्ततः स्वयम् उनलाई पनि) उपेक्षा गरेर नललाई पतिको रूपमा रोजिपछि कलि ईर्ष्यालु बन्छन्।
कलि राजा नलको महान् राज्य निषधमा पुगेर आक्रमणको सही अवसरको लागि बाह्र वर्षसम्म पर्खिरहन्छन्। नलले आफ्नो प्रार्थना अघि खुट्टा नधोएर आफूलाई अशुद्ध तुल्याएको हुनाले, कलिले उनको आत्मालाई मोहित पार्न सफल हुन्छन्। त्यसपछि कलि पुष्करको अगाडि प्रकट हुन्छन् उनलाई आफ्नो भाइ (नल) सँग पासा खेल्न आमन्त्रित गर्छन् जसमा नलको पतन हुने उनको ठम्याइ थियो। कलिले नललाई हार्न बाध्य पारे र सल्लाहकारहरू तथा पत्नीको विरोधको बाबजुद, उनले हरेक पटक दाउ बढाउँदै लग्छन्। अन्ततः, नल पुष्करसँग पराजित भएपछि उनको आफ्नो राज्य गुमाउँछन् र त्यसपछि उनी र दमयन्ती दुवै वनबास जान बाध्य बन्छन्।

वनबासको समयमा, कलिले नललाई दमयन्तीलाई त्याग्न बाध्य पार्छन्। दमयन्तीले पछि आफ्नो पतिको पतन गराउने सबैलाई श्राप दिन्छिन्। केही समयपछि उनी चेदि राज्यकी राजकुमारीको सुसारेको रूपमा घर फर्किन्छिन्। यसैबीच, नलले नाग कर्कोटकलाई आगोबाट बचाउँछन् जहाँ उनी ऋषि नारदद्वारा श्रापित भएर कष्ट भोगिरहेका हुन्छन्। नलको भित्र रहेको राक्षस (कलि) लाई भगाउने उद्देश्यले, नागले नललाई डसेर र उनको शरीरमा घातक विष छोडिदिएपछि कलि सधैँको लागि तड्पिन्छन्। उक्त विषले नललाई बाहुक नामको कुरूप पुड्केमा परिणत गरिदिन्छ। उनी पछि अयोध्याका राजा ऋतुपर्णका सारथि बन्छन् जो गणित र पासाको खेलमा अब्बल थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Mani, Vettam (२०१५-०१-०१), Puranic Encyclopedia: A Comprehensive Work with Special Reference to the Epic and Puranic Literature (अङ्ग्रेजीमा), Motilal Banarsidass, आइएसबिएन 978-81-208-0597-2।
